कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । उनलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले छोरालाई मिर्गौला दान गरेकी थिइन् । प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काको टोलीले यही असार २८ गते प्रत्यारोपण कार्य सम्पन्न गरेको थियो । केन्द्र र अस्पतालबीच मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता भई प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी भएको निर्देशक खड्काले बताए । प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने योजना बनाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले अब कर्णालीका जनताले मिर्गौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या कम हुने बताए। उनले प्रदेश अस्पतालले नमूना काम गरेको जनाउँदै प्रदेश सरकारले पनि अस्पतालको विकासका निम्ति काम गर्दै आएको बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले पश्चिम नेपालको सरकारी अस्पताल सुर्खेतका लागि प्राथमिकतामा राखेर काम गरिएको र आगामी दिनमा पनि आवश्यक हुने बताइन् । यसभन्दा पहिले २१ माघ २०७९ मा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यति बेला पनि नवलपरासी बर्दघाट नगरपालिका–४ निवासी ४१ वर्षीय आमाले २२ वर्षीय छोरालाई मिर्गौला दिएकी थिइन् । रासस
भायानेटकी सीईओ बोहरा व्यवसायिक महिलाको रूपमा सम्मानित
काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यवसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ । स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक समारोहमा उनलाई सम्मान गरेको हो । यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ। सिइओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो । सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम प्रविधि पहिलो पटक नेपालमा संचालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा, उनले नेपाली घर-घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् । सिइओ बोहराको दूरदर्शी मार्गदर्शनमा, भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ । ५१ शाखाहरू स्थापना गरेको छ र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ। भायानेट कम्युनिकेशन लिमिटेडमा बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको छ। कम्पनी अत्याधुनिक उत्पादन र सेवाहरू प्रदान गर्न समर्पित छ जसले आफ्ना ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्दछ। भरपर्दो र उच्च गतिको इन्टरनेट लाई देशका बिभिन्न शहर र दुरदराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटको निरन्तर प्रयास रहेको छ ।
प्राविधिक समस्या आएपछि बीचबाटै फर्कियो बुद्ध एयरको जहाज
काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । शुक्रबार चन्द्रगढीका लागि उडेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता गरिएको हो । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुहरूलाई झापा पठाउने तयारी गरिएको बुझिएको छ ।
प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु, स्वस्थ प्रतिस्पर्धाबीच कारोबार गर्ने विश्वास
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले एकीकृत कारोबार नयाँ स्थान्तरित केन्द्रीय कार्यालय कमलादीस्थित गणेशथानमा रहेको भवनबाट गरेको हो । एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाकोबीच कारोबार गर्ने आशा व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । बीमा बजार झन् झन् प्रतिस्प्रधी हुँदै गइरहेको बताउँदै उनले मर्जरपछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशील बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको व्यक्त गरे । कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे । त्यस्तै, बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गरेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएसँगै साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७९ असार ३० गते मर्जरको लागि सम्झौता गरेका थिए । त्यसपछि दुई कम्पनीले मर्जरको लागि अन्तिम सम्झौता गरी एक वर्षको अवधिमा एकीकृत कारोबार गरेका हुन्। २०८० जेठ २६ गतेको साधारण सभाले एकीकृत कारोबारको प्रस्ताव पारित गरेसँगै कम्पनीले नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई मर्जर कार्य सम्पन्न गरेको हो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५०० करोड रुपैयाँ पुर्याउने निर्देशन जारी गरेको हो । साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ मर्जपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बाँकी पुँजी भने कम्पनीले आईपीओ जारी गरेर पुर्याउने योजना बनाएको छ । मर्जरपछि कम्पनीको कर्मचारी संख्या ४४२ र शाखा उपशाखा मर्जर र बन्द पछि ११६ वटामा झर्नेछन् । त्यस्तै, नयाँ बनेको कम्पनीको सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाएका छन् । कम्पनीको अध्यक्षको बारेमा भने हालसम्म निर्णय भइसकेको छैन । अब एकीकृत कारोबार पछि बस्ने सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष चयन गर्ने कम्पनीले बताएको छ ।
मेचीनगरका १५९ जनाले पाए १ लाखका दरले उपचार सुविधा
झापा । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका १५९ बिरामीले चालु आर्थिक वर्षमा १ लाखका दरले उपचार सुविधा पाएका छन् । नगरपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघातलगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् । स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गौला प्रत्यारोपणका २८, मुटुका २२ र अन्य रोगका ९ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ । नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ । सरकारले बिरामीलाई सिधै रकम दिँदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् । यसैगरी पालिकाले नगर क्षेत्रका २ सय एक बिरामीलाई पाँच हजार रुपैयाँका दरले औषधि उपचार खर्च बापतको रकम वितरण गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा नगरमा उपचार माग भएका २०१ जनाको ८७ लाख २० हजार वितरण गर्ने तयारी गरिएको छ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक रुपमा ५ हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ । रासस
सनराइज स्थापनामा दुगड दाजुभाईको संघर्ष र मोतिलालको दु:खद् बहिर्गमन
काठमाडौं । २२ वर्षको लक्ष्मी बैंक र १६ वर्षको सनराइज बैंकबीच शुक्रबार मर्जर भएर एकीकृत कारोबार सुरु भयो । १ः१ स्वाप रेसियोमा मर्जर भएका यी दुई बैंकबीचको संयुक्त कारोबारकाे सुरूवात कुनै तामझाम विनै सञ्चालकहरु मात्रै बसेर गरियो । अन्य बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जर भएर एकीकृत कारोबार गर्दा प्रधानमन्त्री, अर्थमन्त्री तथा सरकारका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका अधिकारीहरूकाे उपस्थितमा हुने अभ्यास भएपनि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबारमा भने काेही विशिष्ट पाहुना थिएनन् । शुक्रबार भएको दुई बैंकबीचको एकीकृत कारोबार कार्यक्रमा सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको समेत उपस्थिति रहन सकेन । लक्ष्मी बैंकबाट कर्जा लिएकै कारण उनी नयाँ बनेको लक्ष्मी सनराइज बैंकको सञ्चालक बन्नबाट रोकिए । आफु सञ्चालक रहेको संस्थाबाट कर्जा लिन नपाउने राष्ट्र बैंकको नीति अनुरुप उनी सञ्चालक बन्न अयोग्य बने । तर, आफैले ठूलो संघर्ष गरेर स्थापना गरेको बैंकको वर्षौंसम्म अध्यक्ष बनेका मोतिलाल दुगडका लागि भने आजको दिन पक्कै पनि नरमाइलाे बनेकाे हुनुपर्छ । त्यो उदय र यो विलय हुन त लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको हो । यी दुई संस्थाबीच एक्वीजिसन होइन, मर्जर हो । दुइटै संस्थाको नाम नयाँ नाममा अटाएको छ । तर, सञ्चालकको हैसियतले बैंकको हैसियत देखाएको छ । लक्ष्मी बैंकबाट चार जना र सनराइजबाट दुई जना मत्रै सञ्चालक बने । एक जना सञ्चालककाे लागि सिट खाली छ । दुगडलाई सञ्चालक बन्ने बाटो खुला भएको थियो भने उनी लक्ष्मी सनराएज बैंकको सञ्चालक बन्थे । तर, उनको बाटो रोकियो । सनराइजका सीईओलाई डेपुटी सीईओ दिने भनेपछि सुमन शर्माले बैंक छोड्दैछन् । यसले पनि लक्ष्मीले सनराइजको हैसियत प्रष्ट्याएको छ । यी दुई बैंकबीच मर्जर भएपनि लक्ष्मीले यसलाई प्राप्तिको रुपमा बुझेको छ । नेपाल राष्ट्र बैंकबाट वि.सं. २०६४ साल असोज २० गते इजाजत पाएको सनराइज बैंकको औपचारिक स्थापना भने २०६४ कात्तिक २१ गते भएको थियो । जसको उद्घाटन गरेका थिए तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले । सनराइज बैंकका अध्यक्ष दुगडले आफ्नो आत्मकथा ‘कृषि उद्यमदेखि जलविद्युत’मा लेखेका छन्- ‘सामान्यतया नेपालमा बैंकहरूको उद्घाटन अर्थमन्त्रीहरूबाट हुने गरेको पाइन्छ, प्रधानमन्त्रीले गर्नु अपवादजस्तो मात्र देखिन्छ, हाम्रो बैंकको उद्घाटन प्रधानमन्त्रीले गर्नुभयो ।’ प्रधानमन्त्रीले उद्घाटन गरेको बैंकको एकीकृत कारोबार भने कोही कसैको उपस्थिति विनै सम्पन्न भयो । एउटा अर्को अचम्मको संयोग मान्नु पर्छ, सनराइज बैंकको उद्घाटन र लक्ष्मीसँग मर्जरको कार्यक्रममा स्थापनाकालदेखि लागेका मोतिलालको उपस्थिति हुन सकेन । एउटा बैंक अर्कोसँग मर्जरमा जाँदै गर्दा त्यो संस्थाको अध्यक्ष सहभागी हुनु अपरिहार्य नै हुन्छ । तर, त्यो अवसर मोतिलालले पाएनन्र । यस मानेमा उनी अभागी देखिए । उनले आफ्नो आत्मकथामा भनेका छन्, ‘बैंक स्थापनामा धेरै संघर्ष गरे पनि उद्घाटन समारोहमा भने म उपस्थित भइनँ, उद्घाटन हुने निश्चित भएपछि नै दाइ तोलाराम दुगडलाई मैले भनें, ‘उद्घाटनको कार्य तपाईं गराउनुहोस्, मलाई किन-किन उद्घाटनका दिन धर्मगुरूकहाँ पुग्ने ईच्छा जागृत भएको छ । ठूल्दाइले मेरो निर्णयप्रति आपत्ति व्यक्त गर्नुभयो र भन्नुभयो, ‘तिमीले नेतृत्व लिएर बैंकलाई स्थापनाको चरणसम्म पुर्याएका छौ, यति धेरै मिहिनेत गरेका छौ, उद्घाटनका दिन तिमी आचार्यश्रीकहाँ नजाऊ । तर, मैले विनम्रतापूर्वक आफ्नो कुरा राखेपछि दाईले स्वीकृति दिनुभयो, यसरी दाईको अनुमति लिएर म राजस्थानको उदयपुरमा त्यसबेलाका धर्मगुरू आचार्यश्री महाप्रज्ञको दर्शन गर्न गएँ, आचार्यश्रीको दर्शनपछि उहाँलाई मैले मेरो त्यस्तो अनौठो ईच्छा जागृत भएको जाहेर गरेपछि उहाँले पनि अचम्म मान्नुभयो । त्यसपछि मैले सनराइज बैंकको स्थापना भई आज उद्घाटन हुने जानकारी दिँदै आशीर्वाद दिन आग्रह गरेकोमा उहाँ मुस्कुराउनु भयो र प्रसन्न मुद्रामा मङ्गल पाठ सुनाई आशीर्वाद दिनुभयो । आचार्यश्रीको आशीर्वाद प्राप्त हुँदा मेरो हृदय खुसीले गदगद् भयो र आफ्नो निर्णयप्रति अझै बढी सन्तुष्टि महसुस गरेँ ।’ आज पनि लक्ष्मीसँग एकीकृत कारोबारका दिन उनी सहभागी भएनन् । उनी निकटका स्रोतसँग बुझ्दा उनी सञ्चालक बन्न नपाएको कारणले कार्यक्रममा सहभागी हुन सकेनन् । स्थापनाकालदेखि अध्यक्ष, अन्ततः नेतृत्वविहिन १६ वर्ष पुगेको सनराइज बैंकमा दुगड ग्रुपको बहुमत सेयर छ । त्यसैले पनि सनराइजको नेतृत्वमा दुगड परिवारले नै अवसर पायो । वि.सं. २०६८ सालसम्म मोतिलालका दाजु तोलाराम दुगड अध्यक्ष बने । तर, २०६८ जेठ १५ गते उनको निधन भएपछि सञ्चालक समितिको अध्यक्ष बन्ने अवसर मोतिलालले पाए । ‘बैंक स्थापनाको सपना देख्नेदेखि संस्थापक सञ्चालक समितिको सदस्यकाे रूपमा समेत काम गरिसकेको हुनाले साथीहरूले यो जिम्मेवारी मलाई सुम्पेको हुनुपर्छ, मैले अध्यक्ष पद सम्हालेपछि रिक्त रहेको सदस्य पदमा भने दाई तोलाराम दुगडको छोरा मालचन्द दुगड नियुक्त भए, सञ्चालक साथीहरूले जिम्मेवारी दिएपछि म लगभग १० वर्षदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष छु,’ उनले आत्मकथामा उल्लेख गरेका छन् । उनी ११ वर्षसम्म सनराइज बैंकको अध्यक्ष बने । तर, लक्ष्मीसँग मर्जर हुँदा उनी सञ्चालक समितिको सदस्य पनि बन्न सकेनन् । आफ्नो नेतृत्वमा सनराइज बैंकले धेरै प्रगति गरेको उनको दाबी छ । अन्ततः उनी नेतृत्वविहिन अवस्थामा पुगेका छन् । स्रोतकाअनुसार उनले आफ्नो नाममा रहेको कर्जा अर्कै बैंकमा सिफ्ट गर्न खोजिरहेका छन् । त्यसपछि सञ्चालक बन्ने प्रयासमा उनी छन् । सनराइज स्थापनाको त्यो संघर्ष सनराइज बैंक स्थापनामा मोतिलाल दुगड र उनका दाई स्वर्गीय तोलाराम दुगडले ठूलो संघर्ष गरेका थिए । त्यतिखेर उनको व्यवसाय टीएम ग्रुप अन्तर्गत थियो । व्यापार व्यवसायमा मात्रै सीमित उनको परिवारले अब बैंक तथा बीमा क्षेत्रमा पनि प्रवेश गर्नु पर्छ भन्ने योजना बनाएपछि बैंक खोल्ने चरणमा पुगेको हो । ‘बैंक र बीमा कम्पनी दुवै एकैपटक स्थापना गर्न सजिलो थिएन, त्यसका लागि एकातिर ठूलो लगानीको आवश्यकता पर्थ्याे भने अर्कोतिर एउटै परिवारले निश्चित प्रतिशतभन्दा बढी शेयर लिन नपाउने कानूनी प्रावधान थियो, त्यसैले हामीले सबैभन्दा पहिले सम्भावित अन्य लगानीकर्ताहरू खोज्ने काम थाल्यौ, अन्य व्यावसायिक समूहहरू बैंक स्थापनाका लागि हामीसँग जोडिए र बैंक स्थापना गर्न तम्सियौं,’ दुगडले आत्मकथामा लेखेका छन् । त्यतिबेला राष्ट्र बैंकले बैंकका लागि लाइसेन्स नदिने भन्ने हल्ला पनि चलिरहेको थियो । त्यो हल्लाकाबीच उनकोे परिवार पनि छिटोछिटो बैंक दर्ता गर्नु पर्छ भनेर लाग्यो । मोतिलालकै दाई तोलाराम दुगडको सल्लाह र स्वीकृतिमा बैंकको नाम सनराइज राखेको उनको आत्मकथामा उल्लेख छ । सनराइज बैंक स्थापना गर्दा धेरै संघर्ष गर्नु परेको विषय पनि उनले उल्लेख गरेका छन् । सनराइज बैंक स्थापना गर्दा बैंकको नियमन विभागको प्रमुख सुरेन्द्रमान प्रधान थिए । तिनै प्रधान राष्ट्र बैंकबाट अवकाश भएपछि त्यही सनराइज बैंकको सीईओ बन्न आएका थिए । ‘नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुनासाथ अघि बढ्न सजिलो होस् भनेर हामीहरू निवेदन दर्तापछि पनि अन्य आवश्यक कामहरूमा निरन्तर जुटिरह्याैं, नेपाल राष्ट्र बैंकमा गएर निवेदनमाथि के भइरहेको छ भनेर बेलाबेला बुझ्ने काम गरिरह्यौं, निरन्तरको प्रयत्नपछि निवेदन दिएको करीब ६ महिनाभित्र हामीले नेपाल राष्ट्र बैंकबाट सनराइज बैक लि. स्थापनाका लागि लेटर अफ इन्टेन्ट (एलओआई) प्राप्त गर्यौं,’ दुगडले भनेका छन् । सम्बन्धित सामग्री : जसले कारागारमै सुने आफैले जन्माएको बैंक विलयको सन्देश अब कतै सुनिने छैन ‘बैंक अफ काठमाण्डू’ (भिडियोसहित) सेञ्चुरी नाम राखेर १०० वर्ष पुरा गर्ने योजना बनाएको बैंक १२ वर्षमै विलय
नेपाल टेलिकमले ल्यायो समर अफर, ५०० रुपैयाँमा २० जीबी डाटा
काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समर अफर अन्तर्गत विभिन्न डाटा प्याक अफरहरु ल्याइएको छ । जसअनुसार अल टाइम डाटा प्याक अन्तर्गत ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८०० रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ । यसैगरी सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने कम्पनीको भनाइ छ । मेसिन टु मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको पनि टेलिकमले जनाएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको जनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युजेज पोलिसी बमोजिम तोकिएको परिमाण उपभोग पछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको कम्पनीले जनाएको छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ ।
डिजिटाइजेशन र कार्यान्वयन हुने बजेट ल्याउन निजी क्षेत्रको सुझाव
काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउन लागेको बजेटका सम्बन्धमा निजी क्षेत्रसंग छलफल गरेको छ । बोर्डमा आयोजना गरिएको छलफलमा विगत वर्षहरुको बजेटको समीक्षा सहीत नयाँ बजेटबारे निजी क्षेत्रको राय सुझाव माग गरिएको थियो । छलफलका क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले बोर्डको बजेट डिजिटाइजेशनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा परम्परागत भन्दा पनि नयाँ ढंगले गर्न बोर्डलाई सुझाव दिएका छन् । यस्तै निजी क्षेत्रले बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तरराष्ट्रिय कार्यक्रमहरुमा निजी क्षेत्रको सहभागीतालाई बढि भन्दा बढि सहभागिता गराउन पनि सुझाव दिएको छ । बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्रमैत्री हुने बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए । उनले छलफलका क्रममा निजी क्षेत्रबाट रचनात्मक सुझाव आएको उल्लेख गर्दै ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रुप दिइने बताए । बोर्डको मुख्य काम नै पर्यटन प्रवर्द्धन रहेको परिप्रेक्ष्यमा निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयनमा सहजता लयाउने बजेट समितिका संयोजक तथा बोर्ड सदस्य मिलन देवकोटाले जानकारी दिए । उनले बोर्डले आर्थिक वर्ष २०८०–०८१ का लागि करिब सवा अर्ब रूपैयाँ भित्रको बजेट ल्याउने तयारी गरेको समेत जानकारी दिए । संयोजक देवकोटाका अनुसार आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रर्वद्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ । छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफक एशोसिएसन अफ ट्रावल ऐन्टस (पाटा) ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल (टान) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा) , नेपाल रफिटिङ एजेन्सिज (नारा) नेपाल माउण्टेनियरिङ एशोसिएसन (एनएमए) एनटीभिए, एनटीबीए, सोट्टो, लयायतका संस्थाहरुका प्रमुखहरुले बोर्डको आगामी बजेटका सम्बनधमा आफ्ना सुझाव दिए ।