काभ्रेपलाञ्चोकका किसान कफी खेतीमा जोड दिदै
काभ्रे । खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि महाभारत पर्वतशृङ्खलामा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउँछन् । उनले भौतिक पूर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रमा जोड दिएको बताए । ‘एक वर्षमा सामाजिक न्याय, सुशासन र विकासका थुप्रै काम भएका छन्’, थिङले भने । सो अवधिमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न मन्त्रिपरिषद्बाट जग्गा स्वीकृत गर्ने काम भएको छ । कक्षा १ देखि १० सम्मका असहाय बालबालिकाका लागि आवासिय शिक्षणको व्यवस्था गरिएको छ । ‘जसको उत्पादन ः उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्दश्यले कफीमा प्रति किलो ३५ रुपैयाँको दरले अनुदान दिइएको छ । ‘खानीखोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्न प्राथमिकताका साथ काम गरेका छौँ’, उनले भने । खानीखोला–३, ४ र ५ को वडा भवन निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको छ । सुस्त गतिमा निर्माणाधीन बाग्मती खोलास्थित सिक्रेदोभानमा पक्की पुल निर्माण तीव्र पारिएको छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्यचौकी भवन निर्माण, यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलो पटक ११ विद्यालयमा मातृभाषा तामाङ भाषा शिक्षणको सुरुआत, सुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुनेगरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआत गरिएको अध्यक्ष थिङले जानकारी दिए । यसैगरी गाउँपालिकाले एक वर्षको अवधिमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’ मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै गएर स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिसमेत वितरण गरिएको छ । गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा/डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेबिज सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण समेत गराएको छ । गाउँपालिकाले बालविवाह न्यूनीकरण, दलित, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकका क्षेत्रमा आउँदो वर्ष थप योजना बनाइने जनाएको छ । गाउँपालिकाले कफी खेतीका क्षेत्रमा भने दिगो आयस्रोतका रुपमा छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै कृषक समूह र कृषि सहकारी गरी ११ संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान गत वैशाख तेस्रो साता वितरण गरेको थियो । सबै कृषक समूहलाई पाँच लाख वितरण गरिएको छ । कफी किसानलाई प्रोत्साहन दिन चालु आवमा ३५ रुपैयाँलाख विनियोजन गरिएको अध्यक्ष थिङले बताए । ‘कृषकलाई ३५ हजार बिरुवा वितरण गर्ने योजना छ’, उनले भने । यस वर्ष १५ हजार किलो कफी उत्पादन भएको छ । गाउँपालिकाले कृषकलाई उत्पादितमध्ये एक किलो बराबर ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कृषकले कफीका लागि अनुदान पाएका छन् । रासस
स्थानीय र प्रदेशबाट एक खर्ब २१ अर्बको योजना माग, सिलिङभन्दा पाँच गुणा बढी
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०८१ को बजेटमा प्रदेश र स्थानीय तहहरुबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयोजना माग गरिएको छ । राष्ट्रिय योजना आयोगका अनुसार आगामी आर्थिक वर्षको बजेटमा ७७ वटा स्थानीय तह र सात वटा प्रदेशबाट सो रकम माग गरिएको हो । स्थानीय तह र प्रदेशबाट मात्रै एक खर्ब २१ अर्ब रुपैयाँभन्दा बढीको माग आएको राष्ट्रिय योजना आयोगका सदस्य तथा विशेष एवं समपूरक आयोजना छनोट समिति संयोजक डा. रामकुमार फुयालले जानकारी दिए । अर्थ मन्त्रालयले स्थानीय तह तथा प्रदेशबाट करिब ५ हजार बटा आयोजनाका लागि बजेट छुट्याउन माग आएको छ । फुयालका अनुसार प्रदेशबाट समपूरकका लागि ७७ र स्थानीय तहबाट २ हजार ६८ वटा आयोजनका लागि बजेट माग भएको छ । यस्तै, विशेष अनुदानका लागि प्रदेशबाट ४४ र स्थानीय तहबाट २ हजार १६ आयोजनाका लागि माग आएको हो । राष्ट्रिय योजना आयोगले आगामी बजेटमा समपूरक अनुदानका लागि साढे २६ अर्ब रुपैयाँ बराबरको सिलिङ दिएको छ । तोकिएको सिलिङभन्दा पाँच गुणाभन्दा बढीले योजनाको माग आएको हो । आयोगले विद्युतीय प्रणालीमा आधारित भएर आयोजनको प्रस्ताव आह्वान गर्ने, संकलन तथा मूल्यांकन गर्दै आएको छ । सम्बन्धित मन्त्रालयमा आएको योजना एलएमबीआईएस (लाइन मिनिस्ट्री बजेटरी सिस्टम) मा इन्ट्री हुन्छ । एलएमबीआईएसमा इन्ट्री भएका आधारमा अर्थमन्त्रालयले प्राथमिकताको आधारमा बजेट छुट्याउने गर्छ । एलएमबीआईएसमा इन्ट्री बन्द बजेट लेखनको अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालय एलएमबीआईएसमा इन्ट्री बन्द गरेको छ । एलएमबीआईएसमा इन्ट्री बन्द गरेर बजेट लेखन सुरु गरिएको मन्त्रालय स्रोतले बतायो । ‘हामी लगभग बजेट लेखनको अन्तिम चरणमा पुगेका छौँ, एलएमबीआईएसमा इन्ट्री बन्द गरेर नै बजेट लेखन सुरु गरिएको हो’, स्रोतले भन्यो, ‘चालू, पुँजीगत र वित्तीय व्यवस्थापन अन्तरगत छुट्टा छुट्टै शिर्षकमा एलएमबीआईएसमा इन्ट्री भएको हुन्छ, सोहीलाई आधार बनाएर बजेटमा राखिने हो ।’ राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको सिलिङ पठाएको थियो । पहिलो चरणमा पठाएको सिलिङमा १० प्रतिशत घटाएर १५ खर्ब १९ अर्बभित्र रहेर बजेट तर्जुमा गर्न सिलिङ तोकेको छ । आयोगले दिएको सिलिङका आधारमा अर्थका अधिकारीहरुले आगामी आवकोे बजेट लेखिरहेका छन् । चालू आवका लागि ल्याईएको बजेटभन्दा पनि कम बजेटको सिलिङ आएपछि अर्थले अधिकांश मन्त्रालयको बजेट सिलिङ घटाएर पठाएको हो । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । सरकारले अर्ध वार्षिक समिक्षा मार्फत २ खर्ब ४४ अर्बले घटाएर १५ खर्ब बराबरको बजेट कायम गरेको छ । नयाँ आयोजनका लागि बजेटको माग गर्दै सम्बन्धित मन्त्रालयमा स्थानीत तहका प्रतिनिधि, प्रदेश तथा केन्द्रीय सांसदहरु नै उपस्थित हुने गरेका छन् । अन्य मन्त्रालयको तुलनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयबाट धेरै आयोजनको माग भएकोे पाइएको छ । यातायातमन्त्री प्रकाश ज्वाला नै विकासे मन्त्रालयको रुपमा रहेको मन्त्रालयमा योजना माग्न केन्द्रीय सांसदलेखि स्थानीय तहका जनप्रतिनिधिहरु नै आउने गरेको बताउँछन् । उनले चालू आवको तुलनामा आगामी आवका लागि बजेट कटौती भएर आएको भन्दै नयाँ योजनाभन्दा पनि पुरानै योजनालाई निरन्तरता दिने तयारी भएको बताउँछन् । भएका योजनालाई बजेट छोडेर नयाँ योजनाका लागि बजेट माग नगर्ने उनको भनाई छ ।
को पत्रकार हो, को होइन ?
१. विषय प्रवेश अहिले को पत्रकार हो, को होइन भनेर दिउँसै ‘टर्च’ बाल्नुपर्ने बेला आएको छ । पत्रकारबाटै पत्रकारको खोजी हुन थालेको छ । पत्रकार हराएर होइन, नक्कली पत्रकारको बढ्दो सङ्ख्याले सक्कली पत्रकारहरू ‘गुमनाम’ भएर हो । यस्तो अवस्था आएपछि विगतदेखि नै पार्टी-आस्थाको निकटता, साथी-सङ्गी हुनु र विभिन्न लाभ लिनुको नाममा नक्कली पत्रकारलाई सदस्यता दिएर महासङ्घको राजनीतिमा स्थापित भएकाहरूकै ’बिपी’ ‘हाइ’ भएको छ । त्यही भएर होला, पत्रकारको आवरण र परिचयमा पाएसम्म राज्यका सबै सेवा-सुविधा, पद लिने, लिन चाहने र भ्याएसम्म महासङ्घलगायत समाजका विभिन्न संस्थामा बसेर फरक-फरक ‘टोपी’ लगाए पनि पत्रकार नै भनेर चिनिन पाउनेहरूलाई नै ‘पत्रकार शुद्धीकरण’ को चिन्ताले बढी सताएको छ । यद्यपि शुद्धीकरणको आवाज आजभन्दा २०-२२ वर्षअघिदेखि नै सक्कली पत्रकारबाटै उठ्दै आएको हो । त्यसैले को पत्रकार हो, को होइन ? भनेर निष्कर्षमा पुग्नुअघि सर्वप्रथम यस विषयमा सैद्धान्तिक रूपमा नै प्रष्ट भइ व्यावहारिक पक्षहरू केलाउन जरुरी छ । साथै, विद्यमान समस्याको समाधानका लागि वैकल्पिक उपायहरूसमेत खोज्नुपर्दछ किनकि अहिलेको नियम, कानुन, विधान र संरचनाअनुसार बनेका/बनाइएका पत्रकारलाई अहिले नै शतप्रतिशत निमिट्यान्न पार्न खोज्नु ‘दुस्साहस’ मात्रै हुन्छ । विषयको उठान जति सजिलै भएको छ त्यति सजिलै यसको बैठक हुन गाह्रो छ । यो अभियान सफल पार्न यो अभियानका अगुवा, अभियन्ताहरू नै सबैभन्दा पहिले नीति र व्यवहारमा इमान्दार, प्रष्ट हुनुपर्दछ । २. सैद्धान्तिक पक्ष सैद्धान्तिक परिभाषाअनुसार पत्रकारिताको व्यावसायिक मूल्य-मान्यता जानी-बुझी त्यसको ख्याल गरी समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण (वितरण र प्रसारण) जस्ता चारवटै कार्यमा प्रत्यक्ष सहभागी वा सक्रिय हुने व्यक्तिलाई ‘पत्रकार’ भनिन्छ । अथवा पत्रकारिताका माध्यमबाट समाचार वा सूचना प्रवाह गराउने व्यक्ति नै ‘पत्रकार’ हो । यो भनिदैँ आएको सामान्य बुझाइ हो । पत्रकार र पत्रकारिताबारे धेरै कोणबाट चर्चा, खोजी गरेको पाइन्छ । ती सबैलाई यहाँ उल्लेख गर्न सम्भव छैन । केही प्रसङ्गमा जानुपर्दा अङ्ग्रेजीमा पत्रकारलाई ‘जर्नलिस्ट’ भनिन्छ । यो शब्द पुरानो ‘फ्रेन्च जोर्नल’, ‘डे’ अथवा ‘डेज वर्क’ बाट आएको हो । जुन पछि जर्नल, डेली पब्लिकेसन बन्यो । यसरी जर्नल वा डेली पब्लिकेसनमा दैनिक कार्य गर्ने व्यक्तिलाई जर्नलिस्ट (पत्रकार) भन्न थालियो । तर आजका दिनमा यत्तिले मात्र पत्रकारको परिभाषालाई समेट्न सकिँदैन । अहिले परम्परागतदेखि नयाँ माध्यम (अनलाइन माध्यम) सम्ममा सूचना सङ्कलन तथा समाचार तथा समाचार-सामग्री लेख्ने, खिच्ने, सम्पादन र सम्प्रेषण गर्ने व्यक्तिलाई पत्रकार भन्नुपर्ने हुन्छ । यस्तै सबैभन्दा महत्वपूर्ण कुरा ‘जर्नलिष्ट’ लाई ‘जर्नलिज्म’ शब्दसँग तुलना गरेर हेर्न सकिन्छ । किनकि ‘जर्नलिज्म’ पनि ‘जर्नल’ बाट आएको हो । यो लेट ल्याटिन भाषाको ‘डिर्युनलिस -diurnalist’बाट विकसित भएको हो । यसको अर्थ ‘एक दिन’ भन्ने हुन्छ । समयक्रमसँगै ‘जर्नल’ को व्याख्या फराकिलो हुँदै आएको पाइन्छ । युरोपको मध्ययुगमा यसलाई ‘पुस्तक’ र १७ औँ शताब्दीमा ‘व्यक्तिगत डायरी’ भनिन्थ्यो । छापाखानाको आविष्कारसँगै लिखित रूपमा सञ्चार सुरु भएपछि यसलाई ‘दैनिक पत्रिका’ भनेर बुझ्न थालियो । समयक्रमसँगै अहिले पत्रिका मात्रै नभइ रेडियो, टेलिभिजन र अनलाइनमाध्यमबाट गरिने सञ्चार कर्मलाई पत्रकार र यसका लागि काम गर्ने व्यक्तिलाई ‘पत्रकार’ नै भनेर बुझिन्छ । लेखक अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरीले पनि अखबार, पत्रिका, रेडियो, टेलिभिजनका लागि समाचार सङ्कलन, लेखन, सम्पादन र प्रकाशन कार्यमा खटिने व्यक्तिलाई पत्रकार भनेको छ । सोही डिक्सनरीका अनुसार पनि ‘अखबार, पत्रिका, रेडियो, टेलिभिजनका लागि सूचना सङ्कल, लेखन, सम्पादन र प्रकाशनसम्बन्धी कार्य गर्ने व्यक्ति जर्नलिष्ट हो । पत्रकारिताको सैद्धान्तिक परिभाषासँग अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरीको परिभाषा मिलेको छ । तर अब यी दुवै परिभाषा ‘अनलाइन माध्यमका लागि पनि’ भनेर थपियो भने आजसम्मका समाचार माध्यमको प्रकृति समेटिन्छ । नेपाल पत्रकार महासंघको विधान-२०६०(पाँचौँ संशोधन २०७५) मा ‘छापा, प्रसारण तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आवद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकार’ सम्मलाई पत्रकार भनिएको छ । पत्रकार आचारसंहिता-२०७३(पहिलो संशोधन, २०७६) मा केही बढी व्याख्या गर्दै पत्रकारको परिभाषा दिइएको छ । त्यसमा भनिएको छ-‘सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनुपर्दछ ।’ तर पत्रकारिताको गहन सैद्धान्तिक परिभाषाभित्र छिरेर अर्थ केलाउँदा महासंघकै विधान र प्रेस काउन्सिल नेपालको आचारसंहिताको परिभाषाले बनाएका सबै व्यक्ति पत्रकार हुन सक्दैनन् । साँच्चैको शुद्धीकरण गर्ने हो भने यस्ता व्यक्तिहरूलाई पत्रकारको परिभाषाबाट हटाउनुपर्छ । जस्तोः- भाषा सम्पादन मात्र गर्ने कसरी पत्रकार ? फोटो मात्रै खिच्ने कसरी पत्रकार ? कोठा बसेर समीक्षा मात्रै गर्ने, स्तम्भ मात्रै लेख्ने कसरी पत्रकार ? अरुले ल्याएको समाचार काँटछाँट मात्रै गर्ने कसरी पत्रकार ? कार्टुनचित्र मात्रै बनाउने कसरी पत्रकार ? प्राविधिक कार्यमात्रै गर्ने कसरी पत्रकार ? अनुवादक, साजसज्जा मात्रै गर्ने व्यक्ति कसरी पत्रकार ? अरुले नै तयार पारिदिएको समाचार वाचन मात्रै गर्ने व्यक्ति कसरी पत्रकार ? सञ्चारविज्ञ भानुभक्त आचार्यले लेखेजस्तै -‘…पत्रपत्रिकामा नियमित लेखन गर्ने, संविधानविद् भीमार्जुन आचार्य, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला आदिलाई पनि पत्रकार भन्न सकिनेभो ।’ (अन्नपूर्ण टुडे, ४ चैत, २०७३) ३. व्यावहारिक पक्ष व्यावहारिक पक्ष हेर्दा नेपालमा पत्रकारिताको परिभाषामा नपरेका व्यक्तिले पनि महासंघको सदस्यता लिएका छन् । अर्कोतिर १५ वर्षसम्म पत्रकारिता पेसा गरेका तथा १० वर्ष पत्रकारिता गरी पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातक पास गरेका व्यक्तिलाई सूचना तथा प्रसारण विभागले ‘स्वतन्त्र पत्रकार’ को आधिकारिक ‘रातो पास’ दिँदै आएको छ । व्यवहारमा हेर्दा विगतमा सक्रिय पत्रकारितामा संलग्न व्यक्ति विभिन्न कारणले अन्य पेसा, क्षेत्रमा गएका छन् भने कोही पत्रकारको सदस्यता लिएरै पनि निष्क्रिय छन् । त्यसैले पत्रकारको ठेट पहिचान गर्न सैद्धान्तिक र व्यावहारिक पक्षलाई ‘फ्युजन’ गरी एउटा निष्कर्षमा पुग्नु नै पर्दछ । यसका लागि अब यसरी छुट्याऔँ पत्रकारलाई, क) वास्तविक वा पूणर्कालीन पत्रकार: विहान-बेलुका अक्षरकै कर्म गरेर जीवन धान्ने पत्रकार वास्तविक वा पूणर्कालीन पत्रकार हो । राज्यका सेवा-सुविधा अवसरको प्राथमिकतामा यो समूहको पत्रकारलाई राखौँ । महासङ्घको निर्वाचनमा प्रमुख पदमा यो समूहको पत्रकारले मात्रै उठ्न पाउने व्यवस्था गर्नुपर्छ । यो समूहका पत्रकारलाई भन्ने नै हो भने क्रियाशील पत्रकार भनौँ, होइन भने पत्रकार मात्रै भनौँ । ख) विभिन्न पेसा, व्यवसायमा संलग्न वा ‘पार्टटाइमर’ पत्रकारः मुलुकमा पत्रकारिता पेसाबाट मात्रै टिक्न नसकिने सोच भएको पत्रकारहरु अन्य पेसा-व्यवसायमा संलग्न हुने गरेको छ । यो समूहको पत्रकारलाई राज्यका सेवा-सुविधामा अवसरमा प्राथमिकतामा नराखौँ । यो समूहको पत्रकारले महासंघको निर्वाचनमा सदस्यमा मात्र उठ्न पाउने व्यवस्था गरौँ । पत्रकारिता कला हो । यो लेख्न, बोल्न, खिच्न सक्नेले मात्रै गर्ने पेसा हो । जस्तो कि गीत लेख्न सक्नेले लेखेजस्तै, गाउन जान्नेले गाएजस्तै, सङ्गीत भर्न सक्नेले भरेजस्तै । त्यसैले अन्य पेसामा लागेर पनि पत्रकार नै भयो भनेर सङ्कीर्ण हुन आवश्यक छैन । उसले पत्रकारको आवरणमा गलत धन्दा गर्दैन र राज्यका फाइदा लिँदैन भने के फरक पर्यो त ? ऊ पत्रकार नै भइरहन सकिहाल्छ नि ! बाँकी समय पत्रकारितामा खर्चेर मुलुकको दोहोरो सेवा गरिरहेको पनि त छ नि ? ग) अन्य पत्रकार: पार्टीको राजनीति गर्ने, विभिन्न पूणर्कालीन जागीर, एनजिओ आइएनजिओ, सल्लाहकारमा संलग्न भएका पत्रकारलाई यो समूहमा राख्ने । यिनीहरूलाई राज्यका सेवा, सुविधामा प्राथमिकतमा नराख्ने । महासङ्घको सदस्य वा विगतमा पत्रकारितामा सक्रिय व्यक्ति अन्य पदमा पुगेर स्थापित हुनु महासंघ र पत्रकारहरूकै गौरवको विषय हुने हुँदा यस्ता पत्रकारहरूको लिखत महासंघमा राखी त्यसलाई ‘संस्थागत स्मरण’का रूपमा लिनुपर्छ । किनकि यो महासङ्घकै पूँजी बन्न सक्छ । जस्तो कि आज हिजोका पत्रकार रामचन्द्र पौडेल र कृष्ण प्रसाद भट्टराई मुलुकको राष्ट्रपति र प्रधानमन्त्री भन्दा महासङ्घलाई गौरव महसुस हुँदैन र ? । घ) सदस्यता नलिएका पत्रकारः अर्कोतिर महासंघको सदस्यता नलिइकन सक्रिय र प्रभावकारी पत्रकारिता गर्नेहरू पनि छन् । महासंघले यसको सङ्ख्या एकीन गरी सकेसम्म सदस्य लिन उत्प्रेरित गर्नुपर्दछ । सदस्यता नलिइकन पत्रकारिता गर्न पाइदैँन भनेर ऐन, नियम, विनियम, विधानमा राख्न नहुने हुँदा काउन्सिल र महासंघले यस्ता पत्रकारको समेत अभिलेख राखी व्यवहार गर्नुपर्दछ । किनकि सदस्यता लिनेहरू सबै दूधले धोइएको र नलिने जति गलत भन्न सकिन्छ र ? । विगतमा महासङ्घको नेतृत्वमा पुगेकाहरू नै लेनदेनसम्बन्धी ‘अडियो काण्ड’ मा मुछिएका होइनन् र ? ४. निष्कर्ष सारमा लेखन, श्रव्य, दृश्य र तस्बिरका रूपमा सूचना सामग्री सङ्कलनसहित त्यसलाई समाचारका रूपमा प्रशोधन गरी ‘मिडियाग्राही’ मा पुर्याउने व्यक्ति नै खाँटी पत्रकार हो । यसैको वरिपरि रहेर खोजिएमा पक्कै पनि नेपालमा हराइरहेका सक्कली क्रियाशील पत्रकार फेला पार्न सकिनेछ । तर के यसको कार्यान्वयनका लागि राजनीतिकलगायत अनेक दबाब र प्रभावबाट मुक्त हुनसकौँला त हामी ?
वालिङमा जग्गाको कित्ताकाट थालियो
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । राष्ट्रिय भूउपयोग ऐन, २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार, २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो । लामो समयसम्म कित्ताकाट हुन नसक्दा जग्गाको कारोबार ठप्प थियो । जग्गाको कित्ताकाट खुलेसँगै राजस्व सङ्कलनसमेत बढ्न थालेको छ । चौध वडामध्ये नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गसँग जोडिएका तथा बजारका वडा ६, ८, ९, १० र १३ वडामा कित्ताकाट थालेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए । कित्ताकाट सुरु भएका वडाको जग्गाको वर्गीकरण गरी मालपोत र नापी कार्यालयमा स्रेस्ता कायम गर्न पठाइएको छ । ‘पहिलो चरणमा जग्गाको वर्गीकरण गरिएका वडाबाट कित्ताकाट आरम्भ गरेका छौँ’, उनले भने, ‘दोस्रो चरणमा बाँकी रहेका वडाको क्रमशः कित्ताकाट खुलाउँदै जान्छौँ ।’ कित्ताकाट गरिएका वडाका जग्गाधनीले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल जग्गाधनी पुर्जा लिई मालपोत कार्यालय आउनुपर्ने कार्यालयका सूचना अधिकारी जीवनाथ पौडेलले बताए । नगरपालिकाले राष्ट्रिय भू–उपयोग ऐन, २०७६ अनुसार कृषि र गैर कृषि जग्गासहित ऐनले उल्लेख गरेअनुसार कित्ताकाट हुने उनले बताए । कित्ताकाट खुलेसँगै जग्गाको कारोबार बढेको छ । रासस
चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स नाट्टाको २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए । विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा भएको छ । विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकेका अवस्थामा चार्टर्ड उडानले आफूहरूलाई उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा चार्टड उडान हुने कुराले उत्साहित छौँ’, उनले भने, ‘यसबाट अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ ।’ विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण सुरुआत हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउँछन् । ‘चार्टर्ड उडानमार्फत अन्तराष्ट्रिय उडान हुनु आफैँमा महत्वपूर्ण छ’, उनले भने । नेपाल आउने चिनियाँँ पर्यटकमध्ये झण्डै ८० प्रतिशत पोखरा भित्रने गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । विशेषतः साहसिक पर्यटन चिनियाँँ पर्यटकको रोजाइ हुने उनले बताए । ‘चिनियाँ पर्यटकको पोखराको मुख्य रोजाई प्याराग्लाइडिङ हो, उनीहरू छोटो दूरीको पदयात्राका लागि पनि उत्तिकै रुचि राख्छन्’, सुवेदीले भने । पोखरामा चिनियाँँ पर्यटकका लागि चाइनिज खाना खुवाउने होटेल तथा रेष्टुराँ पर्याप्त रहेको उल्लेख गर्दै उनले चिनियाँँ पर्यटकको आवश्यकताअनुसारका पर्यटक गाइड तथा सहयोगी पनि उपलब्ध रहेको बताए । सन् २०१९ अघि पोखरामा ठूलै सङ्ख्यामा चिनियाँ पर्यटक आए पनि कोरोना महामारीलगायत कारणले पछिल्लो समय आगमन प्रभावित बनेको थियो । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको पोखरा विमानस्थलको निर्माणको जिम्मा चिनियाँँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बको लागतमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २०, बोइङ सात सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ । विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिन्छ । धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन छन् । अन्तर्राष्ट्रिय उडानले विभिन्न देशका सहरसित पोखराको सीधा सम्पर्क हुनेछ । पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान पोखरामात्र नभई समग्र देशको पर्यटकीय विकासका लागि कोसेढुङ्गा सावित हुने पर्यटन व्यवसायी बताउँछन् । रासस
राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उहाँको यो पहिलो सम्बोधन हुन लागेको हो । सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन् । उक्त बैैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ ।
नेप्सेमा एक बैंकको १२.३५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको १२.३५ प्रतिशत बोनस वापतको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो
महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, प्रभुसँग १:१ अनुपातमा मर्ज हुने
काठमाडौं । प्रभु लाइफसँग मर्जरमा जाने निर्णय पारित गर्न महालक्ष्मी लाइफ इन्स्योरेन्सले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २६ गते बिहान ११ बजे होटल अकामा धुम्बाराही काठमाडौंमा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले प्रभु लाइफ इन्स्योरेन्ससँ मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । महालक्ष्मी र प्रभु लाइफ एक आपसमा गाभिए पश्चात प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा व्यवसाय गर्ने छ । दुवै कम्पनी सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।