विकासन्युज

नमोबुद्धमा योजना तर्जुमा गर्न बाल भेला !

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना ग¥यो । ‘बालमैत्री नगर घोषणा’को तयारीमा जुटेको नगरले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिकालाई भेला गरेको थियो । कार्यक्रममा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लवका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो । भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन् । भेलामा बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गरेका छन् । उक्त अवसरमा नगर प्रमुख कुन्साङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकाको नेतृत्व गर्नसक्ने क्षमता बनाउनुपर्ने बताए । उनले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगराले उपयुक्त कार्यक्रमसहित बजेट विनियोजन गर्नेसमेत बताए । नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिबद्धता जनाए । उनले समुदायस्तरमा पनि बालसमूह गठन गर्नुपर्नेमा जोड दिँदै विभिन्न खाले प्रशिक्षण पनि सञ्चालन गर्नुपर्ने बताए । बालमैत्री नगर अभियानअन्तर्गत विभिन्न गतिविधीलाई तीव्रता दिएको नगरले जनाएको छ । यस्तै सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमनसमेत गरेको छ । यसैगरी बालमैत्री नगरका लािग सामुदायिक विद्यालय, जनप्रतिनिधि, बालमैत्री शिक्षक, बाल क्लब सञ्जाल, नगरका कर्मचारी तथा वडासचिवलाई अभिमुखीकरण गरिसकिएको छ । बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागितासम्बन्धी ५१  सूचक पूरा गरेको हुनुपर्ने प्राबधान छ । रासस

तनहुँको झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ। समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ। यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दाबी गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको छ। सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ। गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो। ‘डि’ टाइपको उक्त पुलको लम्बाइ दुई सय २० मिटर रहेको छ। उक्त पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ। बाबिरो-प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो। पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको छ। झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने, ‘हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौँ।’ पर्यटन प्रवर्द्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको अध्यक्ष चुमानले बताए। साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको चुमानले बताए। उनले भने, ‘यहाँ बन्जी जम्प, जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपीआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने निश्चित छ।’ अध्यक्ष चुमानका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ। त्यसका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। ‘राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ’, उनले भने, ‘बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ।’ गाउँपालिकाले झोलुङ्गे पुल नजिकै रहेको आँधीमूलको पर्यटन प्रवर्द्धन गर्ने काम गरिरहेको छ। त्यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडी सारिएको छ। अध्यक्ष चुमानले भने, ‘आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौँ। झोलुङ्गे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ आँधीमूलमा कृत्रिम ताल बनाउन रु ५० लाख बजेट विनियोजन गरिएको छ। आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ। आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ। आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ। गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ। मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए।  ‘यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ’, उनले भने, ‘त्यसका लागि ऊर्जा मन्त्रालयमार्फत अनुमति चाहेका छौँ।’ अध्यक्ष चुमानका अनुसार चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ। ‘नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरुलाई आँबुखैरेनीमा एकदिन भए पनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ’, उनले भने । रासस

म्याग्दीको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन गर्न आउनेको चहलपहल बढेको हो । म्याग्दीका साथै पोखरा, बागलुङ, पर्वत, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट दैनिकजसो भक्तजन र पर्यटक आउन थालेका स्थानीयवासी लेकबहादुर पुनले बताए ।  ‘ऐतिहासिक, धार्मिक महत्व तथा विशेषताको प्रचारप्रसारका साथै पूर्वाधार निर्माण भएसँगै केही वर्षअघिसम्म सुनशान ताकमकोतमा अहिले चहलपहल बढेको छ’, उनले भने, ‘भक्तजन र पर्यटक नआएको दिन हुँदैन । बिदाको समयमा अझ बढी आउँछन् ।’ स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि असी लाख  रुपैयाँ चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो । १५ लाख रुपैयाँ खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ । ताकमकोतमा भक्तजन र पर्यटकलाई आकर्षित गर्न हालै हनुमानको मूर्ति स्थापना र राम सीताको मन्दिर निर्माणलाई पूर्णता दिइएको छ । कोतघर परिसरमा टाढाबाट देखिने गरी हिमाल र पहाडलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न मिल्ने गरी १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । धौलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले ठेकेदारले अलपत्र छाडेको राममन्दिर निर्माणलाई पूर्णता दिनुका साथै नजिकै हनुमानको मूर्ति स्थापना गरिएको जानकारी दिए । विभागले ४२ लाख रुपैयाँमा ठेक्कामार्फत निर्माण सुरु गरेको राम मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो । ‘हनुमानको मूर्ति स्थापना, राम सीताको मन्दिर निर्माणलाई पूर्णता, मूर्ति खरिद गर्दा रु ३५ लाख खर्च भएको छ’, उनले भने, ‘धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख ५० हजार विनियोजन गरेको यो योजनाका लागि स्वदेश तथा विदेशमा रहेका दाताले सहयोग गर्नुभएको छ ।’ अमेरिकामा रहेका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग सङ्कलन गरिएको छ । दाताबाट २४ लाख ४० हजार सहयोग जुटेको छ । हनुमानको मूर्ति र राम मन्दिरको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारले प्रवेशद्वार निर्माण गरेका छन् । सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताए। जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । दैनिक पूजाआज हुन्छ ।  विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्य अवलोकन गर्न सकिने ताकमका तेजेन्द्र थापाले बताए । ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाअनुसार कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । ताकमकोतको पूर्वाधार निर्माणमा धौलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब एक करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ताकमकोत पुग्ने सडकको स्तरोन्नति, पदमार्ग निर्माणलाई पूर्णता, घेराबार र स्लेट बिछ्याउने योजना रहेको बताए ।  रासस

समिट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् जेठ २२ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न १४औं वार्षिक साधारण सभा असार ३ गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको छ । लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न राष्ट्र बैंकबाट निर्देशन आएको हुँदा आर्थिक वर्ष २०७८र७९ को बोनस सेयर वितरण पश्चात् नपुग भएको सर्वसाधारण तर्फको ८ लख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाको अधिकृत पूँजी ६५ करोड रुपैयाँ रहने गरी प्रवन्धपत्रमा शंसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । दुबै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदनका अधारमा सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघसवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १० ठाउँको जग्गा बेच्दै

फाइल फोटो काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले आफ्नो नाममा दर्ता कायम रहेका १० वटा कित्तामा रहेका घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । फाइनान्सका अनुसार नवलपरासीको सिसवार १ र ३ वडा स्थित कित्ता नम्बर १४१०, २५८, २५९, २४९, २५५ र २५६ को क्रमशः ०-०-५, ०-०-१०, ०-०-१०, ०-०-१०, ०-०-१० र ०-०-१० क्षेत्रफल भएको जग्गा बिक्री गर्नेछ । यस्तै, मोरङ्गको मृर्गौलियाको ३ र ८ स्थित कित्ता नम्बर ७४ र ३५६ को ०-०-१४ र ०-१-० क्षेत्रफल, कुसैनी ३ स्थित कित्ता नम्बर ३५८ र ३५९ को ०-१-० र ०-३-१६ क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले असार २१ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

साढे ३ अर्ब लगानीको सेती आयोजना अन्तिम चरणमा, ५ महिनाभित्र विद्युत् उत्पादन हुने

कास्की । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । वि.सं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बतए । उनका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाटनै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए । ‘जलविद्युमा २५ मेगावाट सानो परियोजना होइन, धेरै मानिस जोडिनुभएको छ, १ हजार ५ सय जना प्रवद्र्धकको लगानी छ, सुरुआती लागत बढेको छैन, पारदर्शीरुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ,’ उनले भने । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका २ वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले १ वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए । आयोजनाको म्याद वि.सं २०८१ साउनसम्म रहेको छ । ‘कोरोनाले काममा असर गर्दा १ वर्ष म्याद थप गर्नुपरेको हो, स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ, अबको ५ महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ,’ उनले भने । सेती जलविद्युत् आयोजनामा ५ अर्ब रुपैयाँ लगानी रहेको छ । यसमा ३ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको बताए । त्यसैगरी पाइपलाइनतर्फ १५० मिटर जति मात्र काम बाँकी छ । ‘पावर हाउसको सिभिलको काम सकिएको, स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ, सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ । केही सानातिना काम पूरा गर्नुपर्नेछ,’ घिमिरेले भने । सेती आयोजनाबाट उत्पादित विद्युत् ४ किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । विद्युत् गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताए । आयोजनाको सञ्चालकसमेत रहनुभएका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताए । निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे । आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ ।रासस

नेप्सेमा ५ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ १४ गते आइतबारदेखि जेठ १९ गते शुक्रबारसम्म हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), प्रभु इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, सपोर्ट लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । एचआईडीसीएलको ५ प्रतिशत बोनस वापतको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस वापतको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.७० प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस वापतको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस बापत ९४ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, मिथिला लघुवित्तको १५ प्रतिशत बोनस बापत २ लाख ५५ हजार ६५५.७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सहकारी पीडित : रोजीरोटी खोसिएपछि परिवार पाल्न समस्या

काठमाडौं । सहकारी पीडित नागरिकहरुले आफ्नो बचत रकम फिर्ताको माग राखेर शनिवार माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिको आह्वानमा पीडितहरुले आफ्नो बचत फिर्ताको माग राख्दै उक्त प्रदर्शन गरेका हुन् । उनीहरुले आफ्नो रकम फिर्ताका लागि सरकारले पहल गर्न या सरकारले नै फिर्ता दिनुपर्ने व्यवस्था गर्न माग गरेका हुन् । यसैका दबाबस्वरुप प्रदर्शनमा उत्रिन बाध्य भएको उनीहरुको भनाइ थियो । पीडितहरुले शनिवार मध्याह्न माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत आफूहरुले गरेको बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शन गरेको सङ्घर्ष समितिका अध्यक्ष सुनितासिंह राजभण्डारीले बताए । ‘सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकाय धायौँ तर कतै पनि सुनुवाइ नहुँदा पीडितहरु सडक आन्दोलनमा आउन बाध्य भए,’ उनले भने । सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने पीडितहरुको माग रहेको छ । काठमाडौँ महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको पीडतहरुको गुनासो रहेको छ । नेपालमा पछिल्लो समय सहकारीबाट ठगिने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक तथ्याङ्कअनुसार १ सयभन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरु एकै ठाउँमा रहेर यो सङ्घर्ष समिति बनाएको अध्यक्ष राजभण्डारीले जानकारी दिए । बाटोमा दिनभर मकै पोल्ने, भारी बोक्ने तथा सानातिना ज्याला मजदुरी गरेर जम्मा गरेको दुई चार पैसा जम्मा गरिएका सहकारी नै भागेका या बन्द भएका छन् । यस्तो जवर्गका नागरिकको रकम फिर्ता हुन नसकेपछि उनीहरु निकै मर्कामा परेका छन् । आफूहरुले जम्मा गरेको यस्तो सानो तिनो रकम कुनै अवैध कमाइ या कालोधन नभएकाले सरकारले नै पीडितहरुका समस्याको सम्बोधन गर्नुपर्ने पीडितहरुको माग रहेको छ । माइतीघरमा जम्मा भएका सयौँ पीडितले आफ्नो रोजीरोटीको त कुरै जाओस्, दुःख जिलो गरी जम्मा गरेको सानो रकम पनि झिक्न नपाउने भएपछि परिवार पाल्ने समस्या झनै बढेको बताएका थिए । उनीहरुले सहकारीलाई कारबाही गरेर होस् या सहकारीको चल अचल सम्पत्ति लिएर होस् सरकारले नै आफूहरुका समस्याको समाधानका लागि रकम फिर्ता गराइदिनुपर्ने बताएका थिए ।