राष्ट्रिय आवास कम्पनीले सहरी विकास मन्त्रालयलाई दिएको स्कुटर हरायो
सांकेतिक तस्बिर काठमाडौं । राष्ट्रिय आवास कम्पनीले सहरी विकास मन्त्रालयलाई दिएको स्कुटर हराएको छ । कम्पनीले सहरी विकास मन्त्रालयलाई एकवर्ष अगाडि दिएको होन्डा डिओ स्कुटर हराएको हो । कम्पनीका महाप्रवन्धक नारायण बाँस्तोलाले मन्त्रालयलाई दिएको स्कुटर नभेटिएपछि ट्राफिक प्रहरीलाई उजुरी गरेका छन् । स्रोतका अनुसार भने मन्त्रालयले उक्त स्कुटर विभागमा करारमा कार्यरत मेगा शाह भन्ने कर्मचारीलाई दिएको थियो । शाहले उक्त स्कुटर राष्ट्रिय आवास कम्पनीकै अध्यक्ष सन्दीपकुमार मिश्रलाई सोझै दिएको बुझिन आएको मन्त्रालय स्रोतले बताएको छ । तर, स्कुटरको औपचारिक अवस्थाबारे लामो समदेखि जानकारी नभएकाले प्रहरीमा उजुरी गरेको महाप्रवन्धक बाँस्तोलाले बताए ।
हिमालयन लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १ करोड रुपैयाँको मृत्यु दावी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क १ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो । साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा तीन बर्ष अघि १ करोड रुपैयाँको जीबन बीमा गरेका देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो । कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गर्नु भएको हो । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताए । कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।
हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँमा साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ करोड ४६ लाख २५ हजार रुपैयाँको २ लाख ९२ हजार ५ सय कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको हो । यस्तै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता र २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
नवीकरण नगर्ने क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ। विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।
बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, प्रिन्सिपलसहित ३ जना पक्राउ
झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौं-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उनको भनाइ छ । मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन् । सेप्टिक ट्याङ्कीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएको थियो । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किानी जाहेरी दिएका थिए । गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए । बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ । रासस
सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च
वीरगन्ज । चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन् । पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ ११ अर्ब २६ करोड १९ लाख १४ हजार नौ सय ९६ रुपैयाँ मध्ये निकास हुने अन्तिम दिन असार २४ गतेसम्म १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार छ सय १९ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए। यस्तै पुँजीतर्फ चार अर्ब ४१ करोड तीन लाख ८८ हजार चार सय ३८ रुपैयाँ मध्ये असार २४ गतेसम्म तीन अर्ब छ करोड ८५ लाख ९३ हजार ६४ रुपैयाँ निकासा भएको प्रमुख उप्रेतीले बताए । वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट पाँच अर्ब ४४ करोड ५४ लाख ७९ हजार रुपैयाँ मध्ये असार २४ गतेसम्म पाँच अर्ब १८ करोड ६१ लाख २२ हजार नौ सय ५० रुपैयाँ निकासा भएको सो कार्यालयले जनाएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षमा पर्साका स्थानीय तहहरूले २५ करोड ९३ लाख ५७ हजार रुपैयाँ बजेट खर्च गर्न नसकेको देखिन्छ । वीरगन्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको लागि एक अर्ब ५२ करोड एक लाख ५८ हजार रुपैयाँ रकम छुट्याइएकामा असार २४ गतेसम्म एक अर्ब ४७ करोड छ लाख ९० हजार रुपैयाँ निकासा भएको छ । वीरगन्ज महानगरको चार करोड ९४ लाख ६८ हजार रुपैयाँ खर्च गर्न नसकेको कोलेनिकाले जनाएको छ । पर्साको पोखरिया नगरपालिकालाई उपलब्ध गराइएको ३६ करोड २२ लाख २९ हजार रुपैयाँ मध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले ३४ करोड ३६ लाख १० हजार रुपैयाँ रकम निकासा गरेको छ । पोखरिया नगरपालिकाको यस आर्थिक वर्षमा एक करोड ८६ लाख १९ हजार रुपैयाँ खर्च गर्न सकेको छैन । त्यसैगरी पर्सागढी नगरपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको ३२ करोड ९४ लाख ९६ हजार रुपैयाँ वार्षिक बजेटमा ३१ करोड ३४ लाख ७१ हजार रुपैयाँ निकासा लिएको छ । पर्साको बहुदरमाई नगरपालिकाले सङ्घीय सरकारबाट पाएको ३९ करोड ६१ लाख छ हजार रुपैयाँ मध्ये ३७ करोड ६८ लाख ८१ हजार रुपैयाँ निकासा लिएको प्रमुख उप्रेतीले जानकारी दिए । पर्साको छिपरमाई गाउँपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको २९ करोड १९ लाख ३२ हजार रुपैयाँ मध्ये २७ करोड ५२ लाख दुई हजार रुपैयाँ मात्र निकासा भएको छ भने जगरनाथपुर गाउँपालिकाको लागि यस आवमा पठाएको ३१ करोड ६६ लाख ९८ हजार रुपैयाँ मध्ये २९ करोड ८१ लाख ८० हजार रुपैयाँ निकासा भएको जनाएको छ । धोविनी गाउँपालिकाले २३ करोड ९७ लाख ४३ हजार रुपैयाँ मध्ये २२ करोड ८९ लाख पाँच हजार रुपैयाँ निकासा लिएको छ भने पकाहामैनपुर गाउँपालिकामा सङ्घीय सरकारले पठाएको २२ करोड ३४ लाख २५ हजार रुपैयाँ मध्ये २१ करोड १६ लाख ६२ हजार रुपैयाँ मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाले २९ करोड तीन लाख ६५ हजार रुपैयाँ रकममध्ये २८ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । विन्दवासिनी गाउँपालिकाले २५ करोड ३९ लाख ७९ हजार रुपैयाँ मध्ये २४ करोड ३३ लाख ३४ हजार रुपैयाँ निकासा लिएको छ भने सखुवाप्रसौनी गाउँपालिकाको ३५ करोड ३८ लाख २४ हजार रुपैयाँ मध्ये ३३ करोड ४८ लाख १६ हजार रुपैयाँ निकासा भएको प्रमुख उप्रेतीले बताए । कालिकामाई गाउँपालिकामा सङ्घीय सरकारले दिएको २४ करोड १५ लाख ३९ हजार रुपैयाँ रकममध्ये २२ करोड ९६ लाख ५४ हजार रुपैयाँ निकासा लिएको छ भने जीराभवानी गाउँपालिकाले २७ करोड ४५ लाख २० हजार रुपैयाँ वार्षिक बजेटमध्ये २४ करोड २५ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको जनाएको छ । जिल्लाको पर्यटकीय नगरीका रूपमा परिचित ठोरी गाउँपालिकाले भने ३४ करोड २५ लाख ६५ हजार रुपैयाँ मध्ये ३३ करोड ३३ लाख ४० हजार रुपैयाँ निकासा लिएको कोलेनिकाले जनाएको छ । समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पुँजीगत खर्च घटेको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ । रासस
दुर्गा प्रसाईंको २ अर्ब लगानी डुब्यो, मेडिकल व्यवसायपछि कृषिमा पनि असफल
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले निकै तामझामका साथ सुरु गरेको सुर्यविनायक हरित कृषि थोक बजार पनि संकटमा परेको छ । व्यवसायी प्रसाईंले ‘कृषिमा क्रान्ति, नेपाल र नेपालीको उन्नती’ नारा दिएर सुरु गरेको सो कृषि बजार सञ्चालनमा आएको एक वर्षमै बन्द हुने अवस्था सिर्जना भएको हो । सुर्यविनायक हरित कृषि थोक बजार अपेक्षाकृत ढंगले सञ्चालन हुन नसकेपछि लगानी नै डुब्ने खतरा बढेको छ । मेडिकल व्यवसायीका रुपले चर्चित प्रसाईंले २०७८ चैतमा सो कृषि बजारको उद्घाटन गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कृषि बजारको उद्घाटन गराएका प्रसाईंले यो परियोजनालाई ‘माइलस्टोन’ परियोजनाका रुपमा चित्रण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका नेता ओलीलाई स्कटिङसहित रेड कार्पेटले स्वागत गरेका थिए । ओलीले पनि अब कृषि क्रान्ति नै हुने धारणा कार्यक्रममा राखेका थिए । भक्तपुरको सुर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजार देशकै ठूलो भएको प्रसाईंको दावी थियो । उद्घाटन कार्यक्रममा प्रसाईंले भनेका थिए, ‘यो परियोजनाले बिचौलियाको अन्त्य हुनेछ, किसानको उत्पादनले उचित मूल्य पाउने छ, हजारौंले रोजगारी पाउने छन्, यसको स्थापनाले १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्नेछ, यो देशले नै गर्व गर्न लायक परियोजना हो ।’ ३५ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजार अहिले वेवारिसे सरह छ । बजारले क्षमता अनुरुपको काम पाइरहेको छैन । एक हजार बढी स्टल रहेको उक्त बजारमा अहिले २ सय हाराहारीका स्टल मात्रै प्रयोगमा छन् । अन्य स्टलहरु बन्द छन् । व्यवसायी दुर्गा प्रसाईंले कृषि बजार सोचे अनुरुप सञ्चालन नभएको स्वीकार गरे । उनले केही माफियाहरुले आफुलाई सञ्चालन गर्न नदिएको आरोप लगाए । ‘यस्तै रहेछ, सोचे अनुरुप काम नहुने रहेछ, मलाई कसैको साथ मिलेन, नेपालमा गरिखान समस्या नै छ, जुन सोचका साथ सुरु गरेको थिएँ, त्यो हिसाबले कृषि बजार सञ्चालन हुन सकेन,’ निराश हुँदै उनले भने । उनले कृषि कर्जा बैंकका सञ्चालकले मात्र चलाएको र खास किसानहरु रोजगारीका लागि खाडी जानु परेको आरोप पनि लगाउँदै आएका छन् । उनी आफुलाई बैंक तथा वित्तीय संस्थाले साथ नदिएको पनि गुनासो गरिरहेका छन् । नगरपालिका भन्छ : समन्वय गर्दा गर्दै पनि सकिएन व्यवसायी प्रसाईंले भक्तपुरको सुर्यविनायक नगरपालिकाको आदर्श चोक नजिकै कृषि बजारको स्थापना गरेका छन् । आफ्नो क्षेत्राधिकारभित्र भएकोले पनि नगरपालिकाले प्रसाईंलाई धेरै सहयोग गरेको सुर्यविनायाक नगरपालिकाका सूचना अधिकारी अनिरुद्र नेपाल बताउँछन् । सूचना अधिकारी नेपालका अनुसार नगरपालिकामार्फत् हुन सक्ने सहयोग गरिए पनि तरकारी बजारले प्रगति गर्न सकेको छैन । ‘दुर्गा प्रसाईंले तरकारी बजारमा धेरै लगानी गर्नु भएको छ, उहाँको लगानी देखेर हामीलाई पनि डर लाग्छ, लगानी अनुसारको प्रतिफल पाइरहनु भएको छैन, बजार चलेकै छैन, ग्राहकको उपस्थिती न्यून छ, स्टलहरु खाली छन्, हामीले समन्वय गर्दा गर्दै पनि काम हुन सकेको छैन,’ नेपालले विकासन्युजसँग भने । उनका अनुसार एक हजार बढी स्टल रहेको तरकारी बजारमा करिब दुई सय स्टल मात्रै सञ्चालनमा छन् । बाँकी सबै स्टलहरु बन्द अवस्थामा छन् । प्रसाईंलाई सघाउ पुगोस् र मार्केटिङ पनि होस् भन्ने उद्देश्यले केही समयअघि नगरपालिकाले सोही ठाउँमा ३ दिने कृषि मेलाको आयोजना पनि गरेको बताउँदै त्यसले पनि खासै ठूलो प्रभाव नपारेको उनको भनाइ छ । व्यापारीहरुले सो बजारमा बस्न नमानेपछि एक वर्षमा तीन महिनाको भाडा नलिने स्कीम पनि प्रसाईंले दिएका छन् । नगरपालिकाले फुटपाथका व्यापारीहरुलाई सो बजारमा राख्ने योजनाका साथ प्रसाईंसँग सम्झौता गरेको थियो । तर, त्यो स्कीमले पनि व्यापारीहरुलाई तान्न नसकेको नगरपालिका बताउँछ । ३५ रोपनी क्षेत्रफलमा फैलिएको सो तरकारी बजारको आधा जग्गा प्रसाईंकै भएको बुझिएको छ भने आधा जग्गा भाडामा हो । हाल सो तरकारी बजारको व्यवस्थापनको जिम्मेवारी दुर्गा प्रसाईंका भाई राकेश प्रसाईंले सम्हालिरहेका छन् । स्वाथ्यपछि कृषिमा पनि असफल मेडिकल व्यवसायीका रुपले चर्चित दुर्गा प्रसाईंले बिएण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा पनि लगानी गरेका छन् । मेडिकल कलेज र क्यान्सर अस्पतालपछि उनको यो ठूलो परियोजना हो । सुरुमा सानो-तिनो कृषि गरेर उदाएका प्रसाईंले पछि स्वास्थ्य क्षेत्रमा हात हाले । मेडिकल कलेज र क्यान्सर अस्पताल स्थापना गरेपछि उनको व्यवसायिक जीवन उज्वल हुन सक्ने र उनले स्वास्थ्य क्षेत्रमा राज गर्न सक्ने अनुमान धेरैले गरेका थिए । तर, त्यो अनुमानले फेल खाएको छ । उनी मेडिकल व्यवसायमा असफल भइरहेका छन् । विशेष गरेर सरकारले बि एण्ड सी मेडिकल कलेजलाई अनुमति नदिएपछि उनको स्वास्थ्य क्षेत्रको लगानीले ठक्कर खाएको हो । त्यसपछि बैंकहरुले पनि उनलाई पत्याउन छाडे । अन्ततः उनी बैंक तथा वित्तीय संस्था र सरकार विरुद्द अभियान नै चलाएर सडकमा उत्रिए । बैंक तथा वित्तीय संस्थाहरुले उनले लिएको साढे ५ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरिरहेका छन् । स्वास्थ्य क्षेत्रपछि उनले कृषिमा हात हाले । धेरैले उनको तयारी देखेर अब प्रसाईंले कृषिमा क्रान्ति नै गर्ने प्रक्षेपण गरेका थिए । उनले नारा नै ‘कृषिमा क्रान्ति, नेपाल र नेपालीको उन्नती’ राखेका थिए । धेरैले एउटा माइलस्टोन परियोजनाका रुपमा यसलाई लिएका थिए । तर, उनको यो कृषि व्यापार पनि नचलेपछि उनी समस्यामा परेका हुन् । उनले कृषि क्षेत्रमा पनि ठक्कर खाएका हुन् । यो परियोजनामा गरेको उनको २ अर्ब लगानी डुब्ने खतरा छ । सम्बन्धित सामग्री : अर्बमा ठगी, करोडमा दान
‘बैंकको कर्मचारी हुँ’ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर
काठमाडौं । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको पाइएको हो । यसरी उनले अहिलेसम्म ११ लाख १२ हजार आठ सय रुपैयाँ रकमान्तर गरी ठगी गरेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सुरुमा पीडितलाई मोबाइलबाट फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैंक खातासँग वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ गरिदिने आश्वासन दिए । त्यसो गर्दा पैसा नलाग्ने र राम्रो बोनस प्राप्त हुने गरी काम गरिदिने भनी लोभ देखाएर विश्वासमा पारे । त्यसपछि पीडितहरूकै बैंक खातालगायत, ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्याएर अन्यत्र बैंक खाता तथा वालेटहरूमा पैसा रकमान्तर गरेको फेला परेको रेग्मीले बताए । उक्त घटनामा जाहेरी परेपछि उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमार्फत थप अनुसन्धान गरिरहेको छ । रासस