विकासन्युज

नेपाल रिपब्लिकको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आज जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ प्रतिशत अर्थात् १ लाख ७४ हजार १२० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोष, ४ लाख ३५ हजार ३ सय कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गर्दा बाँकी रहेको ३६ लाख १९ हजार ८९१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर माफर्् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

निर्माण र सरसफाइ सेवा एकैठाउँबाट दिन औजार र प्राईम किल्निङबीच सम्झौता

काठमाडौं । औजार र प्राईम किल्निङ बिच सम्झौता भएको छ । घर तथा व्यवसायीक भवनहरु निर्माण गर्दै आएको ओजार र घर तथा कार्यलय सरसफाइ गर्दै आइरहेको प्राईम क्लिनिन्ग बिच एकै साथ अगाडि बढ्ने गरी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा औजारका प्रबन्धक अजय कुमार त्रिपाठी र प्राईमका सिद्धार्थ कार्कीले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीले मिलेर ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल तरिकाले सेवा दिने सम्झौता गरेका छन् । औजारले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, बुटवल, नेपालगन्ज जस्ता शहरहरुमा धारा, बत्ति मर्मत, टायल, फलाम तथा ट्र्स, छ्तबाट पानी चुहिने, फल्स सिलिन्ग, मोडुलर किचन, कार्पेन्टर, सिभिल आदि इत्यादिको सेवा दिँदै आएको छ । साथै, प्राईमले ठुला ठुला भवनका भित्र बाहिर, टायल तथा ग्रेनाईट, सोफा कार्पेट आदि अत्यधुनिक उपकरणद्वारा सफाई तथा पोलिस गर्ने काम गर्ने गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा इपानमा विवाद बढ्यो, चुनाव सार्न खोजेको आरोप

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)मा विवाद उत्पन्न भएको छ । उम्मेदवारको योग्यता, आर्थिक पारदर्शीता, साधारणसभामा प्रस्तुत हुने विषय बस्तुहरुको बारेमा सोमबार विवाद भएको कार्यसमितिका एक सदस्यले बताए । अध्यक्षका आकांक्षी किरण मल्ल र उनको समूहका आकांक्षीलाई उम्मेदवार बन्न रोक्ने गरि निर्वाचन विनियमावलीमा सर्त राखेका भन्दै मल्ल पक्षधरको व्यवसायीहरुले इपानको कार्यलयमा पुगेर विरोध गरेका छन् । ‘चुनाव लागेको छ । दुई पक्षबीच चर्काचर्की भयो’ सचिवालयका एक कर्मचारीले बताए । संस्थापन पक्षले निर्वाचत नै सार्न खोजेको आरोप मल्ल पक्षले लगाएको छ । निर्वाचनमा संस्थापन पक्षको समर्थनमा गणेश कार्कीको नेतृत्वमा एउटा प्यानल छ भने अर्कोतर्फबाट किरण मल्लको नेतृत्वमा नयाँ समूहले उम्मेदवारी दिने तयारी गरिरहेको छ । निर्वाचन विनियमावलीमा उम्मेदवारको योग्यताबारे विपक्षीलाई रोक्ने गरी सर्तहरु राखेको भन्दै मल्ल पक्षले आक्रोश व्यक्त गरेका थिए । साेही आशंकाका आधारमा उनीहरूले उम्मेदवार बन्न पूरा हुनुपर्ने सर्तहरु, आवश्यक कागजपत्रबारे आवश्यक जानकारी निर्वाचत समितिसँग माग गरेका थिए । साथै साधारणसभामा प्रस्तुत हुने संस्थाको वार्षिक कार्यक्रम, गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन, अध्यक्षले राख्ने मन्तव्य जस्तो महत्वपूर्ण विषयहरु कार्य समिति सदस्यहरुलाई पनि उपलब्ध नगराएको भन्दै कार्यसमितिका सदस्यहरुले नै अध्यक्षसहित पदाधिकारीहरुको आलोचना गरेका छन् । इपानको साधारणसभा र कार्यसमितिको निर्वाचन यहि जेठ ३२ गते काठमाडौंमा हुँदैछ । जेठ ३० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । हाल इपानमा ४५१ वटा जलविद्युत कम्पनीहरु संगठित भएका छन् । गत वर्षसम्म २५० सदस्य रहेकोमा यस वर्ष निर्वाचनको पूर्वाद्धमा करिव २०० सदस्य थपिएका हुन् । नयाँ थपिएका सदस्यहरुले एकै पटक इमानको नेतृत्वमा आकांक्षा राखेपछि उम्मेदवारको योग्यतामा विवाद शुरु भएको छ ।

होन्डा एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याई नयाँ लैजानुहोस्

काठमाडौं । कुनै पनि पुरानो मोटरबाइकसँग होण्डा मोटरबाईक साट्न पाइने भएको छ । हाल होण्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिंग कम्पनीले संचालन गरिरहेको ‘होण्डा एक्सचेन्ज र फाईनान्स मेला’मा कुनै पनि पुरानो मोटरबाइक ल्याएर साट्न पाइनेछ । मेलामा आफ्नो पुरानो बाईकसँग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार र एक्सचेन्ज बोनस पनि पाइने कम्पनीले जानकारी दिएको छ । साथै, १० हजारसम्मको आकर्षक स्क्रयाच कुपन पनि साट्न पाइनेछ । कम्पनीका्े अनुसार मेलामा सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याजदरमा नयाँ होण्डा खरिद पनि गर्न सकिने छ । होण्डा फाईनान्समार्फत मात्रै ५९ हजार ९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १५ को ब्याजदरमा बाइक घर लान पाइने कम्पनीले जानकारी दिएको छ । जेठ १८ गतेदेखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन ग्राहकहरुले काठमाडौं होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सक्नेछन् ।

नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने

काठमाडौं । नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो । अघिल्लो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । दक्षिण एसियाली महिला विकास मञ्चले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योग औद्योगिक ग्राम (पार्क) बारे जानकारी गराएको हो । ‘पाँचखाल नगरपालिकामा रहेको औद्यागिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय सरकारले गरेको छ, महिला उद्यमी र हरित अर्थतन्त्रका लागि यो औद्योगिक पार्क स्थापना हुनु सकारात्मक रहेको छ र अन्य छ वटा प्रदेशमा पनि यस्तै प्रकृतिका पार्क स्थापनाका लागि हरित औद्योगिक पार्क ऐन ल्याउन आवश्यक छ,’ दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले भनिन् । उनले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा जोड दिएर राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिका बढाउनुपर्ने समेत बताइन् । महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले पाँचखाल नगरपालिकाको होक्सेमा शुरु भएको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजनाबारे प्रस्तुतीकरण गरिन् । प्रदुषणमुक्त, फोहरमैला व्यवस्थापन र फोहोर पानीको पुनरप्रयोग, ऊर्जा संरक्षणका लागि साझा योजना, स्थानीय सामग्रीको प्रयोग गरी बनाइएको भवनलगायतका विशेषताबारे उनले प्रकाश पारिन् । नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रूपमा प्रचार गरिने जनाइएको छ । यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रीत सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ । महिला उद्यमशीलतालाई बढावा दिने उद्देश्यले स्थापित दक्षिण एसियाली महिला विकास मञ्च सार्क मान्यताप्राप्त संस्था हो भने यो संस्थाले संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्को रूपमा मान्यता पाएको छ । रासस

आइएमई लाइफले आईपीओ लगत्तै बोनस सेयर दिने, प्रिमियममा सेयर किन्दा नाफा कि घाटा ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गरेपछि सजिलै २५ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । इन्स्योरेन्सले न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउन आईपीओ पछि बोनस सेयर वितरण गर्ने भएको हो । कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गर्दैछ । सर्वसाधारण समुहको एक करोड २० लाख कित्तामध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई आधार मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता सेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ । प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता सेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ । तर आयकर ऐनले विगतमा प्रिमियममा सेयर निष्काशन गरेका बीमा कम्पनीहरुलाई समेत अहिले आएर कर भुक्तानी गर्न निर्देशन दिइरहेको सन्दर्भमा आइएमई लाइफले पनि उक्त प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्नेछ । यदि कर भुक्तानी गर्नु परेको खण्डमा कम्पनीले राज्यलाई प्रिमियमबाट आर्जित रकमबाट झण्डै ३९ करोड रुपैयाँ तिर्नु पर्छ । त्यसपछि कम्पनीसँग लाभांश वितरण योग्य प्रिमियम रकम एक अर्ब १७ करोड हुने कम्पनीले बताएको छ । आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस सेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्बभन्दा माथि रकम रहेको छ । इन्स्योरेन्सका अनुसार प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस सेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस सेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ । प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा सेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन् । प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरुले समेत प्राप्त बोनस सेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन् । मानौ कुनै सेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता सेयर खरिद गर्यो । उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ । ५ अर्ब रूपैयाँ पुँजी पुर्याउने क्रममा कम्पनीले पहिलो वर्ष २५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न सक्ने विश्लेषण पुँजी बजारमा हुन थालेको छ । अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको सेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ । मानौ प्राथमिक सेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस सेयर बिक्री गर्यो । यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ । बोनस सेयर बिक्री भएपछि प्राथमिक सेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ । यदि भोलिका दिनमा बढ्दो बजारमा सेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्ने देखिन्छ । त्यसमा पनि २५ प्रतिशत बोनस सेयर दिने भएपछि कम्पनीको सेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहने बजार विश्लेषण छ ।

तीन करोडमा बन्यो भगवानपुरको इलाका प्रहरी कार्यालय

बाँके । बाँकेको नरैनापुरको वडा नं. ५ को भगवानपुरमा नवनिर्मित इलाका प्रहरी कार्यालयको सोमबार उद्घाटन गरिएको छ  । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । इलाका प्रहरी कार्यालयसँगै उनीहरुले कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको पनि उद्घाटन गरेका छन् । प्रदेश सरकारको नियमित बजेटबाट कुल तीन करोड ९ लाख लागतमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको निर्माण सम्पन्न भएको हो । प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी संगठनलाई संस्थागत रूपमा मजबुत बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिवद्ध रहेको बताए । उनले भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गरे ।

काठमाडौं महानगरले गर्‍यो दुई अस्पताल सिल

काठमाडाैं । काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ । सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हाे । ति दुई अस्पताल बिना दर्ता संचालन गरेकाे पाइएकाले सिल गरिएकाे महानगरले जानकारी दिएकाे छ ।