एनबीएको बैठकमा ब्याजदरको लफडा, बल्लतल्ल मिलाए सीईओ न्यौपाने र शाहको झगडा

<p>काठमाडाै‌ं । नेपाल बैंकर्स संघ (एनबीए)को बिहीबारको बैठकमा दुई बैंकरको ठूलै चर्काचर्की परेको छ । बैंकको ब्याजदर खुल्ला गर्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने र लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहबीच चर्काचर्की परेको बैठकमा सहभागी एक सिईओले जानकारी दिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठनको बैठकमा [&hellip;]</p>

काठमाडाै‌ं । नेपाल बैंकर्स संघ (एनबीए)को बिहीबारको बैठकमा दुई बैंकरको ठूलै चर्काचर्की परेको छ । बैंकको ब्याजदर खुल्ला गर्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने र लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहबीच चर्काचर्की परेको बैठकमा सहभागी एक सिईओले जानकारी दिए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठनको बैठकमा ब्याजदर खुल्ला गर्नेबारे छलफल हुँदै गर्दा न्यौपाने र शाहको कचिङ्गल परेको थियो ।

बैंकरहरुले बैंकको ब्याजदरमा कार्टेलिङ गरेको भन्दै सार्वजनिक आलोचना भइरहेको थियो । केही दिनअघि सोही विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक मञ्चबाटै आलोचना गरेपछि बैंकरहरुलाई ब्याजदर निर्धारणको नीति पुनर्विचार गर्न दबाब परेको थियो ।
यसअघि बैंकर संघले ब्याजदर निर्धारण गर्ने र सोहीअनुसार बैंकले कार्यान्वयन गर्ने नीति थियो । बिहीबार एनबीएको बैठकमा अबदेखि बैंक आफैले स्वतन्त्ररुपमा ब्याजदर निर्धारण गर्न पाउने बारेमा छलफल चलिरहेको थियो ।

तर, बैठकमा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने भने ब्याजदर खुल्ला गर्न नहुने पक्षमा प्रस्तुत भए । बैंकहरुबीच सहमति बनाएरै ब्याजदर तोक्नुपर्ने पक्षमा उनी प्रस्तुत भएपनि धेरैजसो बैंकरले उनको कुरालाई महत्व दिएनन् ।

आफ्नो कुरालाई अरू बैंकका सिईओले महत्व नदिएपछि ब्याजदर खुल्ला गर्ने भए आफूले निक्षेपको ब्याजदर बढाइदिने चेतावनी न्यौपानेले बैठकमा दिएका थिए ।

पहिलो पटक न्यौपानेले यस्तो चेतावनी दिँदा अन्य बैंकरले खासै प्रतिक्रिया दिएनन् । तर, उनले पटक पटक निक्षेपमा ब्याजदर बढाउने भन्दै धम्की दिन थालेपछि लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहले प्रतिवाद गरेको बैठकमा सहभागी अर्का एक सीईओले जानकारी दिए ।

‘बहुमत बैंकका सीईओहरूले ब्याजदर खुला छाड्नु पर्छ भन्ने प्रस्तावमा सहमत जनाएका थिए । कतिपयले पहिल्यैदेखि ब्याजदर निर्धारण खुल्ला हुनुपर्ने माग पनि गरेका थिए । छलफलकै क्रममा एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले ब्याजदरमा समझदारी नगरे निक्षेपको ब्याजदर ह्वात्तै बढाउने चेतावनी पटक–पटक दोहोर्‍याउनुभयो’, ती सीईओले बैठकको अवस्था जानकारी गराउने भने, ‘उहाँ (न्यौपाने)ले निक्षेपको ब्याजदर बढाउने भनेपछि अरू बैंकरलाई पनि दबाब परेको थियो । बैठकमा उनको कुरा काट्न नसक्ने अवस्था बन्दै गएपछि लक्ष्मी बैंकका सीईओले प्रतिवाद गर्नुभयो ।’

शाहले न्यौपानेलाई रोक्दै भनेका थिए, ‘बैंकरको फोरममा तपाईंले धम्की दिन मिल्दैन । ब्याजदर खुल्ला गर्ने निर्णय भएपछि तपाईंलाई जे मन लाग्छ त्यहीँ गर्नुहोस् ।’ शाहको प्रतिवाद पछि बैंठकको वातावरण झन तनावग्रस्त बन्दै गएको थियो । शाह र न्यौपाने चर्को स्वरमा  भनाभनमा उत्रिए ।

उनीहरुको विवाद झनै बढ्ने देखिएपछि बैठकमा सहभागी धेरैजसो बैंकरले शाहलाई साथ दिएको एक सीईओले जानकारी दिए । अरू बैंकर पनि शाहकै पक्षमा बोल्न थालेपछि न्यौपाने चुप लागेको ती सीईओले जानकारी दिए ।

ब्याजदर खुला छोड्दा भविष्यमा असर पर्न सक्ने न्यौपानेको तर्क रहेको ती बैंकरले जानकारी दिए । तर, धेरैजसो बैकर ब्याजदर निर्धारण खुल्ला गर्ने पक्षमा सहमत भएपछि साउनबाट लागू हुने गरी बैंकहरुले आफु खुसी ब्याजदर निर्धारण गर्ने निर्णय भएको ती बैंकरले जानकारी दिए ।

ब्याजदर निर्धारण खुल्ला गर्दा बजारले मागेअनुसारका ब्याज घट्ने नभई झन बढ्नै जाने अवस्था रहेको ती बैकरको भनाई छ । ‘भोलिका दिनमा अस्वस्थ प्रतिस्पर्धाले ब्याजदर झनै बढ्न सक्छ । त्यस्तो अवस्थामा कसैले जिम्मेवारी नलिने अवस्था आउन सक्छ । ब्याजदर खुला छोड्दा घट्ने होइन बढ्ने सम्भावना छ’, ती बैंकरले भने ।

Share News