काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)मा विवाद उत्पन्न भएको छ । उम्मेदवारको योग्यता, आर्थिक पारदर्शीता, साधारणसभामा प्रस्तुत हुने विषय बस्तुहरुको बारेमा सोमबार विवाद भएको कार्यसमितिका एक सदस्यले बताए ।
अध्यक्षका आकांक्षी किरण मल्ल र उनको समूहका आकांक्षीलाई उम्मेदवार बन्न रोक्ने गरि निर्वाचन विनियमावलीमा सर्त राखेका भन्दै मल्ल पक्षधरको व्यवसायीहरुले इपानको कार्यलयमा पुगेर विरोध गरेका छन् । ‘चुनाव लागेको छ । दुई पक्षबीच चर्काचर्की भयो’ सचिवालयका एक कर्मचारीले बताए ।
संस्थापन पक्षले निर्वाचत नै सार्न खोजेको आरोप मल्ल पक्षले लगाएको छ । निर्वाचनमा संस्थापन पक्षको समर्थनमा गणेश कार्कीको नेतृत्वमा एउटा प्यानल छ भने अर्कोतर्फबाट किरण मल्लको नेतृत्वमा नयाँ समूहले उम्मेदवारी दिने तयारी गरिरहेको छ ।
निर्वाचन विनियमावलीमा उम्मेदवारको योग्यताबारे विपक्षीलाई रोक्ने गरी सर्तहरु राखेको भन्दै मल्ल पक्षले आक्रोश व्यक्त गरेका थिए । साेही आशंकाका आधारमा उनीहरूले उम्मेदवार बन्न पूरा हुनुपर्ने सर्तहरु, आवश्यक कागजपत्रबारे आवश्यक जानकारी निर्वाचत समितिसँग माग गरेका थिए ।
साथै साधारणसभामा प्रस्तुत हुने संस्थाको वार्षिक कार्यक्रम, गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन, अध्यक्षले राख्ने मन्तव्य जस्तो महत्वपूर्ण विषयहरु कार्य समिति सदस्यहरुलाई पनि उपलब्ध नगराएको भन्दै कार्यसमितिका सदस्यहरुले नै अध्यक्षसहित पदाधिकारीहरुको आलोचना गरेका छन् ।
इपानको साधारणसभा र कार्यसमितिको निर्वाचन यहि जेठ ३२ गते काठमाडौंमा हुँदैछ । जेठ ३० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । हाल इपानमा ४५१ वटा जलविद्युत कम्पनीहरु संगठित भएका छन् । गत वर्षसम्म २५० सदस्य रहेकोमा यस वर्ष निर्वाचनको पूर्वाद्धमा करिव २०० सदस्य थपिएका हुन् । नयाँ थपिएका सदस्यहरुले एकै पटक इमानको नेतृत्वमा आकांक्षा राखेपछि उम्मेदवारको योग्यतामा विवाद शुरु भएको छ ।