
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १०० स्थानमा हाइ मास लाइट जडान गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे महानगरका विभिन्न १०० स्थानमा हाइ मास लाइट जडान गरिने बताएका हुन् ।
‘उज्यालो सहर, मेरो महानगर परियोजनालाई गौरवका योजनाको रूपमा सञ्चालन गरिनेछ, यसका लागि महानगरको आफ्नै संयन्त्र वा जीटुजी र सामाजिक उत्तरदायित्व (सीआरसी) मार्फत उज्यालो सहरको कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने ।
यस्तै, उनले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेका छन् ।
बालेनले महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रोपुलिङ सुरूवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूको ब्राण्डिङ गरी निर्यात गर्ने, काठमाडौंलाई सांस्कृतिक तथा पर्यटन मैत्री सहर बनाइ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिइएको पनि बताए ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने पनि बताएका छन् ।