सिटिजन्स बैंकले श्री गलेश्वर आश्रमलाई दियो ५ लाख रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल, नारायणगढ शाखाले श्री गलेश्वर आश्रम, देवघाटधाम लाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधाम लाई सिटिजन्स बैंकले दुई चरणमा गरि जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो । संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यस अघि नगद ३ लाख रुपैयाँ रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरिक्षण पश्चात बाकी रकम २ लाख रुपैयाँ उपलब्ध गराएको हो । गुरुकुल शिक्षा मार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पु¥याउदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । साथै, सिटिजन्स बैंक सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
निगमको ग्राउन्डेड २ जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि नियमित उडानमा आउने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एकेडब्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो । उक्त जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको थियो । अर्को न्यारोबडी ९एन–एकेएक्स जहाजको पनि बायाँ इञ्जिनमा समस्या देखिएको छ । जहाजमा चरा ठोक्किँदा इञ्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए । ‘निगमका जहाज नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा जहाजको दायाँ इञ्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र उक्त जहाज मर्मतपश्चात् आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसैगरी अर्को जहाज ९एन–एकेएक्सको नियमित इन्सपेक्सन गर्दा बायाँ इञ्जिनको ‘हाई प्रेसर टर्विन ट्रेलिङ एज’ मा समस्या देखिएकाले ‘एप्रुभ मेनुअल’ र निर्माता कम्पनीको सुझावअनुसार १० साइकल मात्र उडान गर्न सकिने भएकाले उक्त जहाज ग्राउन्डडेड गरिएको र यथाशीघ्र इञ्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले उल्लेख गरेको छ । अहिले देखिएको समस्याका बाबजुत यो जहाजले १० साइकल उडान भने गर्नसक्ने क्षमता थियो । त्यसमध्ये छ साइकल उडानपश्चात् इञ्जिनको मर्मतमा जाने उडान ९चार साइकल० बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ । नियमित मर्मतसम्भार हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी ए ३२० जहाजमा एकै समयमा चरा ठोक्किएका कारण इञ्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको निगमका प्रवक्ता पौडेलले बताउनुभयो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी कूल चार वटा जहाज छन् ।
मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको छ । मेयर शाहले काठमाडौं महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए । मन्त्री मोदीसँग मेयर शाहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गरे । जवाफमा मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गरे । ‘काठमाडौं महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत् गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौँ’ मन्त्री मोदीले भने, ‘तपाईले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौँ ।’
वैज्ञानिक खोज : ४ दिन औषधि खाँदा ३ वर्ष जवान हुन सकिने
काठमाडौं । वैज्ञानिकहरुले मानिसको वृद्ध उमेरलाई घटाउन सकिने विषयमा नयाँ खोज गरेका छन् । हावर्ड विश्वविद्यालयका वैज्ञानिकले यस्तो छ वटा एस्तो केमिकल पत्ता लगाएका छन्, जसले वृद्ध भएको मानिसलाई फेरि जवान बनाउन सक्छ । न्युयोर्क पोस्टमा छापिएको रिपोर्टअनुसार सो विषय एजिङ जर्नलमा प्रकाशित एक अध्ययन ‘केमिकली इन्ड्युस्ड रि–प्रोग्रमिङ टु रिभर्स’ मा प्रकाशित भएको छ । अध्ययनकाअनुसार वैज्ञानिकले पत्ता लगाएका छ वटा केमिकल मिलाएर ‘फाउन्टेन अफ युथ’ नामको औषधि बनाइन्छ, जसले मानिसको उमेर घटाउनुको साथै छालालाई पनि पहिलाको जस्तै जवान अथवा चमकदार बनाउने काम गर्छ । सो औषधिको मिश्रणलाई कक्टेल पनि भनिएको छ । वैज्ञानिकहरुका अनुसार सो औषधिले मानिसको छालालाई धेरै वर्षसम्म बुढ्यौली बन्ने प्रकृयालाई रोक्ने काम समेत गर्नेछ । डेली मेलको रिपोर्टअनुसार चार दिनको उपचारपश्चात मानिसको उमेर घट्न सक्छ । सो अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक डेभिड सिन्क्लेयरले खोजको उपलव्धिको विषयमा ट्वीट गरेर जानकारी समेत दिएका छन् । ‘यसअघिको अनुसन्धानमा जीन थेरापीबाट भ्रूणको जीन सक्रिय गरेर उमेर घटाउन सकिने कुरा खुलेको थियो । अब नयाँ अनुसन्धानमा केमिकल ककटेलबाट पनि यो सम्भव भएको पत्ता लागेको छ । यो सम्पूर्ण शरीर कायाकल्प गर्न को लागी एक सफल कदम हो’, वैज्ञानिक सिन्क्लेयरले लेखेका छन् । मुसामा सफल परीक्षण हावर्ड मेडिकल स्कुलले यो अनुसन्धान मुसामाथि गरेको थियो । तर, डेली मेलको रिपोर्टअनुसार भने यो सो अनुसन्धान मुसामाथि मात्रै नभएर मानिसको कोषिकामाथि पनि गरिएको थियो । नतिजाअनुसार प्रयोग गरिएको छ प्रकारका रसायनले उमेरलाई घटाउने काम गरेको थियो । उमेरमा देखिएको यो परिवर्तनलाई ट्रान्सक्रिप्टोमिक घडीहरुमार्फत ट्रयाक गरिएको थियो । सो घडीले जैविक उमेर बताउन जिन एक्सप्रेसन डाटाको प्रयोग गर्दछ । साथै, यो अनुसन्धान मानिसमाथि अर्को वर्ष परीक्षण गरिने जनाइएको छ । सो औषधिले दृष्टि क्षमतामा समेत सुधार ल्याउने वैज्ञानिक डेभिड सिन्क्लउयरका अनुसार छ प्रकारका रसायनको मिश्रणबाट बनाइएको औषधिले कमजोर भएको दृष्टिलाई समेत सुधार गर्ने काम गर्छ । साथै, सो औषधिले उमेरसँग जोडिएर विकास हुने रोगहरुको विरुद्धमा लड्न समेत सहयोग पुर्याउँछ । ‘हरेक रसायनमा ५/७ वटा एजेन्ट हुन्छन्, जसले भौतिक र मानसिक रुपमा हुने गलत निर्देशनलाई ठिक गर्नमा सहयोग पुरयाउन सक्छन् । मुसाको अप्टिक नर्भस, मस्तिस्कको तन्तु, मृगौला र मांसपेशीहरुमा गरिएको अध्ययनले त्यसको दृष्टिमा सुधार र आयु बढाएको पाइएको थियो । वैज्ञानिक सिन्क्लेयरका अनुसार उमेर उल्ट्याउने कुरा एउटा प्रकृया भएको बताएका छन् । उनले उमेरलाई बढाउन र घटाउन सकिने बताएका छन् । अवधारणात्मक रुपमा हेर्दा शरीरसँग यसको जवानीको प्रतिलिपि समेत रहेको छ । यदि त्यसलाई पुनः सञ्चालन गरियो भने कोशिकाहरु पुनः बन्न र काम गर्न थाल्नेछन् भने उमेर पनि घट्न थाल्नेछ । यो प्रयोगले आनुवंशिक उत्परिवर्तको परिणामस्वरुप बुढेसकाल हुन्छ भन्ने मान्यतालाई पनि गलत सावित गरिदिएको छ । एजेन्सीको सहयोगमा ।
७ वटा बीमा कम्पनीले मात्रै पुर्याए तोकिएको चुक्ता पुँजी, कसको कति अपुग ?
काठमाडौं । सञ्चालनमा आएका बीमा कम्पनीहरुमध्ये ७ वटा बीमा कम्पनीले मात्रै तोकिएको चुक्ता पुँजी पुर्याएका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब न्यूनतम चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । दिइइकाे समयमा जीवन बीमातर्फका तीन कम्पनी र निर्जीवन बीमा तर्फका चार कम्पनी गरी सात वटा कम्पनीले मात्रै तोकिएको न्यूनतम पुँजी पुर्याएका हुन् । सो अनुसार जीवन बीमातर्फबाट नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले पुर्याएका छन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, नेशनल लाइफको ५ अर्ब एक करोड र मर्जपछि बनेको हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स चुक्ता पुँजीमा जीवन बीमा कम्पनीमध्येकै दोश्रो बन्न सफल भएको छ । त्यस्तै, निर्जीवन बीमा तर्फबाट शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तोकिएको समयभित्रै चुक्ता पुँजी पुर्याउन सफल भएका छन् । यीमध्ये हालै मर्जरमा गई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक अर्थात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । न्यूनतम पुँजी नपुर्याउनेमा अन्य १० वटा जीवन र ८ वटा निर्जीवन गरी १८ वटा बीमा कम्पनी रहेका छन् । यीमध्ये केहीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् भने केहीले कुनै पनि विकल्प शुरु गरेका छैनन् । मर्जरको विकल्प रोजेर पनि पुँजी नपुर्याउनेमा जीवन बीमा तर्फका ३ र निर्जीवन बीमा तर्फका तीन गरी ६ वटा कम्पनी रहेका छन् । जसमा जीवन बीमातर्फका सूर्यज्याति लाइफ (साविकको सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ (साविकको सानिमा लाइफ र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ (साविकका प्रभु लाइफ र ज्योति लाइफ) रहेका छन् । यता निर्जीवन बीमा तर्फका हिमालयन एभरेष्ट (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स), सानिमा जिआईसी (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) र युनाइटेड अजोड इन्स्योरेन्स (साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स) रहेका छन् । पुँजी नपुर्याउनेलाई कारवाही ! चुक्ता पुँजी वृद्धिको लागि प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई हकप्रद र बोनसबाट पुँजी पुर्याउन दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । ‘हामीले पहिला हकप्रद र बोनसबाट मात्रै पुँजी पुर्याउन नदिने भनेको थियौं, तर हालसम्म पनि पुँजी पुर्याउनको लागि कोशिस गरेका तर पुर्याउन नसकेका कम्पनीलाई उनीहरुको वित्तीय अवस्था हेरेर हकप्रद सेयर जारी गर्न दिने छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने- ‘पुँजी नपुगेको हकमा ३०/४० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं, त्यतिले नपुग्ने अवस्थामा भने कम्पनीको चालु आर्थिक वर्षको वित्तीय अवस्थामा हेरेर मात्रै थप थप दिने नदिने निर्णय गर्नेछौं ।’ तर पुँजी वृद्धिको लागि कुनै पनि प्रयास नै नगर्नेलाई भने कारवाही गर्ने मोडमा प्राधिकरण छ । ‘कुनै पनि कोशिश गरेका छैनन् भने ती कम्पनीलाई बीमा ऐनअनुसार कारवाही गर्ने छलफल भइरहेको छ,’ प्राधिकरण स्राेतले विकासन्युजसँग भन्यो ।
पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड (फोटोफिचर)
काठमाडौं । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमबारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् । विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् । सौरमासअनुसार आजको सोमबार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान् शिवले शुद्ध जल रुचाउने भएकाले वाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भीड लागेको हो । साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् । सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।
आजदेखी सुर्तीजन्य पदार्थमा निषेध
मनहरि । मकवनपुरका तीन स्थानीय तहले आजदेखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखी यस्तापदार्थ निषेध गर्न लागेका हुन् । मनहरि गाँउपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाले पनि आजदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने जनाएको छ । उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनबमोजिम उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाको आधारमा यस्ता पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए । ‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पतालजस्ता क्षेत्रको एकसय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । निर्देशन नमान्ने जोकोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिने छ,’ उनले भने । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्न लागिएको प्रवक्ता न्यौपानेले बताए । मनहरि र हेटौडाजस्तै बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै आफ्नो पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर सूचना जारी गरेको बताए । ‘हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले बताए । रासस
भृकुटीमण्डपमा भदौ १५ गतेदेखि ईभी एक्स्पो हुने
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ १५ गतेदेखि १७ गतेसम्म ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एशोशिएसन अफ नेपालले आयोजना गर्न लागेको हो । विद्युतीय सवारीलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहने आयोजकले दावी गरेको छ । साथै, उनिहरुले एक्स्पोमा १५० भन्दा धेरै ब्राण्डका गाडी र विद्युतीय सामग्रीहरु प्रदर्शनीमा राखिने जनाएका छन् । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री र अन्य विद्युतीय सामग्री रहने छन् । अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । विद्युतीय गाडीको बढ्दो लोकप्रियता र नेपालमा विद्युतीय सवारीसाधनको आवश्यकतालाई झल्काउन एक्स्पो सहयोगी बन्ने आयोजकको भनाइ छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार निजी प्रयोगका साधनमा ईभीको आयात झन्डै ४० प्रतिशत पुगेको र तिब्रगतिमा प्रयोग बढ्दो क्रममा रहेकाले एक्स्पोले थप उचाई दिने आयोजको दावी छ । ‘ईभीको प्रयोग बढाउन हामीले एक्स्पो आयोजना गर्न लागेका हौं । अहिलेको आर्थिक मन्दीमा पनि ईभीको बिक्री उच्च हुँदा नयाँ उत्पादन बारे जानकारी दिन एक्स्पो सहयोगी बन्ने छ’, इभीमेनका अध्यक्ष तथा एक्स्पो संयोजक श्यामसुन्दर सापकोटा बताए ।