विकासन्युज

मर्जरले वित्तीय संस्थाका कर्मचारीबीच विवाद बढ्दै, नियामक र सञ्चालकको बेवास्ता

काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु चालू आर्थिक वर्षको क्लोजिङमा व्यस्त छन् । आर्थिक वर्ष अन्त्यसँगै बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु वित्तीय हिसाबको चटारोमा लागेका हुन् । तर, आर्थिक वर्ष अन्त्यसँगै कर्मचारीहरुमा विवाद उत्पन्न हुन थालेको छ । पछिल्लो समय वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिशनमा गएका छन् । चालू आर्थिक वर्षमा दर्जनौं बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु मर्जरमा गएका छन् । मर्जरमा गएका संस्थाहरुमा विकृति पनि भित्रिएको जानकारहरु बताउँछन् । मर्जरमा गएका संस्थाहरु बाह्य रुपमा स्वस्थ देखिएपनि आन्तरिक रुपमा भने कर्मचारीबीच ठूलो खाडल खडा भएको बैंकमा कार्यरत कर्मचारीहरु नै बताउँछन् । सूर्याज्योती इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारी मर्जरमा जाँदा सञ्चालकहरुको मन मिलेपनि कर्मचारीहरुमा भने ठूलो विवाद उत्पन्न भएको बताउँछिन् । उनले व्यवस्थापक समूह र सञ्चालक समितिको दबावले काम गर्ने वातावरण नहुँदा जागिर छोड्ने सम्मको तनाव भएको बताइन्। ‘सञ्चालकहरुको मन मिल्यो तर, कर्मचारीहरुको मन मिल्न सकेन,’ उनले आफ्नो संस्थामा भइरहेको बेथितिबारे सुनउँदै भनिन्, ‘विभिन्न झण्झट हुँदा काम गर्न नसकेर जागिर छोड्ने स्थितीमा पुगेको छु ।’ नियामकले संस्थाहरुलाई मर्जरका लागि दबाव दिएर कर्मचारीलाई पीडा भएको उनको दुखेसो छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीका अनुसार मर्जरपछि संस्थामा ठूलो समस्या आएको छ । मर्जर हुनुअघि साविकको संस्थाले पुरानो हिसाब मिलान गर्न नसकेको उनको भनाइ छ । बैंकभित्र भएका समस्याका बारेमा गुनासो गर्दा राष्ट्र बैंकले साहुहरुको भाषा बोल्ने गरेको उनले गुनासो गरे । ‘सन् २०२० मा मर्ज भएको बैंकले सन् २०२३ सम्म पनि हिसाबहरु पास गरेका छैनन्, दुईवटा संस्था छुट्टाछट्टै हुँदा कर्मचारीको सुविधा पनि संस्थाको नियमअनुसार पाइरहेका थियौं तर, सेवा सुविधाका विषयमा राष्ट्र बैंकलाई श्रम ऐन लागू गर्न आग्रह गर्दा पनि तपाईंहरु बैंकको कर्मचारी हो, बैंक बचाउनुस् भनेर व्यवस्थापक र साहुजीहरुको भाषा बोल्ने गरेको छ,’ उनले भने । साथै, उनले बैंकका कर्मचारीले लिने घरकर्जामा आम्दानी कर लगाउने गरेको गुनासाे गरे । उनका अनुसार बैंकमा जागिर गर्ने कर्मचारीको घर बनाउने सोच हुन्छ । सोही अनुसार कर्मचारीहरुलाई घरकर्जाको सुविधा दिएको भएपनि कर्जामा आम्दानी कर लगाउँदा समस्या भएको उनको भनाइ छ । ‘अर्काे बैंकबाट लिएको भए १० प्रतिशत ब्याजमा कर्जा लिनु पर्थ्याे, आफ्नै बैंकमा ५ प्रतिशत छ,  ५ प्रतिशत आम्दानी हो भनेर कर लगाउने गरिएको छ, त्यो व्यवस्थालाई पनि समयमा सुधार गर्नु पर्याे,’ उनले भने । मर्जरमा गएका संस्थाहरुका कर्मचारीबीच एक अर्कामा अपनत्व वा स्वामित्व महसुस हुने गरी काम गर्न नपाएको उनले गुनासो गरे । ‘मर्जरमा जुन संस्थाले नेतृत्व गरेर आएको छ, त्यो संस्थाको कर्मचारीले गर्ने व्यवहार एकदमै खराब छ । साविक बैंकको नीति अनुसार काम गर्दा पनि विपरित काम गरिस् भनेर हेप्ने गरेका छन्,’ उनले भने । राष्ट्रिय बीमा संस्थानका अर्जुन पराजुली नेपाल बीमा प्राधिकरणले राष्ट्र बैंकको नीति कपि पेस्ट गर्दा समस्या भएकाे बताउँछन् । उनका अनुसार कम्पनी स्थापना गर्ने र केही वर्षपछि मर्जरमा जाने गलत परम्परा बसालेको उनको भनाइ छ । साथै, मर्जरपछि सफल कार्यान्वयन नहुने गरेको उनले बताए । ग्रामिण विकास लघुवित्तका कर्मचारी रामशंकर बस्नेत कोरोनाले थला पारेको लघुवित्त संस्थालाई पछिल्लो समय चौतर्फी हमला भएको बताउँछन् । उनका अनुसार लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने, अभद्र व्यवहार गर्ने, काम गर्न नदिने वातावरण बनेको छ । तर, नियामक यस विरुद्ध चुइक्क नबालेको उनले गुनासो गरे । ‘कुनै एउटा बैंकको शाखामा ताल्चा लगाउँदा सबै क्षेत्रको ध्यानाकर्षण हुन्छ । तर, हाम्रा साथीहरुले दैनिक रुपमा पिटाइ खानु भएको छ । लघुवित्तमा तालाबन्दी हुँदा पनि कसैको ध्यान जाँदैन । यदि यो अराजकता रोक्न नसक्ने हो भने लघुवित्त संस्था बन्द गराए हुन्छ । र, कर्मचारीको ग्यारेन्टी पनि गरियोस् । हामी स्थलगत रुपमा काम गर्ने अवस्था छैन । जसको कारण कर्जा उठ्न सकेको छैन, दिनप्रतिदिन भखा नाघेको अवस्था छ,’ बस्नेतले भने । बस्नेतले लघुवित्त संस्था र वाणिज्य बैंकलाई हेर्ने नजरमा परिवर्तन हुनु पर्ने बताए । एउटै प्रकृतिको काम गर्ने वाणिज्य बैंक र लघुवित्त संस्थामा ठूलो विभेद श्रृजना भएको उनको भनाइ छ । ‘लघुवित्त संस्था र वाणिज्य बैंकलाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउनु पर्छ । लघुवित्त संस्थाले पनि ३० प्रतिशत कर्पाेरेट ट्याक्स तिर्नुपर्छ । यदि हेर्ने दृष्टिकोण परिवर्तन हुँदैन भने वाणिज्य बैंक र लघुवित्तमा लगाउने कर पनि फरक हुनु पर्छ । हामी लघुवित्तकर्मी सदस्यहरुको घरघरमा जान्छौं । तर, वाणिज्य बैंकका ग्राहकहरु कार्यालयमा जानु पर्छ । त्यो असमानता पनि हटाउनु पर्छ,’ उनले भने । उनले लघुवित्तमा बचत गर्ने वातावरण श्रृजना गर्न आग्रह गरे । साथै, बैंकको सहायक लघुवित्तले मात्रै बैंकबाट कर्जा पाउने गरेको बस्नेतले बताए । सहायक कम्पनी खोलिएका कारण सहायक कम्पनी नभएका कारण बैंकबाट कर्जा पाउन सकिएको छैन । साथै अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । यसमा राष्ट्र बैंक पनि जिम्मेवार हुन जरुरी छ । मर्जरले मात्रै समस्या समाधान हुने देखिँदैन ।

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने, स्थानीय उत्पादनको निर्यात

वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए। ‘ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौँ’, महाप्रबन्धक झाले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उनले बताए ।   कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । ‘जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ’, नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भने, ‘कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् । यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।’   मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चल्ने साहले भने। रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।  नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको महाप्रबन्धक झाले बताएका छन् । तत्काल स्थायी कर्मचारीको संगठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी सुरु गरिएको महाप्रबन्धक झाले बताए । नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतीय कम्पनीलाई ठूलो मात्रा वार्षिक रकम खर्च गर्दै आएको छ । ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युँल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए, ‘जसका कारण हामीले वासिङमा मात्र धेरै रकम खर्चिँदै आएका छौँ ।  ‘भारतमा फ्युँल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौँ’, उनको भनाइ छ । ‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर, वर्कसप र फ्युँल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु १०–१२ करोडभन्दा बढी रकम बचत हुनसक्छ’, महाप्रबन्धक झाले भने, ‘त्यसका लागि हामीले योजना बनाएर अघि बढेको छौँ, नेपालमै वासिङ सेन्टर र फ्युँल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौँ ।’  नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ ।  ‘हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौँ, आएपछि उहाँहरूलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौँ’, उनले भने, ‘स्थायी कर्मचारीको संगठन संरचना र दरबन्दीको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नेपाल रेल्वे कम्पनीको फायल विगत दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ, जसका कारण काम अघि बढाउन समस्या भइरहेको छ  ।’ जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ ।  रेल चल्न थालेसँगै जनकपुरसहित मधेस प्रदेशको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बु साहको भनाइ छ । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन-हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् । भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । रासस

दासढुङ्गामा बस खस्दा १९ यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । बस  अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

रेडियो नेपालले माग्यो ३८ जना कर्मचारी , साउन २५ सम्म आवेदन खुला

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । रेडियो नेपालले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले ३८ जना कर्मचारी माग गरेको छ ।  रेडियो नेपालले आज सूचना जारी गर्दै विभिन्न पदमा ३८ जना कर्मचारी माग गरेको हो । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नागरिकले आवेदन दिन सक्ने रेडियो नेपालले जनाएको छ । रेडियो नेपालले उपनिर्देशक (इन्जिनियरिङ), मुख्य प्रशासकीय अधिकृत, वरिष्ठ प्रशासकीय अधिकृत, इन्जिनियर, वरिष्ठ कार्यक्रम अधिकृत, प्रकासकीय अधिकृत, लेखा अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक (नेपाली) संवाददाता, सहसमाचार वाचक (लिम्बू), सहसमाचार वाचक ९मगर०, सहायक लेखापाल र कार्यक्रम सहायक एक-एक जना कर्मचारी माग गरेको छ । त्यसैगरी, रेडियो नेपालले प्रधान सहायक प्रशासन र लेखापाल प्रशासनरआर्थिक प्रशासन, सहसमाचार वाचक (भोजपुरी) २-२ जना, वरिष्ठ प्राविधिक सहायक (इन्जिनियरिङरप्राविधिक) मा ७ जना र प्राविधिक सहायकमा ८ जना कर्मचारी माग गरेको छ । आवेदन फाराम अनलाइनमार्फत भर्न सकिनेछ । आवेदन साउन १८ सम्म दिन सकिनेछ । तर, दोब्बर दस्तुर तिरेर साउन २५ सम्म आवेदन दिन सकिने लोकसेवा आयोगले जनाएको छ ।

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

रामपुर । रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई एक लाख नगदसहित पुरस्कृत गरेको हो । दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले पुरुषतर्फको ६० किलोमुनीको तौल समुहमा स्वर्ण पदक जित्नेका थिए । नगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनका अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा नगरपालिकाका कर्मचारी तथा विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, लेखा प्रमुख सीता न्यौपाने, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा र अगुवा कृषक जनार्दन पन्त रहेका छन् ।

बाजेको कुटाइबाट नातीको मृत्यु

बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदैछ । बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवै जनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पहिराेले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा क्षति

म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिराले क्षति पु-याएको छ । बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिराले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताए । उनका अनुसार कतिपय उपकरण पहिराले दरमखोलाको बगरसम्म नै पुर्याएको छ । मुख्य पाइप लाइनमा समेत क्षति भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् । घरेलु उद्योग बन्द भएका स्थानीय भक्त सिङ्किजा पुनले जानकारी दिए । परियोजनाबाट उत्पादन भएको बिजुलीबाट वडा नं २ का लुलाङ, लमसुङ र खोरियाका करिब चार सय परिवार लाभान्वित भएका थिए । दुई वर्षअघि बाढीले परियोजनाको नहर, बाँध र विद्युत्गृह बगाएपछि गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युत्गृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । लाखौँ खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याएको परियोजनाको विद्युत्गृह एक वर्षमै पहिराले क्षति पुर्याएको छ । स्थानीयवासीले परियोजनाको मर्मत सुधारसँगै केन्द्रीय विद्युतीकरणको पहुँच विस्तारमा ध्यान दिन माग गरेका छन् । परियोजना पुनःनिर्माणका लागि दुई वर्षअघि गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख खर्च भएको थियो । विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ८५ लाख ९७ हजार, जनश्रमदान रु ३३ लाख, गाउँपालिकाको रु ५० लाख र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी परियोजना निर्माण गरिएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरेर पुनःनिर्माण गरिएको थियो । रासस

राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर खोज्दै

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर भाडामा लिने भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको स्थान रामशाह पथदेखि ५ सय मिटरसम्मको दूरी अर्थात् अनामनगर हनुमानस्थान, पुतलीसडक, थापाथली क्षेत्रमा घरभाडामा लिने जनाएको छ । इच्छुक घरधनी, संस्था तथा कम्पनीले १५ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ । कम्पनीका अनुसार २ हजार ५ सयदेखि ५ हजार वर्गफिट क्षेत्र खालि ठाउँ हुनु पर्नेछ । यस्तै, घरसम्म जाने २० फिटे मोटरबाटो, सवारीसाधन पार्किङ, पानी, ढल र बिजुलीको प्रयाप्त सुविधा पुगेको हुनु पर्नेछ । मासिक रुपमा भाडा रकम भुक्तानी गरिने र भाडा भुक्तानी गर्दा नियमानुसार अग्रिम करकट्टी गरी भुक्तानी गरिने कम्पनीले जनाएको छ ।