२५ लाख लगानीको ‘दि स्टाइल जोन’ सलुन सञ्चालनमा, सेवामा २५ प्रतिशत छुट
काठमाडौं । काठमाडौंको चाबहिलमा महिला र पुरुष दुबैलाई सेवा दिने अत्याधुनिक युनिसेक्स सलुन ‘दि स्टाइल जोन’ सञ्चालमा आएको छ । साउन १ गतेदेखि उक्त सलुन सञ्चालनमा आएको हो । सलुनको उद्घाटन बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक र उनका नाती प्रनिल पाठकले गरेका हुन् । उद्घाटनको क्रममा सभामुख पाठकले उद्यम व्यवसायले महिलाहरूको आयस्तरमा सुधार ल्याउनुका साथै अगाडि बढ्न पनि थप हौसला प्रदान गर्ने बताए । ‘व्यवसाय गर्दा पनि अझ आफूलाई अनुभव भएको र मनले खाएको व्यवसाय उचित हुन्छ,’ उनले भने । सञ्चालनमा आएको ‘दि स्टाइल जोन’ सलुनमा महिला र पुरुष दुबैलाई हुने युनिसेक्स सेवा उपलब्ध भएको सलुनकी प्रबन्ध निर्देशक निलम मिश्रले जानकारी दिइन् । अत्याधुनिक सलुनमा सबै उमेर समूहका ग्राहकको लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, मेहेन्दी, ब्राइडल प्याकेज, स्किन केयर, आई ल्यासेस बनाउने तथा मिलाउने, मेनिकयूर, पेडिकयूर, नेल आर्ट आदि सेवा उपलव्ध भएको प्रबन्ध निर्देशक मिश्रले उद्घाटनको क्रममा जानकारी दिइन । ‘२५ लाख लगानीमा सुरु गरिएको उक्त सलुन (ब्युटी पार्लर) मा साउन महिनाभरी ग्राहकले जुनसुकै सेवामा २५ प्रतिशत छुट पाउनु हुनेछ,’ उनले भनिन् ‘सलुनमा विश्व बजारमा चलेका उत्कृष्ट सेवाहरू उपलब्ध छ ।’ विवाह र बच्चा भएपछि बैंकको जागीर छाडेर घरमा बसेकी मिश्रले बच्चाको साथै आफ्नो करियर ग्रोथ गर्न सलुन स्थापना गरेकी हुन् । ‘घर बसेपछि मलाई आफै उद्यमी बन्ने अर्थात केहि गरौं भन्ने चाहना जागृत भयो,’ उनले भनिन् ‘त्यसैलाई साहाकार पार्न सलुन सञ्चालनमा ल्याएकी हुँ । यो व्यवसाय सुरु गर्न मलाई मेरो परिवारको पूर्ण साथ र सहयोग सहयोग छ ।’ उनले सलुनमा ५ जनालाई रोजगारी दिएकी छिन् । एक हजार स्वायर फिटमा फैलिएको उनको सलुनमा प्रशस्त सवारीसाधन पार्किङको सुविधा समेत रहेको छ । ‘चावहिलबाट भत्केको पुल जाने मेन बाटोमा क्लिन्टन स्कूल पर्छ र त्यहि स्कूलको अपोजिट साइटमा मेरो पार्लर छ, उनले भनिन् । ‘यहि स्पेसमा पहिला पनि चलेको सलुन थियो,’ उनले भनिन् ‘त्यहि भएर ग्राहकलाई यहाँ आइपुग्न गाह्रो पर्दैन ।’
मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरेको भन्दै सिमेन्ट उत्पादक संघको आपत्ति
काठमाडौं । बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो । सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ । पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ । उद्योगीलाई अनावश्यक दुःख दिने उद्देश्यले पक्राउ पुर्जी जारी भएको विरोध भएपछि प्रशासन दबाबमा परेको थियो । कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बाैंको लगानी गर्ने करोडौं राजस्व र हजारौंलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य गर्नु समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने संघको भनाइ छ । गुणस्तरसम्बन्धी विषयमा आकर्षित हुने कारबाही सम्वन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु उद्योगीलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाइदा नहुने संघको दाबी छ ।
काठमाडौं महानगरले तोक्यो सवारी साधन पार्किङ शुल्क, २ र ४ पाङ्ग्रेलाई कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र पार्किङ हुने सवारी साधनको लागि शुल्क निर्धारण गरिएको जानकारी दिइन् । उनकाअनुसार, दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको छ । आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको डंगोलले बताइन् । काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी निर्धारण गरिएकोृ छ । त्यसैगरी, एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप हुने उनले बताइन्र । ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्छ भने एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।
बर्जर रंगोत्सवको विजेता ढुङ्गानाले पाए ७५ इन्चको टिभी
काठमाडौं । बर्जर रंगोत्सवका विजेता ढुङ्गानाले पाए ७५ इन्चको टिभी बर्जर पेन्ट्सले सञ्चालन गरेको बर्जर रंगोत्सवमा इटहरीका रुपेश ढुंगानाले बम्पर उपहार जितेका छन् । बर्जर पेन्ट्सले २०७९ भाद्र १ गतेदेखि मंसिर १० गतेसम्म र फिफा विश्वकप २०२२ को बर्जर रंगोत्सव उपभोक्ता अफर सञ्चालन गरेको थियो । ढुंगानाले बम्पर उपहारमा ७५ इन्चको सोनाी एलइडी टिभी जितेको कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, बुटवलका भूपनारायण पौडेल र बिरगन्जका शिवकुमार नन्दवालले सामसङ ३४५ लिटरको रेफ्रिजेरेटर जितेका छन् । बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेको कम्पनीले बताएको छ । अन्य पुरसकारहरुमा विजेताहरुले सामसुङ बासिङ मेसिन, मोबाइल फोन, स्मार्ट वाच आदी जितेको कम्पनीले बताएको छ ।
इन्धन डिपोले आर्थिक क्रियाकलाप बढाउँछ : उद्योग मन्त्री रिजाल
पोखरा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पोखरामा निर्माण भएको इन्धन डिपोले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने बताएका छन् । सोमबार पोखर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पोखरामा पर्यटक बढ्दै गएकाले हवाई इन्धनको माग पनि बढिरहेको मन्त्री रिजालले बताए । नेपाल आयल निगमले करिब ७७ करोडरूपैयाँ लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माणको शिलान्यास गरेको हो । पोखरामा निर्माण भएको देशकै दोस्रो ठूलो इन्धन भण्डारण गृहको पनि मन्त्री रिजालले उद्घाटन गरेका छन् ।
प्रभु क्यापिटलद्वारा ‘लोयल्टी प्वाइन्ट्स’ र ‘रिफरल स्किम’ सञ्चालनमा
काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटलले सेवाग्राहीका लागि सेवा संगै लोयाल्टी पोइन्ट र रेफलर स्किम अफर लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ । लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले सोमबार सार्वजनिक गरेको हो । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै क्यापिटलका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिकं कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ । सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार लोयल्टी प्वाइन्ट्सको श्रेणी निम्न अनुसार हुनेछः क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।
‘पोखरामा देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह उद्घाटन, प्रभावकारी इन्धन आपूर्तिमा कोशेढुंगा’
नेपाल आयल निगमको संस्थागत विकास, वित्तीय स्थायित्त्वको लागि नेपाल सरकारको नीति तथा कार्यक्रम, पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न विभिन्न समयमा गठित संसदीय अध्ययन तथा सुझाव समितिले दिएको सुझाव तथा विगतका विभिन्न अध्ययन प्रतिवेदनको सिफारिस समेतका आधारमा निगम सञ्चालक समितिबाट स्वीकृत भएको “पेट्रोलियम पदार्थ स्वचालित मूल्य कार्यविधि,२०८० बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य कायम गर्ने गरी २०८० असार ३१ गते देखि स्वचालित मूल्य प्रणाली लागु गरिएको छ । स्वचालित मूल्य प्रणालीको कार्यान्वयनसँगै अब अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा कार्यविधि बमोजिम घटबढ हुनेछ । पेट्रोलियम पदार्थको सहज, सरल र सुव्यवस्थित ढंगले निरन्तर आपूर्ति एवं वितरणको व्यवस्था गर्न र आम उपभोक्ताहरुको हित सुनिश्चित गर्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीले अहम भूमिका निर्वाह गर्ने र यहाहरु सम्पूर्णको साथ एवं सहयोग सदैव रहने विश्वास निगमले लिएको छ । त्यसैगरी, निगमको आधुनिक पूर्वाधार निर्माणमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को भारत भ्रमणका क्रममा भारत सरकारको लगानीमा पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल बनाउने समझदारी भएको छ । नेपाल र भारत सरकार बीच भएको समझदारी अनुसार करिब ५ वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने गरी भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माण हुने र मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको छ । साथै चितवनको लोथरमा १ लाख ३ हजार १५० किलोलिटर क्षमताको नयाँ ग्रिनफिल्ड टर्मिनल निर्माण गरिने छ । यी पूर्वाधारहरुको निर्माणले दीर्घकालीन रूपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुने विश्वास निगमले लिएको छ । त्यसैगरी, आज पोखरामा उद्घाटन भएको परियोजना नेपाल आयल निगमले वि।स २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसावले दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको औपचारिक सुरुवात गर्न लागेको छ । गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौंडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास रहेको छ । पोखरा डिपोमा इन्धन भण्डारण ट्याङ्कीको शिलान्यास हुँदा, हामीले हाम्रो निरन्तर बढ्दै गइरहेको अर्थतन्त्रको माग पूरा गर्न र प्रवर्द्धन गर्न इन्धनको भरपर्दो र प्रभावकारी आपूर्ति सुनिश्चित गर्न खोज्ने परिदृश्य अनुभूति भएको देखिरहेका छौं । निर्माण भएका यी भण्डारण गृह तथा पूर्वाधारहरु निगमको भौतिक पूर्वाधारमा प्रगति, नवीनता र आधुनिकताको प्रतीकको रूपमा खडा भएका छन् । यी भण्डारण ट्याङ्कीहरूको निर्माण कार्यमा निगमका पदाधिकारी तथा कर्मचारीहरु र संस्थाहरूको विशेषज्ञता र सहयोगको एक स्मारकीय उपक्रमकोरुपमा खडा भएको छ । योजनाको तर्जुमा देखि सटीक कार्यान्वयनसम्म प्रत्येक चरणमा समर्पित टोलीको विशेषज्ञता र प्रतिबद्धताद्वारा निर्देशित यस परियोजनामा योगदान पुयाउने सबै सरोकारवाला निकायहरु ९त्रिभुवन विश्वविद्यालय इन्जिनियरिंग अध्ययन संस्थान, काठमाण्डौ विश्वविद्यालय परामर्श सेवा, निर्माण व्यवसायी समानान्तार-रेलिगियर-भारत ट्यांकस जे.भी र नेपाल आयल निगम परिवार लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । तपाईंहरुको कडा परिश्रम, दृढ संकल्प र अटल भावनाले हामीलाई यो गौरव र उपलब्धिको क्षणमा ल्याएको छ । पोखरा डिपोमा निर्माण सम्पन्न भएका नयाँ इन्धन भण्डारण ट्याङ्की तथा पूर्वाधारहरू डिपो सुरक्षा, संस्थागत दिगोपन र दक्षताप्रति हाम्रो अटल प्रतिबद्धताको प्रमाण रहेको व्यहोरा अवगत गराउन चाहान्छु । यी अत्याधुनिक सुविधाहरूले नवीनतम प्रविधिहरू आत्मसात गर्दै उच्चतम सुरक्षा मापदण्डहरूको पालना गरेको छ । यो पूर्वाधारले यस क्षेत्रको ऊर्जा सुरक्षालाई सुदृढ गर्ने मात्र नभई आर्थिक वृद्धि, औद्योगिक विकास र सुधारिएको उपभोक्ताको जीविकोपार्जनका लागि बलियो आधार पनि प्रदान गर्नेछ भन्ने विश्वास निगमले लिएको छ । सुन्दर पर्यटकीय शहर पोखरा र पर्यटकीय हबको रुपमा रहेको गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ । यस प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । हाल एक दिनमा यस प्रदेशमा तीन लाख ३ लाख २० हजार लिटर डिजेल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भईरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको छ । प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजेलको माग करिब ७ दिन र पेट्रोलको माग करिव २ दिन मात्रै धान्न सक्ने अवस्था विद्यमान रहेको थियो। निगमले आज समूदघाटन गरेको नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण करिव ३० दिन भन्दा वढी पुग्नेछ भने साविकको ७६० के।एल क्षमताको मट्टीतेल ट्यांकको पेट्रोल ट्यांकमा भएको रुपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिन भन्दा बढीको माग धान्न सक्ने भएको छ । वि.स २०५८ साल पश्चात क्षमता विस्तार तथा स्तरोन्नती हुन नसकेको यस डिपो अब अमलेखगन्ज, थानकोट पश्चात नेपालकै तेश्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनेको छ । निर्माण सम्पन्न भएको यस परियोजनाले काठमाडौं लगायत अन्य क्षेत्रको ब्याकअपको रुपमा पनि काम गर्ने छ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको पूर्वाधार संरचनामा पनि सुधार हुने निगमको विश्वास रहेको छ । हाल डिपो रहेको कुल ७७ रोपनी जमिनलाई नै प्रयोग गरेर निगमले नयाँ भण्डारण गृह निर्माण तथा स्तरोन्नति कार्य सम्पन्न गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा, पुल्चोकको प्राविधिक अध्ययन तथा काठमाण्डौ विश्वविद्यालयको प्राविधिक परामर्श सहायतामा तथा निर्माणकर्ता कम्पनी समानान्तर रेलिगियर-भारत ट्यांकस जे।भी बाट निर्माण सम्पन्न भएको भण्डारण गृहको कुल लागत मुअकर बाहेक करिब् ८९ करोड नेपाली रुपैयाँ रहेको छ । सम्झौता भएको करिब अढाई वर्ष भित्रै निर्माण सम्पन्न भएको परियोजना अन्तर्गत हालको डिपो हातामा ५० लाख लिटर क्षमताका दुई वटा डिजेल भण्डारण ट्यांक निर्माण सम्पन्न भएको छ । नव निर्मित भण्डारण गृहमा एक नयाँ पहुँच सडक, २४ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, चालक तथा सुरक्षाकर्मीका लागि नयाँ संरचना निर्माण गरिएको छ । इन्धन भण्डारण ट्यांक, अग्नि नियन्त्रण उपकरण तथा प्रणाली र यसमा जडान भएका संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित रहेका छन् । डिजेल लोड तथा अनलोड सुविधा पूर्ण रुपमा स्वचालित र उच्च प्रविधियुक्त तथा आधुनिक सुरक्षा प्रविधिमा आधारित रहेको छ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याकंरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्यांकर लोड तथा अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका छ वटा पम्प जडान गरिएको छ । ४ वटा नयाँ Loading / Unloading Bay निर्माण सम्पन्न भएको छ । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागी लगायतको दूर्घटना पहिचान गर्न विशेष प्रविधि (अलार्म सिस्टम) डिपोमा जडान भएको छ । आपतकालिन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकिकृत रिमोट कन्ट्रोल प्रविधि जडान गरिएको छ । कुनै पनि कारणबाट डिपोमा आगलागी भएको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा निर्माण सम्पन्न भएको छ । ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको छ । (पोखरामा साेमबार आयाेजित देशकै दाेस्राे ठुलाे पेट्रोलियम भण्डार डिपो उद्घाटन कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले दिएको मन्तव्यको सम्पादित अंश)
दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौति छ : अर्थमन्त्री
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताए । उनले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताए । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप स्रोत उपलब्ध आह्वान बैठकमा उनले आह्वान गरे । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ । बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ । सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि मंगलबारसम्म चल्ने छ ।