काठमाडौं । भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज (शनिवार) रेल सेवाको शुभारम्भ गर्दै छन् ।
सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो ।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।
सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए । यद्यपि भङ्गाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ । रासस