विकासन्युज

आजको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र ती प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ । दिउँसोतिर वर्षाको सम्भावना रहेको छ ।

माईखोला हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बुक क्लोज मिति तय

काठमाडौं । माईखोला हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १ः१ अनुपात अर्थात् हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता पाउने छन् । हकप्रद सेयर बिक्री गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले असोज ९ गते बिहान ९ बजे लर्ड पार्टी भेन्यु धुम्बाराहीमा सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भदौ ३१ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

बिजुलीको साढे १५ अर्ब अझै उठेन

काठमाडौं । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ । विभिन्न समयमा अदालतको आदेश मन्त्रीपरिषद्का निर्णय तथा निर्देशन प्राधिकरण सञ्चालक समितिका निर्णय भइसके पनि प्राधिकरणले सो रकम असुलउपर गर्न सकिरहेको छैन । प्रसारण लाइन तथा वितरण सञ्जाल विस्तारमा आफैँले समेत लगानी गर्नुपर्ने दबाममा रहेको प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे कानुनी व्यवस्थाबमोजिम लाइन काटिने चेतावनी दिएको छ । लोडसेडिङको समयमा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र एक सबस्टेसनबाट अर्को सबस्टेसन जोड्ने ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका तर प्रिमियमसहितको महसुल नतर्ने औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ग्राहक सङ्ख्या ६७ रहेको प्राधिकरणले जनाएको छ । बक्यौता तथा जरिबाना गरी यस्तो रकम २०७२ साउनदेखि १५ अर्ब ४२ करोड ८० लाख रुपियाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस्तो रकम किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा दिए पनि भुक्तानी हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

९ सय मेगावाटको अरुण तेस्रो विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र सडक बन्द गरेका हुन् । शनिबारदेखि अरुण तेस्रो प्रवेश मार्गअन्तर्गतका जग्गाधनीले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य भएर अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्गको सडक ठप्प पारेको अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा सङ्घर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए । अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरणको माग गर्दै अनिश्चितकालीनरूपमा विद्युत् गृहस्थल पुखुवा र प्रवेशमार्गको सडक बन्द गरिएको संयोजक राईले बताए । जिल्ला प्रशासन कार्यालयले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । पहिलो चरणमा ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ ।

चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह

काठमाडौं । कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् । गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्दै उनले वि.सं २०५८ सम्म चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नयाँ–नयाँ बेथिति थपिएको टिप्पणी गरे । “केही चलचित्रकर्मीले विसं २०५८ मा एउटा सम्झौता गर्नुभयो । राज्यकोषबाट पाउने सबै सेवा सुविधालाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो । विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो । विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो”, अभिनेता शाहले भने, “विसं २०४२ देखि २०५८ सम्म राज्यले चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो । मनोरञ्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो ।” चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहेका अभिनेता शाहले निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘लाहुरे’ ले भृकुटीमण्डपको हाइभिजन चलचित्र भवनबाट ३३ लाख मनोरञ्जन कर वापत फिर्ता पाएको स्मरण गरे । विदेशी चलचित्रको प्रदर्शनबाट उठेको करको रकमले बोर्डका कर्मचारीले तलब थाप्ने उल्लेख गर्दै उनले त्यसले नेपाली चलचित्रको हित गर्न नसक्ने बताए । “पुनः यसलाई स्थापना गर्ने हो भने नेपाली चलचित्र लयमा फर्कन्छ । अन्यथा नेपाली चलचित्र निर्माण गर्ने कुनै न कुनै स्थान त हुन्छ । तर, त्यो स्थान नेपाल हुँदैन”, उनले भने । यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ आज बेलुकी समापन हुँदैछ ।

औषधि पसललाई कडाइ गर्दै महानगर, कानून विपरीतलाई कारबाही गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र २ हजार ६ यस औषधि पसल सञ्चालन छन् । सञ्चालित धेरै औषधि पसल कानून विपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कारबाही गर्ने जानकारी दिए । यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन् । जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेको थाहा पाएपछि अनुगमन गर्न लागिएको पौडेलले बताए । उनका अनुसार कामपासँग विज्ञहरूको रोष्टर तयार छ । “उहाँहरूको विज्ञताबाट अनुगमनलाई तीव्र बनाई नतिजामूलक बनाउँछौँ”, उनले भने, “अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र पेश गरेर औषधि बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको छ, सोही सूचनाका आधारमा अनुगमन तीव्र बनाउने हो ।” औषधि पसल सञ्चालन कार्यविधि तयार गरेको र सोहीअनुसार अनुगमन गरी कारबाहीको दायरामा ल्याउने बताइएको छ । औषधि पसल सञ्चालन हुनका लागि कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानूनी मान्यता छ र बिरामी आउँदा बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेको छ । अनुगमनको प्रक्रियाअन्तर्गत पहिलो पटक कानूनमा गर्दा देखिएका कमजोरी सुधार्न आग्रह गर्ने र आग्रह नमान्दा पसल बन्द गरी अनुमति रद्द गर्नेसम्मको काम गर्ने प्रमुख पौडेलको भनाइ छ । कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।

११ वर्षपछि जिल्लामै ४ पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुुल्यो

म्याग्दी । म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ । अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बि), (सि), (इ), (एफ) र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए । बागलुुङमा हाल (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे)को मात्र परीक्षा सञ्चालन हुुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । “ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियाँै”, उनले भने, “प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ ।” कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ । कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धौलागिरि क्षेत्र लाभान्वित हुने बताए । “बागलुङमा चार पाङग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ”, उनले भने, “बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।” लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् । सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले जानकारी दिए । यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विवरण डिजिटलाइजेसन भएको छ । चालु आर्थिक वर्षमा अन्य यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेखलाई पनि डिजिटलाइजेसन गर्ने तयारी भएको छ । अभिलेखलाई डिजिटलाइजेशन गरेर सर्भरमा राखेपछि सेवाग्राही धेरै समय पालो पर्खेर बस्नुु नपर्ने, ढड्डा खोज्दा हुने समयको बचत र झन्झट हटेको यातायात कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले बताए ।

अप्पर तामाकोशीको १०.५९ अर्बको हकप्रद बिक्री खुला, १ कित्ता सेयर हुनेले नयाँ १ कित्ता पाउने

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले आज भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता सेयर पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सो हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा लगानीकर्ताले असोज ७ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम बैंक र सानिमा बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।