ईसेवा मनि ट्रान्सफरबाट पठाएको रेमिट्यान्स अब सिधै नबिल बैंकमा
काठमाडौं । ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ। साथै अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् ।
मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज पहिलो पटक भैरहवामा अवतरण
काठमाडौं । मलेशियाबाट आएको नेपाल वायुसेवा निगमको जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । २०७९ को वैशाख १५ गते औपचारिक रुपमा उद्घाटन गरिएको सो विमानस्थलमा निगमले पहिलो पटक उडान गरेको हो । १५८ सिट क्षमताको जहाजले मंगलबार ९० जना यात्रु लिएर भैरहवा आएको थियो । १ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज मंगलबार बिहान पौने ९ बजे भैरहवा अवतरण गरेको हो । मलेसियाबाट आएका ३० जना यात्रुहरूलाई भैरहवा अवतरण गराएर ६० जना यात्रु लिएर निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । निगमले जेठ पहिलो साता मलेशिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो । तर हाल मलेसिया–भैरहवा ३१ हजार र मलेशिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ । निगमले पहिलोपटक मलेशिया–भैरहवा उडान सुरू गरेपछि पर्यटनमन्त्री सुदन किराती आफैँ यात्रुहरूको स्वागतका लागी भैरहवा पुगेका थिए । सातामा एउटा उडान निगमले सुरुवाती चरणमा मलेसिया भैरहवा उडान सातामा एक वटा गर्ने तयारी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले सुरुवाती चरणमा एउटा उडान गर्नेभन्दै आवश्यकता अनुसार उडान थप गरिने बताए । उनका अनुसार मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।
सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग
कास्की । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा सेती नदी संरक्षण अभियान नामको सामाजिक संस्था दर्ता गरिएको छ । सेतीमा वर्षौँदेखि हुँदै आएको ढुङ्गा, बालुवा, गिट्टीको दोहन र नदी किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमाङ्कन माग गरिएको होे । नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेका कारण वर्षात्मा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले बताए । उनले भने , ‘धार्मिक आस्थाका स्थानसमेत जोखिममा रहेको र बढ्दो मानव क्रियायाकलापका कारण नदीको जल ढलमा परिणत भइरहेको छ । यस्तो दुर्दशा न्यूनीकरणको उद्देश्यले सेती आसपासमा बसोबास गर्ने जनसमुदायको अगुवाइमा सेती नदी संरक्षण अभियान सामाजिक संस्था दर्ता गरेका छौँ ।’ संस्थाले मुलतः सेती नदीको वैज्ञानिक सिमाङ्कन, नदीलाई प्राकृतिक अवस्थामा बग्न दिई थप क्षति हुन नदिन संरक्षणमुखी ठोस कार्य गर्न ल्याउन तीनै तहका सरकारसँग मागसमेत गरेको छ । नदीमा भइरहेको फोहरको व्यवस्थापन गर्न जनचेतना लगायतका समुदायस्तरबाट सरसफाइ कार्यको संयोजन, सांस्कृतिक, धार्मिक आस्थाका स्थलको संरक्षण तथा नदीलाई सौन्दर्यकरण गर्न सरोकारवालालाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने अभियानले जनाएको छ । सेती नदी संरक्षण अभियानका पदाधिकारीले नदी संरक्षणका कार्यक्रम ल्याउन सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्यसमक्ष माग गरेका छन् । प्रमुख आचार्यलाई महानगरमा भेट गरी उनीहरूले संरक्षणका लागि आग्रह गरेका हुन् । महानगरको आगामी वर्षको बजेट तथा कार्यक्रममा सेती सिमाङ्कन सेती नदीको प्राकृतिक बहावलाई कायम गर्न बिनाविलम्ब चाल्नुपर्ने कदम, नदी सरसफाइ र स्वच्छता कायम गर्ने गरी कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् । महानगरले नदीको सौन्दर्यकरण र पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइएको छ । ‘संरक्षणका ठोस काम नगरी भविष्यमा कुनै पनि हालतमा दोहनरुपी उत्खनन गर्ने काम दोहोरिने छैन भन्ने अपेक्षा महानगरसँग गरेका छौँ’, अध्यक्ष पौडेलले भने, ‘महानगरले चाल्ने संरक्षणका ठोस तथा सकारात्मक क्रियाकलापमा अभियानको साथ र सहयोग रहने प्रतिबद्धता महानगरसमक्ष गरेका छौँ ।’
धनकुटामा रोजगार मेला हुँदै
धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए। कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।
‘ईप्पानको विधानको कारण दक्ष साथीहरु टीम बाहिर रहे, विजयी हुने बित्तिकै संशोधन हुन्छ’
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को चुनाव संघारमै छ । उम्मेदवारहरु चुनावी माहोलमा व्यस्त छन् । चुनावी माहोल आफ्नो पक्षमा पार्न उम्मेदवारहरुबीच प्रतिस्पर्धा चलिरहेको छ । नयाँ कार्यसमितिका लागि इञ्जिनियर समेत रहेका जलविद्युत उद्यमी किरण मल्लले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार मल्लसँग उनको चुनावी अभियान र उनको एजेण्डाका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । ईप्पानको निर्वाचन नजिकिएको छ, तपाईंले अध्यक्षका लागि उम्मेदवारी पनि घोषणा गरिसक्नु भएको छ, मतदाताले तपाईंलाई मतदान किन गर्ने ? ईप्पान जलविद्युत उद्यमीहरूको छाता संस्था हो । यस संस्थाले सबै सदस्यहरूको हक र हितको लागि काम गर्दै आएको छ र गर्नु पनि पर्छ । जलविद्युत क्षेत्रमा पनि विभिन्न समस्या छन् । यसमा लगानी, वन तथा वातावरण, जमिन, भूगोल, सडक, प्रसारण लाइन लगायतका समस्या छन् । यी समस्या समाधान गरेर मात्र विद्युतको उत्पादन गर्न सकिन्छ । मेरो उम्मेदवारी यस संस्थाको विकास तथा समग्र जलविद्युत क्षेत्रको विकासका लागि हो । ईप्पान नेपाल सरकार, विद्युत प्राधिकरण, ऊर्जा तथा जलस्रोत मन्त्रालय, बैंक तथा वित्तीय संस्था लगायतसँग सम्बन्धित छ । जलविद्युत क्षेत्रमा देखिएका समस्याहरू समाधानका निमित्त पहल गरी सम्बन्धित निकायसँग लबिङ गरी ऊर्जाका उद्यमीलाई राहत दिने कामसँगै आफ्नो अनुभवलाई सदुपयोग गरौं भनेर उम्मेदवारी दिएको हुँ । म आफै जलविद्युत उद्यमी हुँ । जलविद्युत उत्पादन गर्ने कम्पनीको पनि सञ्चालन गर्छु । यस क्षेत्रमा मेरो ३५ वर्ष भन्दा लामो अनुभव छ । नेपालमा भएका ५० भन्दा बढी आयोजनमा प्रत्यक्ष विभिन्न कोणबाट आवद्ध छु । त्यसैले पनि मलाई मतदाताहरुले पत्याउनु हुन्छ भन्ने विश्वास छ । तपाईंले चुनाव जित्ने आधारहरू के-के हुन् ? ईप्पान भित्र अहिले धेरै असन्तुष्टि छ । मैले जे–जे काम गर्नु पथ्र्यो ती काम गर्न सकिन भने पनि मान्छेमा असन्तुष्टि हुन्छ । ईप्पानको विधानको कारण योग्य उम्मेदवारलाई उच्च पदमा जान दिएन । विधानले संस्थाको कार्यकारी पदमा जानको लागि बन्देज गरेको छ । यो जलविद्युत उद्यमीहरूलाई मन परेको छैन । यस कारणले विधान परिवर्तन एउटा मुद्दा हो । बुहुसंख्यक जलविद्युतका विकासकर्ता ईप्पानको विधान परिवर्तन चाहन्छन् । यस क्षेत्रको विकासका निमित्त नीति नियम पनि सहज र सरल हुनु पर्याे । एउटा कामको लागि प्रत्येक विभाग धाउने बाध्यताको अन्त्य गरी एकै ठाउँबाट धेरै काम हुने वातावरणको सिर्जनामा पनि मेरो भूमिका हुनेछ । मेरो जितको सुनिश्चितता मतदाताले गर्नुहुन्छ । मतदाताको मत मलाई मिल्छ भन्ने कुरामा विश्वस्त छु । तपाईं वर्तमान कार्यसमितिमा हुनहुन्न, तपाईंले उठाएका अधिकांश उम्मेदवार अध्यक्षका अर्का उम्मेदवार गणेश कार्कीको टीमका मान्छेहरु हुनुहुन्छ, यस हिसाबले पनि धेरैले तपाईंलाई नपत्याएको भन्छन् नी ? म पहिलो कार्यकालको नै सदस्यता भएका कारण अध्यक्ष बन्ने ढोका खुलेको छ । विधानले वाधा अड्चन गरेको छैन । बुहुसंख्यक ऊर्जा उत्पादकहरूलाई यस विधानले बाधा अड्चन गरेको छ । कार्यसमिति सदस्य, पदाधिकारी, उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न २५ औं वर्ष लाग्ने देखिन्छ । र, यो असान्दर्भिक हो भन्ने लागेको छ । धेरैले मलाई पत्याएका छन् । त्यसो भए ईप्पानको अध्यक्ष बन्नेमा ढुक्क हुनुहुन्छ ? मेरो यो क्षेत्रमा लामो समय देखिको अनुभव छ । म पेशाले इन्जिनियर पनि हुँ । मेरो पढाइ गराइ पनि एउटै छ । यस क्षेत्रका समस्या जानेको बुझेका छु । त्यसको समाधानका लागि कसरी पहल गर्नुपर्छ भनेर राम्रो ज्ञान भएको कारण मलाई मतदाताले मत दिई निर्वाचित गर्नु हुन्छ भन्ने अपेक्षा लिएको छु । जलविद्युत क्षेत्रमा यहाँको योगदान के हो ? बिजुली उत्पादन गर्नमा मेरो ठूलो योगदान छ । बिजुली उत्पादनको अनुमति पत्र लाइसेन्स लिनको लागि धेरै समय लाग्छ । म इञ्जिनियर भएको कारणले धेरै कुरामा आफ्नै सहभागिता रहन्छ । म निर्माण व्यवसायी पनि हो । मैले करिब १५ सय बढीलाई रोजगारी दिएको छु । मैले यस क्षेत्रसँग सम्बन्धित रहेर जनशक्तिको क्षमता विकासमा धेरैलाई सहभागिता गराएको छु । मैले यस क्षेत्रमा अप्रत्यक्ष, प्रत्यक्ष योगदान पुर्याएको पक्कै छ । तपाईं अध्यक्षको उम्मेदवार, तर तपाईंकै छोरी अध्यक्षका अर्का उम्मेदवार गणेश कार्कीको टिमबाट सचिव लड्ने चर्चा थियो, अहिले पछि हटेको कुरा सुनिन्छ,यो हिसाबले तपाईंको आफ्नै छोरीले तपाईंलाई नपत्याइएको देखिन्छ, तपाईंको आफ्नै छोरीले तपाईंलाई मतदान गर्नु हुन्न भने अन्य सदस्यले मतदान गर्छन् जस्तो लाग्छ ? यो कुरा आधिकारिक होइन । उहाँहरूले फोटो टाँस्नु भएको हो । फोटो टाँस्दैमा उम्मेदवारी हुने भन्ने कुरा बुझिँदैन । तपाईंहरुले पनि त्यसरी बुझिदिनु भएन । बाउ र छोरी दुवैले उम्मेदवारी दिने कुरा आउँदैन । छोरी उता तिरको उम्मेदवारी भइन् भने उहाँको साथीहरू धेरै जसो हाम्रै टिममा साझा उम्मेदवारको रूपमा आउनु हुन्छ । र, मैले एउटै टिम हो भनेर सोचेको छु । छोरी कार्की टिममा गइन् भने उताको साथीहरू पनि हाम्रो टिममा आउँछन् । अर्को कुरा यस पटक छोरी उम्मेदवार हुनु हुँदैन । यस पटक सम्भवतः छोरीको उम्मेदवार कुनै पनि पदमा हुँदैन । दुवै जना अध्यक्षको उम्मेदवारको टीममा अधिकांश एउटै उम्मेदवार देखिन्छन्, तपाईंहरुले उम्मेदवार नपाउनु भएको हो ? यो एउटा छाता संस्था हो । क्षमतावान् मान्छे टिममा हुनु पर्छ । संस्थामा मेरो र तेरो टिम भन्ने हुनु हुँदैन । यो क्षेत्रमा कित्ताकाट गर्नु पर्ने जरुरी छैन । विधानका कारण प्रतिस्पर्धी कम भएको हो । विधानमा पहिला नै कार्यसमिति भएको मान्छे मात्र पदाधिकारीमा आउनु पर्ने बाध्यात्मक कारणले गर्दा प्रतिस्पर्धी कम भए । जुन मान्छे जताको भएपनि यस क्षेत्रमा विकासको लागि कार्यसमितिमा आउने हो । हामीले हाम्रो समूहको कार्यसमिति पनि घोषणा गरिसकेका छौं । वर्तमान कार्यसमिति सर्वसम्मत रूपमा नै चयन भएको हो, नयाँ कार्यसमितिको चयन पनि सर्वसम्मत रुपमा हुने सम्भावना कत्तिको छ ? सर्वसम्मत तरिकाबाट कार्यसमितिको चयन गर्ने भन्ने विषय राम्रो हो । सबै कुरालाई मिलाएर सर्वसम्मत कार्यसमितिको छनोट गर्नु पर्याे । यसमा क्षमता अनुभव, कार्यशैली लगायतका कुरा पनि आउनु पर्याे । सर्वसम्मत गर्ने, अनि म नै पदको दाबेदार हुनु पर्छ भन्ने भयो भने चाहिँ समस्या हुन्छ । अन्य पदका लागि सर्वसहमति भएपनि अध्यक्ष पदको लागि हुँदैन । चुनाव हुन्छ । अध्यक्ष पदमा सबैले मतदान गरेर मलाई विजयी बनाउनु हुन्छ भन्ने कुरामा विश्वस्त छु । यदि तपाईं इप्पानको अध्यक्ष पदमा निर्वाचित हुनु भयो भने जलविद्युत क्षेत्रको विकासमा तपाईंको भूमिका के रहन्छ ? जलविद्युत क्षेत्रको विकास र विस्तारमा मेरो अहम् भूमिका रहन्छ । जलविद्युत क्षेत्रकै छाता संस्था भएकोले यस क्षेत्रका समस्या पनि यहीँ आउने र समाधानको लागि पनि पहल हुने भएकाले देशको जलविद्युत क्षेत्रको विकास भयो । यसमा धेरै मान्छेको सहभागिता भएकाले तिनै मान्छेको सहभागिता हुने भएकाले उहाँहरूलाई सहुलियत दिन सक्यो झन् धेरै जलविद्युतको विकास हुन्छ । तपाईंले हालसम्म कुन–कुन परियोजना बनाउनु भएको छ, कुन–कुनमा आबद्ध हुनुहुन्छ ? मेरो धेरै आयोजनाहरू निर्माणको चरणमा छन् भने कतिपय अध्ययनको क्रममा छन् । २३ मेगावाटको मेवा खेला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । सोलुखुम्बुमा २१ मेगावाटको आयोजनाको स्टक्चरको काम भइरहेको छ । २९ मेगावाटको प्रोजेक्ट पाइपलाइनमा छ । त्यो पीपीएको पर्खाइमा छ । प्रशस्त आयोजनहरू पाइपलाइनमा छन् । मेरो आफ्नै सहभागितामा करिव ३० वटा आयोजना निर्माण भएका छन् ।
नबिल बैंक र एसियन पेन्टसबीच च्यानल फाइनान्सिङ सम्झौता
काठमाडौं । नबिल बैंक र एसियन पेन्टस् नेपाल बिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य भएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्टस्का प्रमुख बित अधिकृत समीर श्रेष्ठका साथै एसियन पेन्टस्का अन्य कार्यकारीहरूको पनि उपस्थिति थियो । यस सम्झौता अन्तर्गत एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ् कर्जा उपभोग गर्न पाउने छन् । च्यानल फाइनान्सिङका प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ । च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्टस् नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय बिस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए । यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खाता मार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो ।
चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य
चितवन । तपाईंलाई पत्यार नलाग्न सक्छ १ चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन पुगेका हुन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको हो । उनका अनुसार विद्युतीकरणका लागि वडा नम्बर १ र २ मा आर्थिक वर्ष २०७५÷७६ मै बोलपत्र भएर पनि काम अघि बढेन । सो समयमा विद्युतीकरणका लागि ठेक्का लिएर ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा विद्युत् सेवा विस्तार गर्न सकेन । अहिले काम नगर्ने ठेकेदारलाई मुद्दा हालेर ठेक्का रद्द गरेर पुनः ठेक्का लगाएर काम पनि अघि बढेको अध्यक्ष गुरुङले बताए । ‘काम नगर्ने ठेकदारलाई मुद्दा हालेपछि पुनः चालु वर्षमै नयाँ बोलपत्र आह्वान भयो, त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ, अब कुनै पनि बहानामा काम रोकिँदैन, प्राधिकरणसँगको समन्वयमा काम भइरहेको छ’, अध्यक्ष गुरुङले भने । चालु आवको दोस्रो चौमासिकभित्रै ठेक्का प्रक्रिया टुङ्गिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि अहिले विद्युत् सेवा पुग्न बाँकी गाउँमा धमाधम विद्युतीकरणको काम सुरु भएको उनले बताए । गाउँपालिकामा समग्रमा ५५ प्रतिशत घरमा मात्र विद्युत् पुगेको छ । अध्यक्ष गुरुङका अनुसार वडा नं ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ । तर पहाडी क्षेत्र अधिक रहेको वडा नं १ मा १५ प्रतिशत, ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ । वडा नं २ मा कुनै पनि ठाउँमा बिजुली छैन । विद्युतीकरणको क्रममा केही समयअघि पर्यटकीय एवं ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को भने सबै ठाउँमा बिजुली पुगिसकेको उनले बताए । वडा नं २ मा विद्युत् विस्तारका लागि पोल पुगेपछि स्थानीयमा आशा भने पलाएको छ । ‘चार वर्षअघि नै ठेक्का आह्वान भएको सुनेका थिएँ, काम सुरु नहुँदा आश नै मरेको थियो, तर अहिले घरको आँगनमै पोल झरेपछि आशा पलाएको छ’, स्थानीय टीका गुरुङले भने । यस्तै यतिबेला टोलटोलमा बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । यहाँका सबै टोलटोलमा सडक पुगे पनि बिजुली बाल्नबाट यहाँका स्थानीय बञ्चित भएको उनको भनाइ छ । अब भने बिजुली बल्नेमा ढुक्क भएको उनको भनाइ छ । अहिले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा काम भइरहेकाले पोल र तार प्राधिकरणले नै खरिद गरेर पठाएको तथा पोल गाड्ने र तार टाँङ्ने काम ठेकेदार पक्षले गर्ने भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । इच्छाकामनाको सबै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुनलागेको हो । अध्यक्ष गुरुङका अनुसार काममा कुनै अवरोध नभएमा आगामी आवभित्रै इच्छाकामनाका सबै स्थानमा विद्युत् पुग्नेछ । गाउँपालिकाले विद्युतीकरणसँगै विपन्न समुदायको नागरिकको घरमा निःशुल्क विद्युत् मिटरसमेत जडान गर्दै आएका छन् । साथै सामथ्र्य उच्च बनाउनका लागि गाउँपालिकामै ‘सबस्टेशन’ राख्नका लागि पनि पहल भइरहेको उनले जानकारी दिए । गाउँपालिकामै ‘सबस्टेशन’ बनाएर गोरखाबाट लाइन जोडेपछि चौबीसै घन्टा विद्युत्मा पहुँच हुने उनको भनाइ छ । रासस
अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो
पाल्पा । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिवार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेला परेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शील’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो । बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शील’ गरेर राखेको हो । हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिवार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ ।