तोलामै १७ सयले घट्यो सूनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १७ सयले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सेयर लगानीकर्ता वार्ताका लागि अर्थमन्त्रालय पुगे
काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताहरुलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले वार्ताका लागि बोलाएका छन् । अर्थमन्त्री डा. महतले छलफल तथा वार्ताका लागि बोलाएपछि लगानीकर्ताहरु अर्थमन्त्रालय पुगेका छन् । ब्रोकर कार्यालयमा ताला लगाएर विरोध जनाएपछि वार्ताका लागि मन्त्रालय पुगेको लगानीकर्ता नयन बास्तोलाले जानकारी दिए । उनका अनुसार करको विषयमा सरकार पक्षसँग लगानीकर्ताको छलफल हुनेछ । विद्यमान पुँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने भन्दै गत बिहीबारदेखि आन्दोलित बनेका छन् । लगानीकर्ताको तर्फबाट तिलक कोइराला, केशब कोईराला, नयन बास्तोला, तुल्सिराम ढकाल, राजन लम्साल, तारा फुल्लेल, एसपी चौलागाई, रोहन कार्की छलफलमा सहभागी हुने छन् भने सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव, सहसचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तिरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली सहभागी हुने छन् ।
हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल
काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् । यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिए । यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।’ समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताए । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गरेका उनले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताए । ‘समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु’, निर्देशक वलले भने, ‘नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।’ चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताए । उनले भने, ‘यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।’ उनले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताए । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उनको भनाइ थियो । हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए । ‘हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौं’, निर्देशक वलले भने । अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताए । उनले भने, ‘यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’ भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन् ।
हटाइए भरतपुर महानगरपालिका अतिक्रमित संरचना
चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उनका अनुसार गत दशैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार– व्यवसाय गरिँदै आएको थियो । पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको उनले जानकारी दिए । वडाध्यक्ष खनालले भने, ‘ऐन कानुनको कार्यान्वयन गर्नुपर्ने बाध्यता हो । यसलाई सबैले पालना गरेर सहयोग गर्नुपर्छ ।’ यसैगरी हाकिमचोकबाट क्यान्सर अस्पतालतर्फ जाने बाटोको दुवैतर्फ अतिक्रमित १२ संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ । सूचनाको मिति सकिँदासमेत कसैले नभत्काएकाले आज सात दिनको सूचना जारी गरी अटेर गरेमा भत्काइने उनले जानकारी दिए । उनले भने, ‘अन्य क्षेत्रमा पनि अतिक्रमण भएका संरचनालाई भत्काइने छ ।’ वडा नं १० भित्रका विद्यालय, अस्पताल, फलफूल पसल, सुपरमार्केट, मासु पसललगायतमा अनुगमनलाई तीव्रता दिइएको छ । वडाध्यक्ष खनालका नेतृत्वमा अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रिएको सामग्री भेटिएको, वैष्णव मिष्ठान्न भण्डारमा एउटै तेल पटकपटक प्रयोग गरिएको पाइएको उनले जानकारी दिए । यसैगरी चार मासु पसलमा अनुगमन गर्दा दीपेन्द्र चोकको सन्तोष मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको, वीरेन्द्र क्याम्पस गेट अगाडिको जुस पसलमा आँप पकाउन अखाद्य वस्तु प्रयोग गरिएको पाइएको उहाँले जानकारी दिए । अन्यलाई सचेत गराइएको छ भने जुस पसल बन्द गराइएको छ । यस्तै चितवन मावि र भरतपुर माविमा गरिएको अनुगमनमा शिक्षक ढिला कक्षामा जाँदा विद्यार्थी हल्ला गरेको पाइएपछि समयमा विद्यालय नआउने र ढिलो कक्षामा जाने शिक्षकलाई कारबाही गर्न भनिएको छ । केही दिनअघि वडाध्यक्ष खनालको नेतृत्वमा गएको टोलीले भरतपुर अस्पतालको अनुगमन गरी गुनासा सम्बोधन गर्न अस्पताल विकास समिति र प्रशासनलाई आग्रह गरेको थियो । रासस
आँखुखोला जलविद्युतले पायो १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न स्वीकृति
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न स्वीकृति प्राप्त गरेको छ । कम्पनीले विद्युत नियमन आयोगबाट १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी अनुमतिका लागि आयोगमा निवेदन दिएको थियो । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद सेयर बिक्री गर्नेछ ।
५० वटै ब्रोकर कार्यालयमा लगानीकर्ताले लगाए ताला
काठमाडौं । सेयर लगानीकर्ताहरुले ५० वटै ब्रोकर कम्पनीको कार्यालयमा ताला लगाएका छन् । सरकारले आर्थिक विधेयक २०८० मार्फत लिएको कर नीतिको विरोध जनाउँदै लगानीकर्ताहरुले काठमाण्डौंमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा सरकारले थप कर लगाएको भन्दै लगानीकर्ताहरु आन्दोलित बनेका हुन् । जसको विरोधमा काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरिएको लगानीकर्ता रोहन कार्कीले जानकारी दिए । आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने नियम लगाएको भन्दै दुई दिनदेखि लगानीकर्ता आन्दोलित छन् । विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् ।
वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली
बाँके । बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन्। सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुसी भएका छन्। शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी–८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले १७ हजार चार सय ४१ क्युफिट वन पैदावार सङ्कलन गरेको छ। यसअन्तर्गत पाँच हजार सात सय ५८ क्युफिट आन्तरिकरुपमा उपभोक्तालाई वितरण गरेको छ। दुई सय १९ जना उपभोक्ता रहेको उक्त वन समूहले चार वर्षपछि रुख कटान गरेको अध्यक्ष उमा बस्नेतले बताए। त्यसैगरी राप्तीसोनारी–२ कोटही देवी युवा प्रगति वन समूहले १५ हजार सात सय ६६ वन पैदावार सङ्कलन गरेको छ। अध्यक्ष तुल्सीराम भण्डारीका अनुसार चार वर्षपछि कटान गरिएको वन पैदावारमा तीन हजार तीन सय उपभोक्तालाई काठ वितरण गरिएको छ। चार सय ५१ हेक्टर क्षेत्रफलमा रहेको उक्त वन समूहलाई तीन सय १६ घरधुरीले उपभोग गर्दै आएका छन्। विशेष गरेर सामाजिक कार्यमा लगानी गर्दै आएको सो समूहले स्थानीय लक्ष्मी माविलाई रु एक लाख सहयोग गरेको छ। अन्य स्थानीय विद्यालयमा शिक्षकको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ। सोही पालिकाअन्तर्गत वडा नं २ माथेबास जनमुखी वन समूहले पनि वन पैदावार गरेको छ। यसमा दुई सय ९७ रुख कटान गरेको छ। एक सय १० ढलापडाको व्यवस्थापन गरेको छ। दुई हजार सालको रुख कटान गरेको छ। गत चैतबाट सुरु गरिएको वन कटान गरिएको काठ लिलाम प्रक्रियामा रहने अध्यक्ष टोपबहादुर खड्काले बताए। विसं २०५८ मा दर्ता भएको वनमा सुरुमा बाउबाजेले अन्न उठाएर परम्परातग शैलीमा वन संरक्षण गरेको जनाउँदै उनले वैज्ञानिक वनको अवधारणा आएपछि वनको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम लागू गरिएको र सोही कार्यक्रमबाट उत्पादन भएको वन पैदावार नै अहिले आम्दानीको प्रमुख स्रोत भएको बताए। चार सय ३४ दशमलव ३४ क्षेत्रफलमा रहेको उक्त वन समुहमा एक सय ७५ जना उपभोक्ता छन्। शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशील सुवेदीका अनुसार हालसम्म एक लाख ९४ हजार छ सय ७१ दशमलव ६१ क्युफिट काठ र छ सय ६३ दशमलव ९१ चट्टान दाउरा घारगद्दी गरिएको छ। पच्चीस प्रतिशत वन पैदावार आपूर्ति समितिलाई छुट्टाएर बाँकी लिलामी प्रक्रियामा रहेको उनले जानकारी दिए। उनका अनुसार उक्त सव डिभिजन वन कार्यालयको मातहतमा १९ सामुदायिक वन, एउटा धार्मिक वन र सरकारद्वारा व्यवस्थित चकला वनसहित २१ वन रहेका छन्। उन्नाइस वटामध्ये ११ वनमा वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको प्रमुख सुवेदीले बताए। त्यसैगरी सात सामुदायिक वनमा ढलापडा सङ्कलनलगायत अन्य संरक्षणको काम भइरहेका छन्। समय अभावका कारण यसपालि सरकारद्वारा व्यवस्थित गरिएको वनमा उक्त कार्य योजनाको तयारी अन्तिम चरणमा भइरहेको पनि उनले जनाए। बाँके जिल्लामा कूल १३ सामुदायिक वनमा वन सम्वद्र्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअनुसार हालसम्म सो सङ्कलनबाट कटान, मुछान र ढुवानीबाट करिब ६० हजारलाई रोजगारी सिर्जना भएको र चार वन प्राविधिकले रोजगारी पाएको प्रमुख सुवेदीले बताए। उनका अनुसार विगत तीन वर्षदेखि काठदाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पूर्ति हुँदा उपभोक्ता खुसी भएका छन्। जिल्ला डिभिजन वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीयरुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ। वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय सुकेका, ढलेका, रोगी तथा बूढा पुराना तथा उमेर पुगेका रुख कटान गर्ने, कटान भएको क्षेत्रमा पुनरुत्पादनलाई हुर्काउने तथा बढाउने कार्यक्रम लागू गर्दा वनको उत्पादन र उत्पादकत्व बढने उनले बताए। यस वन व्यवस्थाबाट काठ दाउरा सहज उपलब्ध भई वन पैदावारको आपूर्ति निरन्तर र सहज हुने, जैविक विविधता संरक्षण एवं वनको हैसियतमा सुधार आउने, समूहमा हुने आम्दानीले स्थानीय विकासमा टेवा पुग्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र राज्यलाई राजस्व प्राप्त भई प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट वनको सघन व्यवस्थापन हुने बताए। विसं २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको दिगो विकासमा आधारित वैज्ञानिक वन व्यवस्थापन अहिले १३ सामुदायिक वनमा मात्र लागू भएको छ। जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ। वन प्राविधिक श्याम भण्डारीका अनुसार वन व्यवस्थापन गरेपछि त्यसको अनुगमन गर्नुपर्छ त्यसमा अध्ययन अनुसन्धान हुनुपर्छ अरु ठाउँको वन व्यवस्थापन हेरेर आफ्नो ठाउँमा त्यो लागू गर्न सकिँदैन। ठाउँ भौगोलिक अवस्था त्यहाँ पाइने प्रजाति विशेष आफ्नो आवश्यकता विशेष त्यसको व्यवस्थापन गर्नुपर्छ। “दिगो वन व्यवस्थापनको मुख्य पाटो भन्नु नै रुख काट्नु हो। निश्चित उमेरको रुख काट्नु त्यसको ठाउँमा नयाँ बोट बिरुवालाई संरक्षण गर्ने वन व्यवस्थापनको मुख्य उद्देश्य हो”, उनले भने, “यसले वन सम्वर्द्धन प्रणाली लागू गर्ने हो। वैज्ञानिक औजार विधि लागू गर्ने त्यसबाट दिगो वन बनाउनु र पारिस्थितिक सेवा पाउनु यसको उद्देश्य हो।” बाँकेमा डिभिजन वन कार्यालयको मातहतमा छ वटा सव डिभिजन वन कार्यालय छन्। यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जङ्गलमा भएका काँचा रुख व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको जनाउँदै यस अगाडिको सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो। रासस
जेरार्ड डेपार्डीलाई झैं नेपालीलाई देश छोड्न बाध्य पार्ने कर नीति
जेरार्ड डेपार्डी फ्रान्सको चर्चित अभिनेता, फिल्म निर्माता र ठूला व्यवसायी हुन् । उनले २५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए । उनले आफ्नै लगानीमा १५० भन्दा बढी फिल्म निर्माण गरेका थिए । उनी फ्रान्सका ठूला व्यवसाय पनि हुन् । तर, डेपार्डीले सन् २०१३ मा फ्रान्सको नागरिकता त्यागे । उनलाई रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको नागरिकता दिए । यूएई सरकारले पनि डेपार्डीलाई नागरिकता दियो । सन् २०१२ मा डेपार्डीले फ्रान्स त्याग्ने घोषणा गरेका थिए । सरकारले लिएको कर नीतिको विरोध गर्दै उनले देश र नागरिकता दुबै त्याग्ने घोषणा गरेका थिए । सरकारले उच्च आय भएका नागरिकलाई ७५ प्रतिशतसम्म कर लगाउने निणर्य लिएपछि उनले त्यसको विरोधमा देश र नागरिकता छोड्ने निर्णय लिएका थिए । जेठ १५ गते संसदमा पेश गरेको सरकारको बजेट र कर नीतिले नेपालीहरुलाई जेरार्ड डेपार्डी स्मरण गराएको छ । फ्रान्सले १० वर्षअघि बढाएको कर नीतिको पुर्नताजगिकरण गरेको छ । नेपाल सरकारले पनि जागिर खानेहरुसँग ३९ प्रतिशतसम्म आय कर लिने निणर्य गरेको छ भने सेयर वा घरजग्गा कारोबारीसँग ४४ प्रतिशतसम्म कर उठाउने नीतिको घोषणा गरेको छ । त्यति मात्र होइन, टाट पल्टन लागेको सरकारले प्रिमियम मूल्यमा सेयर बिक्री गरेका र मर्जरमा गएर ठूला बनेको कम्पनीहरुसँग विगत ५ वर्षअघि देखिको लाभमा कर लिने घोषणा गरेको छ । सेयर वा घरजग्गा कारोबारीसँग जीवनभर कमाएको कमाईबाट ४४ प्रतिशतसम्म कर असुल गर्ने च्याखेपूर्ण नीति अगाडि सारेको छ । अहिले देशको अर्थव्यवस्था संकटमा छ । सबैभन्दा पहिला नेपाल सरकार टाट पल्टदैछ भने निजी क्षेत्रबाट प्रर्वद्धित कम्पनीहरु पनि ठूलो आर्थिक संकटमा छन् । कम्पनीहरुले बैंकलाई कर्जा तिर्न सकिरहेका छैनन् । कर्मचारीलाई तलब खुवाउन सकिरहेका छैनन् । विद्युतको महसुल तिर्न सकिरहेका छैनन् । सरकारलाई बुझाउनु पर्ने नियमित कर तिर्न सकिरहेका छैनन् । यस्तो अवस्था कर्मचारीले पाउने तलवमा पनि कर बढाएको छ । कम्पनीहरुले विगतमा गरेको नाफामा पनि थप कर असुल्ने नीति लिएको छ । सेयर र घर जग्गा कारोबार गरेर कमाएको नेपालीहरुसँग ४४ प्रतिशतसम्म कर असुल गर्ने प्रयास गरेको छ । कुनै पनि कानुन भूत लक्षित हुँदैन । तर, सरकारले संसदमा पेश गरेको बजेट (कर कानुन) भूत लक्ष्यित छ । पहिला गरेको आर्जनमा पछि आएको कानुनले कर लगाउने दुष्साहस गरिएको छ । जेरार्ड डेपार्डीको नाम किन पनि सान्दर्भिक छ भने अहिले नै नेपालबाट दैनिक औषत ४ हजार नेपालीले नेपाल छोड्दैछन् । कोही विदेशमा काम गर्न गएका छन् । कोही विदेशमा पढ्न गएका छन् । पढ्न विदेश जानेहरुमध्ये नेपाल फर्कने एकदमै थोरै छन् भने काम गर्न विदेश जानेहरु पनि सकेसम्म सोही देशमा परिवार कसरी लैजाने भनेर सोचिरहेका छन् । कोभिड-१९ महामारीपछि विश्वभर जनशक्तिको कमी छ । पढ्ने विद्यार्थीको नाममा वा कामदारको रुपमा विश्वभरका सरकारले विदेशी जनशक्तिलाई उच्च प्राथमिकता दिएका छन् । यस अवस्थामा नेपालमा एकातिर भ्रष्टाचार, गैरकानुनीराज, गरिबी, महँगी, अत्याचार बढ्दै छ भने सरकारले करका दरमा वृद्धि गरेर व्यवसाय पनि गर्न नसक्ने, जागिर पनि खान नसक्ने बोझिलो शासन प्रणाली लाद्दै छ । यसले आम व्यवसायी, उच्च दक्षता भएका व्यवस्थापक, कामदार, विद्यार्थी सबैलाई चिन्तित मात्र बनाएको छैन, विदेश पलाएन हुन वा देश छाड्न जबर्जस्ती दवाब सिर्जना गरेको छ । सरकार साच्चिकै जिम्वेवार बन्ने हो भने पश्चगामी वा भूत लक्षित कर नीति तत्काल सच्याउनुपर्छ । ५ वा ७ दशमवल ५ प्रतिशत पुँजीगत लाभ कर तिरेपछिको नाफामा आयकर लगाउने, मर्ज गर्दा पुँजी मिलानको विधिमा कर लगाउने, सेयरको प्रिमियममा कर लगाउने जति पनि भुत लक्षित कर कानुन बनेका छन् त्यो सरकारले फिर्ता लिनुपर्छ वा खारेज गरिनुपर्छ । गरिखाने वर्गलाई ३९ प्रतिशत कर लगाउने तर काम नगर्ने वर्गलाई सामाजिक सुरक्षा भत्ताकाे नाममा पैसा बाँढ्ने, राजनीतिको नाममा, जनप्रतिनिधिको विशेषाधिकारको रुपमा सरकारी ढुकुटीको पैसा दुरुपयोग गर्ने नीतिहरु तत्काल खारेज हुनुपर्छ । नत्र सोची विचारी सबै नेपालीले जेरार्ड डेपार्डीको पथ रोज्न बाध्य हुनेछन् ।