भूमिसम्बन्धी सबै काम क्रमबद्ध भइरहेका छन् : भूमि मन्त्री चौधरी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुम्वासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सांसदले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सो कुरा बताएकी हुन् । उनले भूमिहिन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगबाट कार्य भैरहेको जानकारी दिँदै कमैया, कमलरी लगायतका विषयको सम्वोधनका लागि कार्यविधि तयार गरी स्थानीय तहमार्फत कार्य अगाडी बढाइने बताईन । सो कार्यक्रमलाई सवै प्रदेश सरकारसँग समेत समन्वयको कार्य बढाउने कार्यक्रम रहेको उनको भनाई छ । यस्तै, मन्त्री चौधरीले सांसद बलराम भण्डारीले सरकारले जग्गा किनवेचमा किन रोक लगाएको भनि गरेको प्रश्नमा सरकारले जग्गा किनबेचमा रोक नलगाएको प्रष्ट पारिन । उनले भूमिको दिगो विकास र उपयुक्त व्यवस्थापनका लागि भू–उपयोग नियमावली जारी भएको र त्यसको संसोधनको तयारी भैरहेको समेत बताईन । बैठकमा सांसदहरुले सहकारीमा देखिएको विकृति र यसको समाधानमा सरकारका ठोस योजना ल्याएर कार्यान्वयन गर्न नसकेको भन्दै समस्या समाधान कहिले हुन्छ भनि समेत प्रश्न गरेका थिए । जवाफमा भूमि मन्त्री चौधरीले सहकारी विभाग मार्फत कार्ययोजना तयार गरि आफ्नो कार्य क्षेत्रभित्र पर्ने सहकारीहरुको अनुगमन र निरिक्षण गर्ने कार्य भइरहेकोकाले समाधानको प्रयास भइरहेको जानकारी गराईन । उनले सबै सहकारीहरुलाई अनुगमन तथा निरिक्षण भैरहेको समेत प्रष्ट पारिन । समस्याग्रस्त सहकारीको उचित व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय गठन भै कार्य भैरहेको बताईन । उनले राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा सहकारी समस्या समाधान कार्यदल गठन भएको र उक्त कार्यदलको प्रतिवेदन प्राप्त भएपछि कार्यदलको सुझाव बमोजिम थप कार्यहरु गर्ने प्रष्ट समेत पारिन । सांसदहरुले मुलुकको सीमा क्षेत्र र सीमाङनकसम्बन्धमा उठाएका प्रश्नको जवाफमा भूमि मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहल भैरहेको भन्दै जवाफ दिएकी थिईन् ।
आवधिक योजना निर्माणमा जुट्यो योजना आयोग, महत्वकांक्षीभन्दा कार्यान्वयन हुने योजनामा जोड दिने
काठमाडौं । राष्ट्रिय योजना आयोग १६ औं आवधिक योजना निर्माणमा जुटेको छ । यसअघि आयोगका पूर्व उपाध्यक्ष, अर्थविद तथा विषय विज्ञहरुसँग छलफल गरिसकेको आयोगले मंगलबार पत्रकारसँग छलफल गरेको छ । छलफलका क्रममा आयोगले १६ औं योजना निर्माणका लागि तीनै तहका सरकार, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, विकास साझेदार लगायत सम्बन्धीत क्षेत्रका व्यक्ति तथा संस्थासँग समन्वय गरीरहेको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग तथा इ–गभर्नेन्सलाई पहिलो प्राथमिकता राखेर १६ औं आवधिक योजना तर्जुमा गरिने बताउँछन् । उनले १५ औं योेजना महत्वकांक्षी रहेको भन्दै १६ औं आवधिक योजना कार्यान्वयन हुने गरी ल्याईने दाबी गरे । १५ औं आवधिक योजनाको लक्ष्य कोभिड महामारी, रुस–युक्रेनको युद्ध लगायतका कारणले पूरा हुन नसकेको उनको भनाई छ । आयोगले बनाउने आवधिक योजना व्यवहारिकभन्दा बढी प्राज्ञिक शैलीका भएकाले तिनको कार्यान्वयन तथा नतिजा प्राप्तिमा समस्या देखिने गरेको विषयलाई आयोगले गम्भीररुपमा लिएको पनि उनको भनाइ छ । नयाँ आवधिक योजना कार्यान्वयनयोग्य बनाउनका लागि अधिकतम प्रयास गरिने उनले बताए । आयोगका कामलाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्याङ्कन ऐन संसद्मा बिचाराधीन रहेको र आयोजना बैंक तथा आयोजना वर्गीकरणसम्बन्धी कार्यविधि बन्ने क्रममा रहेको उनले उलेख्य गरे । आयोगका प्रवक्ता सुमन दाहाल १६ औं योजना निर्माणका लागि विभिन्न स्टेक होल्डरलाई समेटेर १ सय जनाको अधिकार सम्पन्न निर्देशन समिति बनाईएको बताउँछन् । उनले सबै क्षेत्रका व्यक्तिलाई समेटेर उक्त निर्देशन समितिले १६ औं योजनाको अवधारणपत्र स्वीकृत गर्नेदेखि पूर्ण दस्तावेज गठनकोे अधिकार रहेको बताए । जेठ अन्तिम सातादेखि छलफलमा जुटेको आयोगले आगामी माघ मसान्तसम्मको समय तालिका राखेर छलफल गर्नेछ । आयोगले योजना तर्जुमा गर्दा विषय क्षेत्रगत समन्वय, सहयोग र सहजीकरण तथा प्राविधिक विषयका कार्यसम्पादन गर्न महाशाखा प्रमुखको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरु रहेको प्राविधिक समिति रहेको जनाएको छ । यस्तै, योजना तर्जुमाका लागि आयोगका सदस्यको संयोजकत्ववमा सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरु रहेको ५ वटा विषय क्षेत्रगत समिति समेत रहेका छन् । समावेशी किसिमले आर्थिक, प्राविधिक लगायतका विभिन्न समितिहरु बनाएको र उनीहरुले योजना निर्माणदेखि समन्वयन सम्मको काममा सहजीकरण गर्ने काममा आयोग प्रतिवद्ध रहेको उनको भनाई छ ।
सन नेपाल लाइफले दुई महिनामै भुक्तानी गर्यो १४ लाखको मृत्यु दावी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । मंगलबार धनगढी कैलालीमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । स्व. खत्रीले बीमालेख नं.एफई१०००५१३६५४ अन्तर्गत रहि वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको गत बैशाख १८ गते मलेसियामा मृत्यु भएको हो । यससँगै कम्पनीले बीमितले इच्छाएको व्यक्ति श्रीमती इन्द्रादेवी खत्रीलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाख रुपैयाँ दिएको हो । उक्त रकमको चेक कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले इन्द्रादेवी खत्रीलाई हस्तान्तरण गरेका हुन् ।
ज्याक माको नेपाल बसाई : मेरियटमा लन्च, द्वारिकाजमा बास, मेघौली घुमघाम
काठमाडौं । मंगलबार दिउँसो काठमाडौं आइपुगेका चिनियाँ खर्बपति ज्याक मा तीन दिन नेपालमा बस्ने भएका छन् । मंगलबार काठमाडौंको द्वारिकाज होटलमा बास बसेर बुधबार बिहान चितवनको मेघौली जाने कार्यक्रम रहेको पाइएको छ । मंगलबार दिउँसो विमानस्थलमा अवतरण गरेपछि मेरिअट होटलमा खाना (लन्च) खाएर उनीहरु राती द्धारिकाज होटलमा बस्न जाने जनाईएको छ । उनीहरु बस्नका लागि द्धारिकाजको सबैभन्दा महँगो कोठा बुक भैसकेको छ । एक महिला सहित ७ सदस्यीय समूहमा नेपाल आएका उनि मेघौलीमा रहेको सेराइ रिसोर्टमा बस्ने कायक्रम रहेको जनाईएको छ । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार बंगलादेशको ढाकाबाट दिउँसो काठमाडौं आइपुगेको बताइएको छ । उनी १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमका सूचना अधिकारी खिमराज भुषालले जानकारी दिए । ‘उहाँ नेपाली समय अनुसार मंगलबार दिउँसो २.३० बजे नेपाल आउनुभएको हो, बंगलादेशबाट चार्टड उडानमा एक महिलासहित ७ जना आउनुभएको हामीलाई जानकारी छ’, उनले भने । यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।
धनुषाका पाँच पालिकाले ल्याउन सकेनन् बजेट, योजना बाँडफाँटमा विवाद
धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन् । यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो । मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए । पटक-पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो । ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्यौं तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित भए,’ उनले भने, ‘बुँदागतरूपमा उहाँहरुले हालसम्म कुनै माग पनि राख्नुभएको छैन । खै के हो ? उहाँहरुसँगै बुझ्नुस् ।’ यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक-पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाइएन । यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको भन्ने जिज्ञासामा उनले सोही कुरा दोहोर्याएर फोन राखे । यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ । कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन। उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताए । जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएका कारण बजेट नआएको उनले बताए । यसअघि उपप्रमुख मण्डलले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै जनकपुर उच्च अदालतमा उजुरी नै गरेका थिए । नगरप्रमुख विशेश्वर यादवसँग सुरुआती समयदेखि उनको मनमुटाव थियो । सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधिहरु नगरप्रमुखसँग असन्तुष्ट छन् । नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उहाँको भनाइ थियो तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको बताए । योजना तर्जुमा भए पनि अन्य विषयको छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ थियो । ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ,’ उपप्रमुख सिंहले योजना बाँडफाँटतर्फ सङ्केत गर्दै भने, ‘प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौं ।’ यस्तै औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरु अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको बताए । रासस
ललिता निवास प्रकरण : थप पाँच पक्राउ
काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । गुरुङसँगै आज उक्त प्रकरणमा छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । पछिल्लो चरणमा भने सिआइवीले अनुसन्धान तीव्र पारेको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ । सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो । रासस
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर नक्सालको प्रहरी प्रधान कार्यालयमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुरु गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका हुन् । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ्ग सेवा लिन थप सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ्ग सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे । उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, टेकप्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेकबहादुर तामाङ्ग, बैकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धक लगायत बरिष्ठ प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पीओएस (पोइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसड मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
१५ दिनको भिजिट भिसामा नेपाल आए ज्याक मा, तीन दिन यतै बस्ने
काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा नेपाल आएका छन् । उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका हुन् । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार दिउँसो काठमाडौं आइपुगेको बताइएको छ । उनी जापान हुँदै नेपाल आएका हुन् । उनी १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमका सूचना अधिकारी खिमराज भुषालले जानकारी दिए । ‘उहाँ नेपाली समय अनुसार मंगलबार दिउँसो २.३० बजे नेपाल आउनुभएको हो, बंगलादेशबाट चार्टड उडानमा एक महिलासहित ७ जना आउनुभएको हामीलाई जानकारी छ’, उनले भने । पर्यटक भिषामा नेपाल आएपनि के प्रयोजनका लागि आएको विषय विभागमा जानकारी नहुने उनले बताए । उनी अब तीन दिन नेपालमै बस्ने तालिका रहेको बताइएको छ ।