सशस्त्र प्रहरी बलमा ९३२ जनालाई रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । सशस्त्र प्रहरी बलले ९३२ जना कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बलको नेपाल प्रधान कार्यालयले सूचना जारी गर्दै विभिन्न ९३२ कर्मचारी माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले साउन २८ सम्म आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर साउन २९ सम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत आफूलाई पायक पर्ने सशस्त्र प्रहरी बलमा बुझाउन सकिनेछ ।
कृषि पर्यटनको गन्तव्य बन्दै पर्वतको गेप्ताङ, घरबास सञ्चालकको व्यापार फस्टाउँदै
काठमाडौं । गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् । विहादी गाउँपालिकामा अवस्थित पैयुँकोट दरबार र महाशिलाको मध्य भागमा अवस्थित वडा नं ५ उरामपोखराको मगर बस्ती गेप्ताङ गाउँको घरबास पर्यटन नमुना कृषि पर्यटनको गन्तव्य बनाउन प्रदेश सरकार लागिपरेको हो । पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको गेप्ताङ र आसापासका क्षेत्रको विकासमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयास थालेको छ । प्याराग्लाइडिङको परीक्षण सफल भएको बस्तीमाथिको लुप्रेङडाँडा, हातेमालो चोकदेखि गोर्ल्याङधाम पुग्ने पैदल मार्ग छेवैको गेप्ताङको मगर बस्ती अहिले पाहुना बिसाउने थलोका रूपमा स्थापित हुँदै गएको छ । पाहुना गाउँमा पुग्दा स्थानीय मगर समुदायले मगर जातिको सालैजो र मारुनीमा नचाउँदै स्वागत गर्ने गरेका छन् । मगर संस्कृतिको पुरानो चलन जीवित रहेको यस बस्तीमा पछिल्ला दिनहरुमा घरबास पर्यटनले समेत महत्व पाएको छ । गेप्ताङ सामुदायिक घरबास ‘होमस्टे’मा गरिएको स्वागत र स्थानीय रुपमा उत्पादन हुने खाद्यान्न तथा आवास शैली सहरी होहल्लाबाट मुक्त हुँदै शान्त र मनोरम हावापानीमा रमाउन चाहनेका लागि गन्तव्य बनेको हो । स्थानीय जंगलमै पाइने सिस्नो, ढकायो र कोदो तथा फापरको ढिँडोका पारखीलाई गेप्ताङले लोभ्याउँदै आएको छ । मगर संस्कृतिको बटुक अर्को परिकार हो । स्थानीय होमस्टे सञ्चालक शेरबहादुर थापा मगरका अनुसार २०७० सालदेखि नै होमस्टेको अभ्यास गर्दै आएकामा २०७५ सालदेखि वैधानिक रुपमा होमस्टे सञ्चालन गरिएको छ । करिब ३५ घरधुरी रहेको गेप्ताङमा पर्यटक र कृषि मन्त्रालयको पाक शिक्षा तालिम पाएपछि स्थानीय परिकारले महत्व पाउन थालेको हो । अहिले दैनिक १० देखि १५ जनासम्म घुम्न र बस्न तथा प्याराग्लाइडिङ गर्न आउनेको दर बढेपछि घरबास सञ्चालकको व्यापार व्यवसाय फस्टाउँदै गएको छ । सामुदायिक होमस्टेका पदाधिकारीको सक्रियतामा घर बाँडेर पाहुनाको व्यवस्थापन गर्दै आएको थापाले बताए । स्थानीय जातजाति, संस्कृति अवलोकन गर्दै भाषा र संस्कृतिमा रमाउनेका लागि पनि होमस्टे अहिले गन्तव्य बनेको स्थानीयवासी ऋषिराम भुसालको भनाइ छ । मगर जातिको संस्कार सालैजो, मागी, कौडा, घाटु नाचबाट ख्याति पाएका कारण पनि अहिले अध्येताहरुको पनि आकर्षण बढेको उनले बताए । हालै मात्र गण्डकी प्रदेशको नियमित कार्यक्रम कृषकसँग कृषिमन्त्रीका लागि गन्तव्य र स्थानीय व्यवस्थापनको मौका पाएको गेप्ताङ कृषि र पर्यटनलाई जोड्ने अवसरसँगै रैथाने बाली अध्ययन पकेट क्षेत्रका रुपमा सहजीकरण गर्ने मन्त्रालयको योजना हात पार्न सफल भएको छ । गण्डकी प्रदेश सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न र स्थानीय संस्कृतिको जगेर्ना तथा उजागर गर्न पनि होमस्टे महत्वपूर्ण रहेको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए । स्थानीय रुपमा उत्पादन हुने खाद्यान्नको पाक शिक्षा पाएपछि आगन्तुकलाई परिकार खुवाउन सहज भएको वडाध्यक्ष खिमबहादुर थापा मगरले जानकारी दिए । कृषि र पर्यटनलाई जोडेर विहादी गाउँपालिकाले रैथाने खाद्यान्नको गन्तव्य बनाउन प्रयास गरिरहेको उनको भनाइ छ । स्थानीय बालीसँगै गाउँमै उत्पादित खाद्यान्नका परिकार बनाउने तालिम सञ्चालन गरेर घरबास प्रवर्धन गराउन लागिपरेको घरबास सञ्चालकहरुले बताएका छन् । रासस
साउनबाट लागु हुनेगरी श्रमिकको न्यूनतम ज्याला बढ्ने, कति पुग्ला तलब ?
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम ज्याला बढाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि सुझाव समितिले श्रमिकको ज्याला बढ्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरिसकेको छ । घिमिरेले प्रधानमन्त्री कार्यालयमा सिफारिस गरिसकेको भन्दै साउन १ गतेदेखि बढेको पारिश्रमिक लागु हुने जानकारी गराए । सरकारले यसअघि बढाएको पारिश्रमिक वृद्धि दर, मुद्रास्फीति, मूल्य सूचकांकलगायतलाई आधार बनाएर पारिश्रमिकको निर्धारण गरी सिफारिस गरिएको घिमिरेले बताए । ‘हामीले न्यूनतम ज्याला निर्धारण गर्ने होइन, २ वर्षदेखि श्रमिकको ज्याला बढेको छैन्, २ वर्षसम्मको महँगी लगायतका आधारमा हामीले ज्याला बढाउनुपर्ने सिफारिस गरेका हौँ’, घिमिरेले भने, ‘त्यसको अन्तिम निर्णय सरकारले गर्छ, यसमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, उहाँकै निर्देशनमा हामीले सिफारिस गरेका हौँ ।’ उनले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्ने बताए पनि यति नै बढ्छ भनेर खुलाएनन् । ‘हामीले सिफारिस गरेका छौँ, सरकारले अन्तिम निर्णय गर्ने हो, त्यसमा केही तलमाथि होला, कति बढ्छ अब छिटै थाहा भैहाल्छ’,उनले भने । श्रम ऐनबमोजिम प्रत्येक दुई वर्षमा पारिश्रमिक बढाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले २०७८ को साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ बनाएको थियो । श्रमिकको न्यूनतम पारश्रमिक १३ हजार ४५० रुपैयाँ रहेकोमा त्यसमा १ हजार ५५० रुपैयाँ बढाएर १५ हजार बनाएको थियो । जसमा आधारभूत पारिश्रमिक ९ हजार ३८५ मा ५ हजार ६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्याइएको मन्त्रालयले जनाएको छ । २०७८ सालमा बढाईएको पारिश्रमिकलाई आधार बनाएर मन्त्रालयले न्यूनतम १७ हजार रुपैयाँ बनाउने गरी सिफारिस गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । स्थानीय सरकारहरुले आफैले न्यूनतम पारश्रमिक तोक्न सक्ने अधिकारको प्रयोग गर्दा समेत अब अहिले तोकिएभन्दा कम हुनु नहुने गरी नियम बनेको छ । सरकारले तोकेभन्दा कम पारिश्रमिकमा स्थानीय तहले रोजगार सम्झौता गर्न पाउँदैनन् । साउनदेखि सरकारले न्यूनतम पारिश्रमिक बढाउने तयारी गर्दा निजी क्षेत्रका उद्योगी व्यवसायी भने तत्काल नबढाउने दबाब दिदै आएका छन् । निजी क्षेत्रका व्यवसायीले विरोध गरेता पनि श्रम ऐनमा भने प्रत्येक २/२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने उल्लेख छ । सोही बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै निर्देशनमा मन्त्रालयले न्यूनतम पारिश्रमिक सिफारिस गरेको हो ।
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव उनीहरुले दिएका थिए । उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक २०८० साल साउन १ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।
करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका हुन् । ’करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो’ अर्थमन्त्री महतले भने, ’हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन् ।’ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाउनुपर्ने माग गरेका थिए तर सुर्तीजन्य वस्तुमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र स्वास्थ्य जोखिमसमेत जोड्दा उच्चदरमा कर लागिरहेको उनको भनाइ थियो । आर्थिक विधेयकमा राखिएको वैदेशिक पर्यटन शुल्क विदेशबाट नेपालमा आउने पर्यटकका लागि नभई विदेश घुम्न जाने नेपालीका लागि लगाइएको कर भएको पनि अर्थमन्त्री महतले स्पष्ट पारे । पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको पनि उनको भनाइ थियो । ’अर्थतन्त्र चलायमान हुँदैछ । मूल्यवृद्धि घट्दै गएको छ । ब्याजदर सहज हुँदै गएको छ । यसलेगर्दा राजस्व वृद्धि हुने प्रसस्त आधार दिन्छ’, मन्त्री महतले भने ।
राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० पारित
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ ।
नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने
गण्डकी । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ । पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उनले जानकारी दिए । ‘पदमार्ग क्षेत्रलाई चरा पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ पाइने सबै चरालाई हामीले पुस्तकमा समेट्ने तयारी गरेका छौँ’, उनले भने, ‘पुस्तकमा समेटिएसँगै यस क्षेत्रमा पदयात्रा गर्न आउने वा चराहरूकै अध्ययन अवलोकनका लागि आउने पर्यटकका लागि थप उपयोगी बन्ने हाम्रो विश्वास छ ।’ नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडे भ्याकुर भेटिएका छन् । त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् । अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ३७ प्रजातिका चरा फेला परिसकेको र थप अध्ययन अनुसन्धानबाट अन्य केही प्रजाति अझै थपिने देखिएको अध्यक्ष घिमिरेले बताए । स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ । यस क्षेत्रमा काँडे भ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पनि पाइएको उनले बताए । संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका विभिन्न चरा यहाँ भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकुल, शिक्रा, वनबाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् । ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले पनि यस पदमार्गको गरिमा अझै बढाएको छ । संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए । ‘हामी मिलेनियम ट्रेकलाई पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहन्छौँ’, उनले भने, ‘पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरबास सञ्चालनमा आइसकेका छन् ।’ पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिकरूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गर्ने गरिएको निर्देशक राजु आचार्यले जानकारी दिए । सहभागी हुने विद्यार्थीलाई १९ दिने वन्यजन्तु अनुसन्धान विधि विषयक तालिम दिइने उल्लेख गर्दै उनले सो क्रममा त्यहाँ पाइने चरा, वन्यजन्तु, पुतली आदिबारे जानकारी एवं अध्ययन–अनुसन्धान गराइने जानकारी दिए । शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण पनि यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको गुरुङले बताए । नेपालमा भित्रने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ । रासस
अब एस्ट्रोपडबाटै डेटिङ पार्टनर पत्ता लाग्ने, कसरी गर्ने प्रयोग ?
काठमाडौं । सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ । तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ । त्यस्तै साथी खोजिदिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ । नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो । युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्ष अघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ । एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले तपाईँको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ । यसमा प्रयोगकर्ताहरुले आफ्नो राशीअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ्ग पार्टनरका साथमा डेटिङ्ग स्थल छनोट गर्न सक्नेछन् । विशेषगरी वायु, अग्नी, जल र पृथ्वीले हाम्रा दैनिक जिवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रिय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन् । एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ । कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटको लागी स्मरणीय स्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ । इभेन्टमा यसरी सहभागी बन्नुहोस् तपाईँ चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्नुहोस् । त्यहाँबाट सम्भावित ‘म्याचिङहरू’ मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्याङ्कन गर्न सक्नुहुन्छ, र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सक्नुहुन्छ । यो अनौठो सुविधाले तपाईँको पहिलो डेटिङ्गका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाईलो र आकर्षक तरिका प्रदान गर्दछ । एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरूको ढोका खोल्छ र कुनैपनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्दछ । कसरी प्रयोग गर्ने ? १. एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस् । २. एक्सप्लोर मेनुमा, तपाईँले विशिष्ट घटनाहरू वा रुचिहरू जस्ता विभिन्न विकल्पहरू फेला पार्नुहुनेछ । त्यहाँ आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुहोस् जुन तपाईँ थप एक्सप्लोर गर्न चाहनुहुन्छ । ३. उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरू हेर्न, तपाईँले अप्ट इन गर्न आवश्यक छ । त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ । यसले तपाईँलाई इभेन्टको लागि तपाईँको उत्साह साझा गर्ने सम्भावित जोडाहरू हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ । ४. तपाईँले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्नुहोस् । ५. कार्यक्रमको लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्नुहोस् । आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्नुहोस् वा आफ्नो रुचिको बारेमा जानकारी दिन एस्ट्रोपड प्रयोग गर्नुहोस् ।