विकासन्युज

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड

काठमाडाैं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघकाे काठमाडाैंमा सम्पन्न २३ औं वार्षिक साधारण सभा/अधिवेशनबाट दुगड दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानीलाई पनि सर्वसम्मत चयन गरेको छ । यस्तै, सभाले महासचिवमा राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

आइआइएमएस कलेजद्वारा चाँगुनारायणको बागेश्वरीमा वृक्षारोपण (फोटोफिचर)

काठमाडौं । आइआइएमएस कलेजले चाँगुनारायण नगरपालिकाको बागेश्वरीमा वृक्षारोपण कार्य गरेको छ । आइआइएमएस कलेज र चाँगुनारायण नगरपालिका वडा नम्बर ७ को सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य भएको हो । कलेजले ४५ र वडाले १२ वटा गरी ५७ वटा समी, धुपी लगायत विभिन्न जातका बिरुवा रोपेको कलेजका डाइरेक्टर बृहत वाेश्वा बताए । वृक्षारोपण कार्यक्रममा कलेजबाट १५ जना भन्दा धेरै विद्यार्थीहरु साइक्लिङको माध्यमबाट सहभागी भएका थिए भने शिक्षक र विद्यार्थी गरी झण्डै ५० जनाको सहभागिता समेत रहेको थियो । चाँगुनारायणको सडक हरियाली गर्ने कार्यक्रममा कलेजको वृक्षारोपण कार्यक्रमले सहयोग पुगेको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । उनले आफ्नो वडालाई हरियाली वडाको रुपमा विकास गर्ने उद्देश्य राखेकोले सो वृक्षारोपण अभियानलाई निरन्तर अगाडि बढाउने उनले बताए । कलेजले पढाइको अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, वातावरण तथा सहयोगको क्षेत्रमा कार्य गर्दै आएको छ । सोही सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै सो कार्यक्रम गरेको एकेडेमिक डाइरेक्टर विश्वाले बताए ।

डेरी उद्योगीको चेतावनी : दुग्ध विकास बोर्ड खारेजीको निर्णय र्फिता नलिए आन्दोलन गर्छौं

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेको छ । दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गरी किसानलाई विभिन्न सहुलियतका प्याकेजहरु ल्याउने बोर्ड नै खारेजीमा परेपछि सरोकारवाला निकायहरु विरोधमा उत्रिएका छन् । सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग डेरी उद्योगीहरुले राखेका छन् । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजन गर्दै उद्योगीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन । नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसनलगायतका डेरी उद्योगसँग सरोकार राख्ने निकायहरु एक हुँदै उक्त निर्णय सच्याउनुपर्ने माग राखेका हुन । नेपाल डेरी साइन्स एशोसिएसनका अध्यक्ष टेकबहादु्र थापाले देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पु¥याइरहेको डेरी उद्योगको नियमक निकाय खारेजी हुनु दुःखद् रहेको बताए । सरकारको यस निर्णयले डेरी क्षेत्रलाई थप जोखिमतर्फ धकेलेको उनको बुझाई छ । सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयबाट पछि हटेर बोर्डमा उचित बजेटको व्यवस्था गर्न उनको माग छ । डेरी उद्योगलाई संरक्षण गर्ने कुनै न कुनै निकाय चाहिने भन्दै उनले दुग्ध विकास बोर्ड खारेजीको कुनै औचित्य नरहेको बताए । केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले राष्ट्रिय दुग्ध विकास बोर्ड किसानले आफ्ना कुरा राख्ने ठाउँ भएको बताउँदै यसको खारेजीको कुनै औचित्य नै नरहने बताए । नेपाल डेरी एशोसिएनसनको अध्यक्ष प्रल्हाद दाहालले राज्यले अहिले जे गर्नुपर्ने त्यो नगरिरहेको र जे नगर्नुपर्ने त्यो गरिरहेको आरोप लगाए । सरकारले भारतबाट ल्याउने भनिएको मुर्रा प्रजातिको भैंसीमा पनि निक्कै टीकाटिप्पणी भएको प्रति उनले आपत्ति जनाए । कृषि र उत्पादनका क्षेत्रमा नीति नियम बनाउने र प्रवर्दन गर्ने संस्था सरकारले खारेज हुन नहुने उनको माग छ । भेटेनरी एसोशिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले सरकारको दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति आफूहरुको आपत्ति रहेको बताए । दुग्धजन्य उत्पादनका क्षेत्रमा देश आत्मनिर्भर हुनै लागेको अवस्थामा नियमनकारी निकाय नै खारेज हुनु आफैं दुःखद् भएको उनको भनाई छ । सरकारले दुग्ध विकास बोर्ड खारेजीको निर्णय नसच्याएको खण्डमा आफूहरु सडक संघर्षमा आउने उनले चेतावनी दिए । सरकारले अध्ययन र सरोकारवाला निर्णयसँग परामर्श नै नगरी खारेजीको निर्णय गरेको उनको आरोप छ ।

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको छ । ‘यही जेठ २२ मा एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीका सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल टेलिकमले राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रष्ट पारेको छ । पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्यरुपमा बढिरहेको व्यहोरासमेत जानकारी गराइएको छ ।

बजाजको २५ वर्षे लिडरशिप योजना सम्पन्न

काठमाडौं ।  हंसराज हुलासचन्द एण्ड कम्पनीले रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको लिडरशिपको २५ वर्षे क्याम्पेन सम्पन्न भएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त क्याम्पेन संचालन गरेको थियो । अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको पक्का नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । हंसराज हुलासचन्द एण्ड कम्पनीका  निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदानिकै नै खुसी भएको बताए । ‘भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ,’ उनले भने । यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ, जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हो ।

संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए भक्तपुरका विद्यार्थी

काठमाडौं । ’लाष्टै दुःख लाइराछ…’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घन्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए । उनीहरु कौतुहुलताका साथ बैठक सुरु हुनेमा प्रतीक्षारत थिए तर दिउँसो १ बजे बैठक आजै १ः३० बजे बस्ने गरी स्थगनको सूचना आएपछि निराश हुन पुगे । सङ्घीय संसद्मा माध्यमिक तहका विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत संसदीय गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न बेलाबखत आउने गर्दछन् । संसद् सचिवालयले ती विद्यार्थीका लागि प्रवेश अनुमति मिलाउने गर्दछ । यसरी आउन पनि सम्बन्धित विद्यालय र सचिवालयले समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । कक्षा ९ र १० मा सामाजिक अध्ययन र कक्षा ११ र १२ मा सामाजिक तथा जीवनोपयोगी विषय राखिएको छ । उनीहरु आफूले जुन उद्देश्यले आएको हो सो उद्देश्य पूरा नभएको त्यसै फर्कनु परेकोमा जवाफ दिए । राससको जिज्ञाशामा कक्षा १० की समृद्धि तिमिल्सनाले ठूला–ठूला नेताहरु बस्ने र देश चलाउने कुरा हुने थलोमा यस्तो ढिलाइ, अन्योल र विवाद होला भनेर आफूहरुले नसोचेको प्रतिक्रिया दिए । विद्यार्थी विश्व न्यौपानेले आफूहरुले संसद्लाई प्रत्यक्ष अध्ययन गर्न नपाउँदा  दुःख लागेको बताए । केहीबेर बैठक बस्ने सूचना त किन फर्कँदै हुनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ’विद्यार्थी जीवनमा समयको महत्व हुन्छ । हामीलाई विद्यालयले संसद्मा बस्न निर्धारण गरिएको समय सकिएकाले हामी फर्कियौँ ।’ विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर देखाउँदै गरेका विद्यालयका भाइस प्रिन्सिपल साजन कसमाल आफूहरुको १ बजेपछि विद्यालयमा नियमित कक्षा हुने भएकाले फर्किएर जान बाध्य भएको सुनाए । विद्यार्थीलाई बस चढाउँदै गरेकी विद्यालयका शिक्षक सरिता दाहाल सुरुमा आउँदा बडो उत्साहका साथ आएका भाइबहिनी अहिले निराश भएको बताइन् । अर्काे कुनै दिन आउनुहुन्छ कि भन्ने जिज्ञाशमा उनको जवाफ थियो, ’अब हेरौँ के हुन्छ ।’ संसद्मा अवलोकन गर्न आएका टोखास्थित नितेन मेमोरियल स्कुलका शिक्षक सञ्जीव धितालले भने आफूहरु बैठक बस्छ कि भनेर अझै कुरिरहेको जनाए । उक्त विद्यालयबाट ५९ जना विद्यार्थी आएका छन् । आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण  सुरु हुन ढिलाइ भएको हो । सामाजिक अध्ययनको विषयले विद्यार्थीलाई असल नागरिक बनाउन प्रेरणा दिनाका साथै संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा ज्ञान दिने लक्ष्यका साथ सरकारले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको हो । रासस

नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।’ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी  बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो । रासस

दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइँदै

काठमाडौं । दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो । अहिले कैलालीसहित देशका नौ जिल्लामा १३ वटा  रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ । अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको  बताए । ’दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको  छ’, उनले भने, ’दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुँदैछ ।’ नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक शर्माले बताए । उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता  प्रमुख समस्या रहेको गुनासो गरे । कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकामा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यअनुसार सबै पालिकामा खोप पठाउने काम सुरु भएको छ । यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो । फेरि जिल्लाभरिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ’सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेलाका बिरामी फेला परेकाले यी जिल्लामा खोप अभियान सञ्चालन गर्न थालिएको छ’, उनले भने, ’प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहका रहेको जनाइएको छ । कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना  छन् ।’ सुदूरपश्चिममा एक सय २३ जना शङ्कास्पद बिरामीमा परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एकजना रुबेलाका बिरामी फेला परेकामा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुबेलाका बिरामी थिए । टीकापुर नगरपालिकाले भने जेठ २६ गतेदेखि खोप अभियान सुरु गर्दैछ । खोप अभियानमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनका लागि नगरपालिकाले हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ । टीकापुरमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । उक्त पालिकाले टीकापुरका ७५ स्थानमा खोप लगाउने तयारी गरेर स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए । ’टीकापुरका ३२ वटा खोप केन्द्रबाट नियमित खोप अभियान सञ्चालन भइरहेका छन् । यसका साथै टीकापुर अस्पतालमा हरेक साताको दुई दिन खोप लगाइन्छ’, उनले भने, ’यो अभियानमा यसअघि दादुरा रुबेला विरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि पुनः खोप लगाइने भएको छ ।’ खोप अभियान सञ्चालनका लागि हरेक विद्यालयलाई खोप केन्द्र बनाइएकाले शिक्षकको भूमिका अझ महत्वपूर्ण हुने बताइएको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरीले विद्यालयमा खोप लगाउँदा शिक्षकको सहयोग आवश्यक हुने बताउँदै यो अभियानमा सबैलाई सघाउन आग्रह गरे  । रासस