१५ दिनको भिजिट भिसामा नेपाल आए ज्याक मा, तीन दिन यतै बस्ने
काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा नेपाल आएका छन् । उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका हुन् । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार दिउँसो काठमाडौं आइपुगेको बताइएको छ । उनी जापान हुँदै नेपाल आएका हुन् । उनी १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमका सूचना अधिकारी खिमराज भुषालले जानकारी दिए । ‘उहाँ नेपाली समय अनुसार मंगलबार दिउँसो २.३० बजे नेपाल आउनुभएको हो, बंगलादेशबाट चार्टड उडानमा एक महिलासहित ७ जना आउनुभएको हामीलाई जानकारी छ’, उनले भने । पर्यटक भिषामा नेपाल आएपनि के प्रयोजनका लागि आएको विषय विभागमा जानकारी नहुने उनले बताए । उनी अब तीन दिन नेपालमै बस्ने तालिका रहेको बताइएको छ ।
दुई लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । असार १२ गते एकैदिन माहुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल ९ लाख १६ हजार २६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये माहुली लघुवित्तको १४.२५ प्रतिशत अर्थात ४ लाख २ हजार ९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत अर्थात ५ लाख १४ हजार ११६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै अब दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
लघुवित्तमा उछाल आउँदा ५६ अंकले बढ्यो नेप्से परिसूचक, ३८ कम्पनीको सेयर मूल्यमा सर्किट
काठमाडौं । मंगलबारको सेयर बजारमा लघुवित्त वित्तीय संस्थाको सेयरमा उछाल आएको छ । बजारमा अधिकांश लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएसँगै त्यसको प्रभाव सेयर मूल्य मापक नेप्से परिसूचकमा पनि परेको हो । मंगलबारको नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ । जुन सोमबारको तुलनामा २.६७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार मात्रै नभई बढी सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा पनि लघुवित्त अग्रस्थानमा रहेको छ । दिनभरको कारोबारमा ३८ कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभेलमा कारोबार भएको छ । जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ वटा कम्पनीको सेयर मूल्य ९.८० देखि ९.९९ प्रतिशतसम्मले बढेको छ । समूहगत हेर्दा पनि लघुवित्त समूह ३५३.७० अंकले बढेको छ । उत्पादनमूलक, निर्जीवन बीमा र ट्रेडिङ समूह घटेका छन् भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् ।
अब यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने
फाइल फोटो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो । प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भीड लाग्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भरिरहेका छन् । रासस
चेक बाउन्स र साइबर क्राइमको मुद्दा जिल्ला अदालतले हेर्ने
काठमाडौं । सरकारले साइबर क्राइम र चेक बाउन्स मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकारी जिल्ला अदालतलाई दिने निर्णय गरेको छ । सोमबार राजपत्रमा सूचना सार्वजनिक गर्दै सरकारले यस्तो निर्णय गरेको हो । हालसम्म साइबर क्राइमका मुद्दा काठमाडौँ जिल्ला अदालतले हेर्दै आएको थियो भने बैंकिङ कसुर सम्बन्धी मुद्दाको उच्च अदालतले हेर्ने गरेको थियो । मन्त्रिपरिषदले विद्युतीय कारोबार ऐन २०६३ र बैंकिङ कसूर तथा सजाय ऐन २०६४ मा संशोधन गरेर ती मुद्दाको कारबाही र किनारा सबै जिल्ला अदालतबाट हुने निर्णय गरेको हो।
बिहीबार सार्वजनिक बिदा
काठमाडौं । असार १४ गते अर्थात आगामी बिहीबार सार्वजनिक बिदा हुने भएको छ । सो दिन इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हरेक वर्ष सरकारले बकर ईद दिन सार्वजनिक बिदा दिँदै आएको छ ।
जिल्ला निर्वाचन कार्यालयहरु खारेज हुँदैनन्ः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पारेका हुन् । उनले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ त्यसरी नै रहने बताए । निर्वाचन कार्यालयहरुलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक कामहरु गर्न सरकार तयार रहेको उनले बताए । उनले सरकार निर्वाचन आयोगको स्वतन्त्रताप्रति कुनै किसिमको सम्झौता नगर्ने बताए । ‘जिल्ला निर्वाचन कार्यालयहरु अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्, अझ त्योभन्दा कसरी त्यसलाई इम्पावर गर्ने, अझ थप सुझाव निर्वाचन आयोगको छ भने अझ त्यसलाई सबल बनाउन, अझ त्यहाँ के प्रवन्ध गर्नुपर्छ, यसको स्वतन्त्र अस्तित्व, काम कारबाहीमा अझ कुनैपनि व्यवधान, अप्ठ्यारा छन् भने त्यसलाई पनि सघाउ पुग्नेगरी के सरकारले गर्नुपर्यो त्यो गर्न सरकार तयार छ, त्यसकारण यो कुनै खारेजी हुँदैन, जिल्ला निर्वाचन कार्यालयहरु जसरी निर्वाचन आयोगले राख्न चाहान्छ, त्यसरी नै रहनेछन्, मेरो पार्टी र यो सरकार निर्वाचन आयोगको स्वतन्त्रतालाई अन्तिम समयसम्म हामी काहीँ कतैपनि कम्परमाइज् हुन दिँदैनौ । त्यो हाम्रो प्रतिवद्धता हो । हाम्रो विश्वास हो,’ उनले भने । उनले निर्वाचन आयोगको आफ्नो स्वतन्त्र अस्तित्व रहने उल्लेख गरे ।
बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय
काठमाडौं । काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । उक्त वस्तु आज बिहान ८.३० बजे फेला परेको थियो । रासस