आजदेखि स्वचालित मूल्य लागु गर्दै निगम, एलपी ग्यासको मूल्य घट्ने
काठमाडौं । लामो समयको तयारी पश्चात नेपाल आयल निगमले आइतबारदेखि स्वचालित मूल्य प्रणाली लागु गर्ने भएको छ । भारतबाट आएको नयाँ मूल्य सूचिका आधारमा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्न लागेको हो । सरकारले आगामी आर्थिक वर्षकोे बजेटमा नै निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजाने उल्लेख गरेको थियो । सरकारको नीति अनुसार नै लामो समयको गृहकार्य पश्चात निगमले स्वचालित मूल्य प्रणाली लागु गर्न लागेको हो । स्वचालित मूल्य प्रणाली लागू भएपछि आइओसीबाट आएको नयाँ मूल्यका आधारमा निगमले नेपालमा मूल्य समायोजन गर्नुपर्छ । भारतबाट बढेर आउँदा नेपाली बजारमा मूल्य बढ्नुपर्छ भने घटेर आएको घट्नुपर्छ । इण्डीयन आयल कर्पाेरेशनले शनिबार साँझ पठाएको नयाँ भाडामा खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ । भारतबाट आएको नयाँ मूल्य सूचि अनुसार खाना पकाउने एलपी ग्यासमा एक सय रुपैयाँसम्म मूल्य घटाएर सो प्रणाली सञ्चालन गर्ने तयारी भएको निगम स्रोतले बतायो । बढेर आयो डिजेलको मूल्य भारतबाट डिजेलको मूल्य बढेर आउँदा पेट्रोलको मूल्य घटेर आएको निगमले जनाएको छ । आइओसीले शनिबार साँझ पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको हो । आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार, मासिक ७० हजारभन्दा बढी आम्दानी
गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे । ‘अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो’, उनले भने, ‘सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।’ उनी अष्ट्रेलियामा काम गर्दा मासिक दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए । छ वर्ष अघि स्वदेश फर्केका उनले मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेको छन् भने तीन जनालाई जागिर पनि दिएका छन् । होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, ‘पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।’ आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए । उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेको छन् । उनीहरुले मासिक १७ हजारका दरले पारिश्रमिक पाउछन् । ‘मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ’, उनले भने । पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताए । ‘एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ’, उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । रासस
काभ्रेमा ‘प्याराग्लाइडिङ’ उडान सुरु, कति लाग्छ शुल्क ?
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरे । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताए । ‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमासमेत वृद्धि हुनेछ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि उक्त प्रालिलाई औपचारिक (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) उडानको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको जनाउँदै आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गर्न लागिएको हो । धुलिखेलमा एकैपटकमा छवटा उडान भर्न सकिने छ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानवापत तिरिएको सात हजार रुपैयाँमा ३७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको उनले बताए । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कले घुम्न र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यस्तै गतसाल पुस अन्तिम साताबाट पनौती नगरस्थित पर्यटकीय पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान भइसकेको छ । प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङको अनुमति दिएको थियो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप माघदेखि परीक्षण उडानसँगै डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्यान्डिङ’का स्थान व्यवस्थित गरी व्यावसायिक उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । उनका अनुसार सुरुआती चरणमा तीन प्याराग्लाइडिङबाट ‘डेमोष्ट्रेशन’ उडान गरिएको थियो भने क्रमशः दश वटाले प्याराग्लाइडिङबाट समेत उडान सञ्चालनमा ल्याइएको छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति पाएको थियो । उक्त प्रालिले दैनिक १० प्याराग्लाइडिङले विहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । हाल प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुमडाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटनमा थप प्रचारात्मक हुने अपेक्षा गरिएको पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा अपेक्षा गरिएको छ । यसैगरी काभ्रेकै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि कही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । उक्त क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेमा अधिकांश पहाडी भू–भाग रहेकाले साहसिक खेल प्याराग्लाइडिङ प्रवर्द्धनका लागि प्रचुर सम्भावना देखिएको हो । रासस
कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना
झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ’, उनले भने, ‘भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।’ नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उनको भनाइ छ । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ । ‘बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ’, उनले भने, ‘यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।’ नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । रासस
आइएमई लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले मिति २० असार ०७४ मा नेपाल बिमा प्राधिकरणबाट जीवन बिमाको कार्य गर्ने इजाजतपत्र गरी मिति १ साउनदेखि बिमा व्यवसाय गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी ५०० करोड तथा जारी तथा चुक्ता पुँजी ४०० करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क कमाएको छ । साथै, सोही अवधिसम्ममा कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख सञ्चिति रहेको छ भने जीवन बिमा कोषमा ६ अर्ब सात करोड ७३ लाख रहेको छ । तेस्रो त्रयमाससम्म कम्पनीको खुद नाफा १८ करोड २४ लाख रहेको छ भने यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ४३ रुपैयाँ ६७ पैसा रहेको छ ।
‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’
जानकी । बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन् । मौसमअनुसार बारीमा फलाइएका तरकारी बेच्ने शान्तिलाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्कन्छिन् उनी । ‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन्’, उनले भनिन्, ‘आफ्नै बारीमा फलेको हुनाले टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो । कति किलो ल्याइएको हुन्छ भन्ने थाहा नभए पनि बोकेर ल्याइएका सबै तरकारी बेचेर फर्कन्छु ।’ शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएको बताइन् । प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउँछिन् । उनले यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाई गरेको बताइन् । ‘दैनिक आम्दानी थोरै भनेको रु तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्मको भइरहन्छ । हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर एक लाख ९५ हजारको कमाई भएको रहेछ ।’ तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उनले बताइन् । शान्तिको चार छोरीसहित छ जनाको परिवार छन् । शान्तिले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँदै आएकी छिन् शोभारानी थारूले पनि । पचपन्न वर्षीया शोभारानीको आम्दानी दैनिक दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्मको हुने गर्दछ । उनले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन् । ‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको पाँच हजार पाँच सयसम्मको आम्दानी गरेको छु’, उनले भनिन् । शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७ः०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्छन् । यो समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायतका हरियो तरकारी बेच्दै आएकी छिन् । साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न सुरु गरेको शोभारानीले बताइन् । सुरु–सुरुमा लाज लागेको बताउने उनले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताउँछिन् । ‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुञ्जेल यही नै गर्ने हो’, शोभारानीले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्ने गर्छिन् । शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैँले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्ने गर्छिन् । उनले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भएको छ । तरकारी बेच्नुभन्दा पहिला उनले ज्याला मजदुरी गर्थिन् । आफूले दिनभरि काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उनले पनि बारीमा फलेका तरकारीलाई बजार भाउ दिन सुरु गरिन् । ‘पहिला–पहिला त मैले ज्याला मजदुरी गर्थेँ । दिनभरि काम गर्दा जम्मा पाँच सयमात्र कमाइ हुन्थ्यो । थकाइ पनि उस्तै । जब मैले छिमेकीहरूले बारीमा फलेको तरकारी बेचेर एकै दिनमा पाँच हजारसम्म कमाएको थाहा पाएँ, त्यसपछि मैले पनि उनीहरूसँगै बारीमा फलेका तरकारी बजार लगेर बेच्न सुरु गरेँ’, सुबिनाले भनिन्, ‘अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपर्थ्यो । सानै भए पनि यो त आफ्नै व्यापार हो । बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ ।’ तरकारी बेचेरै सुबिनाले पनि एक बिहान तीन हजार पाँच सय हाराहारीमा आम्दानी गर्ने गर्छिन् । उनी दिन बिराएर तरकारी बिक्री गर्न नेपालगन्ज आउने गर्छिन् । तरकारीबाट राम्रो आम्दानी हुन थालेछि सुबिनाले बारीमा व्यावसायिक खेती गर्न सुरु गरेको बताइन् । ‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो । अहिले तरकारीबाट सोचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लगाएर व्यावसायिकरूपमा तरकारी लगाउने गर्छु ।’ तरकारी फलाउनमा सुबिनाको श्रीमानले सहयोग गर्नुका साथै ज्याला मजदुरको काम पनि गर्छन् । उनका एक छोरा र एक छोरी छन् । चार जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ । अरुको काम गरेर ज्याला मजदुरीका रूपमा चिनिनुभन्दा सानै भए पनि आफ्नै व्यापार गरेर आत्मसन्तुष्टि भएको सुबिना बताउछिन् । ‘अहिले म निकै खुसी छु । अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुुट्टै मज्जा छ’,उनले भनिन्, ‘सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ ।’ नेपलागन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अर्गानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजाने गर्दछन् । बिहान सडक सुनसान हुने र १०ः०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले पाँच–छ देखि १०ः०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए । विगत केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अग्र्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन् । रासस
जनकपुर–जयनगर रेलसेवा आजदेखि बिजलपुरासम्म सञ्चालन हुने
काठमाडौं । भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज (शनिवार) रेल सेवाको शुभारम्भ गर्दै छन् । जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ । सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो । ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ । सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए । यद्यपि भङ्गाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ । रासस
अधिकांश बैंकले ब्याज घटाउँदा नबिल र प्राइमले बढाए, कुन बैंकको कति ?
काठमाडौं । साउनमा वाणिज्य बैंकहरुको ब्याजदर अस्थिर बनेको छ । साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले भने बढाएका छन् । यसअघि लामो समयदेखि बैंकहरुबीच समझदारी अनुसार ब्याजदर निर्धारण गर्दै आएका थिए । साउनमा भने आफूखुशी ब्याजदर निर्धारण गरेका हुन् । लामो समयदेखि ब्याजदरमा कार्टेलिङ गर्दै आएका बैंकहरुले साउनबाट राष्ट्र बैंकको निर्देशनअन्तर्गत रहेर ब्याजदर निर्धारण गर्नेछन् । साउनमा अधिकांश बैंकहरुले ब्याजदर घटाए पनि नबिल बैंक र प्राइम बैंकले भने बढाउने निर्णय गरेका हुन् । नेपाल बैंकर्स संघले बैंकको अनुकुलता अनुसार ब्याजदर थपघट गर्न पाउने गरी सम्झौता भंग गरेपछि सोही अनुसार थपघट गरेका हुन् । साउनमा बैंकको निक्षेपको ब्याजदर घटबढ गरेपनि कर्जाको ब्याजदर सबै बैंकले घटाएका छन् । अधिकांश बैंकहरुको आधार दर समेत घट्दो क्रममा छ । कर्जामा सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिन्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोड्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ८.२४ प्रतिशतमा झरेको छ । साथै, बैंकले १.५ प्रतिशतसम्म प्रिमियम लिने बताएको छ । अधिकांश बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने बताएका छन् । सोही अनुसार बैंकहरुको कर्जाको ब्याजदर निर्धारण हुनेछ । नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, बैंकले संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशतसम्म ब्याजदर तोक्ने भएको हो । बैंकले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, प्राइम कमर्सियल बैंकले पनि साउनमा ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशतदेखि अधिकतम ७.९३ प्रतिशत र रेमिट्यान्स खातामा ९ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ८.९३ प्रतिशत, ब्यक्तिगततर्फ १०.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले साउनमा ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्नेछ । यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोक्नेछ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोक्नेछ । मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत, ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ । त्यस्तै, माछापुच्छ्रे बैंकले बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले कर्मशील खाता र रेमिट्यान्स बचत खातामा भने ७.८५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत, ब्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्स खातामा १० प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, प्रभु बैंकले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस्तै, एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, लक्ष्मी सनराइज बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस्तै, नेपाल एसबिआई बैंकले सबै बचत खातामा ६.४० प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.१० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, एनएमबि बैंकले बचत खातामा न्यूनतम ५.९८ प्रतिशतदेखि अधिकतम ८.९८ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.७५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस्तै, हिमालयन बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, कुमारी बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, कृषि विकास बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस्तै, नेपाल बैंकले बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ७.६६ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९क प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।