विकासन्युज

अमेरिकाले ५० प्रतिशत कटौति गर्याे चिनियाँ सामानको आयात

काठमाडौं । अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार १० वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । अमेरिकी उपभोक्ताले पनि चीन बाहेकका मुलुकका सामानलाई रुचाएका पाइएको छ । ती उत्पादन किफायती भएकाले उपभोक्ताको रोजाइमा परेका हुन् । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ । भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनले पनि उनीहरूको मन जितेको छ । चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्याङ्क प्रयोग गर्ने किर्नीको रिशोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामानको थियो । यो सङ्ख्या १० वर्षअघि लगभग ७० प्रतिशत थियो । किर्नीको तथ्याङ्कअनुसार विगत ५ वर्षमा भियतनामबाट अमेरिकाले दोब्बर र अघिल्लो दशकमा तीन गुणाले आयात गरेको थियो । यसले संयुक्त राज्य अमेरिकामा खपत हुने एसियाली उत्पादनहरूको ठूलो हिस्सामा योगदान पुर्याएको स्पष्ट हुन्छ ।

मन्दिरमा दान गरेको रकम गोलमोल, हिनामिना भएको भन्दै छानबिन समिति गठन

काठमाडौं । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन् । एक सदस्य रोङ गाउँपालिकाले तोक्ने बताइएको छ । गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो । पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले सो समितिलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे । ‘सत्यतथ्य बाहिर आउनुपर्यो, उहाँहरूले हामीलाई २५ दिनको म्याद माग्नुभएको छ, जे भए पनि एउटा प्रक्रिया अगाडि बढेको छ, अब काम हुन्छ,’ उनले भने । पाथीभरा मन्दिरमा संरक्षण संस्थाले ५ वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ । समितिले २५ दिनभित्र प्रतिवेदन तयार पार्ने जनाइएको छ । संस्था दर्ता ऐन, २०३४ बमोजिम वि.सं. २०५५ साल भदौ २५ गते सो संस्था दर्ता भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै भनेको छ, ‘कोल्बुङ इलामको अपारदर्शी कार्यपद्धतिउपर नगरिकस्तरमा समेत उठेको गुनासो सम्बोधनका लागि संस्था दर्ता ऐन, २०३४ को दफा १० (१) बमोजिम विस्तृत छानबिन गरी कानूनी अस्तित्व, कार्य सञ्चालनको अवस्था र आय–व्यय (नगद, जिन्सी) को अद्यावधिक विवरणसहितको यथार्थ प्रतिवेदन पेश गर्न सप्रजिअ ध्रुव कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी कार्यादेश दिइसकिएको सबैमा जानकारी गराउँदै उक्त समितिलाई सरोकारवाला सबैबाट सूचना, समन्वय तथा सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।’ यता गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले प्रशासनको यो कदम स्वागतयोग्य भएको बताए । यद्यपि दबाब नदिई चाहिँ गर्नै नहुनेजस्तो कार्य भएको उनको भनाइ छ । उनले गठित समितिलाई सहयोगसँगै उहाँहरूको निष्पक्षतासमेत जाँच गर्ने बताए । ‘कमसेकम हामीले प्रशासनलाई जानकारी गराएलगत्तै यो काम भएको भए त्यत्रो महिनाको गाउँपालिकाको आम्दानी त बढ्ने रहेछ, यही निर्णय अगाडि भएको भए रकम हिनामिना कमी हुने रहेछ नि १ बारम्बार पत्र पठाउँदा बल्ल यो काम भएछ, कतिको राम्रो छानबिन हुन्छ त्यो हामी पनि राम्ररी नियाल्छौँ,’ उनले भने ।

रकम हिनामिना गर्ने सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न अदालतको आदेश

काठमाडौं । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखत बमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । वि.सं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक पोखरेलले सेयर सदस्यबाट लिएको रकम हिनामिना भएको भन्दै सहकारीका तर्फबाट वि.सं.२०७८ असार ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले २१ पटकको पेसीपछि मङ्गलबार मुद्दाको फैसला गर्दै सहकारीमा कबुल गरेको ५९ लाख २७ हजार रुपैयाँ सहकारीमा तिर्नका लागि फैसला सुनाएको श्रेस्तेदार खुम भण्डारीले जानकारी दिए । सहकारीले साना किसान विकास बैंकको सहयोगमा हिसाब गरी सावाँ र ब्याजसहित तिर्नका लागि मुद्दा दिएको थियो । सो रकम तिर्नका लागि फैसलामा माग दाबीबमोजिम आंशिक दाबी पुग्ने भन्दै फैसला भएपछि किसानको रकम जोगिएको सहकारीका सदस्य नरबहादुर भण्डारीले बताए । सहकारीका व्यवस्थापकले साना किसान विकास बैंकमा हिसाब बुझाउने गर्दा समस्या देखिएपछि सञ्चालक समितिसमेत बसेर जिल्ला अदालतमा मुद्दा सुरु हुनुअघि हिसाब जाँच गरिएको र हिनामिना भएको रकम फिर्ता गर्न अनुरोध गरिए पनि रकम फिर्ता नगरेपछि मुद्दा दायर गरिएको भण्डारीको भनाइ छ । यसअघि सहकारीका व्यवस्थापक लिलादेवी पाखरेल अधिकारीले लेखा समितिका अध्यक्ष दीपक श्रेष्ठसमेत १० जनाविरुद्ध अपराधिक बल प्रयोगबाट गरिएको करकापको लिखत बदर गरी सजाय गरी पाऊँ भनी जिल्ला अदालतमा वि.सं. २०७७ फागुन ४ गते मुद्दा दर्ता गराएका थिए । यसैगरी वि.सं. २०७७ फागुन १० गते हिसाब जाँच गरी दायित्व बहन गराइ पाऊँ भनी जिल्ला अदालतमा अधिकारीले मुद्दा दर्ता गराएकोमा जिल्ला न्यायाधीश पराजुलीको वि.सं. २०८० जेठ १८ गतेको एकल इजलासले दाबी नपुग्ने ठहर गरेको छ । सुनौला बजार साना किसान कृषि सहकारी संस्थाले सहकारीका व्यवस्थापक अधिकारीलाई २०७७ देखिनै निलम्वन गरेको थियो । शेयर सदस्यको रकम भएकाले व्यवस्थापकले रकम उपलब्ध गराएपछि सेयर सदस्य किसानको मागबमोजिमको आवश्यकतामा आधारित कृषि ऋण उपलब्ध गराउन सकिने सहकारीले जानकारी दिएको छ ।

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत बोनस बापत १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

५ वर्ष पुरानो लाभांश लिन चिलिमे जलविद्युतको आग्रह

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो लाभांश हालसम्म बाँकी रहेका सेयरधनीहरुले भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीका अनुसार वि.सं.२०७४ कात्तिक २४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश हालसम्म बुझिलिन लिन बाँकी रहेकाले १ महिनाभित्र लैजान भनेको हो । सो आर्थिक वर्ष कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम लैजान भनेको हो । कम्पनीले एक महिनाभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्ने, कति कित्ता किन्ने ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गद्धारा निर्मित मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

भेटियो बेपत्ता भएका सिटिइभिटीका दुई कर्मचारीको शव

काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। मं‌गलबार साझ सुनकोशी नदीबाट दुई जनाको शव फेला परेको हो । शुक्रबार बिहान साढे ११ बजे सुनकोशी नदीमा सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो । उक्त गाडीमा चालकसहित ४ जना सवार थिए । गाडीका चालक पौडेर निस्किएका थिए भने बाँकी तीन भने वेपत्ता थिए । वेपत्ता एक जनाको शव अझै भेट्टाउन सकिएको छैन ।

मुगुको पूर्वमेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन मेयर हरिजंग शाही र उपमेयर सुन्तला रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाको वडा नं ७ स्थित विसौनीदेखि किउरीसम्मको सडकमा उपभोक्ता समितिले नगरेको काम गरेको भनेर रकम भुक्तानी सिफारिस गरेको आरोप उनीहरुमाथि लागेको हो । उनीहरुसँगै वडा नं ७ कि वडासदस्य पशुपति शाही, उपभोक्ता समितिकी अध्यक्ष रामप्यारी शाही, सचिव सादना मल्ल र कोषाध्यक्ष नानी कामीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।