औषधि अभावमा गाजाका ९ हजार क्यान्सरपीडितको जीवन जोखिममा
गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको जनसङ्ख्यामा क्यान्सर रोगीहरूको सङ्ख्या बढ्दै गएको गाजा क्यान्सर केन्द्रका महानिर्देशक सुभी स्काइकले बताएका छन् । महानिर्देशक स्काइकले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई उद्धृत गर्नुहुँदै ट्युमरको उच्च दरबारे जानकारी दिँदै सन् २०२१ मा गाजामा प्रति एक लाखमा ९० प्रतिशतभन्दा बढी क्यान्सरबाट पीडित भएको बताए । पत्रकारहरूसँगको कुराकानीमा उनले यो सङ्ख्या सन् २०४० सम्ममा दोब्बरले बढ्ने अनुमान गरिएको बताए । गाजामा हाल क्यान्सर मृत्युदर १२.५ प्रतिशत छ । गाजाका बिरामीलाई रोगको निदानको लागि रेडियोथेरापी र आणविक औषधिमा पहुँच छैन । इजरायलको यात्रा प्रतिबन्धले उनीहरू वेस्ट बैंक वा पूर्वी जेरुसेलममा उपचार गराउन बाध्य छन् । स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रका क्यान्सर बिरामीको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । सन् २००७ मा इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले गाजाको तटीय क्षेत्र कब्जामा लिएपछि त्यहाँ बसोबास गर्ने करिब २० लाख प्यालेस्टिानी इजरायली नाकाबन्दीको पीडामा बाँचेका छन् । रासस
कानुनले नचिनेको प्लस टु तह अर्को वर्ष खारेज गर्ने तयारीमा महानगरपालिका
काठमाडौं । शिक्षा ऐन र शिक्षा नीतिले नचिनेको प्लस टु तह अर्थात् कक्षा ११/१२ अझै खारेज हुन सकेका छैनन् । संविधानले माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन तथा सञ्चालनको अधिकार स्थानीय तहहरुलाई दिएपनि स्थानीय तहहरुको उदासिनता एवं व्यवस्थापन असक्षमताका कारण प्लस टु अर्थात् कक्षा ११/१२ मात्रै सञ्चालन भएका विद्यालयहरु खारेज हुन नसकेका हुन् । कक्षा १० सम्मको माध्यमिक शिक्षामा दुईवटा कक्षा थप गर्नको लागि तत्कालीन सरकारले ‘उच्च माध्यमिक शिक्षा ऐन, २०४६’ ल्याएको थियो । शिक्षा ९आठौं संशोधन० ऐन, २०७३ कार्यान्वयनमा आएसँगै उच्च शिक्षा ऐन, २०४६ अन्तर्गत सञ्चालित कक्षा १० को एसईई परीक्षा र कक्षा ११/१२ को परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डले हेर्नेगरेको छ । तर, नेपालको संविधान २०७२ अनुसार भने कक्षा ११/१२ तहको शिक्षा पनि विद्यालय शिक्षा अन्तर्गत पर्ने भएकाले सो तहको व्यवस्थापन, सञ्चालन र नियमन पनि स्थानीय तहले नै गर्नुपर्ने हुन्छ । तर, शिक्षा ऐन र राष्ट्रिय शिक्षा नीति २०७६ ले नचिनेको प्लस टु अर्थात कक्षा ११/१२ तहको मात्रै शैक्षिक संस्थाहरुलाई स्थानीय तहहरुले विद्यालय शिक्षाको क्षेत्रभित्र ल्याउन सकेका छैनन् । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहहरुले कानुनी व्यवस्था गरेर जिरो प्लस टु तहको बारेमा निर्णय गर्नसक्ने बताएका छन् । तर, विशेषगरी ठूला सहरहरु केन्द्रित रहेका पालिकाहरुले पछिल्लो ६ वर्षको सत्ता अभ्यासमा सो सम्बन्धी कुनै कानून तथा नीति नै निर्माण गर्न सकेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार २०७९ सम्म कक्षा ११ र १२ मात्रैको शैक्षिक तह सञ्चालन गर्ने स्कुलहरु देशभरी एकसय तीनवटा रहेका छन् । सो मध्येको ठूलो संख्या राजधानी र अन्य सहरी क्षेत्रमा रहेको छ । काठमाडौं महानगर शिक्षा विभाग प्रमुखका अनुसार काठमाडौं जिल्लामा मात्रै कक्षा ११/१२ सञ्चालन गर्ने स्कुलहरु चारसय भन्दा धेरै रहेको छ । काठमाडौं महानगरको प्रमुखमा बालेन्द्र शाह ‘बालेन’ निर्वाचित भएर आएपछि उनले शिक्षा क्षेत्रसँग जोडिएको विभिन्न सुधारका कामलाई अगाडि बढाएसँगै जिरो प्लस टु मात्रै सञ्चालन गरेका निजी क्षेत्रका स्कुलहरु पनि तरंगित भएका छन् । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बागमतीका अध्यक्ष भवानी भवानी पौडेलका अनुसार अहिले निजी क्षेत्रका जिरो प्लस टु लाई स्कुल तहसँग जोड्न लागिपरेको बताए । नयाँ संविधानअनुसार छ वर्ष वढी समयसम्म स्थानीय सरकारहरुले शिक्षा ऐन र राष्ट्रिय शिक्षा नीतिअनुसार आफ्नो कानून निर्माण गरेर अगाडि नबढ्दा स्कुल सञ्चालकहरुले पनि सो विषयमा तदारुकता देखाएनन् । तर, बालेनको चासोपछि निजी शिक्षा क्षेत्र समेत सो विषयमा सोच्न बाध्य भएको देखिएको छ । ‘दबाब नदिई काम गर्ने नेपालीको बानी छैन नी त, अहिले चाहिँ सबै लागेका छन्, प्लस टु सञ्चालन भइरहेको ठाउँमा स्कुल बनाउने नभए केही वरपर सोही नामको स्कुल सञ्चालन गर्ने तयारीमा सबै लागेका छन्’, हिसान बागमती अध्यक्ष भवानी पौडेलले भने । काठमाडौं महानगर भित्र सञ्चालनमा रहेका जिरो प्लस टु स्कुलहरुलाई स्कुल तह सम्म सञ्चालन गर्नुपर्ने वा खारेज गर्ने विकल्प सहितको व्यवस्था गरेर महानगरको शिक्षा ऐन संशोधनको प्रकृया अगाडि बढेको छ । महानगरमा शिक्षा नीति पनि सोही अनुसार निर्माण गर्ने गरी सभामा प्रस्तुत भएको महानगर शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले बताएका छन् । अघिल्लो पाँच वर्षको अवधिमा शिक्षा क्षेत्रको सुधारको लागि तत्कालीन मेयर विद्यासुन्दर शाक्यले पहलकदमी नलिएको कारण सबै काम थाती अवस्थामा रहेको थियो । सभाका सदस्यहरुले प्रस्तावअनुसार शिक्षा ऐनको संशोधन गरेमा र शिक्षा नीति निर्माण गरेमा आगामी शैक्षिक सत्रबाट जिरो प्लस टु काठमाडौं महानगरभित्र सञ्चालन नहुने प्रमुख कोइरालाले विकासन्युजलाई बताए । ‘हामीले काठमाडौं महानगरको आफ्नै शिक्षा नीति पनि बनाउँदै छौं, हामीले महानगरको शिक्षा ऐन पनि संशोधन गर्दैछौं, ११/१२ मात्रै सञ्चालन भएका विद्यालयहरुको अस्तित्व चिन्दैन, यसलाई संघीय सरकार र स्थानीय सरकारले आ–आफ्नो कानून बनाएर व्यवस्थापन गर्नुपर्ने हुन्छ’, प्रमुख कोइरालाले भने । ‘हामीले अहिलेलाई भने ती स्कुलहरुको विषयमा केही गर्न सक्दैनौं, अर्को शैक्षिक सत्र शुरु हुँदा चाहिँ जिरो प्लस टु मात्रै भएका स्कुलहरु सञ्चालन नगर्ने नीति महानगरले अवलम्वन गर्छ’, उनले भने । शिक्षा मन्त्रालयले क्याम्ब्रिज विश्वविद्यालयबाट सञ्चालन कक्षा ११/१२ सरहको हुने ए लेभलको शैक्षिक कार्यक्रम पनि विद्यालय शिक्षा सञ्चालन नगर्ने थुप्रै शैक्षिक संस्थाहरुलाई सञ्चालनको अनुमति दिएको छ । सो विषयलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्नेमा भने मन्त्रालयमा कुनै छलफल भएको छैन । संघीय तहको ऐन र नीति कार्यान्वयनमा आवश्यक पहल गर्ने वा समन्वय गर्ने विषयमा शिक्षा मन्त्रालय सँधै नै उदासिन रहेको देखिन्छ ।
फोकसवान पेमेन्ट सोलुसन्स् र कृषि विकास बैंकबीच भुक्तानी सेवा सम्झौता
काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् द्वारा संचालित मोको डिजिटल वालेट र कृषि विकास बैंक बीच भिजा कार्ड कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । कृषि विकास बैंकका ग्राहकहरुलाई आफ्नो भिजा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी १५,००० भन्दा बढी मर्चेन्टको भुक्तानी समेत गर्न सक्नेछन् । हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा बितिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिजा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपाल कै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स् हो । विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
विदेशबाट फर्केर कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा, मनग्य आम्दानी
भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका युवा प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उनको भनाइ छ । ‘विदशमा धेरै नै दुःख छ’, उनले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन् । तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो । त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’ राज्यको तर्फबाट सञ्चालन भएका विभिन्न कार्यक्रमले युवालाई व्यवसायमा लाग्न हौसला मिलेको उनको भनाइ छ । विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनले बताए । ‘यहाँ सोचेजस्तो विदेशमा सहज छैन’, उनले भने, ‘त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ । अहिले परिवारसँग बसेर राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरूपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए । उनले व्यवसायबाट वर्षमा तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । ‘विदेशमा लामो समय बिताएँ । सोचेजस्तो आम्दानी गर्न सकिनँ’, उनले भने, ‘अहिले व्यावसायिकरूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’ विदेशबाट फर्केर स्थानीय गुणराज राउतले व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका उनीअहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो । ‘विदेशका तीन देशमा गरेर १५ वर्ष पसिना बगाएँ’, उनले भने, ‘धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । त्यहाँ पाएको दुःखलाई सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यही राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसहरूले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने स्थानीय राउतको भनाइ छ । ‘ठूलो सपना देखेर विदेश गएँ’, उनले भने, ‘विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुनेरहेछ । अहिले पछुताएको छु । योजनाबद्धरूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’ बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उनको भनाइ छ । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरूपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनले बताए । टेम्केमैयुङ गाउँपालिका एकराज विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किवी तथा एभोकाडोको खेती गरिरहेको बताए । गत वर्षबाट खेती सुरु गरेकाले अबको केही वर्षमा वार्षिक छदेखि आठ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक उनको भनाइ छ । ‘हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ’, उनले भने, ‘विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँचाहिँ दुःख गर्न हिनतावोध गर्छौँ । अब हामी युवा यही नै केही गर्न आवश्यक छ । विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।’ युवाहरूले विदेश जानभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरूपमा काम सुरु गरेको उनले बताए। ‘व्यावसायिकरूपमा फलफूल खेतीमा लागेको छु’, उनले भने, ‘गत वर्षबाट खेती विस्तार गरेको छु । अबको केही समयबाट वार्षिक छदेखि आठ लाख रुपैयाँ आम्दानी लिने लक्ष्य लिएको छु ।’ विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमा परिवारसँग बसेर कृषिबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । रासस
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी
मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए । अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको उनले बताए । सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ । रासस
एक वर्षपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको र सोही कार्यसूचीमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ । यसअघि असार २७ गते तय भएको बैठक विविध कारणले गर्दा आजलाई सारिएको हो ।
आजको मौसम : यी प्रदेशमा भइरहेको छ वर्षा
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ । दिउँसोतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । बितेको २४ घन्टामा सबैभन्दा बढी पोखरामा ८५ र काठमाडौँमा ७५ मिलीमिटर वर्षा भएको छ । भैरहवामा २८, धनगढीमा २७ र ओखलढुङ्गामा २६ मिलीमिटर वर्षा मापन गरिएको छ ।
चन्द्रागिरिमा एक महिनासम्म लाग्ने मत्स्यनारायणको मेला आजदेखि सुरु
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ । चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिए । मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाइ थियो । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।