विकासन्युज

काठमाडौं महानगरले गर्‍यो दुई अस्पताल सिल

काठमाडाैं । काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ । सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हाे । ति दुई अस्पताल बिना दर्ता संचालन गरेकाे पाइएकाले सिल गरिएकाे महानगरले जानकारी दिएकाे छ ।

बालाजीले पनि सुरु गर्यो सिमेन्ट निर्यात, भारत पठायो ४२ टन

काठमाडौं । बालाजी सिमेन्ट पनि भारतमा निर्यात हुन थालेको छ । चन्द्रौटा बजारस्थित रहेको सिमेन्ट उद्योगले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेपछि निर्यात थालिएको बताइएको छ । उद्योगका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले सिमेन्ट निर्यात सुरु गरेको बताए । उनले आगामी दिनमा सिमेन्ट निर्यातको संख्या बढाउँदै लैजाने बताए । उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएको बताइएको छ । ‘आज हामी ऐतिहासिक दिनमा छौं, आज सिमेन्ट निर्यात सुरु गरेका छौं, आज २ ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात शुरु गर्दैछौं, कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो, कपिलवस्तु जिल्लावाट भारत निर्यात पहिलो पटक हो । विस्तारै निर्यात परिमाण वढाउदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको छ,’ उनले भने । नेपाल सरकारले ५० करोड भन्दा वढिको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि हामी सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको उनको भनाइ छ । ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहितको थियो, सोच आज पुरा भएको छ, हामी सफल भएका छौं, सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ, हामी चाहन्छौं राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरु ल्याउनु जरुरी छ,’ उनले भने । बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ शय टन रहेको छ । उद्योगले बहुवलि र श्रृष्टि ब्राण्डका ओपिसि ४३ ग्रेड र पिपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरेको छ । बालाजी सिमेन्ट ईण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो उद्योगमा जर्मनको लोच्से कम्पनिको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगहरुका लागी विश्व कै उच्चस्तरिय कम्पनि हो । बालाजी सिमेन्टको वजार नेपालको पश्चिम, सुदुरपश्चिम र कर्णाली प्रदेशमा अत्याधिक छ । तानसेन र अर्घाखाँची सिमेन्टले पनि भारतमा निर्यात गरिरहेका छन् । गत असारमा पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गरेको थियो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँची सिमेन्टले पनि सुरुमा २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको थियो । अर्घाखाँचीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको थियो । हाल नेपालमा ४ दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरु छन् । सिमेन्ट उद्योगमा विदेशीहरुले पनि हात हालेका छन् । सिमेन्ट सम्पूर्ण रुपमा नेपाली कच्चा पदार्थमा आधारित उद्योग हो । सरकारले पनि सिमेन्ट निर्यातलाई प्रोत्साहित गरेको छ ।

शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार भएको महासंघको पहिलो साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन र महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन्। यस्तै, सदस्यहरुमा बाबुकाजी मानन्धर, दिनेश श्रेष्ठ,नरेशकुमार मल्ल, राजकुमार श्रेष्ठ, अमृत रोकाया क्षेत्री, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन, विनिता राई र राजेश रत्न बज्राचार्य चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम राजेश उपाध्याय उपाध्यक्षमा मनोनित गर्नका साथै ७ जना सदस्य मनोनयन गरिएको छ । मनोनित हुनेहरुमा नविन आले मगर, ज्ञानेन्द्र नकर्मी, निर्मला महर्जन, प्रज्वल राई, रेणुका श्रेष्ठ, देविका राई र रचना श्रेष्ठ रहेका छन् । त्यस्तै, वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील९शंकर० मान तुलाधर उदास र कर्णालीको संयोजकमा  रमेशकुमार केसी चुनिएका छन् । महासंघको हाल ४ प्रदेश संघ र ३० जिल्ला संघ भइसकेको र कार्यसमितिको पदावधि ४ वर्षको रहने जनाइएको छ ।

स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको थियो । कार झण्डै ५० मिटर तल खसेको थियो । कारमा चालकसहित २ पुरुष, २ महिला र ४ बालबालिका गरी आठ जना सवार थिए । दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएकोमा चिकित्सकहरूले आठै जनाको निधन भएको पुष्टि गरेका छन् ।

अझै ४ दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ । साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ । महाशाखाले ती भू–भागहरूमा आगामी चार दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । मधेस प्रदेशको पूर्वी भू–भागमा तापक्रम केही घट्ने सम्भावना देखिए पनि गर्मीको सम्भावना रहनाका साथै देशको पश्चिमी पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको छ । ती भू–भागहरूमा पनि गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ । कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्नाका साथै अत्यधिक गर्मीको नहुने देखिन्छ । मनसुनी वर्षा एक–दुई दिन ढिला हुने सम्भावना साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिला हुने सम्भावना रहेको देखिन्छ । तातो हावा तथा लूबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ । तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ ।

चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित

भारत । भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि शहर र वरपरका क्षेत्रमा भारी वर्षा र हावाहुरी चलेको छ । मुम्बई विमानस्थलका केही उडान रद्द वा ढिलो भएको र केहीले अवतरण रद्द गर्नुपरेको र सयौं यात्रुले आफ्नो उडानका लागि घन्टौँ पर्खनुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘खराब मौसम र मुम्बई विमानस्थलको धावनमार्ग ०९/२७ अस्थायी रूपमा बन्द हुनुका साथै हाम्रो नियन्त्रणभन्दा बाहिरका अन्य कारणहरूले गर्दा हाम्रा केही उडानहरू ढिलाइ र रद्द भएका छन्,’ एयर इन्डियाले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ । सोमबार मुम्बईको मरिन ड्राइभमा पनि उच्च ज्वारभाटाको लहर देखिएको थियो र तटीय महाराष्ट्रका केही जिल्लाहरूमा आँधीबेहरीको चेतावनी जारी गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले चक्रवात ‘बिपरजोय’ बिहीबार गुजरातको सौराष्ट्र र कच्छ तट पार गर्ने सम्भावना छ, र ती क्षेत्रहरूमा उच्च आँधीको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुग्ने जानकारी गराएको छ । प्रशासनले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई निर्देशन दिएको छ । रासस

नेपाल विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी प्रतिवेदनको मस्यौदालाई परिमार्जनसहित स्वीकृत गरेको छ । समिति सचिवालयले तयार गरेको प्रतिवेदनको मस्यौदालाई आजको बैठकले परिमार्जनसहित स्वीकृत गरेको हो । उच्च शिक्षामा देखिएको जेजस्ता चुनौती छन् त्यसलाई सम्बोधन गर्ने सिलसिलामा यो विश्वविद्यालयको अवधारणा अघि बढेको हो । मुलुकमा हालसम्म अध्ययन अध्यापन नभएका बहुविधागत प्रकृतिका विषयहरू समेटेर प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्वायत्त खालको सार्वजनिक विश्वविद्यालयका रूपमा अघि बढाउने सोच रहेको विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । राष्ट्रियसभाको आगामी वैठकमा उक्त विधेयक मस्यौदा प्रतिवेदन प्रस्तुत हुने छ । गत माघ १३ गते समितिमा प्रवेश पाएको उक्त विधेयकमाथि प्रारम्भमा सैद्धान्तिक र  त्यसपछि दफाबार छलफल भएको समिति सचिव मनोज गिरीले बताए । सो क्रममा संशोधनकर्ता सदस्य एवं विषय विज्ञको राय सुझावसमेत लिइएको थियो । विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा रहने संरक्षक परिषद्मा कुलपति अध्यक्ष रहने तथा सदस्यमा उपकुलपतिदेखि दाता, महिला, किसानसमेत हुने व्यवस्था प्रस्ताव गरिएको छ । सदस्यको मनोनयनका लागि सिफारिस गर्दा समावेशी सिद्धान्तका आधारमा हुने प्रावधान गरिएको छ । नेपाल विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सिफारिस भने मन्त्रालयले गर्ने प्रावधान राखिएको छ । उक्त विश्वविद्यालयमा भर्ना भएका दलित, सीमान्तकृत, अपाङगता भएका र आर्थिकरूपले विपन्न विद्यार्थीका लागि उच्च शिक्षा निःशुल्क हुने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । स्वायत्त संस्थाका रूपमा रहने उक्त विश्वविद्यालय काठमाडौँ उपत्यकाबाहिर नेपाल सरकारले तोकेको स्थानमा रहने छ । विश्वविद्यालयले सहिद, वेपत्ता पारिएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिका छोराछोरीको प्रचलित कानूनमा व्यवस्था भएबमोजिम उच्च शिक्षाको व्यवस्था गर्ने व्यवस्था मिलाउने छ । प्रतिवेदन स्वीकृतपछि सभापति जयन्ती राईले विधेयकलाई गुणस्तरीय र समृद्ध तुल्याउने सन्दर्भमा ठूलो प्रयास भएको जनाउँदै राष्ट्रियसभाको आगामी बैठकमा प्रतिवेदन पेश गरिने जानकारी दिए । विश्वविद्यालय स्थापना गर्ने सन्दर्भमा कानूनी प्रबन्धलगायतका व्यवस्थापनका लागि विगत छ वर्षदेखि गृहकार्य भइरहेको थियो । मुलुकका प्राज्ञिक, विश्वका ख्यातिप्राप्त विश्वविद्यालयका व्यक्तित्वसँगको हातेमालो र सहकार्यमा यससम्बन्धी कार्य र अवधारणालाई अघि बढाइएको जानकारी दिइएको छ । सरकारले दुई वर्षअघि नै यससम्बन्धी तयारी कार्य व्यवस्थितरूपमा अघि बढाउन विकास समिति गठन गरेर कार्य जिम्मेवारीका साथ निर्देशन दिएको थियो । रासस

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

रुपन्देही । तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नदीमा मनपरी तरिकाले निकासी गर्ने क्रम बढेको हो । नदीजन्य पदार्थ निकासीले नदीमा ठूलाठूला खाल्डा परेका छन् । त्यसले गर्दा नदीको भाग समथर छैन । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन नगरपालिका, सियारी गाउँपालिकालगायतका क्षेत्रसम्म फैलिएको तिनाउमा अहिले मनपरी उत्खननको काम भइरहेको छ । नदीको उपयोगका विषयमा स्थानीय पालिकाबीच समझदारी नदेखिएपछि ठेकेदारलाई मनपरी नदीजन्य पदार्थ निकाल्न बल पुगेको छ । तिलोत्तमाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर नदीजन्य पदार्थ निकासीको अनुमति दिएको छ भने बुटवल उपमहानगरले वातावरणीय प्रभाव मूल्याङ्कन नै गरेको छैन । अहिले बुटवलका वडा नं १७ र १८ तथा तिलोत्तमाका तिनाउ नदी क्षेत्रमा अत्यधिक दोहन भएको छ । आइतबार बुटवल उपमहानगरका उपप्रमुख तथा अनुगमन समितिका संयोजक सावित्रादेवी अर्यालको नेतृत्वमा कर्मचारी र नगर प्रहरीसमेतको टोली वडा नं १७ स्थित तिनाउ नदी किनार पुग्दा सयौँ मालवाहक साधन चलिरहेका थिए । यसैगरी एक्स्साभेटरले धमाधम ट्र्याक्टर तथा टिपरमा बालुवा र गिटी भरिरहेका थिए । तिलोत्तमा नगरबाट नदीजन्य पदार्थ निकासीको अनुमति पाएको सिद्धाबाबा डिप ट्युबवेल एण्ड कन्स्ट्रक्सन प्रालिले वडा नं ४ डिङ्गरनगर क्षेत्रमा उत्खनन गरिरहेको छ । तिलोत्तमाबाट अनुमति पाए पनि बुटवल उपमहानगरका क्षेत्रमा समेत उत्खननन गर्ने काम भइरहेकाले अहिलेलाई रोक्न निर्देशन दिइएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक सावित्रादेवी अर्याल बताउँछन् । अनुगमन टोलीले मापदण्डभन्दा बाहिर गएर उत्खनन नगर्नसमेत ठेकेदारलाई सचेत गराएको उनको भनाइ छ । दुई पालिकाबीच नदी उपयोगका विषयमा भएको सहमतिअनुसार काम नहुँदा मनपरी उत्खननको काम भइरहेको बुटवल उपमहानगरका प्राकृतिक स्रोत तथा सम्पत्ति व्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्याल बताउँछन् । बुटवलमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने केही ठेकेदारलाई  जरिवानासमेत गरिएको उनको भनाइ छ । नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले ठूला र साना नदी तथा खोलानालाको दोहनका कारण बस्तीसँगै अन्य प्राकृतिक स्रोत पनि सङ्कटमा पर्ने जोखिम बढ्दै गएको छ । सामान्यतया पुलभन्दा पाँच सय मिटर टाढा, नदी किनारबाट १५÷२० मिटर टाढा र आधा मिटरदेखि एक मिटरसम्म मात्रै गहिरो हुने गरी निर्माण सामग्री उठाउन पाउने मापदण्ड छ । यसबाहेक इआइएमा तोकेको ठाउँ र परिमाणमा मात्रै सङ्कलन गर्न पाउने व्यवस्था भए पनि यो सामान्य मापदण्डसमेत कतै पालना भएको देखिँदैन । बालुवा, गिट्टी, ग्राभेल र ढुङ्गा सङ्कलनका लागि ठाउँ नै तोकेर आइइमा उल्लेख गरिएको भए पनि त्यसअनुसार कतै पनि काम नभएको देखिएको छ । नदीमा एकै ठाउँमा नहरजस्तो खाल्डो बनाएर ग्राभेल निकालिएको छ । बीच भागमा नभई किनारतिर भएका कारण वर्षायाममा बाढीको जोखिम पनि बढेको स्थानीय लोकनाथ ज्ञवाली बताउँछन् । तिलोत्तमा नगरपालिकाको नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, ओसारपसार तथा बिक्री वितरण व्यवस्थापनसम्बन्धी  कार्यविधि २०७५ बनाइएको छ । सोही कार्यविधिअनुसार नदीजन्य पदार्थ निकासीका लागि चार कम्पनीलाई ठेक्का दिइएको नगरपालिकाले जनाएको छ । सो नगरपालिकाले कोरल निर्माणलाई तिलोत्तमा–६ गोरकट्टामा, सिद्धबाबा डिप ट्युबवेल  एण्ड कन्स्ट्रक्सनलाई तिलोत्तमा–४ डिङ्गरनगरमा, बस्याल विन्ध्यवासिनी कन्सट्रक्सनलाई वडा नं ६ हरपूर र पहुँनी क्षेत्रमा तथा न्यू सुरज निर्माण सेवा कम्पनीलाई वडा नं १४ मा नदीजन्य पदार्थ निकासीका लागि अनुमति दिइएका राजस्व उपशाखा प्रमुख इन्द्रदत्त सापकोटाले जानकारी दिए । अनुगमनका क्रममा बस्याल विन्ध्यवासिनी कन्ट्रक्सनले पहुँनी क्षेत्रमा बढी उत्खनन गरेको पाइएको प्रमुख सापकोटा बताउँछन् । बढी उत्खखनन भएको नदीजन्य पदार्थ सबै पालिकाले जफत गर्ने उनको भनाइ छ । अन्य तीन कम्पनीले काम पूरा गरे पनि कम खनेको भन्दै नगरपालिकाले न्यू सुरज निर्माण सेवालाई थप उत्खननको अनुमति दिएपछि पुनः निकासीको काम चलिरहेको छ । यस्तै सिद्धबाबा डिप ट्युबवेल एण्ड कन्ट्रक्सन प्रालिलले तिलोत्तमा–४ डिङ्गरनगरमा उत्खननको काम गरिहरहेको छ । बुटवलको वडा नं १७ को सीमा जोडिएका  यो क्षेत्रमा बुटवल उपमहानगरको भागमा समेत उत्खनन भएको दाबी कर्मचारीको छ । ’हामीले तिलोत्तमाले तोकेको स्थानमा काम गरेका छौँ, यदी यो क्षेत्र बुटवलको हो भने दुई पालिकाले कूरा गर्नुपर्छ, हामीले पहिला पनि ठेक्का पाएकाले सोहीअनुसार नै प्रक्रिया पूरा गरेर काम अघि बढाएका हौँ’, कम्पनिका ठेकेदार सुमन गुरुङ भन्छन् । उत्खननपश्चात् केकति परिमाण निकालेको रहेछ भनी नापजाँच गर्न मिल्ने गरी निशाना लगाई निर्धारित परिमाणभन्दा बढी उत्खनन गर्न नपाउने साँध, किल्ला र निसानाका आधारमा परिमाण यकिन गरेपछि मात्र सो स्थानबाट उत्खनन कार्यको थालनी गर्ने र यसरी गरिएको सीमाभित्रबाट मात्र उत्खननकर्ताले नदीजन्य वा अन्य पदार्थ उत्खनन गरी लैजान सक्ने व्यवस्था तिलोत्तमा नगरको नदीजन्य पदार्थसम्बन्धी मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार काम भने भएको छैन । नदीजन्य पदार्थ उत्खनन भएको स्थानबाट ओसारपसार गर्ने समय बिहान ७ देखि साँझ ६ बजेसम्म कायम गरिए पनि नदीमा बिहानैदेखि रातिसम्म उत्खननको काम भइरहेको छ । नदी उपयोगको विषयमा स्थानीय तहबीच विवाद तिनाउ नदी उपयोगको विषयलाई लिएर जिल्लाका विभिन्न पालिकाबीच विवाद देखिएको छ । तिनाउ नदीको बालुवा, ढुङ्गालगायत वस्तु उत्खननका विषयमा बुटवल उपमहानगर, तिलोत्तमा, सियारी, शुद्धोधनलगायतका पालिकाबीचमा विवाद देखिएको हो । सामान्यतया पानी बग्ने मूलधारलाई सिमाना मान्ने सहमति यसअघिका जनप्रतिनिधिले गरे पनि अहिलेका जनप्रतिनिधि यसमा सहमत नदेखिएपछि समस्या भएको हो । बुटवल क्षेत्रमा नदीको बीच भागबाट सिमाना तय गर्नुपर्ने उपप्रमुख अर्याल बताउँछन् । ’नदीको बीच भागबाट सिमाना तय हुनुपर्छ भन्ने हाम्रो भनाइ हो, तर कसरी गर्दा प्रभावकारी हुन्छ ? ऐन नियमले के भन्छ अध्ययन गरिरहेका छौँ’, उनले भने । पालिकाका यसअघिका जनप्रतिनिधिबीचमा तिनाउ नदीको पानीको बहाबलाई आधार मानेर सीमा तय गरिएको थियो । अहिले नदीको बीचको भागबाट सीमा किटान हुनुपर्ने भनाइ कतिपय पालिकाको रहेको तिलोत्तमाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरी बताउँछन् । ’नदीको पानीको पानीको बहाव क्षेत्रलाई आधार मानेर वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीजन्य पदार्थको काम अघि बढाएका हौँ’, उपप्रमुख चौधरी भन्छन् । प्राविधिकले बुझ्ने विषय भएकाले बुटवल र तिलोत्तमाका प्राविधिक राखेर कार्यदल बनाइ सीमा मिचिए नमिचिएको सम्बन्धमा अध्ययनपश्चात जिल्ला समन्वय समितिमा प्रतिवेदनसमेत बुझाइ सकिएकाले अब विवाद गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । सीमा विवाद निराकरण सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार एउटै जिल्लाका पालिकाबीच सीमा विवाद समाधान गर्ने पहिलो निकाय सम्बन्धित जिल्ला समन्वय समिति हो । त्यहाँ समाधान नभए सङ्घीय मामिला मन्त्रालयले छिनोफानो गर्ने व्यवस्था छ । रासस