नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको पिंकको दाबी
एजेन्सी । नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ । नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले उल्लेख गरेको छ । इतिहासको यो नाजुक क्षणमा नेटोले विश्वलाई अझ ठूलो सैन्यीकरण तर्फ धकेलेको, पृथ्वीको भविष्य र पारिस्थितिकीय प्रणालीलाई ध्वस्त पारेको, डढेलो र बाढीले बढाएको जलवायु सङ्कटको जोखिम घटाउनुको सट्टा हातहतियारमा गरिएको लगानीले नेटोको कार्यक्षेत्र विश्वशाान्ति एवम् समृद्धि नभएर फगत युद्ध भएको टिप्पणी गरिएको छ । नेटोले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्वीकृति बिना सन् १९९९ मा युगोस्लाभियामा आक्रमण गरेको, अफगानिस्तानमा २० वर्षको युद्ध छेडेर त्यहाँ तहसनहस पारेको र सन् २०११ मा अवैध रूपमा लिबियाको सरकारलाई ध्वस्त पारेको ब्लगमा लेखिएको छ । रूससँगको वर्तमान युद्धको अतिरिक्त नेटोले चीनको सामना गर्न दक्षिण कोरिया, जापान, अष्ट्रेलिया र न्युजील्याण्डसँग उत्तेजक एशिया–प्रशान्त सैन्य गठबन्धन निर्माण गरेको तथा राष्ट्रसङ्घीय बडापत्र विपरीत आणविक हतियारको प्रवद्र्धनलाई भित्रभित्रै प्रोत्साहन गरेको आरोप ब्लगमा लगाइएको छ ।
वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा सूचीकृत हुनुपर्नेछ । कोषमा औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन् । कोषमा हालसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कूल छ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन् । कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई रू पाँच अर्ब एक करोड दाबी भुक्तानी गरेको छ । कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उनका अनुसार हालसम्म ३६ अर्ब २६ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले औपचारिक क्षेत्रका श्रमिकका तर्फबाट मासिक ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत योगदान रकम सङ्कलन गर्दै आएको छ । कोषबाट हालसम्म ८८ हजार पाँच सय ८५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् ।
नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात
चितवन । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो । कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो । चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ । यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिए । दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ । पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ । उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ । हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ । सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ । चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताए। सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
गण्डकी प्रदेशमा मुटुरोग अस्पताल निर्माण गरिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनहिरुको समयमै उपचार गर्न सरकारले अस्पताल निर्माणको तयारी गरिरहेको बताए। सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको उल्लेख गर्दै उनले यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनको पनि सहयोग आवश्यक पर्ने बताए ‘गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने समावेश गरिएको छ । अस्पताल बनाउनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारसँग नहुँदा दाता खोजिरहेका छौँ’, मुख्यमन्त्री पाण्डेले भने, ‘भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लबको सहयोग आवश्यक छ ।’ मुख्यमन्त्री पण्डेले सबै काम सरकारले गर्छ भन्ने भावना त्यागी समाजसेवा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन निजी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयास आवश्यक भएको बताए। ‘सञ्चार र प्रविधिमा हामी धेरै अगाडि बढ्यौँ तर विकास र समृद्धिमा त्यति प्रगति हुन सकेको छैन’, उनले भने, ‘नकारात्मक त्यागेर सकारात्मक सोच लिएर अगाडि बढ्न जरुरी छ ।’ युवा शक्तिलाई विदेश जान रोक्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । रोटरी क्लबका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले मुलुकमा अफ्ठयारो परेको बेला क्लबले मानवीय सहयोग गर्दै आएको जिकिर गर्दै गण्डकी प्रदेश सरकारसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्लबले शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरामा परेका व्यक्तिलाई सहयोग गरिरहेको उल्लेख गर्दै मुटुरोग अस्पताल निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नाका साथै क्लबमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको क्लबका अध्यक्ष तोयाबहादुर भट्टराईले जानकारी दिए ।
विदेशी पर्यटकको बसाइँ र खर्च घट्दै जानु चिन्ताको विषय : विनायक शाह
भक्तपुर । भक्तपुरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलहरुको सूचि तयार गरी सार्वजिनक गरिएको छ । भक्तपुरलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन र पर्यटन प्रवद्र्धन गर्नका लागि एक कार्यक्रमबीच भक्तपुरमा पर्यटकीय गन्तव्यस्थलहरुको सूचि समावेश गरिएको ब्रेथ टेकिङ भक्तपुर सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल होटल संघ (हान) का अध्यक्ष विनायका शाहले कोराना महामारीपछि नेपालमा अहिले बिस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको बताएका थिए । उनले नेपालमा आउने पर्यटकहरुको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकहरुलाई धेरै भन्दा धेरै नेपालमा बस्ने वतावरण बनाउन जरुरी रहेको बताए । उनले भक्तपुरलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताए । उनले डोलेश्वर महादेव, पाइलट बाबा, घ्याम्पे डाँडा लगायतका स्थानमा पर्यटकहरु रमाउन सक्ने बताए । उनले लगानीअनुसारको पर्यटन प्रवद्र्धन गर्दै पर्यटन प्याकेज बनाइ अघि बढ्न सुझाव दिए । कार्यक्रममा बोल्दै अन्य पर्यटन व्यवसायीहरुले पर्यटन प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुने र अझै नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न जरुरी रहेको बताए । ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थलहरु धेरै रहेको भन्दै ति ठाउँको उजागर गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्यकर्मी मृत्यु प्रकरण : चारजना पक्राउ
सांकेतिक तस्बिर काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए । उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । निजहरुले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन् । अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र पनि बरामद भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। उनका अनुसारका घटनाबारे थप अनसन्धान भइरहेको छ ।
मेडिकल व्यवसायी प्रसाईंले दिएको धम्कीप्रति पत्रकार महासंघ ललितपुर शाखाको ध्यानाकर्षण
काठमाडौं । विकासन्युज डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य रामकृष्ण पौडेललाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएको ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण जनाएको छ । शाखाका सचिव रामहरी कार्कीले आज एक विज्ञप्ति जारी गर्दैै व्यवसायी प्रसाईंले प्रधानसम्पादक पौडेलललाई दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको हो । समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले मिति २०८० असार २९ गते बेलुका ६ः५५ बजे ९८०१०५२२२२ नम्बरबाट प्रधानसम्पादक पौडेललाई फोन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’, प्रसाईंको धम्कीपूर्ण भाषालाई उदृत गरिएको छ । महासंघले प्रसाईंलाई आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्न र पत्रकारलाई धम्क्याउने कार्य र र गतिविधि नगर्न सुझाव दिएको छ । साथै प्रसाईंले प्रयोग गरेको शब्द दादागिरी शैलीमा भएको महासंघले जनाएको छ । साथै उनको धम्कीले महासंघ नडराउने र विचलित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन प्रसाईं सकृय भएको हामीले महसुस गरेका छौँ । तानाशाही व्यवस्थासँग लडेर गणतन्त्र ल्याउन हाम्रो भूमिका महत्वपूर्ण थियो । हामी सधैं जनताको चाहनाको पक्षमा बलियो गरि उभिन्छौ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहित जनताको पक्षमा अनवरत उभिएको पत्रकारको छाता संस्था यस्ता खालका कुनै पनि धम्कीबाट डराउने छैन, बिचलित हुने छैन’, विज्ञप्तिमा भनिएको छ । साथै महासंघले नेपाल सरकार, प्रहरी लगायतका निकायलाइई विषयवस्तुको संवेदनशीलता बुझिदिन समेत अपिल गरेको छ ।
कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ रकम हस्तान्तरण
काठमाडौं । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएको ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । उक्त परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको हो । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले यो बीमा सुविधा, सानिमा जि.आई.सि. इन्स्योरेन्स लि. सँगको सहकार्यमा गरेको हो । परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगहरुका बीमा पर्दछन् । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए।टि।एम। तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।