नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले १ सय प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको असार २० गते बसेको बैठकले साउन ५ गते काठमाडौंमा बिहान १० बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । साथै, संस्थामा रणनीतिक संस्थापक (विदेशी तथा स्वदेशी) लगानीकर्ता भित्र्याउने छ । विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार २७ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।
प्रभु महालक्ष्मी लाइफको आजदेखि एकीकृत कारोबार सुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट आज असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै कम्पनी सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् प्रभुको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् महालक्ष्मी लाइफको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै इन्स्योरेन्स कम्पनीलाई मर्ज भई एकीकृत कारोबार गर्नका लागि नयामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने छन् । हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब १९ करोड (बोनसपछि)रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । प्रभु लाइफको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ । प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
ऋण नलिइ मुलुक समृद्ध हुँदैन : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिने प्रचलन संसारभर रहेकाले ऋण किन लिने भन्नेमा सरकार प्रष्ट रहेको बताए । ‘सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ,’ उनले भने, ‘ऋण लिने प्रचलन संसारभरि नै छ तर, त्यो ऋण किन लिने, त्यसमा हामी सुस्पष्ट हुनुपर्छ, ऋण लिएर लागनी गर्ने, लगानीबाट प्रतिफल ज्यादा लिने, त्यसले अर्थतन्त्रलाई फराकिलो बनाउँछ ।’ कुनै पनि ऋण नलिइकन मुलुक समृद्ध बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले आफ्नो पूँजीले मात्रै देशको पूँजी विस्तार गर्न नसकिने बताए । ‘देशको पूँजी लगानीले समग्रमा अर्थतन्त्रलाई माथि उकास्न सकिँदैन तर, ऋण लिँदा अत्यन्त सचेत हुनुपर्छ, कस्तो ठाउँमा ऋण लिने, प्रतिफल र परिणाम आउने, बढीभन्दा बढी जनतालाई सहयोग पुग्ने हो कि होइन, सामाजिक आर्थिक प्रतिफल कति आउँछ, त्यसको यथार्थ मूल्याङ्कनका आधारमा ऋण लिनुपर्छ,’ उनले भने । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देव, देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठले ऋणको सदुपयोग गर्ने तथा ऋण नलिएर आन्तरिक राजस्व वृद्धि गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
आजदेखि लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार, यस्तो बन्यो बैंक
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । दुई बैंकबीच मर्ज भई आज असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । लक्ष्मी बैंकको केन्द्रिय कार्यालयमा लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक बसेर एकीकृत कारोबार गर्ने बैंकका एक सञ्चालकले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ९ बजे लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक आह्वान गरिएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् । यस्तै, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । यसअघि सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सञ्चालक बन्ने भनिएपनि उनको पद भने रिक्त राखिएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । लक्ष्मी बैंकका अध्यक्ष नेपाल र सनराइज बैंकका अध्यक्ष दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २८४ वटा पुग्ने छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् । हाल लक्ष्मीमा १ हजार ४२ जना र सनराइजमा १ हजार ५१७ जना कार्यरत छन् ।
आज सार्वजनिक बिदा
काठमाडौं । भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज असार २९ गते भानु जयन्तीका अवसरमा बिदा दिएको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
नेशनल हाइड्रोको हकप्रद सेयर बिक्री खुला, १० कित्ता हुनेले ५ कित्ता आवेदन दिन पाउने
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले आज असार २९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँको १०ः५ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार १ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ३२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताले आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कुथेली हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २६ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख २१ हजार ८६८ कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखि बाँकी १ लाख १ जार १५१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैंको मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सविधा दिनका लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलपानीमा नयाँ शाखा खोलेपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९६ पुगेको छ । जसमा पाँच एक्स्टेन्सन् काउन्टरसमेत छन् ।