विकासन्युज

स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ – पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् । शनिवार काठमाडौंको नक्शालमा शुरु भएको काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनैपनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भूटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए । उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताए । उनले भने, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कमद चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’ आन्दोलनमा सहभागी हुन पुग्नुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिकहरु खुशी थिएनन् । उनीहरुले यस्ता गतिविधिमा डा. भट्टराई र उहाँकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै बिरोध जनाएका थिए । एक प्रदर्शनकारीले भने, ‘भूटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरु हुन् । यिनीहरुको बिरुद्धमा जनता जाग्नुपर्छ ।’ भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले बिरोध गर्दै आइरहेका छन् । भ्रटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पूर्जि जारी गरेको थियो । जसमा पूर्वगृहमन्त्री खाँण अनुसन्धनार्थ थुनामा हुनुहुन्छ भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार हुनुहुन्छ । साथै सरकारले भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ । नागरिकहरु भने निष्पक्ष छानबिनमा दबाब पर्नसक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन् ।

मौद्रिक नीतिको समीक्षा सकारात्मक तर अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैन – गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताएका छन् । अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरुले असारमसान्तसम्म कर्जा पुनःसंरचना र पुनतालिकिकरणको व्यवस्था सकारात्मक रहेको बताए । ‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षा अर्थतन्त्रको अवस्थालाई हेर्दा समग्रमा सकारात्मक छ, सिविफिनले माग गर्दै आएको ५ करोडसम्मका साना कर्जालाई पुनःसंरचना र पुनतालिकिकरणको सहुलियत दिन भनेका थियौं ,यसमा २ करोडबाट बढाएर ५ करोडसम्मको व्यवस्था गर्न राम्रो पक्ष हो, असारसम्म गरेको व्यवस्था गरेको छ, त्यसले पुग्छ पुग्दैन हेर्ने कुरा हो’, उनले भने । उनले शनिवार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिले २ करोडबाट बढाएर ५ करोड कर्जा लिने साना व्यवसायीहरुको लागि सहुलियतको व्यवस्था गर्नु राम्रो भएको भन्दै साना व्यवसायीहरुलाई राहत पुग्ने बताए । उनले डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या देखिने समस्या नहुने बताए । अध्यक्ष गोल्यानले समग्रमा राम्रो भएपनि उत्पादन क्षेत्र कृषि, ऊर्जा, पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरु र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति अपुग भएको बताए । उनले भने , ‘डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या पर्छ भन्ने डर थियो, त्यो समस्याबाट बच्ने भयो, त्यो राम्रो पक्ष भयो, समग्रमा राम्रो भएपनि एक दुईवटा कुराहरु अपुग रहेको छ, उत्पादन क्षेत्र कृषि, ऊर्जा,पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातन्य उद्योगहरु र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति आउँछ भन्ने आशा थियो ।’ उनले उत्पादन उद्योगमा जाने कर्जाको ब्याजदर घट्ने अपेक्षा भएपनि नभएको बताए । उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर कायम हुनुपर्ने उनको भनाइ छ । उनले उत्पादनमुलक उद्योगहरुमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने बताए । बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्ने अवस्थाको अन्त्य नीतिगत रुपमा हुनुपर्ने भन्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकले उल्लेखित मागहरु मौद्रिक नीतिको समीक्षामा नगरेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हुन आवश्यक रहेको बताएका छन् । उनले उत्पादन क्षेत्रको लागि बैंकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक–फरक ब्याजदर र आधारदर बनाउने आवश्यक रहेको बताए । ‘हामीले बारम्बार भन्दै आएका छौं, उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर हुनुपर्छ । उत्पादनमुलक उद्योगहरुमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्छ, बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्दा दिगो हुन सक्दैन’, उनले भने, ‘त्यस्ता उद्योगले ब्याजदर तिर्न समस्या हुन्छ, राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नगरेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हुनुपर्छ, उत्पादन क्षेत्रको लागि बैंकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक–फरक ब्याजदर र आधारदर बनाउने आवश्यकता छ, सस्तो ब्याजमा आएका पैसालाई पनि उत्पादन उद्योगमा लगाउन सकिन्छ ।’ उनले बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्नसक्ने बताउँदै बैंकको खराब कर्जा कम हुनको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने भएपनि नघटेको बताए । बैंकर्स संघले बैंशाखमा ब्याजदर नघटाउने निर्णयले केही समयपछि स्पे्रडदरमा दबाब सिर्जना गर्नसक्ने उनको भनाइ छ । ‘बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्छ, त्यसलाई रोक्नको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने थियो, राष्ट्र बैंकले केही दिनअघि जारी गरेको बैंकहरुले प्रत्येक पहिनामा ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राम्रो आएको छ, तर बैंकर्स संघले जेठमा ब्याजदर नघटाउने निर्णय गरेको छ, त्यसले केही समयपछि स्पे्रडदरमा दबाब सिर्जना गर्नसक्छ, खराब कर्जा नियन्त्रणमा राख्न र मुलुकको अर्थतन्त्र चलायमान बनाउन बैंकको ब्याजदर घट्न आवश्ययक छ’, उनले भने । उनले समग्रमा मौद्रिक नीतिको समिक्षा सकारात्मक आएपनि मुलुकको अर्थतन्त्रमा देखिएका समस्या चुनौतिलाई तत्काल समाधान गर्नसक्ने नदेखिएको बताए । उनले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा बढी नै ज्वरो आएको भन्दै ज्वरो निको बनाउने एटिभाइटिकको डोज कम भएको जस्तो लागेको बताए ।

वसन्त ऋतुसँगै यो वर्षको सगरमाथा आरोहण शुरु

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । ‘सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे’, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए । अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि विहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ, भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्’, उनले भने । दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत हुन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा,  दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् । ‘प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ’, उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित ससयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । उक्त क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्याङ्क अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए। रासस ।

दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन – डा.गोविन्द केसी

फाइल तस्बिर काठमाडौं । भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत नागरिक आन्दोलन शुरु भएको छ । काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन शुरु गरेका हुन् । प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भूटानी शरणार्थी प्रकरणको सत्यतथ्इ छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले सरकारले शीर्ष नेताहरुको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताए । उनले ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताए । उनले भने, ‘भूटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ, देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ, शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ । निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ, प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो ? तर सबै पार्टी भ्रष्ट नै छन् ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्र्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भूटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारे ।

जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ – सभापति लामिछाने

फाइल तस्बिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए । सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नूस्, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस्, दोषीमाथि कारबाही गर्नूस्, हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौं ।’ उनले सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भूटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको तथा वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताए । कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने औँल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरिब बनाएको आरोप लगाए । रास्वपाका केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भए पनि शासकीय सोच परिवर्तन नभएको भन्दै व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताइन् ।

अबको शिक्षा एक विद्यार्थी एक सीपको हुनुपर्छ – अध्यक्ष झा

काठमाडौं । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले भक्तपुर उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारीहरुसँंग परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मिलेर अगाडि वढ्न आग्रह गरे । आफूहरुले उद्योगका लागि आवश्यक जनशक्ति तयार पार्ने र उद्योगी व्यवसायीहरुको लागि त्यस्ता दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले सहकार्य गरेर अगाडि वढ्न आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था र उद्योगीहरुबीचको रिलेशन ग्याप हुँंदा कस्तो जनशक्ति बजारमा आवश्यक भइरहेको छ भन्ने विषय नै ओझेलमा पर्न गइरहेको अवस्था रहेको उनले बताए । विश्व बजार प्रतिस्पर्धी भएकोले अवका शैक्षिक संस्थाहरुले पढाईसँंगसँंगै प्रत्येक विद्यार्थीलाई एउटा न एउटामा सीपयुक्त विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औंल्याए । ‘अवको शिक्षा एक विद्यार्थी एक सीपको हुनुपर्छ, उनले चर्चा गरे, नभए त काम नै छैन’, उनले भने । धेरै शैक्षिक संस्थाहरुलाई अहिले बजारले कस्ता जनशक्ति मागिरहेको छ भन्ने जान्न नै नसकेको उल्लेख गर्दै उनले अवको दस वर्षपछि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने अनुसन्धान गर्दै त्यस अनुरुपको विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औंल्याए । अबको दस वर्षपछि सवै काम रोवोर्टले गरेर जनशक्ति नै नचाहिने हुनसक्छ, नयाँं सम्भावनातिर औंल्याउँंदै उदाहरणसहित उनले भने, ‘जस्तो कि अवको दस वर्षमा मानिसले लगाउने कोट नै रोवोर्टले बनाउने छन्, त्यस्तो बेला कोट बनाउने मानिसको खाँंचो नै हुने छैन, बरु यो कोटलाई चिसोको बेला तातो हुने अनि तातोको बेला चिसो हुने विशेषतायुक्त बनाउन चाहिँ मानिस चाहिने हुनसक्छ ।’ यही कारण त्यही अनुसारको जनशक्ति तयार गर्नेतिर लाग्नुपर्ने आवश्यकता उनले औंल्याए । शिक्षा जुनसुकै समस्या समाधान गर्नसक्ने क्रिटिकल थिंकिंग भएको, इनोभेटिभ माइन्डको जनशक्ति तयार गर्नुपर्ने खाँंचो रहेको उनले जनाए । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यसअघिसम्म जिल्लाबासीहरु अन्तराष्टियस्तरको शिक्षा लिन काठमाडौं धाउनुपर्नेमा अहिले यो अवस्था नभएको भन्दै खुशी व्यक्त गरे । उनले संघ भक्तपुरमा हुने हरेक हरेक व्यापार व्यवसायलाई अगाडि वढाउन तत्परताका साथ लागिपर्ने विश्वास दिलाए । संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले अहिलेको वर्तमान व्यापार व्यवसायका चुनौतीको सामाना गर्नसक्ने दक्ष जनशक्ति शैक्षिक संस्थाहरुले उत्पादन गर्नुपर्नेमा जोड दिए । स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले देशमै विश्वस्तरको शिक्षा दिने शिक्षालय बनाउने महान उद्देश्यका साथ स्कुल सञ्चाचनमा ल्याएको जनाए ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक – घरेलु महासंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक भएको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले कार्यान्वयनमा जोड दिएको छ । त्रैमासिक समिक्षामा उल्लेख भए बमोजिम वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत लघु, घरेलु तथा साना र मझौला उद्योगमा लगानी गर्नुपर्ने व्यवस्थाप्रति महासंघले ध्यानाकर्षण गराएको छ । २०७९ चैत मसान्तसम्म ९.९ प्रतिशत, विकास बैंकहरुले १६ प्रतिशत लगानी गर्नुपर्नेमा औसत २६ प्रतिशत लगानी गरेको र वित्त कम्पनीहरुले ११ प्रतिशत लगानी गर्नुपर्नेमा औसतमा २२.५ प्रतिशत लगानी गरेको सकारात्मक सूचकहरु भएपनि लघु, घरेलु तथा साना उद्यमीहरुले कर्जा नपाएको गुनासो गरिरहेको सन्दर्भमा उल्लेखित सूचकहरु प्रति महासंघ शंका व्यक्त गरेको छ । लघु, घरेलु तथा साना उद्यमीहरुलाई बैंकहरुले सहुलियतपूर्ण कर्जा उपलब्ध नगराएको उद्यमीहरुको व्यापक गुनासो रहेको सन्दर्भमा २०७९ चैत्र मसान्त सम्म एक लाख ४७ हजार ८०७ जना ऋणीलाई सहुलियतपूण कर्जा उपलब्ध गराएको तथ्याङ्क प्रति पनि महासंघको चासो रहेको छ । साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोड रुपियाँसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि तोकिएका शर्तहरुको अधीनमा रही २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्थालाई महासंघले सकारात्मक रुपमा लिएको छ । कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइने पुनरकर्जा सुविधालाई निरन्तरता दिनु, २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको कर्जाको साँवा/ब्याज ऋणीले भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था कार्यान्वयन गरिनुलाई सकारात्मक रुपमा लिन सकिने महासंघको भनाई छ ।

नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति, दैनिक दुई हजार बढीले लिन्छन् श्रम स्वीकृति

काठमाडौं । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो । प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मङ्सिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ । सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आवको नौ महिनामा रु नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४।२ प्रतिशतले बढी हो ।