कर्मचारीको घेराउमा सीईओ श्रेष्ठ

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् । आफूहरुले राखेका मागहरु सम्बोधन नभएको भन्दै बैंकमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका हुन् । बैंक कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले आफूहरुले राखेका मागको सम्बोधन नगरेपछि आन्दोलन गर्नु परेको बताए । आफूहरुले राखेका माग कार्यान्वयन गर्ने सम्झौता गरेको भएपनि विगत ६ महिनादेखि सम्बोधन नै हुन नसकेको उनको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् । आफूहरुले राखेका मागहरु सम्बोधन नभएको भन्दै बैंकमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

बैंक कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले आफूहरुले राखेका मागको सम्बोधन नगरेपछि आन्दोलन गर्नु परेको बताए । आफूहरुले राखेका माग कार्यान्वयन गर्ने सम्झौता गरेको भएपनि विगत ६ महिनादेखि सम्बोधन नै हुन नसकेको उनको भनाइ छ ।

‘प्रत्येक २/२ वर्षमा ट्रेड यूनियनहरुले मागहरु राख्न पाउँछन्, श्रम ऐनले दिएको अधिकार प्रयोग गरेर माग दावी गरिएको हो, ती मागहरु व्यवस्थापन समूह र संगठनबीच सम्झौता भएर सञ्चालक समितिले पास गरेको हो तर, ६ महिनादेखि कार्यान्वयन नभएकाले आन्दोलन गर्नु परेको हो,’ उनले भने ।

उनका अनुसार प्रशासनिक, व्यवस्थापकीय र आर्थिक गरी तीन वटा माग गरिएका छन् । आफूहरुले उठाएका मागहरु उच्च व्यवस्थापन तहले कार्यान्वयन गर्न नमाने पछि आन्दोलन गर्नु परेको उनले बताए । साथै मागहरु कार्यान्वयनका लागि कुनै छाँटकाट नै नदेखिएको उनको भनाइ छ । उनका अनुसार अन्य संगठन पनि आन्दोलन गर्ने तयारीमा रहेका छन् ।

‘अहिले हामीले काम बन्द गरेका छैनौं, व्यवस्थापन समूहमा धर्ना मात्रै दिएको हो, ग्राहकहरुको सेवामा कुनै अवरोध गरेका छैनौं, व्यवस्थापन समूहमा पनि सीईओको कार्यालय घेराउ गरेको हो,’ उनले भने, ‘काममा कुनै बाधा नपुग्ने गरी सांकेतिक रुपमा आन्दोलन गरेको हो, बिहान १० देखि २ बजेसम्म सीईओ कार्यालय घेराउ गरेको हो ।’  यदि कर्मचारीहरुको माग पुरा नभए आन्दोलन चर्काउने बताइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा तीनवटा कर्मचारी संंगठन सक्रिय रहेकोमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा माओवादी केन्द्र निकट कर्मचारीको संस्था हो । सो संगठनमा १९ जनाको सचिवालय छ ।

Share News