भारतीय पूर्वराजदूत रञ्जित रेलाई विद्युत व्यापार सहजीकरण गरिदिन इप्पानको आग्रह
काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिन छलफल गरेको छ । आइतबार एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स र इप्पानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा इप्पान पदाधिकारीहरुले नेपाल भारत विद्युत व्यापारका विविध विषयमा पूर्वराजदूत रेसँग छलफल गर्दै भारत सरकारले ल्याएको विद्युत व्यापार निर्देशिका र त्यसका गाइडलाइन्सका कारण नेपाली निजी क्षेत्रका प्रवर्द्धकलाई परेको अफ्ठ्यारोको विषय उठाए । जवाफमा पूर्वराजदूत रेले नेपाल भारतका धेरै विषय भूराजनीतिसँग जोडिएकाले सम्बन्ध विच्छेद नै गरेर जान नसकिने तर विद्युत व्यापार गाइडलाइन्स लक्ष्मण रेखा नभएकोले त्यसलाई काट्नै नसकिने भन्ने पनि नरहेको बताए । छलफलमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेपछि नेपालले आगामी १० वर्ष भित्र २५ हजार मेगावाट विद्युत उत्पादनको रोडम्याप बनाएको बताए । निजी क्षेत्रले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित अघि बढ्न सरकारलाई सुझाव दिएको प्रसँग निकाल्दै अध्यक्ष कार्कीले १० वर्षभित्र १० हजार मेगावाट नेपालमै खपत हुने, १० हजार मेगावाट भारत र बाँकी बंगलादेश निर्यात गर्न सकिने बताए । इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंले नेपाली निजी क्षेत्रले भारतमा विद्युत व्यापार गर्ने उद्देश्यले नेपेक्स कम्पनी स्थापना गरेको बताए । उनले भारतीय निजी क्षेत्रको पिटिसी जस्तै नेपाली निजी क्षेत्रको नेपेक्स भएको भन्दै भारतीय निजी क्षेत्रसँग नेपालको निजी क्षेत्रले विद्युत व्यापार गर्ने वातावरण बनाउन कुटनीतिक पहल गरिदिन आग्रह गरे । इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपाली प्रवर्द्धकले ३० वर्षको लाइसेन्स लिएर विद्युत उत्पादन गर्ने तर भारत सरकारले हरेक वर्ष नवीकरण गर्नुपर्ने गरी सम्झौता गर्दा नेपाली प्रवर्द्धक विश्वस्त हुन नसकेको बताए । भारतले पनि नेपालबाट विद्युत लिने २५ वर्ष अवधिको लङटर्म पिपिए गरिदिएको खण्डमा नेपालको ऊर्जा क्षेत्रमा धेरै लगानी आकर्षित हुने र शेयर बजारका ५० लाख लगानीकर्ताको मनोबल बढ्ने पनि उनले बताए । इप्पानका उपमहासचिव प्रकाश दुलालले भारतले नेपालको हितमा काम गर्दै भन्ने भाष्य निर्माण भएकोले भारतीय लगानीका आयोजनामा अवरोध भएको स्मरण गराउँदै आयोजनाको अध्ययन चरणदेखि नै सर्वसाधारणलाई लाभा र हानीका विषयमा प्रष्ट पारेर जान सके नेपालमा भारतीय लगानीको ठूलो सम्भावना रहेको बताए । जवाफमा पूर्वराजदूत रेले आयोजनाबाट दुवै देशले लाभा पाउने भएपनि नेपालका केही राजनीतिज्ञहरुले भारतीय आयोजनालाई सिढी बनाएर आफू अघि बढेको र देशलाई पछि पारेको बताए । दुवै देशलाई लाभा नहुने अवस्थामा कुनै पनि आयोजना अघि बढाउन नसकिने भन्दै नेपालीहरुलाई लाभका विषयमा बुझाएर वातावरण बनाउने दायित्व नेपालीहरूकै भएको पनि उनको भनाइ छ । पञ्चेश्वरको विषयमा बोल्दै पूर्वराजदूत रेले उक्त आयोजना बनाउँदा नेपाल भन्दा भारततर्फ धेरै क्षति हुने, धेरै वस्ती उठाउनु पर्ने अवस्था रहेको बताए । उक्त आयोजनाबाट आउने बिजुली ५० ५० प्रतिशत लिने कुरामा कुनै दुविधा नभएपनि नेपाली भूभागमा कृषियोग्य जग्गा नै नभएकोले सिंचाईमा भारतीय पक्षले केही बढी लाभ पाउने उनले बताए। त्यसमा नेपालले अरू कुनै लाभ लिने गरि अघि बढ्नुपर्ने उल्लेख गरे । इप्पानका सदस्य मिथुन पौडेलले भारतले नेपाल र भारतको बीचमा पहाडी क्षेत्रमा पनि क्रसबोर्डर प्रसारणलाइन बनाएमा नेपालको विद्युत भारत निर्यातका लागि थप सहज हुने बताए । जवाफमा पूर्व राजदूत रेले यो विषय सकारात्मक रहेको भन्दै नेपाल सरकारबाट यस्तो प्रस्ताव ल्याउन आग्रह गरे ।
ग्लोबल आइएमई बैंकको मेसिनबाटै ग्राहकले नगद र चेक खातामा जम्मा गर्नसक्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच काठमाडौंको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । अब बैंकका ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले बताएको छ । उक्त सेवाको उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल बैंकले आफ्ना ग्राहकहरुलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताए । उनले मेसिन जडानसँगै ग्लोवल आईएमई बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने जानकारी दिए । अध्यक्ष ढकालले ग्राहकहरुलाई डिजिटल रुपमा छिटो सेवा दिने कार्य अन्तर्गत मेसिनबाटै चेक र नगद जम्मा गर्ने कार्यको शुरुवात भएको बताए । ग्लोवल आइएमई बैंक पुँजी ,सेवा, टेक्नोलोजी, नेटवर्क र पहुँच लगायत हरेक हिसावले नम्बर एक बैंक बन्ने उद्देश्यका साथ गरिरहेको काममध्ये नगद तथा चेक जम्मा गर्ने मेसिन जडान भएको बताएका छन् । त्यस्तै, ‘ग्लोवल बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले विश्वको डिजिटल प्रविधि हेरेर नेपालमा पनि बैंकको सेवा बैंक भन्दा बाहिरबाट दिने उद्देश्यले नगद र चेक जम्मा गर्ने मेसिनको शुरुवात गरिएको, मेसिनमा चेक जम्मा गर्ने आउने मानिसको अनलाइन भेरिफाइ गरेर जम्मा गर्ने, मेसिनबाट हुने कारोबार सबै डिजिटल रेकर्ड बस्ने भएको हुनाले भोलिको दिनमा तथ्याङ्क निकाल्न पनि सहज हुने, ग्राहकहरुले मेसिनको माध्यमबाट ९५ हजारसम्म नगद जम्मा गर्नसक्ने, मेसिनबाट ५०० र एक हजार रुपैयाँका नोट मात्रै नगद जम्मा गर्न सकिने, ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले भने । ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि मेसिनबाट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । बैंकले नगद र चेक डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंमा ५ ठाउँमा गरेको छ । नगद जम्मा गर्ने मेसिन काठमाडौंको कमलादी र न्युरोडमा छ भने काठमाडौं भन्दा बाहिर इटहरी, नारायणघाट र बुटवलमा रहेको छ । चेक डिपोजिट कमलादी, न्युरोड, कुलेश्वर तथा उपत्यका बाहिर विराटनगर र पोखरामा रहेको बैंकले जनाएको छ ।
भारत विरुद्धको खेलमा छक्का र विकेट लिने खेलाडीलाई नगद दिने घोषणा
काठमाडौं । सोमबार दिउँसोबाट सुरु हुन लागेको एसिया कप–२०२३ मा भारत विरुद्ध छक्का वा चौका हान्ने खेलाडीलाई विभिन्न कम्पनीहरुले नगदै दिने घोषणा गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकादेखि चलचित्र निर्देशकसम्मले सोमबार दिउँसो हुने उक्त खेलमा हुने छक्का हान्ने तथा विकेट लिने खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार दिउँसो बसेको नगर कार्यपालिकाको बैठकले शतक हान्ने र चार विकेट लिने खेलाडीलाई जनही एक/एक लाख दिने निर्णय गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ । सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । शुक्लाफाँटा नगरपालिकाले यसअघि पनि खेलाडीलाई सम्मान गर्ने गरेको थियो । यस्तै, यती ब्रुअरीको उत्पादन अर्ना बियरले पनि उक्त खेलमा छक्का हान्ने खेलाडीलाई नगद दिने घोषणा गरेको छ । अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । यस्तैगरी, चलचित्र निर्देशक चन्द्र पन्तले पनि छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार स्वरुप नगद दिने घाषणा गरेका छन् । उनले छक्का हान्ने र विकेट लिने नेपाली खेलाडीलाई प्रतिविकेट र प्रतिछक्का ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । आजको खेलमा नेपाल विजय भए पाँच लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् । निर्देशक पन्तले इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएका तर्फबाट उक्त पुरस्कारको घोषणा गरिएको बताएका छन् । पन्त उक्त संस्थाको अध्यक्ष हुन् । एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुने छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन् । यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए । बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेका उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ । बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एन्ड एनालाइसिसको प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट)को जिम्मेवारीमा समेत थिए । बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सिए समेत रहेको बताइएको छ ।
नाकामा पानीका जारको अनुगमन : गुणस्तरमा शंकै शंका
काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीको गुणस्तरको अनुगमन सुरु गरेको छ । महानगरपालिका अन्तरगतको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले पछिल्लोे समय पानीको गुणस्तरको अनुगमन गर्दै आएको हो । पानी व्यवसायीहरुले पानी भर्न प्रयोग गर्ने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पठाएपछि समितिले कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो । अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकै शंका देखिएको जनाईएको छ । उक्त समितिले सोमबार वडा नं. ३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गरेको छ । समितिले अनुगमनका क्रममा ११ वा ट्रिपरमा ल्याईएको पानी र जारको अवस्थाको बारेमा अवलोकन गरेको थियो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाले अनुगमनका क्रममा एउटै गाडीमा फरक फरक कम्पनीका जारहरु भेटिएको जानकारी दिए । ‘अवलोकनका क्रममा गाडीमा भएकामध्ये आधामा लेवल राखिएको, आधामा नभएको, कुच्चिएको, चुहिने, फुटेका जार सराबरी थिए, पानीको बिल र चलानी कसैसँग पनि थिएन’, उनले भने । गाडीका चालक तथा सहचालकले आपूmलाई यो विषयमा कुनै जानकारी नभएको र साहुलाई सोध्न आग्रह गरेका थिए । समस्या देखिएकामध्ये महानगरले १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरेको छ । पछिल्लो समय पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु विभागमा आएपछि विभागले खानेपानीको अनुगमन गर्न थालेको हो ।
गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता सुरु, बिजेतालाई आकर्षक उपहार
काठमाडौं । हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ गर्ने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापिटलले जनाएको छ । तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापिटलले बताएको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि इच्छुक सम्पूर्णले यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटलको आधिकारिक फेसबुक पेजको ‘मेन्सन’ मा पोष्ट गर्नुपर्ने क्यापिटलले बताएको छ । फोटो पोष्ट गर्दा गरिमा क्यापिटल तिज सारिमा सेल्फी, गरिमा क्यापिटल तिज, नेपाली फेस्टीभल र गरिमा क्यापिटल लिमिटेड जस्ता ह्यासट्यागहरू समावेश गर्नुपर्ने क्यापिटलले जनाएको छ । साथै, सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ । अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रोलाई १ हजार नगद उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ । साथै, गरिमा क्यापिटलले हरितालिका तीजको उपलक्षमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना दिएको छ ।
बालेनलाई काठमाडौं प्रशासनले भन्यो : कानूनको दृष्टिमा सबै समान छन्, बक्तव्यवाजी नगरौं
काठमाडौं । राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरुप्रति काठमाडौं जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण भएको बताएको छ । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकी पत्नी सवार मेयरको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै बालेनले अराजक अभिव्यक्ति दिएका थिए । सोही विषयमा जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति प्रकाशन गरेर कानूनको नजरमा सबै समान हुने बताएको छ । ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ । प्रचलित कानूनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरु नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध रहेको छ’, जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’ सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदै आएको काठमाडौं जिल्ला प्रशासनले भनेको छ । ‘गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको छ । सरकारी कामका लागि विदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ’, विज्ञप्तिमा भनिएको छ । ‘सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्न/गराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएका छन् । आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न यसरी खटिने सुरक्षाकर्मी र कर्मचारीहरुलाई जिम्मेवार सरकारी निकाय, पदाधिकारी, नागरिक समाज र आम नागरिकका तर्फबाट उचित सहयोग, समर्थन र हौसला सदैव अपेक्षित हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीहरुका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाण सहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानबिन गरी आवश्यक निर्णय हुनेछ ।’
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्योकमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो अवसरमा उनीहरुबीच मुलुकका अरु समसामयिक विषयमा पनि विचारविमर्श भएको जनाइएको छ ।