बेमौसमी बन्दाखेतीबाट मनग्य आम्दानी गर्दै दलवीर पुन
म्याग्दी । जिल्लाको मंगला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दा खेती गरेको बताए । ‘बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो’, उनले भने, ‘वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ। साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु।’ पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रीन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताए। ‘बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ’, उनले भने, ‘बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ।’ तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरेका हुन् । उनको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताए । पुन २०५७ देखि २०६८ सालसम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रूपमा सहभागी भएका थिए । नेकपा (माओवादी केन्द्र)को वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेका थिए । सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेका थिए । बाख्रापालनबाट फार्म सुरु गरेका पुन तीन वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएका छन् । फार्ममा हालसम्म ५० लाख रुपैयाँ लगानी भएको पुनले बताए। ‘कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ’, उनले भने, ‘आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु ।’ दुई जना छोराछोरीलाई बेनीमा निजी विद्यालयमा पढाएका छन् । बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकताअनुसार स्थानीय मजदुरलाई ज्यालामा काम गराउँदै आएका छन् । मसलेदार फल टिम्मुर पनि खेती गरेका पुनले जडीबुटी खेती गर्ने योजना बनाएका छन् । सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ। सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताए । बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेका छन् । सामाजिक सञ्जालमार्फत तरकारीको बजारीकरण गरेको पुनले बताए । रासस
प्रतिस्पर्धा मात्र हैन ग्राहकको जीवनशैलीमा परिवर्तन ल्याउनु मुख्य लक्ष्य हो : सीईओ रिमाल
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (एनएमआईसी)लाई आजको अवस्थासम्म ल्याई पुर्याउन अथकरुपमा लागि पर्नुभएका यस कम्पनीका संस्थापकज्यूहरु, संचालक समितिका अध्यक्ष लगायत सदस्यज्यूहरु, तथा यस कम्पनीका मेरा सम्मानित सहकर्मीहरुप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुको दृष्टि तथा सर्मपणले हामीहरुलाई सफलताको उचाईमा पुर्याउने छ भन्ने मैले विश्वास लिएको छु । त्यस्तै यस कम्पनीलाई लाईसेन्स प्रदान गरी सेवा गर्ने अवसर जुटाई दिनुभएकोमा नेपाल बीमा प्राधिकरणप्रति हार्दिक आभार व्यक्त गर्दछु । आज, हामी यहाँ भेला हुँदा, अगाडि देखापरेको चुनौतीहरुसँग पक्कै पनि हामी अनभिज्ञ छैनौं । विशाल स्राेत साधनहरु तथा स्थापित प्रतिष्ठा बोकेर बसेका ठुला ठुला निर्जीवन बीमा कम्पनीहरुको उपस्थितिलाई हामीले पहिचान गर्नैपर्ने हुन्छ । तथापि, बलियो उद्देश्य तथा दृढ संकल्पहरुले यी चुनौतिहरुलाई हामी अवसरका रुपमा बदल्न सक्छौं भन्ने मेरो ठम्याई रहेको छ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा निर्जीवन बीमा कम्पनीको पोर्टफोलियो अनुसारको बीमा शुल्कहरुलाई अध्ययन गर्दा लघु बीमाको कारोबार नगण्य रुपमा देखापरेको छ । करीब ३६ अर्ब २० करोड रुपैयाँको कारोबारमा लघुबीमाको कारोबार जम्मा ६ करोड ५३ लाख रुपैयाँ मात्र भएको देखिन्छ । प्रतिशतको हिसाबले हेर्दा यो कुल बीमाशुल्कको ०.१८ प्रतिशत मात्र हो । यो तथ्यांकले सिमान्तकृत वर्गसम्म बीमाको पहुँच अझै पुग्न नसकेको स्पष्ट देखिन्छ । त्यसैले निर्जीवन लघुबीमा कम्पनीहरुको लागि बजारको सम्भावना एवं चुनौतीहरु देखिन्छन् । हाम्रो उद्देश्य प्रतिस्पर्धा गर्ने मात्र हैन उत्कृष्टता हासिल पनि गर्नु हो । हामीलाई थाहा छ बजार ठुला ठुला नामहरुले भरिएको छ, तर यस्तो परिदृश्यमा पनि नविनताले अवश्य पनि प्रश्रय पाउने छ । हाम्रो ध्यान नेपालमा सेवाको पहुँच नपुगेका जनसंख्याहरुलाई उचित समाधान दिनेतर्फ लक्षित हुने छ । हाम्रो ग्राहकहरुको चाहना तथा परिस्थितिको आंकलन गरेर हामी नीतिहरुको तर्जुमा गर्न सक्छौं जुन उनीहरुप्रति प्रतिध्वनित होस् । हामीमा अन्तरनिहित लाभ भनेको हाम्रो जुजारुपन हो । एक लघुबीमा कम्पनीको रुपमा बजारमा देखापर्ने परिवर्तन तथा उदियमान प्रवृतिहरुसँग हामी शीघ्रताका साथ सामना गर्न सक्छौं । हामी प्रकृयाहरुलाई सुव्यवस्थित बनाउन ग्राहकले सजिलैसँग प्रयोग गर्न सक्ने प्रविधिको अधिकतम प्रयोग, उनीहरुको अनुभवलाई उचित सम्मान तथा निर्वाध सेवाहरु प्रदान गर्न तमतयार भएर बस्नु पर्छ । तथ्याङ्कहरुको बिश्लेषणको माध्यमबाट जोखिम व्यवस्थापनमा बहुमूल्य अन्तर्दृष्टि प्राप्त गर्न सकिन्छ जसले गर्दा हामी उचित निर्णय लिन सक्षम हुनेछौं । सहकार्य हाम्रो रणनीतिको मूलमन्त्र हुनेछ । हाम्रो पहुँच तथा प्रभावलाई विस्तारित गर्न स्थानिय सरकार, बैंक तथा वित्तीय संस्था, सहकारी, सानाकिसान बैंक, गैर सरकारी संगठनहरु जस्ता निकायहरुसँग रणनैतिक साझेदारी गर्न विषेश ध्यान दिइने छ । यस सहकार्यले व्यक्ति तथा समुदायमा निर्जीवन बीमाको पहुँचलाई सुनिश्चित गर्न सघाउ पुग्ने छ । आन्तरिक जनशक्तिमा लगानी गरिनुका साथै, हाम्रो दृष्टि तथा मूल्यसँग साझेदारी गर्ने दक्ष व्यक्तिलाई प्रोत्साहित गरिने छ । निरन्तर सिक्ने एवं कारोबार वृद्धि गर्ने संकारलाई प्रोत्साहित गरेर ग्राहकहरुलाई सदैव सेवा गर्न तत्पर रहने जानकार जोसिलो समूहको निर्माणमा हामी लागि पर्नेछौं । अन्तमा, हामीले सामना गर्ने चुनौतिहरु अतुलनीय छैनन् भन्ने कुरालाई म जोड दिन चाहन्छु । दृढ संकल्प, नवीनता तथा सहकार्यको माध्यमबाट हामी नेपालको निर्जीवन लघु बीमाको क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल हुनेछौं । हाम्रो ग्राहकको जीवन शैलीमा परिवर्तन ल्याउनका साथै देशको आर्थिक वृद्धिमा समेत योगदान दिन सक्नेछौं । (नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (एनएमआईसी) का प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले उद्घाटन समारोहमा राखेका मन्तब्यको सम्पादित अंश) सम्बन्धित समाचार : निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार [फोटोफिचर]
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरिएको हो । पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।
अब मजदुरी गर्न भारत जाँदैनन् बझाङका किसान, आलु बेचेर जीविकोपार्जन
बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारी खेती रोजेका हुन् । बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ । ‘दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ’, बोहराले भने । उनी यस वर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन् । वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो । उसबाटै उनको परिवारको खर्च चल्थ्यो । बोहराले भने, ‘एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन ।’ कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताए। ‘हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।’ बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म २७ हजारको आलु बिक्री गरिसकेको उले सुनाए । किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए । रमादेवीले भनिन्, ‘अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिन ।’ राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ मनमती बोहरा ७१ वर्षकी भईन् । उनलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । ‘एकपटक श्रीमान्ले बाली फेर्नुप¥यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।’ त्यसपछि कहिल्यै आलु नलगाएको उनले बताइन् । यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताइन्। ‘हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।’ उनले भनिन्। धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन् । ‘पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो’, उनले भने, ‘फेरि आलु निकालेर सुकाइरहेका छौँ । अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ ।’ धवलसिंहको परिवारमा अहिले पाँच जना छन् । पाँचै जना आलुकै पछाडि लागिरहेका छन् । दुई वर्ष अगाडिदेखि नै नेपाल आएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ । ‘वर्षभरि काम गर्दा रु एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ । समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो ।’ उनले भने । यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए। ‘कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ’, विष्टले भने, ‘काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं ।’ आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उनले बताए । ‘कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।’ उनले भने । जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उनले बताए । उनले भने, ‘हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ । ड्राइगन खेती भरखर सुरू गरेका छौँ । नतिजा सफलोन्मुखतिरै देखिएको छ ।’ नेपालमा मजदुरी गर्न पनि पाइन्न आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्थे । तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि नपाएपछि उनी पिथौरागढ हानिए । ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो । विस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा गए । काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उनले बताए । उनले भने, ‘हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे । काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु’ काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उनले बताए । ‘पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ’, उनले भने, ‘पिथौरामा सानो ठूलो काम गरेपछि उसैबेला पैसा पाइन्छ । पैसाको खाँचो पनि हुँदैन । काम भने शक्तिअनुसारकै हुन्छ ।’ भारतकै पैसाले फेरिएको आनन्दपुर आनन्दपुरमा ३५ परिवार छन् । ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन् । सानो तिनो काम गर्न सक्ने सबै पुरूष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जाने गर्छन् । पिथौरागढमा उनीहरू भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायतका काम गर्नुहुन्छ । धनसिंह बोहराले भने, ‘पिथौरागढमा जति काम ग¥यो, त्योअनुसारको पैसा आउँछ । तीन चार महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ । यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन ।’ काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उनले बताए । पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ । ‘पहिले सबैका घरहरू स–साना खरले छाएका थिए । अहिले भने गाउँको रूप नै फेरिएको छ । धेरैले पक्की घर बनाइसकेका छन् । कतिपयका निर्माणाधीन अवस्थामा छन् । घरहरू छरिएका नभएको भए टाढाबाट विछट्टै सुन्दर देखिन्थ्यो होला ।’ अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उनले बताए। पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो । आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उनले बताए । रासस
६ करोड लगानीमा खुल्यो लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट, ५५ जनालाई रोजगारी
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बिहीवारदेखि नेपालीहरुलाई भियतनामी परिकार चखाउने उद्देश्यसहित भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको हो । रेष्टुरेण्टका सञ्चालक नविन सारुले नेपालमा विगत १२ वर्षदेखि भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै आएको बताए । उनले नेपालमा पनि भियतनामी खाना खाने मानिसहरु बिस्तारै वृद्धि हुँदै गएको बताए । उनले काठमाडौं उपत्यकाको तीन स्थानमा भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै ५५ जनालाई रोजगारी दिइरहेको बताए । सञ्चालक सारुले नेपाली र विदेशी पाहुनालाई एउटै सत्कार दिने उद्देश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए । उनले शुरुमा रेष्टुरेण्ट खोल्दा ११ लाख लगानीमा शुरु गरिएको रेष्टुरेण्टमा करिब ६ करोड लगानी लागेको बताए । उनले काठमाडौं उपत्यकाको तीन ठाउँ ललितपुरको झम्सिखेल,बौद्ध र लाजिम्पाटमा सञ्चालन रहेको बताए । उनले रेष्टुरेण्टमा करिव १०० जना भन्दा बढीलाई एकै पटक सेवा दिन सकिने बताए ।
निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार [फोटोफिचर]
काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो व्यवसायिक कारोबार औपचारिक रुपमा शुरु गरेको हो । उक्त कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । यससँगै इन्स्योरेन्सले बिहीबारबाट देशभर निर्जीवन लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्न पाउने छ । कम्पनीले केन्द्रिय कार्यालय भने चितवनको भरतपुर(१ मा छ । कारोबार सञ्चालन गरेपश्चात नेपाल माइक्रो इन्स्योरेन्स निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी हुनेछ । तर, लघु बीमाकाे क्षेत्रमा भने नेपाल माइक्रो इन्स्योरेन्स दोस्राे कम्पनी हाे । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीले घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ्गको अधिकतम ५०/५० लाख रुपैयाँसम्मको लघुबीमा गर्न पाउने छ । हाल कम्पनीले सम्पत्ति बीमा पोलिसी बिक्रीका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् । त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल राज गिरी र महाप्रबन्धकको जिम्मेवारीमा प्रबिना नेपाल छन् । त्यसैगरी, कम्पनीको विभागीय प्रमुखमा तीन जना छन् । जसमध्ये प्रशासन विभाग प्रमुखमा अमृत लामिछाने, सूचना प्रविधि विभागको प्रमुखमा सुशान थापा र मार्केटिङ हेडमा अमृत अधिकारी छन् । आइटी प्रमुख थापा कम्पनीको सूचना अधिकारी समेत हुन् । बिहीबारदेखि कारोबार सुरु गर्दै नेपाल माइक्रो इन्स्योरेन्स, सीईओ भन्छन् : ठूला कम्पनीले गर्न नसकेको बिजनेस गर्छौं
नेकोन एयरलाई ऋण चुक्ता गर्न ५ बैंकको ताकेता
काठमाडौं । नेकोन एयर लिमिटेडका सञ्चालक दिपमणी राजभण्डारी र रबिन्द्र श्रेष्ठलाई विभिन्न बैंकबाट लिएको ऋण चुक्ता गर्न ताकेता गरिएको छ । ऋण असुली न्यायाधिकरणले बैंकबाट लिएको कर्जा ७ दिनभित्र चुक्ता गर्न नेकोन एयरका सञ्चालकहरुलाई ताकेता गरेको हो । नेकोन एयरका सञ्चालक रहेका दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठले बैंकहरुबाट लिएको कर्जाको साँवा र ब्याजसहित ७ दिनभित्र चुक्ता गर्न भनेको हो । नेकोन एयरको नामबाट राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकबाट कर्जा लिएका थिए । तर, लामो समयसम्म पनि कर्जा असुल नगरेपछि चुक्ता गर्न ऋण असुली न्यायाधिकरणले ताकेता गरेको हो । नेकोन एयरका सञ्चालक दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठले साविक नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक (हाल एनआईसि एसिया बैंक)बाट ७७ लाख ३७ हजार ५३७ रुपैयाँ कर्जा लिएका थिए । सो ऋणको १३.५ प्रतिशत ब्याजसहित साँवा रकम चुक्ता गर्नु पर्नेछ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट ९६ लाख ६३ हजार २९३ रुपैयाँ ऋण लिएका थिए । जसको १४ प्रतिशतब्याजसहित साँवा तिर्न ऋण असुली न्यायाधिकरणले ताकेता गरेको हो । यस्तै, नेपाल एसबिआई बैंकको ४ करोड ५८ लाख ७० हजार ४२५ रुपैयाँ कर्जा छ । सो कर्जाको १४ प्रतिशत ब्याजसहित साँवा रकम तिर्नु पर्नेछ । यस्तै, नबिल बैंकको १३ करोड २९ लाख ८ हजार रुपैयाँ कर्जा चुक्ता गर्नु पर्नेछ । यस्तै, साविक नेपाल क्रेडिट एण्ड कमर्श बैंक (कुमारी बैंक) को १ करोड ४४ लाख ७० हजार ९६९ रुपैयाँ चुक्ता गर्न भनेको हो । जसको ब्याज १५.१७ प्रतिशत रहेको छ ।
‘सुर्तीजन्य पदार्थबाट उठने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ ’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सुर्तीजन्य पदार्थमा लाग्ने कर स्वरुपको झण्डै छ अर्ब स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग गरेका हुन् । अहिले मन्त्रालयले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने चार अर्ब मात्र प्राप्त गरेको उनको भनाइ छ । उनले करबाट प्राप्त रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप्न सकिने बताए । उनले भने, ‘मन्त्रालयसँग एक चौथाइ दरबन्दी पनि छैन, म २२ वर्षअघि यस मन्त्रालयमा आउँदा ३३ हजार कर्मचारीको सङ्ख्या अहिले ३१ हजारमा सीमित छ ।’ उनले स्वास्थ्य सेवाको विस्तार गर्न स्वास्थ्यका भौतिक पूर्वाधारसँगै स्वास्थ्यको जनशक्तिको आवश्यकता उत्तिकै भएको जनाउँदै दरबन्दी थप्न आवश्यक भएको औँल्याए। ‘वडास्तरसम्म स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने व्यवस्था हुँदै गर्दा स्वास्थ्य उपकरणसँगै स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि पनि रु छ अर्ब रकम यस मन्त्रालयले प्राप्त गर्नुपर्दछ’, उनले भने । मन्त्री बस्नेतले जथाभावी कर्मचारी नियुक्ति हुँदा अहिले समस्या देखिएको बताए । उनले भद्रगोल कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा दिएको सात बुँदे निर्देशन कडाइका साथ लागू गर्नेप्रतिबद्धता व्यक्त गरे । ‘सबै चिकित्सकलाई राजधानी चाहिएको छ’, उनले भने, ‘कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशनलाई कडाइका साथ कदम चालेन भने मन्त्रालय सुधार्नसक्ने अवस्था छैन ।’ उनले बेथिति हटाउनका लागि जोखिमका साथ कदम उठाएको जनाउँदै सदनको समेत सहयोगका लागि अपिल गरे । उनले भने, ‘९५ करोड एकमुष्ठ ल्याएर फाजिलका कर्मचारीलाई तलब दिइयो, अर्को वर्ष यही अवस्था छाड्ने हो भने डेढ अर्ब रकम आवश्यक हुन्छ, राज्यले धान्न सक्ने अवस्था छैन ।’ बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले ‘भिभिआइपी’को उपचारसमेत देशभित्रै गर्ने व्यवस्थाका लागि विशेषज्ञ चिकित्सकको समूह बनाउने तयारीबारे जानकारी दिए । उनले भने, ‘सातै प्रदेशस्तर र सङ्घीयस्तरमा सबै विधाका विशेषज्ञ चिकित्सकको टोली बनाउने र भिभिआइपी कसैलाई पनि उपचार गर्नुपर्ने स्थितिमा सबैभन्दा पहिलो त्यो मेडिकल टोलीले उपचार गर्ने निर्णय गरेका छौँ, त्यो टोलीको सुझावका आधारमा मात्र देशबाहिर उपचार गर्न सिफारिस गरिनेछ ।’ यस्तै उनले चिकित्सा शिक्षा विधेयकका कारण नर्सिङ्, प्यारामेडिक्स र चिकित्सकको उत्पादन कमजोर बन्दै गएको जनाउँदै नयाँ नीति निर्माण गर्नेबारे आवश्यकता औँल्याए । सदनमा उनले सङ्घीयस्तरका अस्पतालमा १० प्रतिशत निःशुल्क शय्याको लागू गरेको विषयमा समेत जानकारी गराएका थिए ।