विकासन्युज

काठमाडौं वर्ल्ड स्कुलमा ‘द प्रिन्सिपल वर्कसप’ सम्पन्न

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलमा ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न वर्कसप स्कुलले सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको हो । वर्कसपमा प्रश्नपत्र छपाईमा हुने कमजोरी र त्यसको समाधानका बारेमा छलफल गरिएको थियो । सो अवसरमा सूर्ययविनायक नगरपालिकाका उपमेयर सरिता तिमल्सिना भट्टराईले शिक्षा प्रणालीलाई सबल बनाउन सबैजना गम्भिर हुनुपर्ने, नेपाली शिक्षालाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउनु पर्नेमा जोड दिएकी थिइन् । वर्कशपमा विभिन्न विद्यालयका प्रिन्सिपलहरुका साथै काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर खुलाल, अध्यक्ष मिथिलेसकुमार झा, सूर्ययविनायक नगरपालिकाका उपमेयर सरिता तिमल्सिना भट्टराई लगायत अन्य वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

मर्जरपछि कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मर्जरपश्चात् कारोबार खुलेको पहिलो दिनमा नै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ३७.०८ रुपैयाँ बढेको नेप्सेले जनाएको छ । सकारात्मक सर्किट लागेसँगै कम्पनीको सेयर मूल्य ४०७.९० रुपैयाँ पुगेको छ । कम्पनीको ४ हजार २३८ कित्ता सेयर ३३ पटक खरिद बिक्री हुँदा १७ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचीकृत भई सेयर कारोबार भएको हो । इन्स्योरेन्स कम्पनीको सेयर आइजीआई सिम्बोलबाट कारोबार सुरु भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । इन्स्योरेन्स कम्पनीको सो सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३७०.८२ रुपैयाँमा खुलेको थियो ।

प्रतिपक्ष दलले गरे संसद अवरोध

काठमाडौं ।  प्रतिनिधिसभा बैठक अवरुद्ध भएकाे छ । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आईताबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो । बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए ।

५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम, सेयर बजारमा हरियाली

काठमाडौं । अर्थमन्त्रालयले पूँजीगत लाभकरमा साविकै कर लागू हुने बताएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा साविककै कर लागू हुने बताएको हो । साथै, अर्थमन्त्रालय र सेयर लगानीकर्ताबीच सहमति पनि भएके छ । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ, त्यस्तो कारोवारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने छ,’ अर्थमन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ । सबै ब्रोकर कम्पनीमा लगाइएको ताला पनि खुलाइएको लगानीकर्ताले बताएका छन् । यससँगै सेयर बजारमा हरियाली छाएको छ । सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ५६.८९ अंक अर्थात् ३.०५ प्रतिशत बढेर १९२३.२४ अंक पुगेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सवा एक घण्टामा १० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

खुलेको एक घण्टामै ५६ अंकले बढ्यो सेयर बजार

काठमाडौं । आइतबार सेयर बजार ५६।२२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार खुलेको एक घण्टा १५ मिनेटमा बढेर १९३३.५७ विन्दुमा पुगेको छ । १२स्१५ सम्ममा बजारमा दुई लाख ३१ हजार कित्ता सेयर किनबेच भएर ८ करोडको बढीको कारोबार भएको छ । अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर कारोबार उकालो लागेको जानकारहरु बताउँछन् ।

यसरी लाग्छ सेयर लगानीकर्तालाई ४४ प्रतिशत कर

काठमाडौं । तपाईं सेयर लगानीकर्ता हो भने तपाईंलाई पक्कै पनि थाहा छ, तपाईंले सेयर कारोबार गरेबापत कर तिर्नु पर्छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको कम्पनीको सेयर कारोवारबाट प्राप्त लाभमा ५ प्रतिशत र ७.५ प्रतिशतले कर लाग्छ । यस बाहेक कुनै कर तिर्नु पर्दैन भन्नेमा पनि तपाईं विश्वस्त हुनुहुन्छ होला । सरकारले एक वर्षभन्दा कम समय सेयर होल्ड गर्नेलाई साढे ७ प्रतिशत र एक वर्षभन्दा बढी समय होल्ड गर्नेलाई ५ प्रतिशत पुँजीगत लाभ कर तोकेको छ । र, यही कर अहिले लगानीकर्ताले तिर्नु पर्छ । लगानीकर्ताले सेयर खरीद बिक्री भएकै बखत कर तिर्नु पर्छ । नेप्सेको प्रणालीले नै तपाईंबाट कर कटौती गर्छ । अब अब यसमै धेरै विश्वस्त नहुनुहोस् । नेपाल सरकारले अब तपाईंबाट थप कर असुल्नेछ । सरकारले आर्थिक ऐनमार्फत् २०७६ सालदेखि सेयर कारोबार गर्नेहरुले आयकर दाखिला नगरेको भए आगामी चैत मसान्तसम्ममा ५० प्रतिशत दाखिला गरे शुल्क र व्याज मिनाहा हुने व्यवस्था गरेसँगै अबदेखि सेयर लगानीकर्ताहरुले आयकर पनि तिर्नु पर्ने भएको छ भने यसअघि गरेको सेयर कारोबारबाट गरेको नाफाको पनि कर भुक्तानी गर्नु पर्ने भएको छ । यदि तपाईंले कुनै कम्पनीको प्रतिकित्ता १ हजार रुपैयाँमा १० हजार कित्ता सेयर ५० लाखमा खरिद गर्नु भयो । केही वर्षपछि सेयर बढ्यो । तपाईंले प्रतिकित्ता २ हजारमा बिक्री गर्नु भयो । तपाईंलाई शतप्रतिशत आम्दानी भयो । यसअघि तपाईंले सेयर बिक्री गर्दा ५ प्रतिशत मात्रै पुँजीगत लाभकर तिर्नु पर्थ्यो । त्यो भनेको ५० लाखको ५ प्रतिशत अर्थात् २ लाख ५० हजार हो । तपाईंले ५० लाख नाफा गर्दा २ लाख ५० हजार रुपैयाँ तिरे पुथ्यो । अब सरकारले यसमा पनि आयकर थप्ने नीति अघि सारेको छ । सरकारले आगामी आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सेयर बिक्रीमार्फ्त हुने लाभमा पनि आयकर लाग्ने नीति बनाएको हो । हाल वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुनेलाई एक प्रतिशत (एकलको हकमा), ५ लाखदेखि ७ लाख रुपैयाँ आम्दानी हुनेलाई १० प्रतिशत, ७ लाखदेखि १० लाख रुपैयाँसम्म २० प्रतिशत, १० लाखदेखि २० लाखसम्म आम्दानी हुनेलाई ३० प्रतिशत, २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म आम्दानी हुनेलाई ३६ प्रतिशत कर लाग्छ । यस्तै, वार्षिक ५० लाखभन्दा बढी आम्दानी हुनेलाई ३९ प्रतिशत कर लगाउने व्यवस्था सरकारले गरेको छ । अब सेयर बिक्रीमार्फत् हुने आम्दानीमा पनि सरकारले आयकर लगाउने भएपछि माथि भनेझैं ५० लाख रुपैयाँमा ३९ प्रतिशत आयकर र थप ५ प्रतिशत लाभकर गरी कुल ४४ प्रतिशत कर सेयर लगानीकर्ताले तिर्नु पर्ने बाध्यता बन्यो । सेयर बिक्रीमार्फत् तपाईंको ५० लाखभन्दा बढी आम्दानी भएमा ४४ प्रतिशत कर तिर्नु पर्नेछ । त्यो भनेको २२ लाख रुपैयाँ हो । सरकारले जारी गरेको आर्थिक बिधेयकको दफा २९ मा भनिएको छ, ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, घरजग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको पचास प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ, यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’ सरकारको यो नीतिले अब यसअघि नै सेयर कारोबार राफसाफ गरिसकेका लगानीकर्ताले आयकर तिर्नु पर्ने भयो । यो परिस्थिति सिर्जना हुन थालेपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु सरकारको नीतिप्रति थप शसंकित बनेका छन् । उनीहरुले यो नीतिको स्पष्ट ब्याख्यासँगै खारेजीको पनि माग गरेका छन् । सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले सरकारको यो अस्पष्ट नीतिको आफुहरुले विरोध गरिरहेको बताए । उनले सरकारले अस्पष्ट नीति अघि सारेर सेयर कारोबारमा पनि आयकर लगाउने होकि भन्ने त्रासमा लगानीकर्ताहरु रहेको बताए । ‘हामीले यो बुँदाको खारेजीको माग गरेका छौं, सेयर बजारमा दोहोरो कर लगाउनु हुँदैन, पुँजीगत लाभकरलाई नै अन्तिम करका रुपमा चित्रण गर्नु पर्छ, यसअघि नै भइसकेको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए दाखिला गरेवापत् ५० प्रतिशत ब्याज मिनाहा हुनेछ भन्ने व्यवस्थाले हामीलाई सशंकित बनाएको छ,’ उनले भने । सरकारको यो नीतिसँगै अहिलेसम्म तिर्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हो वा यसबाहेक थप तिर्नुपर्छ भन्ने अन्यौलता पनि छाएको छ । आयकर ऐनको दफा २ ले के–के अन्तिम कर हुन् भनेर व्याख्या गरेको छ । सोही ऐनको दफा २ को (ग) मा अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी भन्नाले दफा ९२ मा उल्लेख भएको लाभांश, भाडा, लाभ, ब्याज तथा गैर बासिन्दा व्यक्तिलाई गरिएको कर कट्टी हुनुपर्ने भुक्तानी सम्झनु पर्नेछ भनेर लेखिएको छ । आर्थिक ऐनको दफा ९७ ले कुन अवस्थामा आयकरको विवरण दाखिल गर्न नपर्ने भनेर उल्लेख गरेको छ । दफा ९७ को उपदफा २ ले यो दफामा जुनसुकै कुरा लेखिएको भए पनि वार्षिक ४० लाख रूपैयाँभन्दा बढी आय भएमा आय विवरण दाखिल गर्नुपर्नेछ भनेर स्पष्ट लेखेको छ । तर, लगानीकर्ताहरु सेयर बिक्रीबाट भएको आम्दानीमा आयकर लगाउने व्यवस्था मान्न तयार छैनन् । बिहीबार उनीहरुले आन्तरिक राजश्ज विभागका महानिर्देशक दीर्घराज मैनालीलाई पनि भेटे । मैनालीले लगानीकर्तालाई ५ प्रतिशत र साढे ७ प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम कर हो भनेर कन्भिन्स गर्ने प्रयास गरेपनि लगानीकर्ताहरु त्यसमै विश्वस्त बन्न सकेनन् । विभागले बिहीबार नै एक सूचना जारी गरेर सेयर कारोबारमा लाग्ने ५ र ७.५ प्रतिशत करलाई अन्तिम कर भनेको छ । विभागका महानिर्देशक मैनालीले आर्थिक बिधेयकको दफा २९ मा गरेको व्यवस्था आयकर भएको संकेत भने दिएको एक लगानीकर्ताले बताए । उनले लगानीकर्ताको भेटमा भनेका थिए, ‘कुनै परिवारले सेयर कारोबारबाट ६ लाख नाफा गर्यो भने हामीले १ प्रतिशत कर लाग्ने भनेका छौं, ६ लाखको १ प्रतिशत ६ हजार मात्रै तिरे भयो, यसलाई ठूलो विषयवस्तु बनाउनु हुँदैन, हामीले ५० प्रतिशत ब्याज छुट तथा मिनाहा गर्ने व्यवस्था पनि गरेका छौं, यो तपाईंहरुकै लागि हो ।’ मैनालीको यो भनाइले सेयर कारोबारमा पनि आयकर लाग्ने बुझिन्छ । सेयर लगानीकर्ता भने जबसम्म पुँजीगत लाभकर आर्थिक विद्येयकमा अन्तिम कर भनेर लेखिँदैन तबसम्म आन्दोलन जारी राख्ने चुनौति दिइरहेका छन् ।

थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । आईतबार बिहान नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु हुन लागेको छ । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षका लागि कारागारमा पठाउने या नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

गण्डकी । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिए । लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । केही उद्योग गर्न चाहनेलाई पनि विद्युत्को समस्याले हैरानी बनाएको थियो । सदरमुकाम र आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा जिल्लाका ग्रामीण गाउँका बस्तीमा समेत बिजुली सेवा विस्तार गरेको उनले बताए । गत वर्षको असोज महिनाको अन्तिम साता परेको अविरल वर्षाले प्रभावित भेरीखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत भएको वडाध्यक्ष तिलक रावतले बताए । गाउँमा बिजुली बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न र विद्युतीय क्रियाकलापबाट गरिने कामलाई सहज बनाएको स्थानीवासी हस्त रावतको भनाइ छ । वर्षौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका त्यहाँका नागरिकको प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् । गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि उद्योग र कम्प्युटर कक्षा सञ्चालन गर्न सहज हुने यहाँका स्थानीयवासी बताउँछन् । अहिले जिल्लाको सदरमुकाम खलङ्गालगायत ग्रामीण गाउँ बस्तीमा विद्युत् प्रसारण लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ । रासस