काठमाडौं । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो ।
उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् । कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आईतवारदेखि रेल सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गरेका हुन् । रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । उनले जयनगर विजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताए । रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुघार हुने विश्वास लिएको बताए । मन्त्री ज्वालाले बर्दिवासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको बाए ।
उनले निजगढदेखि काठमाडौंसम्मको डिपिआर तयारी भएको भन्दै निर्माणको लागि सरकार छलफलमा रहेको जानकारी दिए । उनले सरकारले रेल यातायातलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने सरकारको तयारी रहेको बताए । ठेक्का लागेका आयोजनाहरुको निर्माण कार्य विभिन्न कारणले निमार्ण कार्य रोक्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्नेमा जोड दिए । उनले सरकारले मधेस प्रदेशलाई प्रमुख प्राथमिकता दिएको बताए । मधेसमा मिटरव्याजी,लघुवत्त समस्या समाधान सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन शुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एक पटक रेल सञ्चालन गरिने बताए । ‘दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट विजलपुरा जनकपुर क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने, अब रेल्वे कम्पनी सधँ घाटा नाफाको समाचार भन्दा पनि दीर्घकालीन सेवा विस्तार गरि कम्पनी आफ्नो क्षमतामा चल्नसक्ने बनाउने, कम्पनीले यो क्षेत्रमा आवश्यकतालाई हेरेर आगामी दिनमा रेल थप गर्ने, त्यसका लागि कम्पनीले योजना बनाएर अघि बढेको’, उनले भने ।
कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएपनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा बिस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।