सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ५ गते साँझ ६ बजे बस्नेछ ।
भैरहवा : बन्ला त फूलै फूलको सहर ?
रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ सर्वअर्थसिद्धबाट यस नगरपालिकाको नामकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यता साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साँझा सङ्गमका रुपमा नगरपालिका रहेको छ । नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । पैदलमार्ग हुँदै भित्रिने सबैभन्दा बढी पर्यटक यही नाकाबाट हुँदै भैरहवा आउँछन् । भैरहवा ऐतिहासिक सहर हो । यसलाई फूलैफूलको सहर बनाउनका लागि नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ । भैरहवा मात्रै होइन सिङ्गो सिद्धार्थनगर नगरपालिकालाई नै फूलैफूलको सहर बनाउने योजना नगरपालिकाको छ । जसका लागि गत वर्षदेखि वृक्षरोपण अभियान चलाइएको छ । गतवर्ष नगरका प्रमुख इस्तियाक अहमद खानले बेलहियामा वृक्षरोपण गरेर अभियानको सुरुवात गरेका थिए । सबैभन्दा धेरै पर्यटक भित्रिने नाका बेलहिया भएकोले यहीँबाट अभियानको थालनी गरिएको थियो । नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले सुरु गरिएको अभियान अहिले सुस्ताएको छ । नगरले यो क्षेत्रलाई फूलको सहर बनाउने योजना अघि सारे पनि बजेट व्यवस्थापन भने गरेको छैन । नगर प्रमुख ईस्तियाक अहमद खाँनले प्रमुख पदमा निर्वाचित भएपछि आफूले पाएको मत बराबर वृक्षरोपण गर्ने घोषणा गरेका थिए । उनी नौ हजार एक सय ३४ मत प्राप्त गरी निर्वाचित भएका थिए । मत बराबरकै वृक्षरोपण नगरे पनि यो अभियानलाई निरन्तरता दिने प्रमुख खाँनको भनाइ छ । ‘हामीले गत वर्ष केही बिरुवा रोप्र्यौंँ, अहिले गर्मीको समय भएकाले रोकिएको छ । एक /दुई महिनापछि फेरि सुरु हुन्छ’, नगर प्रमुख खाँनले भने, ‘गर्मीमा बिरुवा रोप्यो भने मर्न सक्छ, त्यसैले चिसो मौसममा रोप्ने तयारीमा छौँ ।’ नगरपालिकासहित अन्य सङ्घ संस्थाले पनि वृक्षरोपण अभियान चलाएको उनले बताए । भैरहवालाई हराभरा र फूलको सहरको रुपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको उनको भनाइ छ । नगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ । नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्धचोक लगायतका क्षेत्रलाई हरियाली बनाउने योजना नगरपालिकाको छ । राजमार्गको दुवै किनार र बीच भाग डिभाइडर तथा बजार क्षेत्रको सडकको दुवै किनारमा फूल/रुखका बिरुवा लगाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख उमा अधिकारी बताउँछिन् । नगरको सौन्दर्यकरण साथै स्वास्थ्यलाई हित गर्ने बिरुवा रोपिने उनको भनाइ छ । ‘स्वच्छ, हराभर नगर बनाउने हाम्रो योजना हो, यसमा सबैले साथ दिनुभएको छ’, उपप्रमुख अधिकारी भन्छिन् । सिद्धार्थनगर नगरपालिका हुँदै सयौँ पर्यटक बुद्धजन्मस्थल पुग्ने भएकाले नगरको सौन्दर्यकरण गर्न आवश्यक रहेको उनी बताउँछिन् । ‘हामी बिरुवा रोप्ने मात्रै होइन हर्काउने कुरामा पनि ध्यान दिन्छौँ, रोपिएका बिरुवाको संरक्षका लागि नगरवासीको पनि साथ लिएका छौँ’, अधिकारी भन्छन् । हरेक दिन साँझबिहान बिरुवामा पानी राखिन्छ । बिरुवा संरक्षणका लागि कर्मचारी खटिएका छन् भने स्थानीयले पनि बिरुवा संरक्षणमा सघाएका छन् । नगर राम्रो हुँदा फाइदा हामीलाई नै हो, त्यसैले भित्री सडकमा समेत वृक्षरोपण गरेका छौँ, स्थानीय व्यवसायी सपना हमाल भन्छिन्, ‘सबै घर अगाडि फूल रोप्ने र संरक्षणको काम गरेका छौँ ।’ नगरपालिकाले नीति नै बनाएर अभियानको सुरुवात गरेको हो । नगरपालिकाको ११औंँ नगरसभाले नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने भन्दै निर्णय गरेको र सोही निर्णय अनुसार अभियान सुरु गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् । योजना नगरको भए पनि यो योजना पूरा गर्न विभिन्न सङ्घ संस्थाले साथ दिएका छन्। सामाजिक र व्यावसायिक सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरमा वृक्षरोपण गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल बताउँछन् । उनका अनुसार नगरमा एभरेष्ट बैंक, इन्भेष्टमेन्ट बैंक र लायन्स क्लब तथा विभिन्न सहकारीले बिरुवा लगाउने गरेका छन् । ‘जिल्ला वन कार्यालयलाई बिरुवा ठिक्क पार्न भनेका छौँ, केही दिनपछि फेरि वृक्षरोपण सुरु हुन्छ’, उनले भने, भैरहवाको बुद्धचोकदेखि बसपार्कसम्म विभिन्न प्रजातिका बिरुवा तथा फूलहरु लगाइएका छन् । पहिलेभन्दा अहिले नगर धेरै हरियाली भएको छ, अझै बाँकी ठाउँमा फूल अन्य प्रजातिका बिरुवा रोप्ने तयारीम छौँ, उनले भने । नगरको लगानी नभएका कारण कति बिरुवा रोपियो भन्ने तथ्याङ्क नगरपालिकासँग छैन । सिद्धार्थनगर नगरपालिाका अनुसार विसं १९९० सम्म नगन्य रूपमा मात्र बस्ती भएको यस नगरमा बिसं २०१० मा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ती विकासको गतिमा तीव्रता आएको पाइन्छ । विसं २०२४ मा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । विसं २०३३ देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । कूल १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा भारतको सुनौली नाका सिमाङ्कन गरिएको छ । रासस
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन् । राज्यका मुख्य सूचनाआधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्णरुपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो । सङ्घीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ । आगामी जुन १ देखि उक्त सञ्जालमाथिको प्रतिबन्ध पूर्णरुपमा लागू हुनेछ । उक्त प्रतिबन्धलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर हुनसक्ने समाचारमा जनाइएको छ । रासस
३२ अंकले बढ्याे नेप्से, साढे एक अर्बकाे सेयर किनबेच
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज बिहीबार ३२.३० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८७७.३२ विन्दुमा पुगेको छ । यसरी नेप्से बढ्दा २४ दिन यताकै उच्च कारोबार भएको छ । आज ४४ लाख २२ हजार कित्ता सेयर किबबेच हुँदा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमले आठ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा हिमालयन उर्जा विकास कम्पनी र आत्मानिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ । हिमालय उर्जाको सेयर मूल्यमा सर्किट लागेर सेयरधनीले प्रतिकित्ता २५.६० रुपैयाँ कमाएका छन् । यस्तै, आत्मानिर्भर लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९३.३० रुपैयाँ वृद्धि भएको छ ।
सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच
सुनसरी । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रक्षा पन्तले बुधबारसम्ममा एक सय ५४ बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए । यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका नौ सय १९ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए । सो अवसरमा आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीले आफ्नो घर आँगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका थिए । अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए । विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सुमित मिश्र र डा प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेका थिए । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल दुई आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार तीन सय २६ जनाको आँखा जाँच गरी एक लाख ३१ हजार आठ सय ४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यसै गरी स्थापनाकालदेखि सन् २०२२ सम्ममा यस संस्थामार्फत एक करोड २४ लाख ३० हजार चार सय ७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ । त्यस्तै सन् २०२२ मा एक सय ५४ निःशुल्क आँखा शिविर सञ्चालन गरी छ हजार एक सय ३० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिक दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिए । नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवं विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको बताए । रासस
आर्थिक सङ्कटका कारण पाकिस्तानले रोक्यो कूटनीतिक कर्मचारीको तलब
इस्लामावाद । पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ । समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्काशित हुनसक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ । अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्च महिनाको तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीले बताएका छन् । पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ । विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुअरीको तलब हस्तान्तरण गरेको थियो । विदेश मन्त्रालयले मातहतका निकाय र विभागमार्फत विदेशमा कार्यरत आफ्ना कर्मचारीका लागि रकम विनियोजन गरी प्र्रत्येक महिनाको एक वा दुई तारिखमा कर्मचारीको खातामा रकम दाखिला गर्दै आएको थियो । अर्थसचिवसँग यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा त्यो सफल हुन सकेन । हालैको एक बैठकमा कूटनीतिक कर्मचारीले तलब नपाएको विषय उठेपछि अर्थमन्त्री इशाक दारले जवाफ दिनुपरेको थियो । विदेशमा कार्यरत कर्मचारीलाई विदेशी मुद्रामा तलब दिनुपर्ने भएकाले आर्थिक समन्वय समिति र पाकिस्तानको केन्द्रीय बैंकको समन्वयमा आवश्यक व्यवस्था गरिने बताइएको छ । रासस/एजेन्सी
सडकले जोडियो अग्लो बस्ती बागलुङको मुठाचौर
ढोरपाटन । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्म घर छन् । यी घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ । घुम्ती बसाइँ हुने गर्दा स्थानीय यहाँ बर्खाको समय पशुचौपाया लिएर पुग्ने गर्छन् । मुठाचौर मोटरबाटो, खानेपानी, विद्युत्लगायत विकासका पूर्वाधारले नजोडिएको हुँदा स्थानीय छोटो समय मात्रै बस्ने गर्छन् । छोटो समयमै पनि उनीहरुले यहाँ आलु, भाँगो र सिमी उत्पादन गर्छन् भने पशुचौपाया पनि पाल्ने गर्छन् । सेवासुविधाले पछि परेको मुठाचौर अब विकासले जोडिँदै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यो ठाउँ बागलुङको मुख्य पर्यटकीय गन्तव्य बराह तालको छेउमै छ । भौगोलिक हिसाबले निकै विकटमा रहेको हुँदा मुठाचौरमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको थिएन । यस वर्ष बल्ल यहाँ सडक पुगेको छ । पर्यटकीय हिसाबले भने निकै मनोरम रहेको मुठाचौर पुग्ने जोकोही यहाँबाट देखिने दर्जनौँ हिमशृङ्खला र अनेकौँ दृश्यले लोभिने गर्दछन् । प्राकृतिक सुन्दरताले भरिएको मुठाचौरमा करिब दुई सय घर परिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय चार महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । सेवासुविधा नपुग्दा घुम्ती बसाइँ गर्ने स्थानीय अब मुठाचौरमै बस्ने छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँले मुठाचौरमा सडक पुर्याइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । उनका अनुसार मुठाचौरसँगै बराहतालसम्म सडक पुर्याइएको छ । ‘तमानखोला भौगोलिकरुपमा विकट छ, धेरै बस्तीमा हामी निर्वाचित भएर आएपछि सडक पुर्याइसकेका छौँ, मुठाचौर र बराहतालमा पुर्याउन सकेका थिएनौँ, यस वर्ष प्रदेश सरकारले विनयोजन गरेको बजेटबाट सडक निर्माण ग¥यौँ’, अध्यक्ष बुढामगरले भने, ‘अब स्थानीय र बराह तालमा आउने पर्यटकलाई सहज हुनेछ, यो ठाउँ निकै मनोरम हुँदा पर्यटकीय गन्तव्य बन्नसक्छ भने उत्पादनका हिसाबले निकै सम्भावना बोकेको छ, अब यसको प्रवद्र्धन गर्नतर्फ योजना बनाएर लाग्छौँ, यस वर्ष सडकले जोड्यौँ, अब खानेपानी र विद्युत्को पनि व्यवस्थापन गर्छौं ।’ यसअघि गाउँपालिकाले कोलचेप्पासम्म सडक पुर्याएको थियो । अहिले कोलचेप्पादेखि करिब एक किलोमिटर सडक निर्माण गरेर मुठाचौर हुँदै बराह ताल पुर्याइएको हो । यहाँका स्थानीयको मुख्य पेसा नै पशुपालन र खेतीपाती हो । मुठाचौर प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युत्लगायत विकासका पूर्वधारले जोडिन नसक्दा अहिलेसम्म ओझेलमा परेको स्थानीय ढालेन्द्र छन्त्यालले बताए । बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य रहेको भन्दै बजारबाट सामान पनि मान्छेले नै बोकेर ल्याउने गरेको उनको भनाइ छ । अब गाडी चल्न थालेपछि वर्षौंदेखिको स्थानीयको समस्या समाधान हुने उनी बताउँछन् । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उनको भनाइ छ । यहाँ विकासले छुन नसक्दा पुर्खौंदेखि स्थानीय घुम्ती बसाई गर्न बाध्य भएको उनी बताउँछन् । मुठाचौरमा सडक पुगेपछि स्थानीय हर्षित भएका छन् । अब मुठाचौरले मुहार फेर्ने छन्त्यालको भनाइ छ । उनी भन्छन्, ‘यस ठाउँका मान्छेलाई जस्तो दुःख अरुलाई थिएन, विकास नहुँदा लेकबेँसी गरेर बस्नुपर्ने बाध्यता थियो, अहिले बल्ल सडक आयो, सडक राम्रो भयो र गाडी चल्न थाले भने यो ठाउँ पनि राम्रो बन्नेछ, पर्यटक आउन थाल्नेछन्, गाउँलेको जनजीवनसमेत फेरिनेछ, अहिले मान्छे विकास खोज्दै बजार गएका छन्, भोलिका दिनमा उनीहरु गाउँ फर्किएर यही ठाउँमा आउनेछन् ।’ स्थानीय खिमा रसाइलीले अब आफूहरुका दुःखका दिन हराउने भन्दै खुसी व्यक्त गरे । सबै गाउँमा मोटर गुड्दा अहिले बल्ल मुठाचौरमा मोटरबाटो आएको भन्दै अब दैनिक उपभोग्य सामान थाप्लोमा बोकेर खान नपर्ने उनी बताउँछन् । अब सडक आएपछि यात्रा गर्न र सामान ढुवानी गर्न सहज हुने भए पनि खानेपानी तथा विद्युत्को समस्या उस्तै रहेको रमाइलीले बताए । विद्युत् नहुँदा आफूहरु वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य रहेको र पानी पोखरी तथा कुवाबाट लिएर उपभोग गरेको उनी बताउँछन् । ‘ठाउँ राम्रो भएर मात्रै नहुने रहेछ, विकास चाहिँदो रहेछ, विकास हुन नसक्दा यहाँ बस्ने बर्खाको समयमा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेले नै नुन, तेल र चामल बोकेर ल्याउनुपर्छ, अहिले सडक आयो अब बोक्नुपर्ने बाध्यता हट्ने छ’, रसाइलीले भने, ‘सडक आयो अब, खानेपानी र बिजुली बत्ती आयो भने बाह्रै महिना यही बस्न सकिने थियो, अहिलेसम्म आकाशबाट आएको र पोखरीको पानी खाँदै आएका छौँ, सडक आएपछि अब अरु विकास पनि होला भन्ने आश लागेको छ ।’ गाउँपालिकाले कटेरी गाउँ हुँदै कोलचेप्पासम्म अघिल्लो वर्ष सडक पुर्याएको थियो । यस वर्ष बराहतालसम्मै सडक पुग्नेछ । सडकले मुठाचौरको विकास र बराह तालको प्रवद्र्धनका लागि टेवा पुग्ने रसाइलीको भनाइ छ । सडक हुँदा पनि आन्तरिक पर्यटक मुठाचौर र बराह तालमा घुम्न आउने गरेको उनले बताए । रासस
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशकोभन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेश गरिएको तथ्याङ्कलाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले जनाएको छ । पाकिस्तानमा सबैभन्दा धेरै तलब पाउने व्यक्ति प्रधानन्यायाधीश हुन्भने सर्वोच्च अदालतका न्यायाधीशहरू दोस्रो श्रेणीमा छन् । तीन नम्बरमा राष्ट्रपति छन् । सङ्घीय मन्त्री र सचिवकोभन्दा पनि कम तलब छ प्रधानमन्त्रीको । सार्वजनिक लेखा समितिका अध्यक्ष नुर खानका अनुसार पाकिस्तानी राष्ट्रपतिको पारिश्रमिक पाकिस्तानी आठ लाख ९६ हजार पाँच सय ५० छ भने प्रधानमन्त्रीको दुई लाख एक हजार पाँच सय ७४ । प्रधानन्यायाधीशले १५ लाख २७ हजार तीन सय ९९, सर्वोच्च अदालतका न्यायाधीशले १४ लाख ७० हजार सात सय ११ र सङ्घीय मन्त्रीको तलब तीन लाख ३८ हजार एक सय २५ रहेको छ । एक जना सांसदको तलब एक लाख ८८ हजार छ भने २२ औँ तहका सरकारी अधिकारीको तलब पाँच लाख ९१ हजार चार सय ७५ छ । लेखा समितिले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका अन्य न्यायाधीशले प्राप्त गर्ने भत्ता, अन्य सेवा–सुविधा तथा भत्ताको विवरण माग गरेको द न्युज इन्टरनेशनलले जनाएको छ । सर्वोच्च अदालतले बितेका १० वर्षमा गरेका खर्चबारे जानकारी दिन तथा लेखा परीक्षणका निम्ति समितिमा उपस्थित हुन उक्त अदालतका रजिष्ट्रारलाई दिइएको निर्देशनको अवहेलना भएको समितिका एक सदस्यले बताएका छन् । समितिको आगामी मङ्गलबार हुने अर्को बैठकमा पनि रजिष्ट्रार अनुपस्थित रहेमा उनीविरुछ पक्राउ पुर्जी जारी गरिने चेतावनी दिइएको समाचारमा जनाइएको छ । रासस\एजेन्सी