विकासन्युज

प्रधान सम्पादक पौडेललाई दुर्गा प्रसाईंको ज्यान मार्ने धम्की

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले विकासन्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । प्रसाईले शुक्रबार साँझ ६ः५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका हुन् । उनले विकासन्युज डटकमले आफ्नो विषयसँग सम्बन्धित समाचार लेखेको भन्दै सिध्याइदिने धम्की दिएका हुन् । ‘भाई तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाई’, प्रसाईको भनाइलाई उदृत गर्दै प्रधान सम्पादक पौडेलले भने । विकासन्युजले आफूलाई जीतबहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठसँग तुलना गरेर समाचार बनाएको भन्दै उनले यस्ताे धम्की दिएका हुन् । उनले आफू जितबहादुर र लक्ष्मीबहादुर जस्तो नभएको बताए। ‘म उनीहरु जस्तो मान्छे होइन, म चण्डिराज ढकाल जस्तो मान्छे पनि होइन’, उनले भने, ‘म देश बनाउन हिँडेको मान्छे हुँ, माडेहरुले यो देश खोक्रो पारिसके, म त्यसको विरुद्ध लडिरहेको मान्छे हुँ, मेरा पछाडि हजारौ मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’ प्रसाईंले बैंकबाट लिएको ऋण तिर्दिन भन्दै देशव्यापी अभियान गर्दै आएका छन् भने उनले सर्वसाधारणलाई पनि ऋण नतिर्न उस्काइरहेका छन् । प्रसाईंका समर्थकहरुले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने तथा आक्रमण गर्ने पनि गरेका छन् । उनका गलत गतिविधिविरुद्ध विकासन्युज डटकमले प्रश्न उठाउँदै आएको छ । उनले राम्रो गरेको विषय पनि विकासन्युजले स्थान दिँदै आएको छ । तर, शुक्रबार प्रकाशित जीतबहादुर र लक्ष्मीबहादुरलाई माथ खुवाउँदै दुर्गा प्रसाईं शिर्षकको न्यूजमा आपत्ति जनाउँदै उनले ज्यान मार्नेसम्मको धम्की दिएका हुन् । प्रसाईंले फोन मार्फत् मुख छोडेर गाली गर्न थालेपछि आफूले फोन काटिदिएको पौडेलले बताए । फोन काटेपछि पुनः प्रसाईले बारम्बार फोन गरेको तर आफूले नउठाएको पौडेलको भनाइ छ । ‘म गाडी चलाइरहेको थिएँ, त्यसैले लामो कुरा गर्न पनि चाहिनँ, दोस्रो पटक फोन पनि उठाइनँ’ पौडेलले भने । केही दिनअघि विकासन्युजमा ‘अर्बमा ठगी, करोडमा दान’ शिर्षकको समाचार प्रकाशित भएपछि उनले पटक–पटक फोन गरेर सो समाचार हटाउन दवाब पनि दिएका थिए । प्रकाशित समाचार गलत सावित भए सच्याउने अभ्यास रहेको तर समाचार हटाउने नीति नरहेको विषय उनलाई जानकारी गराइएको थियो । तर, उनले आफुलाई कसैले केही गर्न नसक्ने भन्दै आफ्नो विषयमा समाचार नलेख्न धम्की दिइरहेका छन् । सम्बन्धित सामग्री : जीतबहादुर र लक्ष्मीबहादुरलाई माथ खुवाउँदै दुर्गा प्रसाईं अर्बमा ठगी, करोडमा दान दुर्गा प्रसाईंको २ अर्ब लगानी डुब्यो, मेडिकल व्यवसायपछि कृषिमा पनि असफल

चन्द्रागिरीमा आतिथ्यतापछि मन्त्री मोदीले भने– विदेशी सहयोग खर्चिने फाइभस्टारका कार्यक्रममा आउँदिन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले खर्च भएको देखाउन फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा सहभागी नहुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न शुक्रबार चन्द्रागिरी रिसोर्टमा आयाेजित कार्यक्रममा आतिथ्यतापछि मन्त्री मोदीले फाइभस्टारका कार्यक्रममा नआउने बताएका हुन् । ‘सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन्न’, मन्त्री मोदीले भने । खर्च भएको देखाउनकै लागि कर्मचारीहरु असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त भएको देखिएको उनले बताए । ‘असार मसान्तको समय छ, कर्मचारीहरु अहिले जनताको सेवामा भन्दा पनि फाइभस्टारका कार्यक्रममा व्यस्त छन् । कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन’, उनले भने । वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको उनको भनाई छ । ‘वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महङ्गो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ’, मोदीले भने ।

पीपीए पूर्णरुपमा खुलाउन उर्जा मन्त्री बस्नेतलाई उद्योगीको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का पदाधिकारीले विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेका छन् । सिएनआईका पदाधिकारीले शुक्रबार उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर पीपीए खुलाउन भनेका हुन् । प्रधानमन्त्रीले केही समयअघि गरेको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरेकाले जलविद्युत आयोजनाको पीपीए पूर्णरुपमा खुला गर्नुपर्ने सीएनआईका अध्यक्ष राजेश अग्रवालले बताए । सिंहदरबारमा भएको मन्त्री बस्नेतसँगको भेटमा नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारणलाईन निर्माण तथा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन पनि सिएनआईका पदाधिकारीले आग्रह गरेको सिएनआईले विज्ञप्ति जारी गरेर बताएको छ । पछिल्ला दिनमा उद्योगहरुले सहजरुपमा विद्युत नपाउँदा उद्योगको उत्पादन लागत बढेको र त्यसमा आवश्यक समन्वय गरिदिन उर्जा मन्त्रीलाई आग्रह गरेका छन् । उद्योगीहरुसँगको भेटमा मन्त्री बस्नेतले समग्र उर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्धता व्यक्त गरेको सिएनआईले बताएको छ । १० हजार मेगावाट विद्युत उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उर्जा मन्त्री बस्नेतले बताएका छन् । उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतसँगको छलफलमा सिएनआईका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे र अमित मोर पनि सहभागी थिए ।

नेपाली सेनाले खोल्यो ४ सय जनाका लागि विज्ञापन

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी लगभग ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ । सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ ।

राठीविरूद्ध पुर्जी जारी भएको १९ दिनपछि सिमेन्ट उद्योगीले भने– अमर्यादित व्यवहार असह्य

काठमाडौं । मारूती सिमेन्टका सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी भएकाे भन्दै सिमेन्ट उत्पादकहरुले विरोध गरेका छन् । सञ्चालक नन्दकिशोर राठीलाई पक्राउ गर्न पुर्जी जारी भएकाे १९ दिनपछि सिमेन्ट उत्पादकहरूले विज्ञप्ति प्रकाशन गरेर विरोध गरेका हुन् । राठीलाई पक्राउ गर्न असार १९ गते पक्राउ पुर्जी जारी भएकाे थियाे । पक्राउ पुर्जी जारी भएपछि राठी सम्पर्कबिहिन छन् । मारुती सिमेन्ट कम्पनीका कर्मचारी भने पक्राउ परेका छन् । सिमेन्ट उत्पादक संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामान्य मुद्धामा, दोषि ठहर नै नभै थुनामा राख्ने जस्तो कारवाहिको प्रक्रिया अघि बढाउनु हुन्न भन्ने विषयमा सवै सरोकारवालाहरुमा यस संघ अनुरोध गर्दछ ।’ ‘मारुती सिमेन्ट सिमेन्ट विक्री गर्ने उद्योगमाथी ठगी (अपराधिक विश्वासघात) सम्बन्धको मुद्धा दर्ता गरी कर्मचारी समेतलाई पक्राउ गर्नुका साथै संचालकहरुलाई पक्राउ पुर्जी जारी गरीएको समाचारप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ’, संघका महासचिव केशवप्रसाद उपे्रतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बौ लगानी गरी हजारौको संख्यामा रोजगारी दिई करोडौं रुपैया राजश्व तिर्ने उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गरी थुन्ने तथा पक्राउ पुर्जी जारी गर्दा समग्र औद्योगिक वातावरणमै नकारात्मक असर पर्ने सिमेन्ट उत्पादकहरुले भनेका छन् । उद्यमी व्यवसायीहरु माथी उद्योगीमाथि भइरहेको धरपकडले उद्योगमा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित हुने अवस्था आएको उद्योगीहरुको विज्ञप्तिमा उल्लेख छ ।

जीतबहादुर र लक्ष्मीबहादुरलाई माथ खुवाउँदै दुर्गा प्रसाईं

काठमाडौं । वि.स. २०५० सालदेखि २०६० सालसम्म जीत बहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठको व्यवसाय विस्तार मोहन गोपाल खेतान र विनोद चौधरीलाई पनि दबाव सिर्जना गर्ने तहको थियो । खासा व्यापारबाट व्यवसायमा प्रवेश गरेका श्रेष्ठ दाजुभाईले वि.स. २०४६ सालको परिवर्तनसँगै आर्थिक उदारीकरणको लाभ लिए । राजनीतिक नेतृत्वसँगको पहुँचको आधारमा सरकारले गरेको निजीकरणको लाभ लिँदै हरिसिद्धीको सम्पत्ति कब्जा गरे । सरकारसँगको पहुँचबाट लाभ लिँदै तत्कालीन नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, श्रीलंकन मर्चेण्ड बैकिङ एण्ड फाइनान्स, नेपाल बंगलादेश इन्स्योरेन्सको लाईसेन्स लिन सफल भए । उनले त्यतिबेला नै जलविद्युत कम्पनीको पनि लाइसेन्स पाए, लगानी गरे । होटल रेष्टुरेन्टमा पनि हात हाले । वि.स. २०६० को दशकपछि उनी व्यापारभित्र धोकाधढीको अभ्यासमा लागे । व्यवसायमा साझेदारी गर्नेलाई फसाउने र उनीहरुको सम्पत्ति आफ्नो हातमा पार्ने खेलमा लागे । आफैले खोलेको बैंकबाट अर्बौ रुपैयाँ कर्जा लिने र नतिर्ने, आफ्नो बीमा कम्पनीमा बीमा गराउने तर बीमितले तिरेको प्रिमियम खल्तीमा हालेर नक्कली बीमा पोलिसी जारी गराउनेसम्मको अभ्यासमा उनी लागे । अदालतलाई कसरी प्रभावित पार्ने र आफ्नो पक्षमा सके अन्तिम फैसला गराउने, नसके अन्तरिम आदेश आफ्नो पक्षमा ल्याउने भन्नेमा उनी अब्बल नै सावित भए । जीत बहादुर, लक्ष्मीबहादुरसँग मुद्दा लडेर सकिँदैन भन्ने सन्देश समेत व्यवसायिक जगतमा छोड्न सफल भए । जालसाझी, धोकाधडी, कपटपूर्ण व्यवहार दिगो हुँदैन । कुनै पनि व्यवसायी सारभूत रुपमा नै जालसाझी र धकापूर्ण व्यवहारमा उत्रिन थालेपछि बजारमा विश्वास गुमाउँदै जानु स्वभाविक हो । लक्ष्मीबहादुर र जीत बहादुर श्रेष्ठको हकमा पनि यस्तै भयो । वि।स। २०७०को दशकसम्म आइपुग्दा जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले बजारमा विश्वास गुमाउन थाले । उनले ऋण नतिरेकै कारण तत्कालीन वल्र्ड मर्चेण्ट फाइनान्स डुब्यो । जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठलाई विश्वास गरेर सहकार्य गर्ने कयौं व्यवसायीले व्यवसायबाट हात धुनु पर्यो । यति हुँदा हुँदै पनि जीतबहादुर र लक्ष्मीबहादुरको जीत भएन । उनीहरु पराजित भए । उनीहरुले खोलेका सबै कम्पनी बन्द भए । कतिपय विलय भए । उनको स्वामित्वमा रहेको कुनै पनि कम्पनी अहिले अस्थित्वमा छैनन् । मर्ज हुँदै गर्दा नबिल बैंक र कुमारी बैंकमा उनको केही संस्थापक सेयर छ । तर, ती बैंकमा उनलाई कसैले गन्दैनन्, भाउ दिँदैनन्, इज्जत दिँदैनन् । जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठका परिवारका सबै सदस्य कर्जा सूचना केन्द्रको कालोसूचिमा सूचिकृत छन् । उनीहरुले नयाँ व्यवसाय गर्न चाहे पनि बैंकले पत्याउँदैनन् । उनीहरुले न बैंकबाट ऋण पाउने अवस्था छ नत व्यवसायिक साझेदार नै पाउने अवस्था छ । पछिल्लो सयम जीतबहादुर, लक्ष्मीबहादुरलाई समेत माथ खुवाउँदै दुर्गा प्रसाईँ अगाडि बढेका छन् । उनले विभिन्न ८ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब ५ अर्ब ५० करोड रुपैयाँ कर्जा लिएर हस्पिटल, मेडिकल कलेज, होटल, रियलस्टेट, तरकारी तथा फलफूल बजार, चिया बगानमा लगानी गरेका छन् । वि.स. २०७० को दशकमा उनी उदाउँदा व्यवसायीका रुपमा कहलिए । उनी सत्ता शक्तिसँग निकै नजिक रहे । राजनीतिक तहको उच्च नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई घरमा ल्याएर मार्सी चामलको भात खुवाएपछि प्रसाईंको उपनाम नै मार्सी चामल रहन गयो । पछि उनले मार्सी वियर उद्योग नै खोले । केही समयपछि त्यो उद्योग बेचे । दुर्गा प्रसाईं प्रचण्डको अछ्यानसम्म पुगे । ओलीको फेर समाएर एमालेको केन्द्रीय सदस्य समेत बने । उनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग मञ्च सेयर गरेर आफू राजाबादी र राष्ट्रबादी भएको भाषणा गर्न पनि भ्याए । दुवईका राजकुमार शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमसँग सुनको लौरो उपहार पाउने तहसम्मको सम्बन्ध पनि बनाए । वि.स. २०८० को दशकको प्रारम्भसँगै दुर्गा प्रसाईंको व्यवसायिक यात्रा ओरालो लागेको छ । उनी बैंकहरुलाई कर्जा नतिर्ने अभियानमा लागेका छन् । बैंकहरु विरुद्ध उनले अदालतहरुमा सिलसिलेबार मुद्दा हालिरहेका  छन् । अदालतले गरेका अल्पकालीन फैसालाहरु पनि प्रसाईंका पक्षमा छन् । गत मंगलबार मात्र उच्च अदालत विराटनगरले व्यवसायी दुर्गा प्रसाईंसँग तत्काल ऋण नउठाउन कुमारी बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रसाईंले कुमारी बैंकबाट एक अर्ब रुपैयाँ ऋण लिएका छन् । उच्च अदालतका न्यायाधीशहरु लोहितचन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलाशले प्रसाईंको पक्षमा आदेश दिएको छ । प्रसाईंले कुनै बैंकविरुद्ध झापा जिल्ला अदालतमा पनि मुद्दा हालेका छन् । कुनै बैंकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका छन् । उनले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । यी सबैं बैंकमा किस्ता तिर्न प्रसाईंले अटेर गरेका छन् । उनले बैंकबाट लिएको कर्जा आफूले मात्र तिर्न अटेर गरेका छैनन्, सर्वसाधारणलाई पनि उस्काएर बैंकको ऋण नतिर्ने र बैंकरलाई कालोमोसो दल्ने अभियान चलाइरहेका छन् । प्रसाईंले सावाँ ब्याज नतिरेपछि धितो राखेको सम्पत्ति बैंकले लिलाम गर्न खोजिरहेका छन् । कतिपय बैंकहरुले लिलामीको लागि अन्तिम पत्र पनि पठाइसकेको बुझिएको छ । त्यसको त्रासमा उनी अदालत पुगेका हुन् । उनी छिट्टै बैंकको कालोसूचीमा पर्ने सम्भावना छ । त्यसपछि उनको व्यवसायिक यात्रा समाप्ततिर जाने निश्चित छ । बैंकको कर्जा नतिरेर कोही पनि ठूलो व्यवसायी बनेको उदाहरण छैन । कुनै बेला नेपालबाट सबैभन्दा बढी निर्यात गरेर राज्यबाट धेरै वर्ष सम्मानित भएका चण्डिराज ढकाल बैंकको कर्जा तिर्न ल्याङल्याङ गरेकै कारण उनी असफल व्यवसायीका रुपमा स्थापित भए । कुनै बेला नेपालको टप फाइभमा पर्ने पीयुस बहादुर अमात्यको कथा पनि त्यस्तै छ । दीव्यराज राजभण्डारीको कथा पनि त्यस्तै छ । र, ऋण नतिर्ने अभियानले बैंकलाई भन्दा बढी दुर्गा प्रसाईलाई नै क्षति हुने पनि निश्चित नै छ । नेपालको कानुनले पनि ऋणिलाई भन्दा बैंकलाई नै बढी अधिकार दिएकोले तत्कालका लागि दुर्गा प्रसाईंले लाभ पाए पनि अन्तिममा बैंकहरु नै माथि पर्ने निश्चित छ । त्यति बेलासम्म उनी धेरै थाकिसकेका हुनेछन् । सम्बन्धित सामग्री : अर्बमा ठगी, करोडमा दान दुर्गा प्रसाईंको २ अर्ब लगानी डुब्यो, मेडिकल व्यवसायपछि कृषिमा पनि असफल

एभरेष्ट बैंकले सरस्वती माध्यामिक विद्यालयलाई दियो १ लाख ५० हजार रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकले श्री सरस्वती माध्यामिक विद्यालाय डकाहालाई विद्यालयको खानेपानी व्यवस्थापनार्थमा १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष समारोहका बीच दुधौली न.पा वडा नं. ४ सिन्धुलीमा अवस्थित उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो । बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ । साथै, विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र समाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो ।  

झापा इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल

काठमाडौं । झापा इनर्जीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको हो । शुक्रबार झापा ईनर्जी पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे । उक्त कार्यक्रममा झापा ईनर्जीका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिती रहेको थियो । सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने सेयर छ करोड छैंसट्ठी लाख साट्ठी हजार रुपैयाँ रकम बराबरको छ लाख छैंसट्ठी हजार छ सय कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ । यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुजीले दिनुभएको छ । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ । निर्माण अवधिको ब्याज सहित कुल परियोजना लागत रु ७९. ९० करोड छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक र हिमालयन बैंक (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोग गरिनेछ । साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षके लागि प्रतियुनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने सेयर छ करोड छैंसट्ठी लाख साट्ठी हजार रुपैयाँ रकम बराबरको छ लाख छैंसट्ठी हजार छ सय कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ । यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुजीले दिनुभएको छ । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ । निर्माण अवधिको ब्याज सहित कुल परियोजना लागत ७९. ९० करोड रुपैयाँ छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक र हिमालयन बैंक (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया आर्थिक सहयोग गरिनेछ । साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षके लागि प्रतियुनिट ७.३० रुपैँयामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ