लगातार किन भइरहेको छ जहाज अवतरणमा समस्या ?
काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्याे । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्याे । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसदिन एयर इण्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो । विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ । त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरेको हो । यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट ग¥यो । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाही एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरु बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उनीहरुको भनाइ छ । नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेवल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन । ‘ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ’, उनले भने, ‘ओभरसुटलाई अनस्टेवलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’ नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकालये स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ । विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए । ‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रुपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ’, उनले भने । जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टिआइएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ । विशेष गरी चैत वैशाख महिनामा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टिआइएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् । कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् । यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ । मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ । तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन । डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टिआइएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि टिआइएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् । दैनिक एक घण्टा होल्ड यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौँ आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गदर्छन् । टिआइएमा दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । रासस
सिटिजन्स बैंकका ग्राहकलाई आर बि डायग्नोस्टिकमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र आर बि डायग्नोस्टिकबीच समझदारी भएको छ । बैंक र आर बि डायग्नोस्टिकबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले आर बि डायग्नोस्टिमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
अब मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारिमा झर्छ : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अब मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारिमा झर्ने बताएका छन् । शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सहज भएकाले अब मूल्यवृद्धि विस्तारै घट्दै जाने बताए । उनले स्थानीय तहको रकमले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम भएको बताए । खराब कर्जा बढेको कारण बैंकिङ क्षेत्र दबाबमा परेको उनी बताउँछन् ।
मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्छ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्ने संकेत गरेको बताएका छन् । शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीति समिक्षामार्फत बैंक दर १ प्रतिशतले घटाइएको, ओभरनाइट सुविधा निरन्तरता दिइएको बताए । यस्तै, उनले समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई औचित्य हेरेर कर्जा पुनसंरचना गर्ना छुट दिइएको जानकारी दिए ।
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए । त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौंबाट केही समयमै गुल्मी आउन पाएको बताए । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाए । आज बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ । ‘परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ’, क्याप्टेन विष्टले भने, ‘हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।’ रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौंमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए । ‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ’, उनले भने, ‘नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।’ उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु छ हजार तीन सय रुपैयाँ भाडादर कायम गरिएको छ । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल ३५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो । रासस
शुभद्रा मदन फाउन्डेसनका मदन राई पक्राउ, यौन दुर्व्यवहारको आरोप
काठमाडौं । शुभद्रा मदन फाउन्डेसनका संचालक मदन राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले राईलाई शुक्रबार फाउन्डेसनबाटै पक्राउ गरेको हो । राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । सोही बारे थप अनुसन्धान गर्ने उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा दिपक मनाङेसहित ४ मन्त्री नियुक्त
काठमाडौं । गण्डकी प्रदेशमा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे)सहित ४ मन्त्री नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदको विस्तार गर्दै गुरुङसहित ४ जना नयाँ मन्त्री नियुक्त गरेको हो । बाँकी नियुक्त हुनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा र माओवादीका रेशमबहादुर जुग्जाली रहेका छन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गरिने बताइएको छ । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।
तिलोत्तमाका कृषकलाई अनुदानमा औजार वितरण
तिलोत्तमा । तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार पशुपन्छी वितरण गरिएको छ । नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामाग्रीहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । साना कृषकलाई कृषि तथा पशुपन्छीपालनमा उत्साहित बनाउन अनुदानमा प्रयोग हुने औजार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । नगरपालिका भित्रका २९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा करिव १० लाख बराबरको साना कृषी औजार (पशुपन्छी) ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामाग्रीहरु बितरण गरिएको पशु शाखा प्रमुक राजु कुँवर मगरले बताए । सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कृषकहरुको समय र मेहनतको बचत गर्न तथा पशुपालक कृषकहरुलाई सो काम मा अग्रसर बनौन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो समय युवाहरुको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्ने समेत बताए । सो कार्यक्रममा कृषि शाखा प्रमुख दोमलाल भुसाल , राम प्रसाद खनाल, पशु शाखाका डाक्टर उर्जा देवकोटा, प्राबिधिकहरु महेश गौतम , गोविन्द खनाल, त्रिविक्रम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।