कालीमाटी तरकारी बजारले भाडाबाटै उठाउँछ वार्षिक १८ करोड, साउनबाट १५ प्रतिशत भाडा बढाउने निर्णय

<p>काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वार्षिक १८ कराेडभन्दा बढी भाडा उठाउने गरेकाे छ । यसरी भाडाबाट उठाएकाे सबैजसाे रकम तकारी बजार सञ्चालनमै खर्च हुने गरेकाे समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । समितिले चालु आर्थिक वर्ष २०७९/८० मा समितिले भाडा र शुल्कबाट १८ करोड ७८ लाख १९ हजार १९१ रुपैयाँ आम्दानी हुने [&hellip;]</p>

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वार्षिक १८ कराेडभन्दा बढी भाडा उठाउने गरेकाे छ । यसरी भाडाबाट उठाएकाे सबैजसाे रकम तकारी बजार सञ्चालनमै खर्च हुने गरेकाे समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

समितिले चालु आर्थिक वर्ष २०७९/८० मा समितिले भाडा र शुल्कबाट १८ करोड ७८ लाख १९ हजार १९१ रुपैयाँ आम्दानी हुने लक्ष्य लिएको थियो । तर, समितिले १७ करोड ८२ लाख १० हजार ६६७ रुपैयाँ मात्रै आम्दानी गर्न सकेको बताएको छ ।

‘उठेको भाडा र शुल्क हाम्रो आम्दानी खातामा जम्मा हुन्छ, जम्मा भएको रकमबाट नै प्रशासनिक, कर्मचारी, बजार संचालनमा खर्च गर्ने हो, सबै खर्च कटाएर जम्मा भएको रकम हामी पूर्वाधारमा पनि लगानी गर्छौं,’ श्रेष्ठले भने ।

समितिले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि साउनबाट लागु हुने गरी सटरको भाडा वृद्धि गरेको छ । समितिले बजारभित्र सञ्चालनमा रहेका सटर तथा स्टलको भाडा १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको बताएको छ ।

बोलपत्र आव्हानबाट आएका व्यवसायीले सञ्चालन गरेको सटरमा १० प्रतिशत र पुराना व्यवसायीको सटरमा १५ प्रतिशतका दरले भाडा बढाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, अर्को वर्ष २०८१/८२ बाट भने हरेक वर्ष १० प्रतिशतका दरले भाडा बढाउँदै जाने निर्णय भएको छ । समितिले सटर वा स्टलको वर्ग फिटको आधारमा भाडा लिँदै आएको छ ।

व्यवसायीहरूले प्रयोग गरेको ठाउँको स्क्वायर फिट अनुसार समितिले भाडा लिने गरेको श्रेष्ठले बताए ।

समितिको प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७९/८० मा ३११ व्यवसायीले कालीमाटी बजारमा व्यापार गरिरहेका छन् । त्यसमध्ये आलु तथा प्याजका थोक बिक्रेता ९० जना छन् भने ताजा तरकारीका थोक बिक्रेता १०१ वटा छन् । यस्तै, विभिन्न संघ संस्था तथा कृषि समुदायहरूले १७ वटा सटर तथा स्टल भाडामा लिएका छन् ।

फलफूलका १५ वटा, मसलाजन्य सामाग्रीका १०, कृषि उपज र बिउ विजनका ५, खुद्रा व्यापारका लागि ६४ स्टल प्रयोगमा छन् । समितिले कार्यालय प्रयोजनका लागि ६ वटा कोठा भाडामा लिएको छ ।

त्यसैगरी, चमेना गृह तथा भोजनालय प्रयोजनका लागि ४ स्थान उपलब्ध गराएको छ । समितिले सबैभन्दा बढी भाडा चमेना गृह तथा भोजनालयबाट लिने गरेको छ ।

बजारभित्र प्रवेश शुल्क संकलन, शौचालय शुल्क संकलन, सुरक्षा सेवा लगायतका लागि पाँच वटा कम्पनीले जिम्मा लिएका छन् ।

श्रेष्ठका अनुसार समितिले बन्दसटर बोलपत्र आव्हान गरेर भाडामा दिएको दिँदै आएको छ । समितिले बजार भित्र सटर १८, होलसेलका ४५० सटर र ख्रुदा व्यपारका ६०/६५ स्टलहरू रहेको पनि श्रेष्ठले बताए ।

९५ राेपनी जग्गाकाे स्वामित्व

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत काठमाडौं भित्रै ९५ रोपनी जग्गा रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

त्यसमध्ये, कालिमाटी बजारमा ४५ रोपनी, बालाजुमा २ रोपनी ११ आना, चोभारमा २३ रोपनी १ आना छ भने नौविसेमा ४ रोपनी ५ आना रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

ब्यवसायी भन्छन् : व्यापार खस्कियो
कालीमाटीमा तरकारीको थोक तथा खुद्रा व्यापार गर्ने व्यवसायीहरु पछिल्ला दिनमा व्यापार खस्किएको बताउँछन् ।

काठमाडौंमा धेरै ठाउँमा तरकारीको थोक बिक्री केन्द्र खुलेकाले कालिमाटीको व्यापारमा घटेको उनीहरू बताउँछन् ।
‘पहिला बिहानको ३ बजेदेखि व्यापार हुन्थ्यो, ८ बजेटसम्म तरकारी बेचेरै फुर्सद पाइँदैनथ्यो । दिउँसो पनि मानिसको उत्तिकै भीड हुन्थ्यो । अहिले विहान केहीबेर बेचेपछि ग्राहकको पर्खाइमै दिन बित्छ ।’

Share News