देशभर तापक्रम बढ्दै
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा भनिएको छ । लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहँुदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ । लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ । लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिन पनि महाशाखाले सुझाएको छ । हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा बागमती प्रदेशका केही स्थान साथै मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा, दावी भुक्तानी १५९२ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्म २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीले २९.५१ प्रतिशत खुद नाफा वद्धि गरेको हो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गतवर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क ६१२ प्रतिशतले बढेको हो । यस्तै, ९ महिनाको अवधिमा कम्पनीको खद दावी भुक्तानी १५९२ प्रतिशत बढेर २४ करोड ७२ लाख ६१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष ३८ करोड ५८ लाख रुपैयाँ, बीमा कोष १३ करोड ६९ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, के छन् एजेण्डा ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आगामी असार १९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको सञ्चालक समितीको जेठ २९ गते बसेको बैठकले असार १९ गते काठमाडौंमा बिहान साढे ११ बजे २१ औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । कुनै बैंकसँग एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी विशेष प्रस्तावले संचालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । साथै, प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन र सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंकले साधारणसभा प्रयोजनार्थ असार १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
मध्य भोटेकोशीले बोलायो २ वर्षको साधारण सभा
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले १० औं र ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेड ८ गते बसेको बैठकले वार्षिक साधारण सभा असार २० गते बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको सभाले विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयता दिएको रकम अनुमोदन गर्ने र सञ्चालक समिति सदस्यको निर्वाचन गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।
भूमिहीनलाई लालपुर्जा वितरण गर्न जग्गाको नापजाँच अगाडि बढ्यो
काठमाडौं । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए । देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ । सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडामा जग्गाको नापजाँच काम सकिएको छ । व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ । जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए । ‘प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन, हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ, जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ, सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ, असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ,’ उनले भने । जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ । यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ । भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो । भानु–१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो । यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताए । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताए । भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएपछि भूमिहीन खुसी भएका छन् । यसअघि निस्सा पाएका नयाँबस्तीका रामबहादुर परियारले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको बताए । ‘प्रत्येक चुनावमा नेता आएर लालपुर्जा दिन्छौँ भन्नुहुन्छ, तर कहिल्यै पुर्जा पाइएन, अहिले नापजाँचको काम सुरु भएपछि त पक्कै पुर्जा पाइन्छ होला,’ उनले भने । सोही ठाउँकी डिलकुमारी राना पनि जग्गा नापजाँच अगाडि बढेपछि हर्षित छिन् । लालपुर्जा नहुँदा सुकुम्बासी भएर बाँच्नुपरेको भन्दै उनले जग्गा नहुँदा धेरै समस्या आइपरेको उल्लेख गरे । जिल्लाका १० पालिकामा भूमिहीन दलित १ हजार १०८, भूमिहीन सुकुम्बासी १ हजार ८७२ र अव्यवस्थित बसोबासी २३ हजार १३७ गरी २६ हजार ११७ जनाको निवेदन दर्ता भएको छ ।रासस
नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको कामकारबाही र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गर्ने कार्य रोक्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको हो । न्युनतम मापदण्ड पुरा गरे÷नगरेको विषयमा समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा छानविन गरि निष्कर्षमा नपुगेसम्म लाइसेन्स सम्वन्धी सम्पूर्ण प्रक्रिया तत्कालका स्थगन गर्न भनेको हो । हाल धितोपत्र बोर्डले १८ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको छ । साथै, समितिले आगामी बैठकमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डको पदाधिकारीहरुसंग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको विषयमा विस्तृत छलफल गर्ने बताएको छ । बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरणमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको र सांसदहरुले अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भनेर विषय उठान गरेको हुँदा तत्काल लाइसेन्स वितरण प्रक्रिया स्थगन गर्न समितिले निर्देशन दिएको हो । साथै, समितिको गत जेठ २ गते बसेको बैठकमा समेत गम्भीर रुपमा अध्ययन गर्नुपर्ने माग भएको बताएको छ । पूँजीबजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदन वि.सं.२०७७ असार ३० को पत्रबाट बोर्डलाई कार्यान्वयनको लागि पठाइएकोमा हालसम्म भएका कामकारवाही र समितिको निर्देशन कार्यान्वयनको सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण ५ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराउन अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग समितिले गत जेठ ७ गते पत्र पठाएको थियो । धितोपत्र बोर्डले गत जेठ १२ गते अर्थसमितिलाई पठाएको पत्रमा थप एउटा सम्म स्टक एक्सचेन्ज स्थापना गर्न अनुमति प्रदान गर्न उपयुक्त हुने बताएको थियो । साथै, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमती पूर्वाधार तयार गरेका ब्रोकर कम्पनीलाइ लाइसेन्स प्रदान गरेको जानकारी गराएको थियो ।
प्रभु लाइफको अध्यक्षमा शिक्षा भट्टचन
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थापक सेयरधनीहरुको तर्फबाट भट्टचन अध्यक्षमा चयन भएकी हुन् । साथै कम्पनीको संचालकमा सुशान शेरचन, मिजास भट्टचन र श्याम कृृष्ण श्रेष्ठ चयन भएका छन् ।
फेरी अर्काे सहकारीले ठग्यो बचतकर्ताको पौने २१ करोड रुपैयाँ
काठमाडौं । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख रुपैयाँ बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै २ हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रुपैयाँ रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार चार सय ९६ जनाले निवेदन दिएको बताए । ‘अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ, अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ ,’ उनले भने । गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकाहरूलाई बचतपास बुक र नागरिकतासहित प्रहरीमा निवेदन दिन आग्रह गरेको थियो । अहिले महेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्था बन्द छ । बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् । ‘हामीले मेहनतले कमाएको रकम हामीलाई फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ, सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका हौँ,’ बचतकर्ता सुमन कुँवरले भने । उक्त सहकारीमा ३७ हजार रकम बचत रहेको उनको भनाइ छ । त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रकम उक्त सहकारीमा जम्मा रहेको बताए । ‘सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएन, ३÷४ दिन कार्यालयमा धाएँ, मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ,’ उनले भने । बचतकर्ताहरूले बचत रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् । भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ ।