काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले विकासन्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । प्रसाईले शुक्रबार साँझ ६ः५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका हुन् ।
उनले विकासन्युज डटकमले आफ्नो विषयसँग सम्बन्धित समाचार लेखेको भन्दै सिध्याइदिने धम्की दिएका हुन् । ‘भाई तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाई’, प्रसाईको भनाइलाई उदृत गर्दै प्रधान सम्पादक पौडेलले भने ।
विकासन्युजले आफूलाई जीतबहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठसँग तुलना गरेर समाचार बनाएको भन्दै उनले यस्ताे धम्की दिएका हुन् । उनले आफू जितबहादुर र लक्ष्मीबहादुर जस्तो नभएको बताए।
‘म उनीहरु जस्तो मान्छे होइन, म चण्डिराज ढकाल जस्तो मान्छे पनि होइन’, उनले भने, ‘म देश बनाउन हिँडेको मान्छे हुँ, माडेहरुले यो देश खोक्रो पारिसके, म त्यसको विरुद्ध लडिरहेको मान्छे हुँ, मेरा पछाडि हजारौ मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’
प्रसाईंले बैंकबाट लिएको ऋण तिर्दिन भन्दै देशव्यापी अभियान गर्दै आएका छन् भने उनले सर्वसाधारणलाई पनि ऋण नतिर्न उस्काइरहेका छन् । प्रसाईंका समर्थकहरुले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने तथा आक्रमण गर्ने पनि गरेका छन् ।
उनका गलत गतिविधिविरुद्ध विकासन्युज डटकमले प्रश्न उठाउँदै आएको छ । उनले राम्रो गरेको विषय पनि विकासन्युजले स्थान दिँदै आएको छ । तर, शुक्रबार प्रकाशित जीतबहादुर र लक्ष्मीबहादुरलाई माथ खुवाउँदै दुर्गा प्रसाईं शिर्षकको न्यूजमा आपत्ति जनाउँदै उनले ज्यान मार्नेसम्मको धम्की दिएका हुन् ।
प्रसाईंले फोन मार्फत् मुख छोडेर गाली गर्न थालेपछि आफूले फोन काटिदिएको पौडेलले बताए । फोन काटेपछि पुनः प्रसाईले बारम्बार फोन गरेको तर आफूले नउठाएको पौडेलको भनाइ छ । ‘म गाडी चलाइरहेको थिएँ, त्यसैले लामो कुरा गर्न पनि चाहिनँ, दोस्रो पटक फोन पनि उठाइनँ’ पौडेलले भने ।
केही दिनअघि विकासन्युजमा ‘अर्बमा ठगी, करोडमा दान’ शिर्षकको समाचार प्रकाशित भएपछि उनले पटक–पटक फोन गरेर सो समाचार हटाउन दवाब पनि दिएका थिए । प्रकाशित समाचार गलत सावित भए सच्याउने अभ्यास रहेको तर समाचार हटाउने नीति नरहेको विषय उनलाई जानकारी गराइएको थियो । तर, उनले आफुलाई कसैले केही गर्न नसक्ने भन्दै आफ्नो विषयमा समाचार नलेख्न धम्की दिइरहेका छन् ।
सम्बन्धित सामग्री :