कालीमाटी तरकारी बजारले भाडाबाटै उठाउँछ वार्षिक १८ करोड, साउनबाट १५ प्रतिशत भाडा बढाउने निर्णय
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वार्षिक १८ कराेडभन्दा बढी भाडा उठाउने गरेकाे छ । यसरी भाडाबाट उठाएकाे सबैजसाे रकम तकारी बजार सञ्चालनमै खर्च हुने गरेकाे समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । समितिले चालु आर्थिक वर्ष २०७९/८० मा समितिले भाडा र शुल्कबाट १८ करोड ७८ लाख १९ हजार १९१ रुपैयाँ आम्दानी हुने लक्ष्य लिएको थियो । तर, समितिले १७ करोड ८२ लाख १० हजार ६६७ रुपैयाँ मात्रै आम्दानी गर्न सकेको बताएको छ । ‘उठेको भाडा र शुल्क हाम्रो आम्दानी खातामा जम्मा हुन्छ, जम्मा भएको रकमबाट नै प्रशासनिक, कर्मचारी, बजार संचालनमा खर्च गर्ने हो, सबै खर्च कटाएर जम्मा भएको रकम हामी पूर्वाधारमा पनि लगानी गर्छौं,’ श्रेष्ठले भने । समितिले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि साउनबाट लागु हुने गरी सटरको भाडा वृद्धि गरेको छ । समितिले बजारभित्र सञ्चालनमा रहेका सटर तथा स्टलको भाडा १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको बताएको छ । बोलपत्र आव्हानबाट आएका व्यवसायीले सञ्चालन गरेको सटरमा १० प्रतिशत र पुराना व्यवसायीको सटरमा १५ प्रतिशतका दरले भाडा बढाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अर्को वर्ष २०८१/८२ बाट भने हरेक वर्ष १० प्रतिशतका दरले भाडा बढाउँदै जाने निर्णय भएको छ । समितिले सटर वा स्टलको वर्ग फिटको आधारमा भाडा लिँदै आएको छ । व्यवसायीहरूले प्रयोग गरेको ठाउँको स्क्वायर फिट अनुसार समितिले भाडा लिने गरेको श्रेष्ठले बताए । समितिको प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७९/८० मा ३११ व्यवसायीले कालीमाटी बजारमा व्यापार गरिरहेका छन् । त्यसमध्ये आलु तथा प्याजका थोक बिक्रेता ९० जना छन् भने ताजा तरकारीका थोक बिक्रेता १०१ वटा छन् । यस्तै, विभिन्न संघ संस्था तथा कृषि समुदायहरूले १७ वटा सटर तथा स्टल भाडामा लिएका छन् । फलफूलका १५ वटा, मसलाजन्य सामाग्रीका १०, कृषि उपज र बिउ विजनका ५, खुद्रा व्यापारका लागि ६४ स्टल प्रयोगमा छन् । समितिले कार्यालय प्रयोजनका लागि ६ वटा कोठा भाडामा लिएको छ । त्यसैगरी, चमेना गृह तथा भोजनालय प्रयोजनका लागि ४ स्थान उपलब्ध गराएको छ । समितिले सबैभन्दा बढी भाडा चमेना गृह तथा भोजनालयबाट लिने गरेको छ । बजारभित्र प्रवेश शुल्क संकलन, शौचालय शुल्क संकलन, सुरक्षा सेवा लगायतका लागि पाँच वटा कम्पनीले जिम्मा लिएका छन् । श्रेष्ठका अनुसार समितिले बन्दसटर बोलपत्र आव्हान गरेर भाडामा दिएको दिँदै आएको छ । समितिले बजार भित्र सटर १८, होलसेलका ४५० सटर र ख्रुदा व्यपारका ६०/६५ स्टलहरू रहेको पनि श्रेष्ठले बताए । ९५ राेपनी जग्गाकाे स्वामित्व कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत काठमाडौं भित्रै ९५ रोपनी जग्गा रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये, कालिमाटी बजारमा ४५ रोपनी, बालाजुमा २ रोपनी ११ आना, चोभारमा २३ रोपनी १ आना छ भने नौविसेमा ४ रोपनी ५ आना रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । ब्यवसायी भन्छन् : व्यापार खस्कियो कालीमाटीमा तरकारीको थोक तथा खुद्रा व्यापार गर्ने व्यवसायीहरु पछिल्ला दिनमा व्यापार खस्किएको बताउँछन् । काठमाडौंमा धेरै ठाउँमा तरकारीको थोक बिक्री केन्द्र खुलेकाले कालिमाटीको व्यापारमा घटेको उनीहरू बताउँछन् । ‘पहिला बिहानको ३ बजेदेखि व्यापार हुन्थ्यो, ८ बजेटसम्म तरकारी बेचेरै फुर्सद पाइँदैनथ्यो । दिउँसो पनि मानिसको उत्तिकै भीड हुन्थ्यो । अहिले विहान केहीबेर बेचेपछि ग्राहकको पर्खाइमै दिन बित्छ ।’
राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ११ वटा शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर , मोरङ्ग जिल्ला स्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्ला स्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्ला स्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्ला स्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्ला स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्ला स्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरिएको छ । यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।
चालु आवको अन्तिम सेयर कारोबार सकारात्मक, नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव १५ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको सेयर मूल्यमा भने बढोत्तरी भएको छ । कूल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १९ करोड १३ लाख ११ हजार तीन सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स १ करोड ६९ लाख ४५ हजार, माउण्टेन इनर्जी नेपाल नौ करोड ८४ लाख ९१ हजार नौ सय ८० रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स सात करोड ६२ लाख ७४ हजार आठ सय पाँच रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स सात करोड ५९ लाख ९८ हजार आठ सय ८१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, सनराइज फोकस्ड इक्विटी फण्ड १०, एनआइविएल नौ दशमलव ९२, सानिमा ग्रोथ फण्ड नौ दशमलब ९०, सिटिजन म्युचुअल फण्ड नौ दशमलव ८३ र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले नौ दशमलव ४१ प्रतिशतले कमाएका छन् । यस्तै, लिवर्टी इनर्जी पाँच दशमलव ९६, मकर जितुमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८३, मञ्जुश्री फाइनान्स तीन दशमलव ९४, हिमालयन हाइड्रोपावर तीन दशमलव ८६ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले तीन दशमलव ७१ प्रतिशतले गुमाएका छन् ।
हिमालयन ब्रोक्रेज ‘ब्रोकर नम्बर ६३’ ले थाल्यो कारोबार, बालिकाले गरिन उद्घाटन
काठमाडौं । भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनीले आफ्नो कारोबार शुभारम्भ गरेको छ । गत बिहीबार कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा कारोबार शुभारम्भ गरिएको हो । कम्पनी प्रवद्र्घक समुह जोय ग्रुपका अध्यक्ष सागर ढकाल एवम् सञ्चालक र कर्मचारीहरूको उपस्थितिमा सानी बालिका आरजु पौडेलले सफ्टवेयर पद्वतिमा आधारित बटम क्लिक गरी सेयर ट्रेडिङ शुभारम्भ गरेका थिए । योसँगै पुँजी बजारको क्षेत्रमा नयाँ कम्पनीहरूले आफ्नो कारोबार थालेका छन् । कारोबार शुभारम्भको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षणलाई सम्बोधन गर्न कम्पनी पूर्ण प्रतिवद्घ रहेको बताउँदै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सदृढ, विश्वसनीय र प्रतिफलमूलक बनाउँदै लगिने विश्वास व्यक्त गरे ।
जयनगर–कुर्था खण्ड महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालनमा
काठमाडौं । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् । कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आईतवारदेखि रेल सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गरेका हुन् । रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । उनले जयनगर विजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताए । रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुघार हुने विश्वास लिएको बताए । मन्त्री ज्वालाले बर्दिवासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको बाए । उनले निजगढदेखि काठमाडौंसम्मको डिपिआर तयारी भएको भन्दै निर्माणको लागि सरकार छलफलमा रहेको जानकारी दिए । उनले सरकारले रेल यातायातलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने सरकारको तयारी रहेको बताए । ठेक्का लागेका आयोजनाहरुको निर्माण कार्य विभिन्न कारणले निमार्ण कार्य रोक्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्नेमा जोड दिए । उनले सरकारले मधेस प्रदेशलाई प्रमुख प्राथमिकता दिएको बताए । मधेसमा मिटरव्याजी,लघुवत्त समस्या समाधान सरकार प्रतिबद्ध रहेको जानकारी दिए । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन शुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एक पटक रेल सञ्चालन गरिने बताए । ‘दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट विजलपुरा जनकपुर क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने, अब रेल्वे कम्पनी सधँ घाटा नाफाको समाचार भन्दा पनि दीर्घकालीन सेवा विस्तार गरि कम्पनी आफ्नो क्षमतामा चल्नसक्ने बनाउने, कम्पनीले यो क्षेत्रमा आवश्यकतालाई हेरेर आगामी दिनमा रेल थप गर्ने, त्यसका लागि कम्पनीले योजना बनाएर अघि बढेको’, उनले भने । कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएपनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा बिस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।
आधा दर्जन गाडी लिलाम गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका आधा दर्जन अर्थात ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने जानकारी गराएको हो । बैंकले पुराना सवारीसाधनको लागि न्यूनतम मूल्य तोकेर सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री खुला गरेको हो । लिलाम हुने सवारी साधनमा एउटा स्वराज माज्दा बस, चार वटा सेभ्रोलेट टाभेरा र एउटा महिन्दा स्कारपियो पिकअप रहेको छ । जसको न्यूनतम लिलाम मूल्य र बोलपत्र फारम दस्तुर छुट्टाछुट्टै रहेको राष्ट्र बैंकले बताएको छ । बैंकले न्यूनतम लिलाम मूल्य ४ लाखभन्दा माथि र १२ लाख रुपैयाँ भन्दा तल तोकेको छ । यससँगै इच्छुकले तोकिएको न्यूनतम मूल्यभन्दा बढी हुने गरी साउन १४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार लिलाम सम्बन्धी बोलपत्र स्वीकृत भएका व्यक्ति, फर्म वा कम्पनीहरुले एनएमबि बैंकमा राखेका उक्त धराटी रकम लिलाम सरकारको सवारी साधनहरु नामसारी भएपछि मात्रै फिर्ता गरिने छ । इच्छुकले बालुवाटारस्थित राष्ट्र बैंकको सेवा विभागमा गई ती सवारीसाधनको बारेमा विस्तृत रुपमा बुझ्न पनि सक्नेछन् । लिलाम भएको सवारी साधन हेर्न वा बुझ्न चाहनेले बिहान १० बजेदेखि दिउँसो ४ बसेसम्म राष्ट्र बैंकको केन्द्रिय कार्यालयको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा जानु पर्ने छ । कुन कुन सवारी साधान ?
लामो समयसम्म छालालाई जवानी राख्ने घरेलु उपाय
काठमाडौं । हरेक मान्छेलाई छिट्टै वृद्ध देखिन मन हुँदैन । आफ्नो छालालाई जवानी राखिरहन हर कोही मान्छेले सुन्दरताको उपचारमा निकै कोसिस गरिरहेको हुन्छ । जसको कारण एन्टी एजिङ कस्मेटिक उत्पादनहरुको मागमा पनि वृद्धि भइरहेको पाइन्छ । अनुसन्धानका अनुसार एन्टी एजिङ उत्पादनमा अधिकांश तत्व सुरक्षित रहेको छ, तर, यसको विषयमा थप अनुसन्धानको पनि आवश्यकता रहेको छ । यदि तपाईं एन्टी एजिङ कस्मेटिकमा पैसा खर्च गरिरहनु भएको छ भने आयुर्वेदमा पनि धेरै घरेलु उपायहरु छन् जसले एन्टी एजिङको काम गर्न सक्छ । तपाईंको अनुहारमा जहाँ नेर चाउरी परेको छ, त्यहाँ दैनिक रुपमा एलोभेराको जेल लगाउन सक्नुहुन्छ । जेल लगाएको २० मिनेटपछि यसलाई धुनु पर्छ । छालालाई छिटो वृद्ध हुनबाट रोक्ने यो सजिलो घरेलु उपाय हो । काँक्रा र मह मिसायर फेस मास्क बनाउन सकिन्छ । यसलाई अनुहारमा लगाएर सुकेपछि धुनुपर्छ । काँक्रोमा म्याग्नेसियम, भिटामिन ए र ई पाइन्छ । कागती र महमा पाइने निको पार्ने गुणले छालाको चाउरीपनालाई कम गर्न मद्दत पुर्याउँछ । सुख््खा छाला चिल्लो छालाको तुलनामा छिटो वृद्ध देखिन्छ । यदि तपाईंको छाला पनि सुख्खा छ भने आधा गिलास दुधमा आधा चम्चा तिल मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । १५ मिनेटपछि भिजेको कपडाले पुस्नुस । नियमित यसो गर्दा सुख््खा छालालाई नरम बनाउन मद्दत पुर्याउँछ । एन्टीअक्सिडेन्टले भरिपूर्ण मेथीले छालाको मृत कोशिकाहरुलाई हटाउन र छालामा चमक भर्न सहयोग पुर्याउँछ । यसका लाग मेथीलाई पिसेर नियमित रुपमा आफ्नो अनुहारमा लगाउन सकिन्छ । केराले कोलाजोन बढाउने र बुढ्यौली हुने प्रकृयालाई ढिलो गर्न मद्दत पुर्याउँछ । यसको लागि आफ्नो दैनिक खानामा केरालाई पनि समावेश गर्न सकिन्छ । साथै केरालाई पिसेर महमा मिसाएर अनुहारमा लगाउन सकिन्छ । सुकेपछि मनतातो पानीले धुनुपर्छ । नियमित रुपमा यस्तो गर्दा बुढेसकालसम्म छालामा युवापन रहिरहन मद्दत पुग्छ । त्यस्तै, चुरोट र रक्सी सेवन नगर्ने, धेरै चिनी नखाने र खानामा उम्रेको गेडागुडी, फलफूल, सागपात, दही, दुध, सुप जस्ता सन्तुलित खानेकुरा समावेश गर्दा पनि छालालाई राम्रो गर्छ । साथै नियमित योगा गर्नाले पनि छालालाई राम्रो बनाउँछ । एजेन्सीको सहयोगमा ।
भारत सरकारद्वारा ३४ एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए । यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ । रासस