मूल्य बढेपछि भारतका किसान गोलभेँडा बेचेर नै करोडपति बन्दै
एजेन्सी । गोलभेँडाको मूल्यमा अत्याधिक वृद्धि भएपछि भारतका किसानहरु गोलभेँडा बेचेर नै करोडपति बन्ने भएका छन् । पुणे नारायणगंजका किसान तुकाराम भागोजीले एक महिनामा १३ हजार क्रेट गोलभेँडा बेचेर डेढ करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । तुकारामको आफ्नै १८ एकड जमिन रहेको छ, जसमध्ये उनले १२ एकडमा गोलभेँडा खेती गरेका छन्। पछिल्लो महिनामा उनले एकहजार देखि १८ सय भारतीय रुपैयाँसम्मको मूल्यमा प्रतिक्रेट गोलभेँडा बिक्री गरेका थिए । सोमबार र मंगलबार चंडीगढको बजारमा गोलभेँडाको मूल्य ३५० रुपैयाँ प्रतिकिलो पुगेको थियो । शनिबारसम्म पनि त्यहाँ गोलभेँडाको मूल्य दुई सय भन्दा धेरै रहेको थियो । भारतमा अहिले गोलभेँडामा कायम भएको मूल्य केही वर्ष यताकै उच्च मूल्य हो । शुक्रबार नै दिल्लीमा गोलभेँडा २२० भारतीय रुपैयाँमा बिक्री भएको थियो । आज भने सो मूल्यमा भारी गिरावट आएको छ । केही ठाउँमा मूल्य कमी भएपनि यतिबेला भारतको सहरी क्षेत्रमा गोलभेँडामा सामान्यतया तेब्बर भन्दा धेरै मूल्य वृद्धि भएको देखिएको छ । हरेक वर्षायाममा भारतमा गोलभेँडाको मूल्य वृद्धि हुने गर्छ ।
काटिएका चेक बाहेक नयाँ भुक्तानीमा रोक, साढे ४ खर्ब नोक्सानीमा सरकारी खाता
काठमाडौं । सरकारले आज कुनै पनि नयाँ भुक्तानी नगर्ने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार चालू आर्थिक वर्षको अन्तिम दिन कुनै पनि नयाँ भुक्तानी दिन रोक लगाईएको हाे । महालेखा नियन्त्रकको कार्यालयले यसअघि नै परिपत्र गर्दै असार २४ गते अर्थात आर्थिक वर्ष सकिन एक साता अगाडी देखि नै नयाँ भुक्तानीमा रोक लगाएको थियो । उक्त नियमावलीको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको थियो । तर, संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म रहेकोमा आइतबार कुनै पनि भुक्तानी गर्न नपाउने भएको हो । सोही व्यवस्था अनुसार महालेखा नियन्त्रकको कार्यालयले आइतबार हुने सम्पूर्ण खर्च भुक्तानीमा रोक लगाएको हो । कार्यालयका अनुसार नयाँ भुक्तानीमा रोक लगाएपनि यसअघिका मितिमा काटिएका चेक साटिने छ । १४ खर्ब २८ अर्ब खर्च सरकारले एक वर्षको अबधिमा करिब साढे १४ खर्ब हाराहारिमा बजेट खर्च गरेको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट खर्च भएको हो । यो खर्च हालसम्मकै उच्च हो । महालेखाको तथ्यांक अनुसार विनियोजनको ७९.६६ प्रतिशत बजेट खर्च भएको छ । जसमा विनियोजन बजेटको ६१ प्रतिशत अर्थात् २ खर्ब ३२ अर्ब ६८ करोड पुँजीगत खर्च भएको छ भने १ खर्ब ८९ अर्ब ४१ करोड वित्तीय व्यवस्थामा खर्च भएको छ । सरकारले सबैभन्दा धेरै १० खर्ब ६ अर्ब चालु खर्च गरेको छ । खर्चको तुलनामा सरकारको आम्दानी न्यून रहेको छ । सरकारले एक वर्षमा ९ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । जसमा ९ खर्ब ३५ अर्ब राजस्व, ७ अर्ब ४२ करोड अनुदान र ५२ अर्ब ७० करोड अन्य आम्दानी भएको छ । खर्चको तुलनामा आम्दानी कम हुँदा ४ खर्ब ३३ अर्ब २९ करोड ७१ लाख रुपैयाँ हाराहारिमा सरकारी खाता नोक्सानीमा गएको छ ।
प्रभु बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौं । प्रभु बैंकले साउनमा ब्याजदर घटाउने भएको छ । असारको तुलनामा बैंकले साउनमा ब्याजदर घटाउने भएको हो । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साउनमा महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर तोक्नेछ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबै निक्षेपको ब्याज एकल अंकमा झार्याे, कर्जाको पनि घटाउँदै
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनमा ब्याजदर घटाउने भएको छ । बैंके कर्जा र निक्षेप दुवैको ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर घटाएको छ । बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोक्नेछ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ । यसअघि असारमा संस्थागततर्फ ७.९९ र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत थियो । साउनमा बैंकले ब्याजदर घटाउने निर्णय गरेसँग निक्षेपतर्फको सबै खाताको ब्याजदर एकल अंकमा झरेको बैंकले बताएको छ । यस्तै, बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा न्यूनतम २ प्रतिशतदेपख अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.१७ प्रतिशत र स्प्रेडदर ४.२० प्रतिशत रहेको छ ।
प्राइम बैंकले बढायो ब्याजदर, कुन खातामा कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले साउनमा ब्याजदर बढाउने भएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशतदेखि अधिकतम ७.९३ प्रतिशत ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ९ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । असारमा बैंकले सोही बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि ७.४० प्रतिशत र रेमिट्यान्समा ८.४० प्रतिशत ब्याज प्रदान गरेको थियो । यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ८.९३ प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ३ महिनासम्मको लागि १०.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ । यसअघि असारमा संस्थागततर्फ ७.९९ र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत थियो । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर १०.८४ प्रतिशत रहेको छ । असारमा बैंकको आधार दर ११.०५ प्रतिशत थियो ।
१९ प्रधानाध्यापकले दिए संयुक्त रुपमा राजीनामा
काठमाडौं । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् । प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ । ‘सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामा पत्रमा उल्लेख छ । विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ । एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन् । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । उनले शिक्षक महासङ्घका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे । ‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ, प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ, उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ,’ अध्यक्ष कालाखेतीले स्पष्ट पारे । पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए । ‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ, यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो, सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ तर कसैले मान्दिन भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ,’ अध्यक्ष कालाखेतीले भने ।
नबिल बैंकले बढायो निक्षेपको ब्याजदर
काठमाडौं । नबिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असारको तुलनामा साउनमा निक्षेपको ब्याजदर बढाएको छ । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत ब्याजदर तोकेको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । हाल बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ९.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धार गर्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ । हाल बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याज दिइरहेको छ भने रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.६५ प्रतिशत र ब्याजदर अन्तर ५.१४ प्रतिशत रहेको छ । असारमा बैंकको आधार दर ९.८३ प्रतिशत छ ।
माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति घट्यो ?
काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकको कर्मशील खाता र रेमिट्यान्स बचत खातामा भने ७.८५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । हाल बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ । यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । हाल बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले निक्षेपतर्फको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि घटाएको छ । साउनमा बैंकले कर्जाको ब्याजदर आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । हाल बैंकले ५ प्रतिशतसम्म प्रिमियम लिइरहेको छ ।