
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले बुधबार लगानीकर्ताकोरुपमा हेलिकप्टर कम्पनीमा संलग्न रहेर हेलिकप्टर उडाउँदै आएका चालकलाई व्यवसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार चालकसहित ६ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि प्राधिकरणले साहु पाइलटलाई हेलिकप्टर उडाउन नदिने निर्णय लिएको हो ।
क्यानको निर्णयको प्रत्यक्ष प्रभाव कम्तिमा आठ वटा हेलिकप्टर कम्पनीलाई परेको छ । नागरिक उडड्यन प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार १२ मध्ये ८ वटा कम्पनीमा हेलिकप्टर चालक नै लगानीकर्ता छन् ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल मालिक नै पाइटल हुँदा व्यवसायिक रुचीका कारण प्रतिकुल अवस्थामा समेत उडानको जोखिम उठाउने भएकाले दुर्घटना बढेको दावी गर्छन् ।
प्राधिकरणले लिएको एउटै निर्णयबाट ११ जना हेलिकप्टर चालक र व्यवसाय धरापमा परेको छ ।
कुन कम्पनीमा कसको शेयर ?
सञ्चालनमा रहेका हेलिकप्टर कम्पनीमध्ये अल्टिच्युट एयर, एयर डाइनेस्टी, समिट हेलिकप्टर, मनाङ एयर, सिम्रिक एयर, माउण्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर र कैलाश हेलिप्टरमा चालक नै शेयर होल्डर छन् ।
अल्टिच्युट एयरमा क्याप्टेन विवेक खड्काको लगानी छ । एयर डाइनेस्टी क्याप्टेन अनिल रावलको लगानी रहेको कम्पनी हो । समिट हेलिकप्टर्समा क्याप्टेन के पुनको लगानी छ ।
प्राधिकरण स्रोतकाअनुसार, मनाङ एयरमा क्याप्टेन पीके सेढाई लगानीकर्ता हुन् । सिम्रिक एयरमा भने तीन जना हेलिकप्टर चालकको लगानी छ । क्याप्टने एसजे गुरूङ, क्याप्टने एस.पौडेल, र क्याप्टेन एचआर थापाले लगानी गरेर सिम्रिक एयर स्थापना गरेका हुन् ।
माउण्टेन हेलिकप्टरमा क्याप्टेन एस बस्नेतको लगानी छ भने प्रभु हेलिकप्टरमा क्याप्टेन आर डङ्गोल र एचबी दाहाल लगानीकर्ताको रूपमा छन् । कैलाश हेलिप्टरको अध्यक्ष नै क्याप्टेन ए. सेढाई हुन् ।

सञ्चालकको असन्तुष्टि
तर, वायुसेवा सञ्चालकले भने प्राधिकरणको निर्णयको विरोध गरेका छन् ।
प्राधिकरणले मनोमानीरुपमा निर्णय गरेर व्यवसायलाई नै धरासायी बनाउन खोजेको आरोप सञ्चालकहरुको छ ।
नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल संसारमा कुनै देशमा नभएको नियम प्राधिकरणले लगाएको भन्दै विरोध गरे ।
‘प्राधिकरणले एकदमै गलत निर्णय गरेको छ । उद्योग नै बन्द गर्नु भन्न खोजेको देखिन्छ । प्राधिकरणको धेरै कमजोरी छ, तर त्यसको अपजस हामीलाई लगाउन खोजिएको छ’, कँडेलले भने ।
प्राधिकरणले शेयर होल्डर चालकलाई हेलिकप्टर उडान नदिए उनीहरुले आफन्तको नाममा शेयर सार्न सक्ने कँडेलको तर्क छ ।
प्राधिकरणले लिएको विकल्पले समस्याको समाधान नहुने उनी बताउँछन् ।