विकासन्युज

दुर्गा प्रसाईंले दिएको धम्कीप्रति पत्रकार महासंघको भर्त्सना

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले विकासन्यूज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोमा पत्रकार महासंघले भर्त्सना गरेको छ । महासंघले आइतबार प्रेस विज्ञप्ति प्रकाशन गरेर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित र आतङ्कित पार्ने कार्यको कडा शब्दमा आलोचना गरेको हो । ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जानसकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । महासंघ पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको भर्त्सना गर्दछ’, महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य नदोहोर्‍याउन पनि महासंघले व्यवसायी प्रसाईंको ध्यानकर्षण गराएको छ । त्यसैगरी, पत्रकारलाई निर्धक्क र स्वतन्त्ररुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न महासंघले सरकारसँग माग गरेको छ । विवादास्पद व्यवसायी प्रसाईंले गत शुक्रबार साँझ ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका थिए । ‘मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, म हार खाने मान्छे हाेइन’ उनले धम्याउँदै भनेका थिए । शनिबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन), नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र समाजवादी प्रेस सङ्गठनले व्यवसायी प्रसाईंको धम्कीप्रति आपत्ति व्यक्त गरेका थिए । इम्सनले विज्ञप्ति जारी गरेर पनि कुनै पनि विषयमा समाचार लेखेकै आधारमा मिडिया संचालक माथि ज्यान मार्ने धम्की दिईनु भत्सर्नायोग्य र आपत्तिजनक भएको बताएको छ । शक्ति केन्द्रहरुका आडमा विवादित अभिव्यक्ति र गतिविधी गर्दै आईरहेका प्रसाईले इम्सनका संस्थापक अध्यक्ष समेत रहेका पौडेललाई समाचार लेखेकै आधारमा फोन गरेर ज्यान मार्ने धम्की दिनु भत्सर्ना योग्य र आपत्तिजनक भएको इम्सनले जनाएको छ । साथै ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताको विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्योग सम्बन्धी कानून समेत आकर्षित हुने विषय भएको इम्सनले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित सामग्रीहरुमा चित्त नबुझे आफ्ना कुरा राख्ने र कानुनी उपचारमा जाने व्यवस्थाहरु छन् । तर प्रसाईले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालका मौजुदा ऐन कानुनहरुको बर्खिलाप हुने गरि ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताका विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्मोग सम्बन्धी कानुन समेत आकर्षित हुने बिषय बन्न पुगेको छ’, इम्सनको विज्ञप्तिमा भनिएको छ । प्रसाइले सञ्चालन गरेको अभियान गैरकानुनी भएको र उनको पृष्ठभूमी समेत संकास्पद भएको भन्दै छानविन गरेर कानुनी कारवाहीको प्रकृया अगाडि बढाउन इम्सनले प्रहरीलाई अनुरोध समेत गरेको छ । ‘संकास्पद पृष्ठभूमि र गैर कानुनी अभियानहरु चलाएर नेपाली समाजलाई नै बिथोल्ने प्रयास गरिरहेका प्रसाईमाथि आवश्यक छानविन गरि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउन इम्सन नेपाल सरकार, गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई हार्दिक अनुरोध गर्दछ’, इम्सनका महासचिव नारायण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसैगरी,नेपाल पत्रकार महासंघ, ललिपतपुर शाखाले विज्ञप्ति प्रकाशन गर्दै समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो छाडेर पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गा प्रसाईंले कहाँबाट पाए ? भन्ने प्रश्न गरेको छ । शाखाका सचिव रामहरी कार्कीले एक विज्ञप्ति जारी गर्दैै व्यवसायी प्रसाईंले प्रधानसम्पादक पौडेलललाई दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको हो । महासंघले प्रसाईंलाई आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्न र पत्रकारलाई धम्क्याउने कार्य र र गतिविधि नगर्न सुझाव दिएको छ । साथै प्रसाईंले प्रयोग गरेको शब्द दादागिरी शैलीमा भएको महासंघले जनाएको छ । साथै उनको धम्कीले महासंघ नडराउने र विचलित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन प्रसाईं सकृय भएको हामीले महसुस गरेका छौँ । तानाशाही व्यवस्थासँग लडेर गणतन्त्र ल्याउन हाम्रो भूमिका महत्वपूर्ण थियो । हामी सधैं जनताको चाहनाको पक्षमा बलियो गरि उभिन्छौ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहित जनताको पक्षमा अनवरत उभिएको पत्रकारको छाता संस्था यस्ता खालका कुनै पनि धम्कीबाट डराउने छैन, बिचलित हुने छैन’, विज्ञप्तिमा भनिएको छ । साथै महासंघले नेपाल सरकार, प्रहरी लगायतका निकायलाई विषयवस्तुको संवेदनशीलता बुझिदिन समेत अपिल गरेको छ । सङ्गठनका महासचिव रामकुमार एलनले एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारमाथि ज्यान मार्ने धम्की दिने कार्यको निन्दा गर्दै उक्त घटनामा संलग्न सबैलाई तत्काल कारबाही गर्न आग्रह गरे । विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र प्रेसमाथि विभिन्न व्यक्ति, संस्था वा राज्य जुनसुकै पक्षबाट भएरगरेका धम्की दिने कार्यप्रति हाम्रो सङ्गठन विरुद्धमा रहने छ ।’ विज्ञप्तिमा विभिन्न पत्रकार तथा सञ्चारगृहलाई समाचार प्रकाशित गरेवापत पटक–पटक धम्क्याउने व्यक्ति तथा समूहलाई कडा कारबाही गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।

नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । आइतबारसम्पन्न कोषको २८ औं वार्षिक साधारणभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । त्यसैगरी, साधारण सभाले एक दशमलव ३१५८ प्रतिशत नगद लाभांश पनि स्वीकृत गरेको छ । कोष संचालक समितिका अध्यक्ष प्राडा.सूर्य बहादुर थापाको अध्यक्षतामा कोषको साधारण सभा सम्पन्न भएको थियो । साधारणसभाबाट आ.ब २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले बताएको छ । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारी, गैर सरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा व्यक्त गरेका थिए । कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, कोषमा आवद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधीकरण गरी प्रतिफल अभिबृद्धि गर्न सकिने थापाले बताए । साधारण सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व १२ अर्व ६४ करोड ७३ रुपैयाँ लगानी गरेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ कोषले काम गरिरहेको बताएको छ ।  

निगमले घटायो इन्धनको मूल्य, खाना पकाउने ग्यासमा १० रुपैयाँ घट्यो

काठमाडौं । निगमले सबै बर्गमा लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ । त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिण्डर १० रुपैयाँका दरले मूल्य घटाएको छ । डिजेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको नेपाल आयल निगमले बताएको । निगमयले ठाउँ अनुसार मूल्य तोकेको हुनाले सबैतिर लागू हुने गरी पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको बताएकाे छ ।

चीनमा नक्कली विश्वविद्यालयको बिगबिगी

काठमाडौं । पछिल्लो समयमा चीनमा नक्कली विश्वविद्यालयको बिगबिगी बढेको चाइना डेलीले उल्लेख गरेको छ । चिनियाँ शिक्षा अधिकारीहरुले विद्यार्थीहरुलाई नक्कली विश्वविद्यालयको चालमा नपर्न चेतावनी दिएका छन् । खासगरी सयौं नक्कली विश्वविद्यालयहरुले राष्ट्रिय स्तरको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउन नसकेका विद्यार्थीहरुलाई टार्गेट गरेर अनलाइनमा प्रचार गरिरहेका छन् । नक्कली विश्वविद्यालयहरुको नाम पनि सक्कलीसँग मिल्दोजुल्दोगरी राखिएको चाइना डेलीले उल्लेख गरेको छ । ती विश्वविद्यालयहरुले पैसा तिरेपछि राष्ट्रिय मापदण्डको स्कोर (गाओकाओ स्कोर)मा कमि आएपनि फरक नपर्ने र आन्तरिक हिसाबले कोटा सुरक्षित रहेको दाबी गर्ने गरेका छन् । केही संस्थाहरुले राम्रा विश्वविद्यालयसँग तालिमको लागि सहकार्य गरेका हुनसक्छन् तर, पछि उनीहरुले अभिभावक र विद्यार्थीहरुलाई सो संस्था विश्वविद्यालयको भाग नै भएको बताउने गरेका छन् । चिनियाँ शिक्षा मन्त्रालयले अभिभावक र विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाणिकता राम्रोसँग जाँच्न सचेत समेत गराएको छ । शिक्षा मन्त्रालयले मानक कोटाअन्तर्गत कुनै शुल्क लाग्ने व्यवस्था नभएको र कुनै विश्वविद्यालयले कोटाको लागि शुल्क मागेको छ भने त्यसमा विश्वास नगर्न भनेको छ । तरपनि केही गाओकाओ स्कोर ल्याएका विद्यार्थीहरु भने नक्कली विश्वविद्यालयको चालमा फस्ने क्रम जारी छ । नक्कली विश्वविद्यायहरुले विद्यार्थीहरुबाट करोडौं रकम ठग्ने गरेको र केहीलाई अदालतले कैद र जरिवाना समेत गराएको चाइना डेलीले उल्लेख गरेको छ ।

एमडीएमएसमा दर्ता नभएका माेबाइल नेपालमा चल्दैन, यसरी दर्ता गर्नुहाेस् आफ्नाे माेबाइल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणालीमा दर्ता नभएको मोबाइल नेपालमा नचल्ने व्यवस्था गरेको छ । नेपाली बजारमै किनेका मोबाइल भने विक्रेताले एमडीएमएस प्रणालीमा दर्ता गरेका हुन्छन् । तर, काम विशेषले विदेश जाँदा ल्याइएको मोबाइल वा कसैले उपहारमा विदेशबाट ल्याइदिएको मोबाइल भने एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ । दर्ता नभएका मोबाइल फोनको एमडीएमएस कसरी दर्ता गर्ने ?  दर्ताका लागि के के कागजात चाहिन्छ ? दुईवटा आइएमइआइ भएको मोबाइलको एउटा आइएमइआइ दर्ता छ तर अर्को आइएमइआइ दर्ता छैन भने के गर्ने ? यी विविध प्रश्नकाे उत्तर हामीले यहाँ समेट्ने प्रयास गरेका छौँ । आफ्नो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ/छैन कसरी चेक गर्ने ? नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टल mdms.nta.gov.np मा गई बायाँ तर्फको “आफ्नो मोबाईलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नुहोस” भन्ने बक्समा आफ्नो मोबाइलको आइएमइआइ नम्बर प्रविष्ट गरी उक्त मोबाइल दर्ता भए नभएको जाँच गर्न सकिन्छ । एमडीएमएस प्रणालीमा मोबाइल दर्ता गर्न के के कागजातहरू आवश्यक हुन्छ ? व्यक्ति स्वयंले राहदानी वा नागरिकता, डिपार्चर स्ट्याम (विदेश जादाँको बखत राहदानीको पृष्ठमा लागेको डिपार्चर छाप) र अराइभल स्ट्याम्प (विदेशबाट फर्कदाको बखत राहदानीको पृष्ठमा लागेको अराइभल छाप ) देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास सहित आफ्नो व्यक्तिगत विवरणहरू mdms.nta.gov.np/registration-options काे individual registration section मा प्रविष्ट गरी मोबाइल दर्ताका लागि आवेदन दिन सकिन्छ । एमडीएमएस प्रणालीमा आवेदन प्राप्त भएको जानकारी आवेदकले प्रविष्ट गरेको इमेलमा जान्छ । त्यसैगरी दुई देखि तीन दिन भित्रमा उक्त आवेदन स्वीकृति भई मोबाइल दर्ता भएको वा कारणसहित आवेदन रिजेक्ट भएको जानकारी आवेदकको इमेलमै जान्छ । यसको लागि कुनै शुल्क लाग्दैन । मोबाइल दर्ताका लागि आवश्यक कागजात नभएको खण्डमा कसरी मोबाइल दर्ता गर्न सकिन्छ ? आर्थिक विधेयक २०८० को दफा २४ ले २०७९ भाद्र ३० देखि २०८० जेष्ठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजश्व तिरी उक्त मोबाईलहरू दर्ता गर्न सकिने व्यवस्था गरेको छ । राजश्व अनलाईनबाट नै तिर्न सकिन्छ । mdms.nta.gov.np/registration-options को Grey Registration Section मा गई आफ्नो मोबाइलको आइएमइआइ लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरीसकेपछि तिर्नुपर्ने राजश्व स्वतः प्रणालीले नै देखाउँछ । भुक्तानीका लागि कनेक्ट आइपीएस छनौट पञ्चातः देखिने क्यूआर कोर्ड स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । भुक्तानी सफल भएको एक घण्टा भित्र उक्त मोबाइल दर्ता हुनेछ । नोट : Grey Registration गर्न खोज्दा None of the Provided IMEI number are grey listed. At least one IMEI number must be in grey list to proceed देखाउँछ भने उक्त आइएमइआइ हाल Grey Database मा नभएको संकेत हो । आर्थिक विधेयक २०८० को दफा २४ ले हाल Grey Database मा भएका मोवाइललाई मात्रै Grey Registration को सुविधा प्रदान गरेको छ । दुईवटा आइएमइआइ भएको मोबाइलको एउटा आइएमइआइ दर्ता छ तर अर्को दर्ता छैन भने के गर्ने ? मोबाइलको एउटा IMEI दर्ता भई अर्काे IMEI दर्ता नभएको खण्डमा एमडीएमएस प्रणालीको Dual IMEI Registration Section मा गई IMEI1 र IMEI2 प्रविष्ट गरी दुबै IMEI प्रष्ट देखिने गरी Screenshot वा मोबाइल किन्दाको बक्सको फोटो खिचेर अपलोड गरी आवेदन दिन सकिन्छ ।

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

रास्वपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । ’केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए । प्रमुख सचेतक परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाएका थिए । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराएका थिए । तर रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

उद्यमहरूलाई ऋण प्रदान गर्न कुमारी बैंकले विदेशी संस्थाबाट ल्यायो सवा अर्ब रुपैयाँ

काठमाडौं । कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने भएको हो । विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरूसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रदान गरी सशक्तिकरण गर्नका लागि यो कर्जा प्रयोग हुनेछ । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।