विकासन्युज

नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

काठमाडौं । लगानी बोर्डले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो । समझदारी पत्रमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीकातर्फबाट म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । २४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने समझदारी भएको बोर्डका सहसचिव अमृत लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालमा रासायनिक मल कारखाना खोल्न ७१४ मिलियन अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ । जर्मन कम्पनीको अध्ययन गर्न २०७८ चैतमा प्रस्ताव गरेको थियो । जर्मन कम्पनीले प्राकृतिक ग्याँस, विद्युत अथवा मिश्रित हाइब्रिड मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन गर्ने प्रंस्ताव गरेको छ ।

लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक,७ प्रतिशत भारतीय

बुटवल । लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए । एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका छन् । केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशष्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ । टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउं र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका प्रालिले जनाएको छ । २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाईमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शितल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ । टप स्टेशनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पांचतारे होटेल बन्ने प्रकृयामा रहेको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयां पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताए । लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपुर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउंछन् । केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैया र भारतीयका लागि ७५० भारु रहेको छ । केबलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाको दीर्घकालीनरुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउं गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द हुने भएको छ । मर्जर प्रकृयामा रहेका यी दुई इन्स्योरेन्सको सेवा असार २९ गते शुक्रबारदेखि असार ३१ गतेसम्म बन्द हुने भएको हो । यी दुई कम्पनीले शुक्रबारदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गर्दै छन् । सो प्रयोजनको लागि दुबै कम्पनीको सम्पूर्ण हरहिसाव र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्नको लागि कम्पनीको सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा तीन दिन सेवा बन्द हुन लागेको हो ।

प्राधिकरणको एकै निर्णयले एक दर्जन पाइलटको व्यवसाय र करिअर धरापमा

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले बुधबार लगानीकर्ताकोरुपमा हेलिकप्टर कम्पनीमा संलग्न रहेर हेलिकप्टर उडाउँदै आएका चालकलाई व्यवसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार चालकसहित ६ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि प्राधिकरणले साहु पाइलटलाई हेलिकप्टर उडाउन नदिने निर्णय लिएको हो । क्यानको निर्णयको प्रत्यक्ष प्रभाव कम्तिमा आठ वटा हेलिकप्टर कम्पनीलाई परेको छ । नागरिक उडड्यन प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार १२ मध्ये ८ वटा कम्पनीमा हेलिकप्टर चालक नै लगानीकर्ता छन् । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल मालिक नै पाइटल हुँदा व्यवसायिक रुचीका कारण प्रतिकुल अवस्थामा समेत उडानको जोखिम उठाउने भएकाले दुर्घटना बढेको दावी गर्छन् । प्राधिकरणले लिएको एउटै निर्णयबाट ११ जना हेलिकप्टर चालक र व्यवसाय धरापमा परेको छ । कुन कम्पनीमा कसको शेयर ? सञ्चालनमा रहेका हेलिकप्टर कम्पनीमध्ये अल्टिच्युट एयर, एयर डाइनेस्टी, समिट हेलिकप्टर, मनाङ एयर, सिम्रिक एयर, माउण्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर र कैलाश हेलिप्टरमा चालक नै शेयर होल्डर छन् । अल्टिच्युट एयरमा क्याप्टेन विवेक खड्काको लगानी छ । एयर डाइनेस्टी क्याप्टेन अनिल रावलको लगानी रहेको कम्पनी हो । समिट हेलिकप्टर्समा क्याप्टेन के पुनको लगानी छ । प्राधिकरण स्रोतकाअनुसार, मनाङ एयरमा क्याप्टेन पीके सेढाई लगानीकर्ता हुन् । सिम्रिक एयरमा भने तीन जना हेलिकप्टर चालकको लगानी छ । क्याप्टने एसजे गुरूङ, क्याप्टने एस.पौडेल, र क्याप्टेन एचआर थापाले लगानी गरेर सिम्रिक एयर स्थापना गरेका हुन् । माउण्टेन हेलिकप्टरमा क्याप्टेन एस बस्नेतको लगानी छ भने प्रभु हेलिकप्टरमा क्याप्टेन आर डङ्गोल र एचबी दाहाल लगानीकर्ताको रूपमा छन् । कैलाश हेलिप्टरको अध्यक्ष नै क्याप्टेन ए. सेढाई हुन् । सञ्चालकको असन्तुष्टि तर, वायुसेवा सञ्चालकले भने प्राधिकरणको निर्णयको विरोध गरेका छन् । प्राधिकरणले मनोमानीरुपमा निर्णय गरेर व्यवसायलाई नै धरासायी बनाउन खोजेको आरोप सञ्चालकहरुको छ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल संसारमा कुनै देशमा नभएको नियम प्राधिकरणले लगाएको भन्दै विरोध गरे । ‘प्राधिकरणले एकदमै गलत निर्णय गरेको छ । उद्योग नै बन्द गर्नु भन्न खोजेको देखिन्छ । प्राधिकरणको धेरै कमजोरी छ, तर त्यसको अपजस हामीलाई लगाउन खोजिएको छ’, कँडेलले भने । प्राधिकरणले शेयर होल्डर चालकलाई हेलिकप्टर उडान नदिए उनीहरुले आफन्तको नाममा शेयर सार्न सक्ने कँडेलको तर्क छ । प्राधिकरणले लिएको विकल्पले समस्याको समाधान नहुने उनी बताउँछन् ।

एनबीएको बैठकमा ब्याजदरको लफडा, बल्लतल्ल मिलाए सीईओ न्यौपाने र शाहको झगडा

काठमाडाै‌ं । नेपाल बैंकर्स संघ (एनबीए)को बिहीबारको बैठकमा दुई बैंकरको ठूलै चर्काचर्की परेको छ । बैंकको ब्याजदर खुल्ला गर्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने र लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहबीच चर्काचर्की परेको बैठकमा सहभागी एक सिईओले जानकारी दिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठनको बैठकमा ब्याजदर खुल्ला गर्नेबारे छलफल हुँदै गर्दा न्यौपाने र शाहको कचिङ्गल परेको थियो । बैंकरहरुले बैंकको ब्याजदरमा कार्टेलिङ गरेको भन्दै सार्वजनिक आलोचना भइरहेको थियो । केही दिनअघि सोही विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक मञ्चबाटै आलोचना गरेपछि बैंकरहरुलाई ब्याजदर निर्धारणको नीति पुनर्विचार गर्न दबाब परेको थियो । यसअघि बैंकर संघले ब्याजदर निर्धारण गर्ने र सोहीअनुसार बैंकले कार्यान्वयन गर्ने नीति थियो । बिहीबार एनबीएको बैठकमा अबदेखि बैंक आफैले स्वतन्त्ररुपमा ब्याजदर निर्धारण गर्न पाउने बारेमा छलफल चलिरहेको थियो । तर, बैठकमा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने भने ब्याजदर खुल्ला गर्न नहुने पक्षमा प्रस्तुत भए । बैंकहरुबीच सहमति बनाएरै ब्याजदर तोक्नुपर्ने पक्षमा उनी प्रस्तुत भएपनि धेरैजसो बैंकरले उनको कुरालाई महत्व दिएनन् । आफ्नो कुरालाई अरू बैंकका सिईओले महत्व नदिएपछि ब्याजदर खुल्ला गर्ने भए आफूले निक्षेपको ब्याजदर बढाइदिने चेतावनी न्यौपानेले बैठकमा दिएका थिए । पहिलो पटक न्यौपानेले यस्तो चेतावनी दिँदा अन्य बैंकरले खासै प्रतिक्रिया दिएनन् । तर, उनले पटक पटक निक्षेपमा ब्याजदर बढाउने भन्दै धम्की दिन थालेपछि लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहले प्रतिवाद गरेको बैठकमा सहभागी अर्का एक सीईओले जानकारी दिए । ‘बहुमत बैंकका सीईओहरूले ब्याजदर खुला छाड्नु पर्छ भन्ने प्रस्तावमा सहमत जनाएका थिए । कतिपयले पहिल्यैदेखि ब्याजदर निर्धारण खुल्ला हुनुपर्ने माग पनि गरेका थिए । छलफलकै क्रममा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले ब्याजदरमा समझदारी नगरे निक्षेपको ब्याजदर ह्वात्तै बढाउने चेतावनी पटक–पटक दोहोर्‍याउनुभयो’, ती सीईओले बैठकको अवस्था जानकारी गराउने भने, ‘उहाँ (न्यौपाने)ले निक्षेपको ब्याजदर बढाउने भनेपछि अरू बैंकरलाई पनि दबाब परेको थियो । बैठकमा उनको कुरा काट्न नसक्ने अवस्था बन्दै गएपछि लक्ष्मी बैंकका सीईओले प्रतिवाद गर्नुभयो ।’ शाहले न्यौपानेलाई रोक्दै भनेका थिए, ‘बैंकरको फोरममा तपाईंले धम्की दिन मिल्दैन । ब्याजदर खुल्ला गर्ने निर्णय भएपछि तपाईंलाई जे मन लाग्छ त्यहीँ गर्नुहोस् ।’ शाहको प्रतिवाद पछि बैंठकको वातावरण झन तनावग्रस्त बन्दै गएको थियो । शाह र न्यौपाने चर्को स्वरमा  भनाभनमा उत्रिए । उनीहरुको विवाद झनै बढ्ने देखिएपछि बैठकमा सहभागी धेरैजसो बैंकरले शाहलाई साथ दिएको एक सीईओले जानकारी दिए । अरू बैंकर पनि शाहकै पक्षमा बोल्न थालेपछि न्यौपाने चुप लागेको ती सीईओले जानकारी दिए । ब्याजदर खुला छोड्दा भविष्यमा असर पर्न सक्ने न्यौपानेको तर्क रहेको ती बैंकरले जानकारी दिए । तर, धेरैजसो बैकर ब्याजदर निर्धारण खुल्ला गर्ने पक्षमा सहमत भएपछि साउनबाट लागू हुने गरी बैंकहरुले आफु खुसी ब्याजदर निर्धारण गर्ने निर्णय भएको ती बैंकरले जानकारी दिए । ब्याजदर निर्धारण खुल्ला गर्दा बजारले मागेअनुसारका ब्याज घट्ने नभई झन बढ्नै जाने अवस्था रहेको ती बैकरको भनाई छ । ‘भोलिका दिनमा अस्वस्थ प्रतिस्पर्धाले ब्याजदर झनै बढ्न सक्छ । त्यस्तो अवस्थामा कसैले जिम्मेवारी नलिने अवस्था आउन सक्छ । ब्याजदर खुला छोड्दा घट्ने होइन बढ्ने सम्भावना छ’, ती बैंकरले भने ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७ औं बर्षमा प्रवेश, ब्राण्ड एम्बासडरमा कलाकार जितु नेपाल नियुक्त

काठमाडौं । सटी एक्सप्रेस मनी ट्रान्सफर १६ बसन्त पार गरेर १७ औं बर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा बिहान आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।  

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो

काठमाडौं । कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते  १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको  हो । उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदुताबासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर  कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताए । उनले भने, ’यी कागजातहरु सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शङ्कास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्यौल हुनेछ ।’ त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो । उनीहरुको विषयमा पनि निर्णय भइसकेको छैन । रासस

संसदको दुवै सदनबाट पारित भयो बजेट

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुनुअघि अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । संसदको प्रमुख प्रतिपक्ष र सत्तापक्षकै कपितय सांसदले समेत बजेट परिमार्जनको माग गरेका थिए । अन्ततः सरकारले ल्याएको बजेट जस्ताको तस्तै दुवै सदनबाट पारित भएको हो । बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । प्रतिनिधिसभाबाट असार १३ गते आगामी आवको बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।