ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असारमा बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले बचत खातामा १० प्रतिशत ब्याजदर घटाएको हो । यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर नै कायम राखेको हो । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदर आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर दिन सक्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकको ब्याजदरसँगै आधारदर पनि घट्यो, प्रिमियम १.५ प्रतिशतमा झर्याे
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यसअघि असारमा बैंकले न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले साधारण बचत खातासँग मुद्दति निक्षेपमा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । यसअघि सोही ब्याजदर ७.९९ र ९.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर पनि घटेको छ । हाल ८.४४ प्रतिशत रहेकोमा साउनमा ८.२४ प्रतिशत कायम हुनेछ । हाल बैंकको ब्याजदर अन्तर ४.०५ प्रतिशत छ भने साउनमा ४.०३ प्रतिशत कायम हुनेछ ।
सिटिजन लाइफको २५७ रुपैयाँमा आईपीओ बिक्री खुला, कति आवेदन दिने ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीले ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कर्मचारीका लागि र बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।
सवा अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड, यस्ता छन् प्राथमिकता
काठमाडौं । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्णरुपमा चलायमान बनाउनका लागि बोर्डले रु एक अर्ब २५ करोड बराबरभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आगामी वर्षका लागि करिब एक अर्ब २५ करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरिएको र उक्त बजेटमध्ये झण्डै ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा खर्च योजना रहेका बताए । बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ । ‘कूल बजेटको ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने योजना छ । मुख्य रुपमा भारत, चीन तथा सिङ्गापुर, मलेसियालगायत दक्षिणपूर्वी एशियाली मुलुकलाई प्राथमिकतामा राखेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । पुराना गन्तव्यका रुपमा बेलायत र अमेरिकालाई पनि प्राथमिकता दिइनेछ’, निर्देशक लामिछानेले भने । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निकट भविष्यमै अष्ट्रेलियामा पनि सिधा उडान गर्ने योजना बनाएकाले बोर्डले अष्ट्रेलिया गन्तव्य प्रवर्द्धनको योजना बनाएको निर्देशक लामिछानेको भनाइ छ । उनले पछिल्लो समय अष्ट्रेलियाबाट पनि पर्यटक आगमन वृद्धि भइरहेकाले बजारीकरणलाई प्राथमिकता दिएको बताए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कूल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए । यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो । अघिल्ला महिनामा पनि भारत, अमेरिका, चीन, बङ्गलादेश, अष्ट्रेलियालगायत मुलुकबाट बढी पर्यटक नेपाल भित्रिएको बोर्डले उल्लेख गरेको छ । यसैबीच बोर्डले आगामी आवको बजेटबारे हालै निजी क्षेत्रसँग छलफल गरेको छ । छलफलमा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बोर्डको बजेट डिजिटाइजेशनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका थिए । होटल सङ्घ नेपाल (हान), प्यासिफक एशोसिएशन अफ ट्रावल एजेन्ट (पाटा) ट्रेकिङ ऐजेन्सिज एशोसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा), नेपाल रफिटिङ एजेन्सिज (नारा) नेपाल माउण्टेनियरिङ एशोसिएशन ९एनएमए० एनटीभिए, एनटीबीए, सोट्टो, लयायतका संस्थाबाट प्राप्त सुझावका आधारमा प्राथमिकता निर्धारण गरिएको बोर्डको भनाइ छ ।
इक्यानको अध्यक्षमा भट्टराई विजयी
काठमाडौं । शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गरेका छन् । विद्युतीय मतदान प्रणालीबाट भएको निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए । कार्यसमितिको उपाध्यक्षहरूमा लन्ड्रयु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री, गीता शिवाकोटी (गीताञ्जली) र महासचिवमा दीपक भुसाल निर्वाचित भएका छन् । सचिवमा भावनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई तथा कोषाध्यक्षमा आशिष कार्की विजयी भएका छन् ।
समाजवादी प्रेस संगठनद्वारा पत्रकार धम्क्याउने प्रसाईंलाई कारबाहीको माग
काठमाडौं । समाजवादी प्रेस सङ्गठनले विकास न्यूज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडललाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कानुनी कारबाही माग गरेको छ । सङ्गठनका महासचिव रामकुमार एलनले आज एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारमाथि ज्यान मार्ने धम्की दिने कार्यको निन्दा गर्दै उक्त घटनामा संलग्न सबैलाई तत्काल कारबाही गर्न आग्रह गरे । विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र प्रेसमाथि विभिन्न व्यक्ति, संस्था वा राज्य जुनसुकै पक्षबाट भएरगरेका धम्की दिने कार्यप्रति हाम्रो सङ्गठन विरुद्धमा रहने छ ।’ विज्ञप्तिमा विभिन्न पत्रकार तथा सञ्चारगृहलाई समाचार प्रकाशित गरेवापत पटक–पटक धम्क्याउने व्यक्ति तथा समूहलाई कडा कारबाही गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्य पौडेललाई आफ्ना विरुद्ध समाचार नलेख्न भन्दै प्रसाईँले धम्की दिएका थिए । रासस ।
देश परिवर्तनका लागि शिक्षा क्षेत्रको परिवर्तन आवश्यक : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । परिवर्तन अभियान नेपालले आज काठमाडौंको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण परीक्षार्थी र विद्यालयलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले नेपालको शिक्षा क्षेत्रलाई नयाँ तरिकाबाट सुरुआत गर्न जरुरी रहेको बताएका हुन् । ‘मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्छ, नयाँ तवरले अगाडि बढ्नुपर्छ’, उनले भने । उनले आफ्नो रुचिअनुसारको विषय पढेमात्र सफलता हासिल हुने भएकाले सोहीअनुसार अगाडि बढ्न विद्यार्थीलाई आग्रहसमेत गरे । उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको भन्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले शिक्षा क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रम अघि सारेको बताए । हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव हुने उनको भनाइ छ । नगरप्रमुख महर्जनले पछिल्लो समय तारकेश्वरले शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेको उल्लेख गरे । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौं महानगरपालिका वडा नं १६ का सभापति मुकुन्द रिजालले बेरोजगार युवालाई सीपसहितको शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको बताए । विद्यार्थीलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्ने गरी उच्च शिक्षा अध्ययन गर्न उनले सुझावसमेत दिए । परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले परिवर्तन अभियान नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताए । कार्यक्रममा तारकेश्वर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयबाट ‘जिपिए ४’ ल्याउने विद्यार्थी र त्यस क्षेत्रका झन्डै ९० विद्यालयलाई सम्मान गरिएको थियो । यसवर्ष तारकेश्वर नगरपालिकाबाट दुई हजार आठ परीक्षार्थी एसइई परीक्षामा सहभागी थिए । परिवर्तन अभियान नेपालका सदस्य माधव शर्माले हामीले खोजेको परिवर्तन के हो र अबको शिक्षा प्रणाली कस्तो बनाउने भन्नेबारे बहस आवश्यक रहेको बताएका थिए ।
भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ । चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् । भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ । सरकारी तथ्याङ्कलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।