मासिक २५ रुपैयाँको बचतबाट दुई करोड ऋण लगानी
म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ । पाँच वर्षअघि विसं २०७५ मा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक २५ सङ्कलन गरेर सुरु भएको संस्थामा यतिबेला ५० लाख शेयर रकम, एक करोड ४५ लाख बचत रकम र दुई करोड ऋण लगानी रहेको संस्थाका अध्यक्ष विष्णु थापाले जानकारी दिए । ‘हामीले संस्थामा जम्मा भएको रकम तीन सय दिदीबहिनीलाई ऋण लगानी गरेका छौँ, सदस्यबाट सङ्कलन गरेको बचत र शेयर रकम सदस्यमा नै लगानी भएको छ’, अध्यक्ष थापाले भने । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुईदिने सहकारी शिक्षा तालिमका सहभागी महिलाले आफ्नो सहकारी आँफैले सुरक्षित गर्ने र समस्या आउन नदिने महिलाले प्रतिबद्धता जनाएका छन् । देशका विभिन्न ठाउँमा ठूलो कारोबार गर्ने सहकारीले बचत फिर्ता गर्न नसकेका समाचारको प्रभाव गाउँघरमा समेत पर्न थालेको चर्चा गर्दै उनीहरुले आफूहरुले चलाएको सहकारीमा कुनै समस्या नभएको र आगामी दिनमा पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्यत्र यस्तो भयो, उस्तो भयो, हाम्रोमा के हुन्छ ? भन्ने आशङ्का व्यक्त गर्ने शेयर सदस्यलाई समेत उनीहरुले निर्धक्क भएर कारोबार गर्न आह्वान गरेका छन् । सहकारीमा गैरसदस्य समेतबाट रकम सङ्कलन गर्ने र सञ्चालकलगायत सीमित व्यक्तिले रकम चलाउने गरेका कारण केही सहकारीमा आएको समस्याले आमजनतामा नै सहकारीप्रति आशङ्का देखिएको उनले बताए । अध्यक्ष थापाले सहकारीको समस्या पहिचान गर्ने, समस्या परेमा सहयोग गर्ने जिम्मेवारी शेयर सदस्यको भएकाले सहकारी क्षेत्रमा आएको समस्यालाई समाधान गर्न सदस्यको जागरुकता बढाउनुपर्नेमा जोड दिए । संस्थाका सचिव उमा शर्माले सहकारीप्रति देखिँदै गएको अविश्वास हटाएर सहकारीलाई थप व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालनका लागि सदस्य जागरण अभियान सुरु गरिएको जानकारी दिइन् । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको दिगोपना र प्रभावकारीताका लागि सदस्यलाई सचेत बनाउन आवश्यक रहेको बताए ।
बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट कम्पनीमा पठाएका छन् – प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही वर्ष अगाडि भन्सार छली गरेर ल्याइएको भनिएको ३३ केजी सुनको पैसा नेपालका बैंकहरुले दुबईको स्ककोडा ट्रेडिङ कन्सर्च भन्ने कम्पनीमा हुन्डाइमार्फत बैधानिक रुपमा पठाएको बताएका छन् । आज काठमाडौं पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईंले सो कुरा बताएका हुन् । ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रुपमा पेमेण्ट भएको छ, बैंकहरुले हुण्डीमार्फत पठाएको छ, एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ’, उनले भने । साथै उनले नेपालमा छिट्टै नै अमेरिकी सेना आउने बताउँदै यहाँका नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा लुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरुको नाममा ट्रान्सफर गर्ने गरेको बताए । उनले नेपालका राजनीतिज्ञ भन्दा आफू सय कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठिक छैन भनेको कुरालाई अहिले नेकपा एमालेले पनि प्रश्न उठाइरहेको बताए । उनले भने, ‘मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने, दुर्गा प्रसाईं सय कमद अघि रहेछ नि त यी राजनीतिज्ञ भन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’ व्यवसायी प्रसाईंले जनताले नेताहरुलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए ।
५ बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न विशेष सुविधा, सरकारी २ कम्पनी कारवाहीमा पर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पाँच वटा बीमा कम्पनीलाई पुँजीवृद्धि गर्न विशेष सुविधा दिएको छ । यस्तो सुविधा पाउनेमा एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एलआईसी नेपाल र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन इन्डिया मुख्य प्रवर्द्धक रहेको एलआईसीलाई माग बमोजिम हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले सहमति दिने भएको छ । ‘एलआईसी विशेष अवस्थामा ल्याएको ज्वाइन्ट भेञ्चर कम्पनी हो । यस कम्पनीको सञ्चालकले हकप्रदको माध्यमबाट पूँजी वृद्धि गर्छौं भनेको छ । कम्पनीलाई दोस्रो विकल्प पनि छैन’ प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने । एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड छ । कम्पनीले हालको पुँजीको ८८ प्रतिशत अर्थात २ अर्ब ३५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय विशेष साधारणसभाबाट गराईसकेको छ । बीमा प्राधिकरणले हाल भएको पुँजीको एकतिहाइ भन्दा बढी हकप्रद सेयर जारी गर्न नदिने नीति लिए पनि एलआईसीलाई ८८ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिन लागेको हो । त्यस्तै, एशियन लाइफले चालु वर्षको नाफा र करिव ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी ५ अर्ब बनाउने भएको छ । एशियन लाइफको पुँजी हाल ३ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर र हकप्रद सेयर निष्काशन गरी पुँजी ५ अर्ब पुर्याउने तयारी गरेको छ । चालु वर्षको नाफाबाट बोनस र ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पनि पुँजी ५ अर्ब नपुग्ने अवस्थामा कम्पनीले सेयरधनी कोषको पैसालाई पुँजीकृत गर्ने प्रस्ताव गरेको छ । एशियनको प्रस्तावप्रति बीमा प्राधिकरण सकारात्मक रहेको छ । एनएलजी इन्स्योरेन्सलाई पनि प्रस्ताव अनुसार हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । उसलाई १ अर्ब ४ करोड पुँजी थप्नुपर्ने हुन्छ । चालु आवको नाफाबाट बोनस सेयर निष्काशन गर्ने र नपुग रकममा हकप्रद सेयर जारी गर्ने कम्पनीको योजना छ । २०६२ सालसम्म नेशनल र एनएलजी एउटै थियो । बीमा समितिले निर्जीवनलाई छुट्याएपछि सहायक कम्पनी भनेर एनएलजी छुट्टिएको थियो । ‘एनएलजीमा ५० प्रतिशत भन्दा बढी हिस्सा नेशनलको छ, प्राधिकरणले आफैले गरेको पुरानो निर्णयअहिले उल्ट्याउन मिल्दैन, उसलाई पनि हकप्रद सेयर निष्काशनमा बाटो खुला गर्नुको विकल्प रहेन’ प्राधिकरणका अध्यक्ष सिलवालले भने । प्राधिकरणले नेपाल इन्स्योरेन्सको माग अनुसार सम्पत्ति बेचेर बोनस सेयर वितरण गरी पुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले पुँजी वृद्धि गर्न विदेशी लगानीकर्ता भित्र्याउने नयाँ प्रस्ताव बीमा प्राधिकरणमा लगेको छ । उसले ३ महिना समय मागेकोले असार मसान्तसम्मको लागि समय दिने निर्णय भएको अध्यक्ष सिलवालले बताए । अरु कम्पनीले मर्ज गरेर वा सीमाभित्रको हकप्रद सेयर जारी गरेर तोकेको पुँजी पुर्याउँदैछन् । साउनसम्म पुँजी नपुर्याउने कम्पनीहरुलाई भने कारवाही गरिने उनले बताए । ‘प्रभुले विदेशबाट पार्टनर ल्याएर पुँजी वृद्धि गर्छु भनेको छ । नेपाल इन्स्योरेन्सले सम्पत्ति बिक्री गरेर पुँजी वृद्धि गर्छौं भनेको छ । उनीहरुले असारसम्म समय मागेका छन् । त्यतिबेलासम्म हामी कुर्छौं, जसले पुँजी पुर्याउन निर्देशन दिएपनि पुर्याएको छैन, मर्जरबाट भागेका छन्, ती कम्पनीहरुलाई प्राधिकरणले हेरिरहेको छ’ अध्यक्ष सिलवालले भने, ‘पुँजी नपुर्याउने कम्पनीहरुलाई साउन १ गतेदेखि नियामकको निर्देशनलाई उल्लङ्घन गरेको मानेर कारवाही हुन्छ, उनीहरुको कारोबार घट्छ, पोर्टफोलियो रोक्का हुन्छ, सीमित पोर्टफोलियोमा मात्रै कारोबार गर्न पाउँछन्, त्यसपछि स्वतः मर्जरमा जानु पर्ने बाध्यता आउँछ, पुँजी नपुर्याउने कम्पनीलाई प्राधिकरणले थप काम गर्न दिँदैन, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानलाई पनि यही नियम लागू हुन्छ ।’
व्यवस्था विरुद्धमा बाहालवाला सांसदहरु, सांसद विकास कोष ब्युताउँने प्रयास
काठमाडौं । विगतमा अत्यन्तै आलोचित भएको सांसद विकास कोष कार्यक्रम फेरि ब्युताउँनको लागि सांसदहरुले कसरत गरेका छन् । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा रहेको सो कार्यक्रमलाई सांसदहरुले पुनः ब्युँताएर जनतासँग प्रत्यक्ष जोडिएर विकासको राजनीति गर्ने चेष्ठा गर्न खोजेका हुन् । वर्तमान व्यवस्थामा नीति तथा कानून निर्माण, योजना निर्माण र कार्यान्वयनको क्षेत्राधिकारको किटानी सहित संविधानले तीनवटा सरकारका तहलाई स्पष्ट जिम्मेवारी दिएको छ । संघीय सांसद र प्रदेश सांसदहरुको जिम्मेवारी भनेको नीति तथा कानूनसँग सम्बन्धित कामहरुको सम्पादन गर्नु हो । तर, संविधान तथा संसदीय व्यवस्थाकै मर्मविपरित सांसदहरुले नयाँ बजेटमा सांसद विकास कोषलाई व्युँताउनको लागि दबाब दिन शुरु गरेका छन् । अहिले नेपाली कांग्रेसका सांसदहरुले पार्टीभित्रका सांसद सदस्यहरु माझमा त्यसका लागि हस्ताक्षर अभियान नै सञ्चालन गरेका छन् । खर्चको पारदर्शिता र सांसदहरुको भूमिकामाथि प्रश्न उठेर विवादित बन्दै गएपछि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सो कार्यक्रमलाई हटाएका थिए । पछि अर्का अर्थमन्त्री जनार्दन शर्माले पनि सो कार्यक्रमलाई निरन्तरता दिएनन् । विगतमा जस्तै सांसदहरुलाई वार्षिक ६ करोडका दरले कोषमार्फत खर्च गर्नेगरी रकम दिने हो भने राज्यलाई ९ अर्ब ९० करोड व्ययभार बढ्न जान्छ । सांसदहरुको दबाब बढ्दै जाँदा अर्थमन्त्री महतले सो विषयमा कुनै निर्णायक टिप्पणी गरिसकेका छैनन् । तर, केही सांसदहरुले भने स्थापित व्यवस्थाको अभ्यास नै नभएर अलोप्रियता भइरहेको अवस्थामा सांसदहरुले कोष ब्युताउँन गरेको प्रयासको विरोध पनि गरेका छन् । प्रदेश र स्थानीय सरकारको कार्यक्षेत्रका कार्यक्रम संघीय सरकारका सांसदहरुले हस्तक्षेप गरेर सञ्चालन गर्न खोज्नु संविधान विरुद्धमा समेत हुने केही सांसदहरुको बुझाई रहेको छ । अहिले प्रदेश तह, जिल्ला समन्वय समिति लगायतका राज्य संरचना माथि प्रश्न उठिरहेको बेलामा सांसदहरुले विकासे कार्यक्रम लिँदा व्यवस्था थप कमजोर बन्ने केही सांसहरुकै बुझाई रहेको छ । राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देबकोटाले कोष ब्युझाउँन खोज्ने सांसदहरुको भूमिकालाई दूर्भाग्यपूर्ण भनेर टिप्पणी गरेका छन् ।
बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचार विरुद्ध प्रदर्शन
बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका नेपाली कांग्रेशका नेता बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा स्वतन्त्र नागरिक अभियन्ताहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । आज विहान सयौं युवाहरु भेला भएर तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा प्रदर्शन गरेका हुन् । सोही निर्वाचन क्षेत्रबाट गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खाँण पराजित भएका थिए । प्रदर्शनमा सहभागीहरुले ‘राजनैतिक प्रशयका आधारमा अपराधीले उन्मुक्ती नपाउन, राजनैतिक भ्रष्टाचार विरुद्ध एक हौं’, लगायतका नारा लगाएका थिए ।
काठमाडौंमा एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलाग्ने
फाइल फाेटाे काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले काठमाडौं महानगरभित्र एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलाग्ने बताएका हुन् । एम्बुलेन्स आवश्यक परेकाहरुले २४ सै घण्टा १०२ नम्बरमा फोन गरेर सेवा लिन सकिने समेत उनले बताएका छन् ।
जेठ १ गतेदेखि दुई हप्ता मेलम्चीको पानी काठमाडौंमा नआउने
काठमाडौं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।
चितवनका तीनवटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने
चितवन । जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनइएचइपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । विश्वविद्यालयले माग गरेको आशयपत्रको मूल्याङ्कनअनुसार १८ वटा क्याम्पसमा यस परियोजनामा छनोट भएकोमा ती क्याम्पसले संयुक्तरुपमा शुक्रबार यहाँ पत्रकार सम्मेलन गरेर कार्यक्रम कार्यान्वयनको लागि अहिले पाठ्यक्रम निर्माण गरी तालिम र आर्थिक सहायतालाई इच्छुक उद्यमी छनोट गर्ने चरणमा रहेको जानकारी दिइयो । कार्यक्रममा प्रतिवर्ष प्रतिक्याम्पस ३० जना विद्यार्थी, पूर्वविद्यार्थी र युवा प्राध्यापक छनोट हुने छन् । तालिम प्राप्त गरिसकेपछि मूल्याकङ्नमा छनोट भएमा आफ्नो व्यावसायिक सोचअनुरुपको प्रस्ताव पेस गरेर विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पूरा गरेपछि प्रस्तावित लगानी रकमको ६० प्रतिशत विश्वविद्यालयले बेहोर्ने छ । पाँच लाखदेखि ४० लाखसम्म प्रतिप्रस्ताव सहायता रकम प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम तीन वर्षसम्म बिनाब्याज प्रयोग गर्न पाइने छ । सहायता रकम पाउन कार्यक्रमको प्रक्रियाभित्र रही आवेदन पेस गरेपछि प्राप्त आवेदनमध्येबाट प्रत्येक क्याम्पसमा गठन भएको निर्णायक समितिले इच्छुक उद्यमी छनोट गर्ने छ । क्याम्पसबाट छानिएको आवेदन विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नसक्ने छन् । प्राप्त अनुदान रकम उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ । यही जेठ १० गतेबाट उद्यमी बन्न चाहने व्यक्तिमध्येबाट तीनवटै क्याम्पसले एकै समयमा आवेदन माग गर्ने जनाइएको छ । आवेदन सङ्कलनको समय १५ दिन हुनेछ । निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेका आवदेन छनोट गरिसकेपछि चितवनका तीनवटै क्याम्पसले असारको पहिलो हप्ताबाट कम्तीमा ४५ घण्टा प्रशिक्षार्थीलाइ तालिम दिइने छ । चितवनलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रको रुपमा विकास गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ । पत्रकार सम्मेलनमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, कपिल सुवेदी, सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराज सेढाइ, सागर तिवारी, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइसन्सका चोकबहादुर क्षेत्रीलगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।