
काठमाडौं । बहुराष्ट्रिय कम्पनी पतञ्जलीको उत्पादनमा मासुजन्य सामग्री मिसाएको आरोप लागेको छ । पतञ्जलीले उत्पादन गर्ने दाँत माझ्न प्रयोग गरिने ‘दिव्य दन्त मञ्जन’मा ‘समुद्री फेन’ (कटलफिस) प्रयोग गरिएको आरोप लागेको छ । तर, सो उत्पादनलाई साकाहारी लेवल दिइएको छ ।
मासुजन्य वस्तुको मिसावट गरेर उत्पादन गरिएको तर साकाहारी लेवल लगाइएको भन्दै कम्पनीलाई १५ दिनभित्र स्पष्टिकरण दिन भनिएको अधिवक्ता सासा जैनले बताएकी छन् । उनले कम्पनीको सो कार्यले साकाहारी समूदायमा चोट पुर्याउने ट्वीटरमार्फत टिप्पणी गरेकी छन् । साथै उनले पतञ्जलीको सो कार्यले उपभोक्ताको अधिकार र लेवल अधिकार उल्लंघन भएको बताएकी छन् ।
समुद्र फेन कटल माछाबाट बन्ने एक प्रकारको मासुजन्य पदार्थ हो । माछा मरेपछि त्यसको हड्डी समुद्रको पानीमा तैरिन थाल्छ, जब धेरै हड्डीहरु समुद्रको पानीको सतहमा तैरिन्छन् त्यसलाई फोमजस्तो देखिन थाल्छ । यसमा ८० प्रतिशत क्याल्सिम कार्बोनेट र सो बाहेक फस्फेट, सिलिका र सल्फेट जस्ता अन्य तत्वहरु पाइन्छ । एजेन्सीको सहयोगमा ।