काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अब सरकारले उद्योग र व्यापार व्यवसाय नगर्दा हुने बताएका छन् ।
बिहीबार महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक संस्थानहरु हाल समस्यामा रहेको र यसमा अब निजी क्षेत्रको संलग्नता हुनु पर्ने धारणा राखे । निजी क्षेत्रको योगदान बढेपनि सरकारी क्षेत्रको खस्किँदै जानु बिडम्बना रहेको उनले बताए ।
‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत हुनु सुखद् विषय भएपनि निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन हुन आवश्यक छ, निजी क्षेत्रका समस्या समाधानमा सरकारले तदारुकता देखाउनु पर्छ,’ उनले भने ।