विकासन्युज

१६ सहकारी खारेज गर्दै ललितपुर महानगर, ८ करोड अपचलन गर्ने दुई सहकारी प्रहरीको निगरानीमा

ललितपुर । ललितपुर महानगरपालिकाले गत चैत्र २२ मा सहकारीको अद्यावधिक विवरण पेस गर्न भन्दै सूचना जारी गरेको थियो । महानगरले विशेषगरी, २६ वटा सहकारीलाई लक्षित गरेर सूचना जारी गरेर ३० दिनमा विवरण अध्यावधिक गर्न भनेको थियो । ती सहकारी संस्थाहरूले ५ वर्षभन्दा बढी अवधिदेखि लेखा परीक्षण र साधारण सभाको विवरणसमेत नबुझाएपछि सूचना जारी गरिएको महानगरका सूचना अधिकारी तथा सहकारी विभागका प्रमुख देवप्रसाद गुरागाईले बताए । महानगरको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) ले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गर्नुपर्ने व्यवस्था गरेको छ । दफा ५३ को उपदफा (१) ले भने आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र संस्थाको कारोबारको लेखा परीक्षण गराउनु पर्ने भनेको छ । त्यसरी विवरण अद्यावधिक नगरेका २६ मध्ये सूचना जारी भएपछि १० वटा सहकारीले मात्रै विवरण अद्यावधिक गरेको गुरागाईले बताए । बाँकी १६ सहकारी भने अझै सम्पर्कमा आएका छैनन् । सम्पर्कमा नआएका सबै सहकारीलाई एकमुष्टरुपमा खारेजी गर्ने तयारी गरिएको गुरागाईले बताए । सम्पर्कमा नआउनेमा गेट बचत तथा ऋण सहकारी, संकल्प बचत तथा ऋण सहकारी, गंगा सागर बचत तथा ऋण सहकारी, रातो मच्छिन्द्र गृहश्रमिक महिला सिपमुलक सहकारी, पासा पुच बचत तथा ऋण सहकारी र रिद्धिसिद्धि बचत तथा ऋण सहकारीलाई खारेज गर्ने प्रक्रिया महानगरले सुरु गरेको छ । यस्तै, सनापाताल बचत तथा ऋण सहकारी, पूर्णचण्डी बचत तथा ऋण सहकारी, सिलौटी बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी, जेनिथ बचत तथा ऋण सहकारी, समभाव बचत तथा ऋण सहकारी, ललितपुर वातावरण सफाई सहकारी, खोकना पर्यटन सहकारी र नव जागरण कृषि सहकारी गरी जम्मा १६ वटा संस्थालाई खारेज गर्ने तयारी रहेको महानगरले बताएको छ । ‘यी सहकारी खारेजी हुन लागेको सूचना केही दिनमा प्रकाशन गर्दै छौं । त्यसपछि खारेजीको प्रक्रियामा जान्छ’, गुरागाईले भने । ८ करोड अपचलन ललितपुर महानगरपालिकाले दुई वटा सहकारी संस्थालाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । सहकारीले बचतकर्ताको करोडौं रुपैयाँ रकम हिनामिना गरेको भन्दै महानगरले कानुनी कारबाही गर्न प्रहरीमा पत्र पठाएको हो । ओम शान्ति र लभ नेपाल सहकारी संस्थालाई कारबाहीको माग गर्दै महानगरले प्रहरीलाई पत्र पठाएको गुरागाईले बताए । ओम शान्तिले करिब ६ करोड र लभ नेपाल सहरकारीले २ करोड रुपैयाँ रकम हिनामिना गरेको छ । बचतकर्ताको रकम लिएर फरार भएका सो सहरकारी वषौंदेखि सम्पर्कमा नआएपछि कारबाहीको प्रक्रियामा जानु परेको गुरागाईले बताए । ललितपुर महानगरमा ३१९ वटा सहरकारी दर्ता भएका छन् । गत वर्ष नै खारेज भए १० सहकारी खारेज ललितपुर महानगरले गत वर्ष १० वटा सहकारीलाई खारेज गरेको छ । लामो समयदेखि विवरण अद्यावधिक नगरेका र सम्पर्कमा नआएका सहकारी खारेज गरेको गुरागाईले बताए । महानगरले २०७९ माघ २९ को निर्णयबाट सहकारी खारेज गरेको थियो । महिला सीप विकास, बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडिबुटि सहकारी, एभरेष्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी खारेज भएका थिए ।

मनकामना इन्जिनियरिङ्गको आईपीओ : वैदेशिक श्रमिकलाई अन्तिम, स्थानिय बासिन्दालाई म्याद थप

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद साउन २ गते अन्तिम हो । कम्पनीले सोही दिनदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा भने आवेदन दिने म्याद थप गरेको छ। स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब साउन १७ गतेसम्म आवेदन दिन सक्ने भएका छन्। कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका ५, ६, ७ र ८, बिगु गाउँपालिका ४ र कालिञ्चोक गाउँपालिका ३ का स्थानीयलाई बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम आयोजना प्रभावित क्षेत्रका स्थानीयले १ लाख कित्ता र वैदेशीक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, गौरीशंकर गाउँपालिकाको कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

सुन तस्करी सञ्जालमा महरा बाबुछोरा !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन् । ई-सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई-सिगरेट लिलामी गर्न दबाब दिएका थिए । सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ । सिआइबी स्रोतका अनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गरेका थिए । प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो। प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ । महराका छोरा राहुलले यो विषयमा सुरुमै भन्सार कार्यालयमा फोनमार्फत कुराकानी भएको स्विकारेका छन् । उनले चिनेजानेको मानिस भएका कारण फोन गरेको तर तिनको धन्दा के थियो भन्ने बारेमा आफूलाई जानकारी नभएको पनि बताए । ‘सुरुमा सामानबारे जानकारी लिएको हो, छुटाउन दबाब दिएको होइन । अनुसन्धान त निकै पछि भएको हो । त्यतिबेला त्यसभित्र के थियो भन्ने जानकारी थिए । उसको धन्दाबारे हामीलाई थाहा हुने कुरा पनि भएन,’राहुल महराले भने । पूर्वसभामुख महरा यसअघि पनि चिनियाँ व्यापारीसँग ५० करोड मागेको विषयमा विवादित बनेका थिए । २०६७ भदौ १८ गते परिचय नखुलेका एक चिनियाँ व्यापारीसँग उनले ५० करोड मागेको एउटा अडियो टेप सार्वजनिक भएको थियो। अहिले पनि चिनियाँ सुन तस्करले ल्याएको सुन छुटाउन भूमिका खेलेको भनी विवादित बनेका छन् । भन्सारमा रहेको ई-सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेको स्रोतको दाबी छ । ‘पटकपटक राहुल महराको चासो रहेको पाइएको छ,’सिआइबी स्रोतले भन्यो । २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठुलो मात्रामा सुन लुकाएर ल्याएका थिए । त्यतिबेला भन्सार विभागले ई-सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो । यात्रु छाडेपछि ती चिनियाँ नागरिकले विभिन्न व्यक्तिलाई प्रयोग गरेर महरा बाबुछोराको सम्पर्कमा पुगेको सिआइबी स्रोतले जनाएको छ । ‘अरू चिनियाँ नागरिकको पनि प्रयोग भएको र महरा बाबुछोराको सम्पर्क पनि उनीहरूसँग भएको पाइन्छ,’ स्रोतले भन्यो । भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई-सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरेका थिए । पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सातपटकसम्म नेपाल आएको र त्यसरी नै तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ । सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको प्रहरी प्रतिवेदनमा देखिएको छ । सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए । तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका थिए । सिआइबीको अनुसन्धान प्रतिवेदनको अंश भन्सार विभागमा त्यो वस्तु शंकास्पद रहेपछि २०७९ माघ २९ गते प्रहरीले मुचुल्का गरी अनुसन्धानका लागि सिआइबीलाई पठाएको थियो । सिआइबीले अनुसन्धानका लागि पाउँदा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट रहेका थिए । आगो नसल्किने उक्त सिगरेटलाई गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । पटकपटक स्क्यान गरेर बाकसमा चुरोटबाहेक अरू कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्क्याएर राखेका थिए । सामान्यतः जफत गरिएका सामानहरू एकत्रित गरी एकदुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो । भन्सार विभागले लिलामीका लागि सामान तयार गर्दा महरा बाबुछोराले चासो राखेपछि सिआइबीलाई अनुसन्धानका लागि पठाएको थियो । ‘राजनीतिक तहबाटै पटकपटक आग्रह गरी लिलामीका लागि दबाब आएपछि भन्सार कर्मचारीले बाकसमा अरू कुनै मालवस्तु लुकाइएको आशंका भयो । त्यसपछि मात्रै प्रहरीलाई बुझाइएको हो,’भन्सार स्रोतले भन्यो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदीको सम्पर्क सुन खरिदकर्ता वेदप्रकाश अग्रवालसँग रहेको उल्लेख छ । सुन खरिद गर्ने समूहका अन्य सदस्यहरूमा गणेश बडू, साहेब राव मार्गेला, सचिन पावर, नन्दुकुमार रहेको उल्लेख गरिएको छ । विमानस्थलबाट सुन गायब गर्ने प्रमुख व्यक्तिमा त्रिभुवन विमानस्थल कार्यालय, गौचरको मुद्दा शाखाअन्तर्गतको गोदामको कार्य जिम्मेवारी तोकिएका नायब सुब्बा खड्का, सिन्धुपाल्चोकको सुनकोशी-६ का ३२ वर्षीय दिनेश बस्नेत, धरान उपमहानगरपालिका-२ घर भई हाल काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्र घर भई अहिले काठमाडौं बस्ने ३९ वर्षका साहेब राव, सिन्धुपाल्चोक सुनकोशी-६ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की, बाग्लुङको काठेखोला-३ स्थायी ठेगाना भएका र हाल पोखरा बस्ने वर्ष २२ का निर्मलकुमार विक, सिन्धुपाल्चोकको सुनकोशी-६ घर भई हाल कागेश्वरी मनहरा बस्ने वर्ष २९ का दीपेश बस्नेत र सोही ठाउँ स्थायी ठेगाना भएका र अहिले पेप्सीकोला बस्ने वर्ष ४२ का गोपाल सुवेदी पक्राउ परेका छन् । काभ्रेको बनेपाका रामकेशव थापा भने फरार छन् । उनीहरू सबैविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । नागरिक दैनिकबाट

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त, यस्तो बन्यो ६ जनाको सञ्चालक समिति

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । एकीकृत कारोबारपछि बसेको सञ्चालक समितिको बैठकले साविकको प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । उक्त बैठक गत साउन १ गते बसेको थियो । त्यस्तै, संस्थापक समूहबाट शुसन शेरचन, सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ नियुक्त भएका छन् भने सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका हुन् । उक्त समितिमा साविकको प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट चार जना र दुई जना साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालकमध्ये सापकोटा र श्रेष्ठ साविकको महालक्ष्मी लाइफको तर्फबाट हुन् भने बाँकी सबै प्रभु लाइफको तर्फबाट नियुक्त भएका हुन् ।

जनउत्थान सामुदायिक लघुवित्तबाट बाहिरिँदै ४ जना संस्थापक, बिक्रीमा राखे सेयर

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । संस्थाका ४ जना सेयरधनीहरुले कूल कित्ता ३६ हजार कित्ता सेयर बेच्न लागेका हुन् । तीन सञ्चालकले १० हजार र एक सञ्चालकले ६ हजार गरी कूल ३६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । लघुवित्तले संस्थापक प्रेम कुमार बरालको नाममा रहेको ६ हजार कित्ता, डा. मान बहादुर बीकेको १० हजार कित्ता, माधव प्रसाद नेपालको १० हजार कित्ता र यज्ञ विक्रम शाहीको १० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थाको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । संस्थाले साउन २ गते पहिलो पटक सूचना जारी गर्दै सो जानकारी गराएको हो । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय रुपन्देहीमा सम्पर्क गर्नु पर्नेछ । दोस्रो बजारमा संस्थाको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २ हजार ४ सय ६४ रुपैयाँ रहेको छ ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित कार्य समितिले लिए शपथ, मेडिकल डाइरेक्टरमा मानन्धर 

काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल)  का नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पद तथा गोपनयिताको शपथ ग्रहण गराएका हुन् । मिति २०८० बैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित हुनु भएका कार्य समितिका पदाधिकारी र सदस्य तथा आजै बसेको सञ्चालक समितिले मनोनित गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कूल १४ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । नव निर्वाचित पदाधिकारीहरुको पदावधी चार वर्षको हुनेछ । कार्यक्रममा पूर्व अध्यक्ष बिजय बहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्वाचित कार्य समितिमा अध्यक्ष डा. मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्ण प्रसाद मानन्धरले शपथ लिएका छन् । त्यसैगरी, कार्यकारिणी सदस्यहरुमा डा. निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल चन्द्र मानन्धरले पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ कार्य समितिको बैठकबाट सजनी जोशी र कपिल श्रेष्ठलाई कार्य समितिको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, नविन मानन्धरलाई पदेन सदस्यको रुपमा मनोनित गरिएको छ । क्षेत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजिबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो । मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त २०१३ सालमा स्थापना भएको काठमाडौको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् । नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल डाइरेक्टरमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । आजको सञ्चालक समितिको बैठकबाट मेडिकल डाइरेक्टरमा नियुक्त भएका डा. मानन्धरलाई अध्यक्ष डा. मनोजमान श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । नव नियुक्त डा. सन्तोष मानन्धरलाई क्षत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

भालेश्वरमा भक्तहरूको भीड, साउने साेमबार चन्द्रागिरी केबलकारको टिकट २ सयमा [फोटोफिचर]

काठमाडौं । चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमबार साँझ भव्यताका साथ सन्ध्या आरती सम्पन्न भएको छ । ‌औ‌ंसी तिथी समेत परेकाे  साउन महिनाको पहिलो सोमबार पारेर मन्दिरमा विशेष आरतीको आयोजना गरिएको हो । साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजासहित साँझमा विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक संजिव थापाले बताए । भालेश्वर महादेवमा साउन १ गते चन्द्रागिरि केबलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए । चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकको राेजाइकाे केन्द्र बनिरहेकाे छ । साउनको हरेक सोमबार साँझ ५ बजेपछि भालेश्वर महादेवमा दर्शन गर्न जाने भक्तजनहरूलाई केबलकारकाे शुल्क २ सय रुपैयाँ मात्रै लिइने चन्द्रागिरि हिल्सले बताएकाे छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बढवा दिने उद्देश्यले भालेश्वर महादेवमा आरतीको आयोजना गरिएको थापाले बताए ।  

वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख रुपैयाँ भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो । यसअघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले उल्लेख गरेको छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च ब्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना बक्यौता रकम तिरिएको तथा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत तीव्र गतिमा अघि बढाइएको निगमले जनाएको छ । रासस