काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पारेका हुन् ।
उनले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ त्यसरी नै रहने बताए । निर्वाचन कार्यालयहरुलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक कामहरु गर्न सरकार तयार रहेको उनले बताए । उनले सरकार निर्वाचन आयोगको स्वतन्त्रताप्रति कुनै किसिमको सम्झौता नगर्ने बताए ।
‘जिल्ला निर्वाचन कार्यालयहरु अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्, अझ त्योभन्दा कसरी त्यसलाई इम्पावर गर्ने, अझ थप सुझाव निर्वाचन आयोगको छ भने अझ त्यसलाई सबल बनाउन, अझ त्यहाँ के प्रवन्ध गर्नुपर्छ, यसको स्वतन्त्र अस्तित्व, काम कारबाहीमा अझ कुनैपनि व्यवधान, अप्ठ्यारा छन् भने त्यसलाई पनि सघाउ पुग्नेगरी के सरकारले गर्नुपर्यो त्यो गर्न सरकार तयार छ, त्यसकारण यो कुनै खारेजी हुँदैन, जिल्ला निर्वाचन कार्यालयहरु जसरी निर्वाचन आयोगले राख्न चाहान्छ, त्यसरी नै रहनेछन्, मेरो पार्टी र यो सरकार निर्वाचन आयोगको स्वतन्त्रतालाई अन्तिम समयसम्म हामी काहीँ कतैपनि कम्परमाइज् हुन दिँदैनौ । त्यो हाम्रो प्रतिवद्धता हो । हाम्रो विश्वास हो,’ उनले भने ।
उनले निर्वाचन आयोगको आफ्नो स्वतन्त्र अस्तित्व रहने उल्लेख गरे ।