काठमाडौंको १०० स्थानमा हाइ मास लाइट जडान गरिने, ५ हजार बढीलाई रोजगारी दिइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १०० स्थानमा हाइ मास लाइट जडान गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे महानगरका विभिन्न १०० स्थानमा हाइ मास लाइट जडान गरिने बताएका हुन् । ‘उज्यालो सहर, मेरो महानगर परियोजनालाई गौरवका योजनाको रूपमा सञ्चालन गरिनेछ, यसका लागि महानगरको आफ्नै संयन्त्र वा जीटुजी र सामाजिक उत्तरदायित्व (सीआरसी) मार्फत उज्यालो सहरको कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने । यस्तै, उनले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेका छन् । बालेनले महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रोपुलिङ सुरूवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूको ब्राण्डिङ गरी निर्यात गर्ने, काठमाडौंलाई सांस्कृतिक तथा पर्यटन मैत्री सहर बनाइ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिइएको पनि बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने पनि बताएका छन् ।
नागरिक लगानी कोषले चुक्ता पुँजी बढाउने, पायो सरकारको स्वीकृति
काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी बढाउन स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषलाई चुक्ता पुँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्याउन स्वीकृति दिएको हो । हाल कोषको चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख ५ सय रुपैयाँ रहेको छ । मन्त्रिपरिषद्को बैठकले योसँगै अन्य ८ वटा निर्णयहरु गरेको छ । यस्ता छन् अन्य निर्णयहरु धुर्मुस सुन्तली फाउण्डेसनले “गिरानचौर एकीकृत नमूना बस्ती पुननिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना’ को स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा असुल गर्नुपर्ने अग्रिम कर छुट दिने छ। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा (५) बमोजिम सोही ऐनको परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसूरको शुरु कारबाही र किनारा गर्ने अधिकार तथा बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसूरको शुरु कारवाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने छ । नेपाल-चीन सीमानाको तातोपानी/झाङमु स्थित सीमा चिन्ह (स्तम्भ) ५३ (१) लाई यथास्थानमा संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको छ । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीईडीएडब्लु), १९७९ को सातौं आवधिक प्रतिवेदन सीईडीएडब्लु समितिमा पठाउन स्वीकृति दिने निर्णय भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने आठौं एनआरएनए मिडिल इस्ट रिजिनियल कन्फिरेन्स (एमआरसी) मा प्रमुख अतिथिको रुपमा सहभागिता जनाउन स्वीकृति दिने निर्णय सरकारले गरेको छ । नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । चीनको सिचुवान प्रान्त, छेन्दुङमा २०८० साल असार १२ गतेदेखि १४ गतेसम्म सिचुवान काउन्सिलको आयोजनामा हुन १२औं चीन(सिचुवान) साउन एशिया एण्ड साउथइस्ट एशिया बिजनेस लिडर्स समीट कार्यक्रममा सहभागी हुन म्याग्दी जिल्लाका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाको भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।
थापा मगरको जोडीले छोराको पास्नीमा दिए ५ लाखको बीमा पोलिसी उपहार
काठमाडौं । बल बहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको दम्पत्तिले छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ । यसैबीच मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको जोडीले आफ्नो छोरा बिहान थापा मगरलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् । हरेक आमा वुवाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुने बल बहादुर थापा मगरले बताए । उनले आफ्नो छोरा बिहान थापा मगरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी भुरिगाउ शाखा कार्यालयकी अभिकर्ता (सिनियर ऐजेन्सि मेनेजर) प्रमिला ढकालको सहकार्यमा भुरिगाउ शाखाका शाखा प्रमुख मोहन बहादुर बोहराले घरमै गइ बीमा पोलिसी हस्तन्तरण गरेका थिए । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती या अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ।
प्राकृतिक चिकित्सा पद्धतिमा ध्यान दिनुपर्छ : स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काभ्रेको पनौती ५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यायलले निर्माण गरेको योग तथा प्राकृतिक चिकित्सालय भवन उद्घाटनका अवसरमा मन्त्री बस्नेतले अस्पतालमा हुने उपचार महंगो बन्दै गएको र नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था कमजोर बनेको भन्दै प्राकृतिक चिकित्सा पद्धति अगाल्न सुझाव दिएका हुन् । ‘अस्पतालमा उपचार जुनसुकै हिसाबले महङ्गो हुन थाल्यो, अब नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था छैन, सकेसम्म उपचार गर्न नपरोस् भनेर उपचारविधिमा भन्दा पनि रोकथाम विधिमा जोड दिनुपर्छ । अब योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्छ’, मन्त्री बस्नेतले भने । उनले प्राकृतिक चिकित्सा शास्त्रले रोकथामको विधिलाई मद्दत गर्ने भएकाले सम्पूर्ण नेपालीलाई यसतर्फ ध्यान दिन आग्रह गरे । मन्त्री बस्नेतले आयुर्वेदको भण्डारमा बसेको तर यस क्षेत्रमा विकास गर्न नसकिएको भन्दै कस्तुरीले आफ्नै नाभीको बिना थाहा नपाएर बास्नाको खोजीमा भौँतारिए जस्तो भएको बताए । उनले भने, ‘स्वस्थ्यको पहिलो शर्त आफू निरोगी हुनुपर्छ, जोसुकैले दिनको एक घण्टा स्वास्थ्यका लागि छुट्याउनुपर्छ, म पनि दैनिक एक घण्टा नियमित व्यायम गर्छु, योगले नै सुर्तीजन्य पदार्थ खान हुन्न भन्ने सिकाउँछ, योगका लागि समय मात्रै दिए पुग्छ ।’ मन्त्री बस्नेतले अस्पतालहरुले दश प्रतिशतलाई निःशुल्क उपचार प्रदान गर्ने व्यवस्था अनुगमन गरिरहेको बताए उनले धुलिखेलमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालका कारण बौद्धिक व्यक्तित्वको लस्कर देखिँदा खुसी लाग्ने गरेको स्मरण गर्दै धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बनाउने योजना बनाइने बताए। विश्वविद्यालयका उपकुलपति प्रा डा. भोला थापाले स्वास्थ्य र प्रविधि जोड्दै मानसिक, आध्यात्मिकरुपमा स्वस्थ गराउन चिकित्सा विज्ञानलाई सञ्चालनमा ल्याइएको बताए । रासस
नेउवामहासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो । उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकालले मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । उनले मनोनित हुुने व्यक्तित्वले महासंघलाई सशक्त रुपमा अगाडी बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासंघ विश्वस्त रहेको पनि बताए ।
मेयर बालेनको निर्णयविरुद्ध हल सञ्चालक पुगे अदालत
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध फिल्म हल सञ्चालक अदालत पुगेका छन् । काठमाडौं महानगभित्रका हलहरुमा हिन्दी फिल्म सञ्चालन गर्न नदिने बालेनको निर्णयविरुद्ध उनीहरु अदालत पुगेका हुन् । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको श्रोतले बतायो । श्रोतका अनुसार यो मुद्दाको सुनुवाई बिहीबार हुने छ । भारतीय फिल्म ‘आदिपुरुष मा जानकी भारतीय नारी हुन भन्ने विषयमा विवाद चर्किएपछि मेयर बालेनले काठमाडौं उपत्यकाका सबै फिल्म हललाई गत शुक्रबारदेखि फिल्म प्रदर्शन रोकेका हुन् । महानगर प्रमुख शाहले विवादित अभिव्यक्ति भारतमा समेत नहटाएसम्म नेपालमा हिन्दी चलचित्र प्रदर्शन हुन नदिने बताएका छन् भने नेपालको सेन्सर बोर्डले भने विवादित अभिव्यक्ति हटाएर प्रदर्शनको अनुमति दिएको छ ।
नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता छैन : पूर्वअर्थमन्त्री
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । शर्माले अर्गानिक मल कारखानाको भने अवश्यक्ता रहेको औंल्याए । कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरुको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोलस्टोरहरु बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्ने उनले बताए ।
एनआइसी एशिया लघुवित्तमा रोजगारीको सुनौलो अवसर
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले ६ पदका लागि १५५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा अधिकृतका लागि १८ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदका लागि ३० जना र प्रशिक्षार्थीमा १०० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । संस्थाले केन्द्रीय कार्यालय, आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।