विकासन्युज

सिटिजन्स बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बिशालनगरस्थित अरोगिन हेल्थ केयरबीच सम्झौता भएको छ । बैंक र हेल्थकेयरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डवाहकहरुले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अब सरकारले उद्योग र व्यापार व्यवसाय नगर्दा हुन्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अब सरकारले उद्योग र व्यापार व्यवसाय नगर्दा हुने बताएका छन् । बिहीबार महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सार्वजनिक संस्थानहरु हाल समस्यामा रहेको र यसमा अब निजी क्षेत्रको संलग्नता हुनु पर्ने धारणा राखे । निजी क्षेत्रको योगदान बढेपनि सरकारी क्षेत्रको खस्किँदै जानु बिडम्बना रहेको उनले बताए । ‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत हुनु सुखद् विषय भएपनि निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन हुन आवश्यक छ, निजी क्षेत्रका समस्या समाधानमा सरकारले तदारुकता देखाउनु पर्छ,’ उनले भने ।

पतञ्जलीले साकाहारी भनेर मासुजन्य सामग्री मिसाइएको मञ्जन बेच्दै

काठमाडौं । बहुराष्ट्रिय कम्पनी पतञ्जलीको उत्पादनमा मासुजन्य सामग्री मिसाएको आरोप लागेको छ । पतञ्जलीले उत्पादन गर्ने दाँत माझ्न प्रयोग गरिने ‘दिव्य दन्त मञ्जन’मा ‘समुद्री फेन’ (कटलफिस) प्रयोग गरिएको आरोप लागेको छ । तर, सो उत्पादनलाई साकाहारी लेवल दिइएको छ । मासुजन्य वस्तुको मिसावट गरेर उत्पादन गरिएको तर साकाहारी लेवल लगाइएको भन्दै कम्पनीलाई १५ दिनभित्र स्पष्टिकरण दिन भनिएको अधिवक्ता सासा जैनले बताएकी छन् । उनले कम्पनीको सो कार्यले साकाहारी समूदायमा चोट पुर्याउने ट्वीटरमार्फत टिप्पणी गरेकी छन् । साथै उनले पतञ्जलीको सो कार्यले उपभोक्ताको अधिकार र लेवल अधिकार उल्लंघन भएको बताएकी छन् । समुद्र फेन कटल माछाबाट बन्ने एक प्रकारको मासुजन्य पदार्थ हो । माछा मरेपछि त्यसको हड्डी समुद्रको पानीमा तैरिन थाल्छ, जब धेरै हड्डीहरु समुद्रको पानीको सतहमा तैरिन्छन् त्यसलाई फोमजस्तो देखिन थाल्छ । यसमा ८० प्रतिशत क्याल्सिम कार्बोनेट र सो बाहेक फस्फेट, सिलिका र सल्फेट जस्ता अन्य तत्वहरु पाइन्छ । एजेन्सीको सहयोगमा ।

वित्तिय क्षेत्र अस्वस्थ छ, बचतकर्ताको पैसा खोला तरेर सिमाना नाघिसक्यो

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले हाल वित्तिय क्षेत्र अस्वस्थ रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताए । उनले १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेत्र नै अस्थव्यस्त रहेको बताउँदै भने,’यो क्षेत्रमा ऋण नतिरौं भन्ने, बचत उठाएर घरजग्गामा र डिजिटल करेन्सीमा लगानी गरेर पुँजी निर्माण गर्नेहरु समेत भेटिएको छ ।’ उनले सामान्य बचतकर्ताको पनि पैसा खोला तरेर  सिमाना नाघिसकेकाे बताउँदै भने,’सरकारले पैसा सिरानी मुनी छ भनेर अब भेटिँदैन ।’ यस्तै, उनले बीमा प्रणालीमा पनि लाइसेन्स बाँड्ने र मर्ज गराउने बेथिति रहेको बताए । राज्य कमजोर भएकाले पनि अर्थतन्त्रको प्रणालीमा समस्या देखिँदै गएको उनी बताउँछन् ।

भुटानी शरणार्थी नेता ‍टेकनाथ रिजाल पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा रिजाललाई बिहीबार झापाबाट पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई काठमाडौं ल्याइएको प्रहरी जनाएको छ । रिजालले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए ।

सुन्दर अटोको ईभी मोटरसाइकल ‘गन्तव्य’ सार्वजनिक, साढे २ लाख पर्ने

काठमाडौं । सुन्दर अटो ईन्जिनियरिङले गन्तव्य ईभी १००-एस मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकलको सार्वजनिक गरेको हाे । कम्पनीले आफ्नै डिजाइन तयारी गरी सो इलेक्ट्रिक मोटरसाइकल बनाएको हो । गन्तव्य मोटरसाइकल नेपालको प्रविधि र स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘नेपाल सरकारले अहिले विद्युतीय सवारीको प्रोत्साहन गरिरहेको छ, यस्तो अवस्थामा हामीले स्वदेशमा नै ईभी मोटरसाइकल तयार गरेका छौं, यो नेपालको बाटोमा सुहाउँदो मोटरसाइकल हो,’ उनले भने । अध्यक्ष थापाले उक्त मोटरसाइकलमा ३० देखि ४० प्रतिशत सामाग्री नेपाली र बाँकी अन्य देशबाट ल्याएर तयार गरिएको जानकारी दिए । ‘गन्तव्य ईभीको जाँच पास सरकारी निकायबाट भइसकेको छ, अहिले नम्बर प्लेट प्राप्तिको तयारीमा छौं,’ उनले भने । गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ । सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ । यसै गरी यस बाइकको रेन्ज १००-१२० किलोमिटर रहेको छ । यस्तै, गन्तव्यको ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर छ भने याे फाइबर र पलास्टीकले बनेकाे हाे । थापाका अनुसार गन्तव्य ईभी १००-एस मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।  उनका अनुसार आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै बाइक प्राप्त गर्न सक्ने छन् ।

इनर्जी ड्रिंक्सको आयात खोल्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इनर्जी ड्रिंक्सको आयातमा लगाइएको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताएका छन् । बुधबार नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधि मण्डलसँगको कुराकानीमा उनले प्रतिबन्ध लगाए पनि चोरी पैठारी कायमै रहेकोले ठूलो परिमाणमा राजस्व गुमिरहेको स्वीकार्दै सोको आयात खुलाउन आफूले प्रयास गर्ने बताए । इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध कायम रहे पनि विदेशी ब्रान्डको रेड बुल नामको इनर्जी ड्रिंक्स २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको आफैंले देखेको उल्लेख गर्दै उनले प्रतिबन्धको औचित्य नरहेको संकेत गरे । ‘विश्व व्यापार संगठनले पनि आयात रोक्न दिँदैन,’ उनले भने, ‘अवैध रुपमा आयात भइरहेको मलाई थाहा छ, प्रतिबन्ध हटाउन प्रयास गर्छु ।’ सरकारले २०७६ असार २ गतेको राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्स (क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ), फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स लगायतको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले आयातमा प्रतिबन्ध लगाउनुको प्रस्ट कारण खुलाएको थिएन । इनर्जी ड्रिंक्स मानव स्वास्थ्यका लागि हानिकारक वस्तु होइन । संसारका कुनै पनि देशमा यसको आयातनिर्यातमा प्रतिबन्ध छैन । आयातमा प्रतिबन्ध लागेपछि यसको चोरी पैठारी सुरु भयो । यसले चार वर्षसम्म निरन्तरता पाइरहेको छ । सरकारले २०७६ असारदेखि इनर्जी ड्रिंक्सको आयात रोके पनि यस संघको आग्रहमा एलसी खोलिसकेको सामान जाँचपास गरेको थियो । भन्सार विभागको तथ्यांकअनुसार प्रतिबन्ध लागेपछिको आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र इनर्जी ड्रिंक्स आधिकारिक रुपमा आयात भएको छ । उक्त तथ्यांक प्रतिबन्ध लाग्नुअघि एलसी खोलिसकेको इनर्जी ड्रिंक्सको हो । त्यसपछि आधिकारिक रुपमा नेपालमा इनर्जी ड्रिंक्स आयात भएको देखिँदैन । तर विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स देशभरका बजारमा सजिलै किन्न पाइन्छ । आयातमा प्रतिबन्ध लागिसकेको वस्तु बजारमा सहजै भेटिएको विषयमा सरकारका सचिवस्तरमै कुरा उठेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका विभागका तत्कालीन महानिर्देशक नेत्र सुवेदीले दुई वर्षअघि नै बताएका थिए । तैपनि सरकारले आयात प्रतिबन्ध कायमै राखेको छ । इनर्जी ड्रिंक्स अनधिकृत रुपमा आयात हुँदा सरकारले ठूलो परिमाणमा राजस्व गुमाएको छ । आर्थिक वर्ष २०७५/७६ मा यसबाट सरकारले १ अर्ब ६७ करोड ६६ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो । त्यसपछि वर्षमा साविककै तुलनामा बजारमा इनर्जी ड्रिंक्सको कारोबार भए पनि सरकारले एक पैसा राजस्व पाएको छैन । पछिल्ला वर्षमा भने स्वदेशमै उद्योग खुलेर स्वदेशी उत्पादन बजारमा आउन थालेका छन् । इनर्जी ड्रिंक्स जस्तै आयातमा प्रतिबन्ध लागेका अन्य वस्तु पनि बजारमा पर्याप्त मात्रामा पाइरहेको भेटका अवसरमा संघका पदाधिकारीले मन्त्री रिजाललाई जानकारी गराए । ‘दर्ता गरेर मात्र प्रयोग गर्न पाइने सवारी साधन बाहेक जुनसुकै वस्तु चोरी पैठारीका माध्यमबाट भित्रिन्छ,’ संघका अध्यक्ष विनोदकुमार सेठियाले भने, ‘यसको मुख्य कारण उच्च कर हो । करका दर जति बढी भयो चोरी पैठारी गर्नेलाई उति धेरै फाइदा हुन्छ । अनि मान्छे जोखिम मोल्न अग्रसर हुन्छ ।’ औपचारिक रुपमा आयात भएको नदेखिने विदेशी ब्रान्डका जुस, बिस्कुट, चकलेट लगायत थुप्रै उपभोग्य वस्तु नेपाली बजारमा अनधिकृत बाटोबाट आइरहेको पनि प्रतिनिधिमण्डलका सदस्यले मन्त्री रिजाललाई जानकारी गराए । सन् २०२२ मा पछिल्लो २०–३० वर्षकै सबैभन्दा बढी अनधिकृत आयात भएको अनुभव आफूहरुलाई भएको उनीहरुले बताए । २०७८ वैशाख १३ गतेबाट ५०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्ध अवधिमै विश्व बजारमा लन्च भएका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा खुलेआम बिक्री भइरहेको समाचार त्यसबेला सञ्चार माध्यमहरुले प्रकाशित गरेका थिए । आयात प्रतिबन्धका बेला लन्च भएको चिभास रिगल नामको विदेशी मदिरा पनि सो अवधिमै नेपाली बजारमा बिक्री भइरहेको फेला परेको थियो । खानेकुराको हकमा चोरी पैठारीबाट गुणस्तरहीन वस्तु आयात भई जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने जोखिम रहने पनि अध्यक्ष सेठियाले औंल्याए । ‘हानिकारक वस्तु उपभोगबाट जनस्वास्थ्यमा पर्ने असर मुलुकका लागि सरकारले गुमाइरहेको राजस्व धेरै गुणा घातक हुन सकछ,’ अध्यक्ष सेठियाले भने । प्रतिनिधिमण्डलका सदस्यहरुले जनस्वास्थ्यमा नकारात्मक असर नगर्ने वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा राजस्व चुहावट र जनस्वास्थ्य जोखिममा पर्ने सम्भावना औंल्याउँदै त्यस्तो प्रतिबन्ध तत्काल हटाउनुपर्नेमा जोड दिए । ‘१८ सय किलोमिटर खुला सिमाना भएको देशमा प्रतिबन्धले काम गर्दैन । उल्टो सरकारले पाउने राजस्व गुम्छ, अवैध व्यापारले प्रोत्साहन पाउँछ, गुणस्तरहीन सामग्री भित्रिन्छ,’ अध्यक्ष सेठियाले भने । भेटका अवसरमा कर छुट व्यवस्थाको फाइदा उठाउँदै नेपालमा उत्पादित वस्तु भारत निकासी हुने र भारतबाट अनधिकृत तवरले नेपालमै भित्र्याएर बिक्री हुने गरेको पनि प्रतिनिधिमण्डलका सदस्यले बताएका थिए । प्रतिनिधि मण्डलले निर्यात अनुदानको प्रक्रिया सहज बनाउन, सन्दर्भ मूल्यांकन पुुस्तिका हटाउने पहल गर्न, उधारो उठाउने ऐन ल्याउन, व्यवसायीलाई अग्रिम जमानतको व्यवस्थाको लागि प्रयास गर्न पनि मन्त्री रिजाललाई आग्रह गरिएको थियो । मन्त्री रिजालले बजेट लगत्तै परिवर्तन गर्नुपर्ने ऐन, कानुन लगायत उद्योगी व्यवसायीका चासोका विषयमा बृहत् छलफल गरेर समस्या समाधानको पहल गर्ने आश्वासन दिए ।

मलेसिया-भैरहवा अब १२ हजार सात सयमै उड्न सकिने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो । नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौं रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौंका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ’, निगमका प्रवक्ता रमेश पौडेललेलाई जानकारी दिए । उनका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौंका लागि १४ हजार सात सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस ९यात्रु ओसार पसार गर्ने बस० को व्यवस्था गर्ने उनको भनाइ छ । निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।